इज्जत कुनै पनि व्यक्तिको व्यक्तिगत सम्पत्ति हो। जसरी सम्पत्ति कमाइन्छ, जोडिन्छ, थुपारिन्छ, त्यसरी नै इज्जत कमाइन्छ, थुपारिन्छ। तर इज्जत सम्पत्ति झैं खर्च गर्न सकिन्न। न कसैले लुट्न सक्छ।
तर गाउँसहर वरिपरि, बाटोमा, चौतारी, चिया गफमा, गाउँघरमा चियोचर्चो हुँदा, सुन्नुभएको होला- 'फलानोकी छोरीले त इज्जतै फालिछ!'
अनि जब समाजमा बलात्कारको घटना सुन्छौं, भन्न थाल्छौं- 'त्यो बलात्कारीले त्यो निर्दोष नानीको इज्जत लुटेछ! नारीको अस्मिता लुट्ने त्यो पापी लाई फाँसी हुनुपर्छ। आजीवन जेल हुनु पर्छ।'
पीडितलाई सहानुभूति दिन कस्सिन्छौं हामी तर माया दिन सक्दैनौं। इज्जत दिन सक्दैनौं। किनकी ती नारीको इज्जत त त्यो बलात्कारी पुरुषले लुटिसकेको छ!
के साँच्चै इज्जत लुटिने कुरा हो? के बलात्कारीले कसैको इज्जत लुट्न सक्छ?
सक्दैन।
बलात्कारीले बलात्कार मात्र गर्न सक्छ। इज्जत त त्यो बलात्कारीको लुटिनु पर्ने हो। पीडित नारीको इज्जत कसरी लुटियो? नारीको योनीमा इज्जत कसले टाँस्यो?
पितृसत्ताले आफ्नो दर्शनको जरा समाजमा यसरी गाडेको छ, त्यो उक्काउन सयौं वर्ष पनि लाग्न सक्छ।
पितृसत्ताले महिलालाई उपभोगसँग जोड्छ, साधनका रूपमा हेर्छ। स्त्रीहरू उसको सत्तामा दोश्रो दर्जाका नागरिक हुन्छन्। पितृसत्ताले समाजमा आफू अनुकूल दर्शन, सिद्धान्त, मूल्यमान्यता निर्माण र व्याख्या गर्छ। आफ्नो हैकम कायम गर्न समाजका हरेक संरचनामा कब्जा गर्छ। यो पितृसत्ताको चरित्र हो।
पितृसत्ताले नै नारीको अस्मिता र इज्जतलाई यौनिकतासँग जोडेको छ। नारीको इज्जतलाई फुकेको बेलुनजस्तै बनाइदिएको छ जसलाई कुनै काँडाले छोएरै फुटाल्न सकियोस्।
इज्जत र अस्मितालाई पुरुषसत्ताले वर्गीय बनाएको छ। पुरुषको इज्जत कर्म, बल, सामर्थ्यसँग जोडिदिएर नारीको इज्जतलाई यौन र योनीसँग जोडिदिएको छ। पितृसत्ता बलियो बनाउन नारीलाई कमजोर नगरी सम्भव थिएन र छैन पनि। त्यसैले पितृसत्ताले नारीलाई निरीह बनाउन कुनै कसर छाडेन।
समाजका हरेक संरचनामा यसले आफ्नो कब्जा जमायो। कब्जा गरिसकेपछि पितृसत्तालाई एउटा डर अझै थियो- कतै महिलाले विद्रोह त गर्दैनन्? कतै सत्ता पल्टिने त होइन?
पितृसत्तात्मक राज्यव्यवस्था उल्टिने डर मेट्न पितृसत्ताले समाजको दलिन बनेर बसेको धर्म, संस्कृतिमा कब्जा गर्नु थियो। धर्म-संस्कृतिमाथि कब्जा गरेपछि मात्र आफ्नो सत्ता कायम हुने पितृसत्ताको ठम्याइ थियो। धर्म-संस्कृति कब्जा गरिसकेपछि पृतिसत्ता मातेको साँढे जस्तो बन्यो।
धर्मको जरा त पितृसत्ताभन्दा पुरानो थियो, धर्मविरूद्ध नारीहरूले विद्रोह गर्न सम्भव थिएन। धर्मको आडमा पितृसत्ताले सुरक्षित महशुस गर्दै, अझ क्रुर बन्दै गयो। फलस्वरूप नारीप्रतिको हिंसा, अन्याय समाजमा बढ्दै गयो।
नारीहरूले समाजमा आफ्नो शुद्धता, चरित्रको परीक्षा दिन पर्ने स्थिति आयो जसरी रामायणमा सीताले दिनु परेको थियो।
धर्म प्रयोग गरेर पितृसत्ताले यसरी समाजमा महिलालाई कमजोर साबित गर्न कुनै कसर बाँकी राखेन। धर्मकै आडमा महिलालाई अन्यायमा पार्ने र कमजोर गराउन उद्दत चाडपर्व, रितिरिवाजहरू निर्माण गरियो र समाजमा स्थापित गरियो। ऋषि पन्चमी जस्ता रितिरिवाजले आज पनि रजस्वलाको रगतलाई पाप भन्दै पखाल्न लगाँउछ, त्यो पनि स्वयम् महिलाकै प्रयोग गरेर।
पितृसत्ताको दलिन धर्मको टेकाले झन् बलियो भएको छ। त्यसलाई भत्काउन पीडित महिलाले पनि चाहँदैनन् किनकी त्यहाँ धर्मको डर जोडिएको छ। जबजब पितृसत्तालाई आफू कमजोर भएको महशुस हुन्छ, उसले आफ्नो सत्ता कायम राख्न बाटो परिवर्तन गर्छ।
हिजो धर्म सबभन्दा शक्तिशाली थियो, त्यसैले आफू बलियो हुन धर्ममा कब्जा गर्यो। आजको विश्वमा धर्मभन्दा धेरै हावी शक्ति पुँजीवाद हो। पितृसत्ताले आफ्नो सत्ता जोगाउन पुँजीवादको सहारा लिँदैछ। पुँजीवादलाई पनि आफ्नो सत्ता जोगाउन पितृसत्ताको सहयोग लिन जरुरी भएकाले यी दुई एकअर्काका शक्ति परिपूरक भएका छन्। पुँजीवादको आडमा पितृसत्ताले महिलाको मानसिक र शारीरिक शोषण गर्दै महिलालाई उपभोगवादसँग जोड्यो। उत्पादन वृद्धि गर्न श्रम शोषण गरिरह्यो।
आजभोलि महिला मुक्तिका आन्दोलनमा प्रायः सुनिन्छ- 'सबै पुरुषहरू सम्भावित बलात्कारी हुन्।'
यो तर्कमा दम छ। हामी जुन समाजमा हुर्कियौं, बढ्यौं त्यो समाज नै बलात्कारी छ। बलात्कार गर्ने मात्र बलात्कारी हुँदैन। बलात्कार चुपचाप सहने, बलात्कारलाई सामान्य ठान्ने, ढाकछोप गर्ने, पीडितलाई उल्टै दोषारोपण गर्ने पनि बलात्कारी हो। त्यही समाजका सदस्यका नाताले हरेक पुरुष सम्भावित बलात्कारी हो।
पितृसत्ताको मातले कतै न कतै, सबैलाई छोएको छ। कतै न कतै, जानी-नजानी, हामी यसको भूमरीमा परिहाल्छौं।
उदाहरणका लागि, महिला अधिकारका निम्ति लेख्ने लेखक होस् या देशभक्त कवि, सबैलाई पितृसत्ताले आफ्नो व्याख्यामा ढालिदिएको छ।
देशभक्त कविले देशको सीमा मिचिँदै गर्दा सीमालाई नारी अस्मितासँग दाँज्दै लेख्छन्- 'देशको अस्मिता लुटियो...।'
महिला अधिकारकर्मी चर्को स्वरमा भाषण गर्छन्- 'नारी अस्मिता र इज्जतमाथि खेलवाड गर्ने जो कोहीलाई छाडिन्न।'
अझ अर्का देशभक्ति नेताले चर्को भाषणमा भन्छन्- 'देशको अस्मिता डलरसँग बेच्ने?'
यी तीनथरी मानिस र यी तीनथरी बिम्बको सामञ्जस्यता छ। यी तीनै थरीले नारीको इज्जतलाई योनीमा लगेर जोडे। कवि र नेताले देशलाई जननीको प्रतिमा ठानी नारीको इज्जतलाई योनीमा विम्बित गर्दै देशसँग तुलना गरे।
नजानेर वा अज्ञानताले नै भनौं, पितृसत्ताको भूमरीमा कतै न कतै, कुनै न कुनै रूपमा हामी रूमलिइरहेका छौं। जानी-नजानी नारीको अस्मितालाई फुकेको बेलुनजस्तो बनाइरहेका छौं जसलाई पितृसत्ताको काँडाले जुनसुकै बेला छोएर फुटाल्न सक्छ।
पितृसत्ताले हाम्रो मगजमा एउटा ठूलो पुस्तकालय बनाएको छ जहाँबाट हामी उसले निर्माण गरेका नियम, सिद्धान्त र प्रयोगको रटान गर्दैछौं। यो पुस्तकालयबाट हामी टाढा जान सकिरहेका छैनौं। आजभोलिका नारी विस्तारै जागृत हुँदैछन्। पितृसत्तालाई खुलेआम चुनौती दिँदैछन्। पितृसत्ताको कुर्सी केही भए पनि डगमगाएको छ तर पनि पितृसत्ताको छायाले परिवर्तनकारी भनिएका युवालाई तर्साउँदै छ। हाम्रो दिमागमा पितृसत्ताले एकखालको जालो बुनिदिएको छ। त्यो जालोले हामीलाई सजिलै उम्किन दिइरहेको छैन।
देशमा बढिरहेको बलात्कारमा अधिकांश बलात्कार पुरुषबाट भएको छ। ९५ प्रतिशतभन्दा बढी घटनामा महिला पीडित छन्। यो तथ्य स्विकार्दै महिला हिंसा, बलात्कार विरोधमा महिलालाई साथ दिनुपर्ने अवस्था छ। तर साथ दिन त परको कुरा, 'हामी पुरुष पनि त पीडित छौं', 'हाम्रो पीडा कसले बुझ्ने' भन्दै उम्किन खोज्छौं।
जब महिलाहरू आफ्नो अधिकारका निम्ति आवाज उठाउन थाल्छन् तब एक्कासि हामीभित्रको पितृसत्ताको मगज जाई लाग्छ। हामी पुरुषलाई पीडित महिलाका लागि सहानुभूति दिनुभन्दा पनि हाम्रो पुरुषत्वमाथि कसैले धावा बोल्दा जवाफ फर्काउन हतार हुन्छ। हामीलाई नारीले बलात्कारीको ट्याग लगाए, कलंकित गरे भन्दै उनीहरूविरूद्ध जाई लाग्न हतार हुन्छ।
हो हामी 'बलात्कारी' हौं, यो अर्थमा कि हामी चुप छौं। हामी 'बलात्कारी' यो अर्थमा छौं कि बलात्कारी पितृसत्ताको मगज बोकेर हिँडिरहेका छौं। तर हामीमा 'बलात्कारी' ट्याग स्विकार्ने हिम्मत छैन। न बलात्कारी पितृसत्तात्मक चिन्तन त्याग्ने हिम्मत छ!
पितृसत्तालाई जबजब आफ्नो सत्ता डगमगाएको भान हुन्छ तबतब अनेकौं फन्डा सिर्जना गर्छ। पितृसत्ता यति बाठो बनिदिन्छ कि दुश्मनको मगजमा थाहा नदिई आक्रमण गर्छ र दुश्मनको निशानालाई आफू अनुकूल प्रयोग गर्छ।
उदाहरणका लागि, हिजोआज बलात्कार घटना दिनानुदिन बढ्दै गरेको सन्दर्भमा बलात्कार न्यूनीकरणका उपायको बहस जोडदार उठ्छ। बलात्कार कम गर्न 'रेड लाइट एरिया' घोषण गरेर यौन व्यवसायलाई कानुनी मान्यता दिनेसम्मको बहस चल्दैछ।
यो विषयलाई कतिपय महिला अधिकारकर्मीले पनि उठाइरहेका छन्। यौनिकतालाई व्यापारीकरण गर्ने र महिलालाई यौन दास बनाउने यो डिजाइन पितृसत्ताको हो। यौनलाई पैसाले किन्न सकिने, महिलालाई उपभोगसँग जोड्ने र व्यापार गर्ने पितृसत्ताको खेल हो भन्दा फरक पर्दैन।
पितृसत्ताले आफ्नो सत्ता कायम राख्न बाटो मात्र परिवर्तन गर्दैछ। उद्देश्य परिवर्तन भएको छैन। हिजो खुलेआम बलात्कार हुन्थ्यो, यौन व्यापारलाई कानुनी मान्यता दिएपछि बलात्कार पनि सहमतिको, कानुनले मान्यता दिएको हुनेछ। भोलिका दिनमा महिला बलात्कृत भइरहने छन् तर कानुन मौन बस्ने छ। अनि पितृसत्ताले गिज्जाइरहेको हुनेछ।
हिजो थुप्रै आन्दोलनका बलमा केही प्राप्ति भएको छ तर त्यो संविधानको कागजमा मात्र सीमित छ। पितृसत्ताका शाषकहरूले बलात्कारविरूद्ध केही गर्ने वाला छैनन्। बलात्कारी पितृसत्ताले हिजो विभिन्न आन्दोलन र युद्धका नाममा कति महिला, दिदिबहिनी, आमा, भाउजूमाथि बलात्कार गरेर मार्यो? त्यसको हिसाब किताब छ? हिजोका तिनै बलात्कारी आज शासक, प्रशासक र राज्य सञ्चालनको साँचो मुठ्ठीमा लिएर बस्ने भएका छन्।
के ती बलात्कारीले आफूविरूद्ध कानुन बनाउलान्? के बलात्कार न्यूनीकरण होला? के निर्मला पन्तले न्याय पाउलिन्? के सम्झना कामीले न्याय पाउलिन्?
जबसम्म हरेक नीतिगत तह र राज्यको हरेक अंगमा महिलाको प्रतिनिधित्व समानुपातिक हुँदैन, तबसम्म पितृसत्तालाई धक्का दिन मुश्किल छ। पितृसत्ताले महिलालाई अधिकार दिँदैन, महिला स्वयंले खोस्नु पर्छ। खोस्दा द्वन्द्व हुन्छ, यो भौतिक नियम हो।
र, जबसम्म महिलाहरू देशको कार्यकारी पदमा पुग्दैनन् र हरेक कार्यकारी निकायमा समानुपातिक प्रतिनिधित्व हुँदैन, तबसम्म बलात्कार र महिला हिंसाजस्ता अपराधमा कमी आउने छैन।