टिनएजर्स अर्थात् किशोराकिशोरी, फक्रिएको सयपत्री फूल झै यौवनले ढकमक्क हुन सुरु भएको अर्थात् शारीरिक रुपमा परिपक्वता उन्मुख उमेर समूह। सामान्यतया १३ देखि १९ वर्षका उमेर समूहलाई टिनएज (किशोरअवस्था) मानिने गरिन्छ।
यो एक यस्तो अवस्था हो जसमा उनीहरुलाई बच्चाको जस्तो व्यवहार गरिन्छ तर वयस्कहरुको जस्तो परिपक्वताको अपेक्षा राखिन्छ। एक यस्तो उमेर समूह जसलाई कहिल्यै गहिरिएर बुझिएन या भनौँ गलत तवरले बुझ्दै आइयो। हुर्किने हुर्काउने क्रममा आफ्ना सन्तानले कहाँ पुगेर बाटो बिराइरहेका हुन्छन्, अभिभावकहरुलाई पत्तै हुँदैन। आखिर के-कति कारणले किशोरावस्थामा अभिभावक र सन्तान बीच दूरी कायम हुन्छ?
साना छदा आफ्ना बाबाआमा भनेपछि हुरिक्क गर्ने तिनै छोराछोरी किशोरावस्थामा आइपुग्दा अभिभावकको छाया देख्ने बित्तिकै अनुहारमा ग्रहण लाग्ने हुनुमा के-कस्ता परिस्थिति जिम्मेवार छन्? उनीहरुको लालनपालनका क्रममा अभिभावकहरु कहाँनेर चुकीरहेका छन्? यस लेखमा यिनै विषयलाई मिहिन तरिकाले केलाउने प्रयास गरिएको छ।
व्यवहारमा अस्थिरता र तीव्र शारिरीक एवं मानसिक परिवर्तनका कारण यस्ता उमेर समूहका केटाकेटीहरुलाई सम्हाल्न कतिपय अभिभावकहरुलाई हम्मेहम्मे पर्दछ। एकल पारिवारिक संरचनामा अधिकांश दम्पतिका बढीमा दुई वा एक सन्तान हुने गर्दछन्। थोरै सन्तान हुने र एकल परिवार भएको कारण बालबच्चा हुर्काउने क्रममा संयुक्त परिवार प्रणालीमा जस्तो बृहत सोचको दायरामा बालबच्चा हुर्कने सम्भावना शून्य हुँदै गएको छ।
आफ्ना सन्तानको खुसीको निम्ति उनीहरुका हर इच्छा पूरा गर्न अभिभावकहरु प्रयासरत हुन्छन्। साना छँदा सन्तानका हरेक माग सही गलत नभनी पूरा गरी दिने गर्दा उनीहरुमा जे माग गरे पनि एक वचनमा पूरा हुन पर्छ भन्ने सोचले जरा गाडीसकेको हुन्छ। जुन उनीहरुको बानी अर्थात् आदत बन्दै जान्छ।
उनीहरुका कुनै पनि इच्छा पूरा नभए रिसाउने, घुर्की लगाउने गरेर पनि माग पूरा गराउँछन्। माग पूरा नगरी दिएको खण्डमा समयमा घर नआउने, फोन रिसिभ नगर्ने, घर छोडेर हिड्ने जस्ता कार्य गर्छन् भने कहिलेकाही यो कार्य आत्महत्यासम्म पुगेको देखिन्छ। समाजमा यस्ता घट्ना देखे सुनेका अभिभावकहरु झन् सन्तानको माग पूरा गर्न पर्ने दबाब र तनावमा हुन्छन्।
आफूहरु नयाँ पुस्ता भएकोमा गर्व मान्ने र आफ्ना अभिभावकहरु पुराना सोच भएका, नयाँ ट्रेन्डका बारेमा अनभिज्ञ भएका, नयाँ पुस्ताका इच्छा आकांक्षा कहिल्यै नबुझि दिने, आफूहरु ठूला भइसकेका तर परिवारले स्वतन्त्रता नदिएको, आफ्नो व्यक्तिगत कुरामा अभिभावकले अनावश्यक हस्तक्षेप गरिरहने, साथीभाइका आमाबाबुले उनीहरुका माग सहजै पूरा गरी दिएको तर आफ्नाले खाली पढ्नु मात्र भनेको, उनीहरुसँग आफूलाई तुलना गरेको, त्यसैले स्वतन्त्र भएर बाँच्नको लागि विदेश जान मन लगेको भन्ने जस्ता असंख्य गुनासा पोख्दछन् एकथरी युवाजमातहरु।
अर्कातर्फ अभिभावकको भने बेग्लै गुनासो छ। छोराछोरीको निम्ति आफूले गरेको दुख र त्याग आलै रहेको, उनीहरुलाई चिसोतातोबाट जोगाउन आफूहरुले कयौँ रात छर्लङ्ग पारेको, मुखमा हाल्दै गरेको गाँस छोडेर उनीहरुको दिसा पिसाब सफा गरी दिएको, उनीहरुको पेट भरीदिँदा आफू भोकै भएपनि अघाएझैँ लागेको, जस्तोसुकै दुःखको पनि परवाह नगरी जिन्दगीको उद्देश्य नै बिर्सेर उनीहरुको खुसी तथा सुनौलो भविष्यको लागि संघर्ष गरेको र आफ्नो जीवन जिउन बिर्सेको तर पखेटा लागिसकेपछि तिनै सन्तानलाई आफ्ना आमाबाबु चिनाउन पनि लाज लागेको, घुर्क्याएको, धम्क्याएको जस्ता गुनासो सुनाउँछन्।
यसरी दुवै पक्षका गुनासो र असन्तुष्टीहरु केलाउँदा एक अर्कालाई दोष दिनुभन्दा गल्ती कमजोरी कहाँ भइहेको छ, आफ्ना व्यवहारलाई पत्रपत्र केलाएर हेर्न जरुरी छ। उदाहरणका लागिः
१. हामीले उनीहरुका आवश्यकताभन्दा बढी मागलाई सजिलै पूरा गरीदियौँ। आफूले आफ्नो बाल्यकालमा पूरा नभएका सोख–इच्छा सहजै पुर्याईदिने प्रबन्ध मिलाईदियौँ तर यो सोचेनौँ की यसले बालबालिकाको मस्तिष्कमा के असर पुर्याईरहेको हुन्छ। संघर्ष गरेर प्राप्त गरेको खुसीको महत्व बिना संघर्ष प्राप्त खुसीको भन्दा कयौँ गुणा बढी हुन्छ। जतिसुकै सम्पन्न भएपनि उनीहरुलाई संघर्ष र दुख के हो भन्ने बारे अवगत गराउन अत्यन्त जरुरी छ।
२. हामीले उनीहरुसँग अभिभावक भएर मात्र व्यवहार गर्यौँ। हामीले अभिभावक भएर दिएका सल्लाह सुझाव उनीहरुका लागि अर्थहीन बकबक मात्र हुन्छ। अभिभावक बनेर सधैँ यो गर, त्यो नगर भनेर नियन्त्रणमा राख्ने गर्नाले उनीहरुले हाम्रा कुरालाई विस्तारै बेवास्ता गर्न थाल्दछन्। चाणक्य नीतिमा पनि सन्तान युवावस्थामा पुगेपछि उनीहरुसँग मित्रवत व्यवहार गर्नु पर्ने उल्लेख भएको पाइन्छ।
उनीहरुसँग नियमित अन्तक्रिया गर्ने, उनीहरुले सुनाएका कुराहरुमा चासो राख्ने, उनीहरुका विचारलाई प्राथमिकतामा राख्ने, केही काम गर्दा उनीहरुको राय लिने, आफ्ना उमेरका कुरा उनीहरुसँग शेयर गर्ने, उनीहरुका साथी सर्कलका बारे जानकारी राख्ने जस्ता कार्य गर्न सके उनीहरु स्वतः आफ्ना अभिभावकहरुसँग निकट हुन र खुल्न थाल्दछन्।
छोरा हुन् या छोरी, उनीहरुलाई किशोरावस्थामा हुने शारीरिक परिवर्तन, यौन, महिनावारी, सरसफाई जस्ता विषयमा आधारभूत जानकारीहरु दिन जरुरी हुन्छ। पहिलो संस्कार घरबाटै सुरु हुने हो। आफ्ना आमा, दिदी, बहिनी सरह नै हरेक महिलाको इज्जत गर्नु पर्छ भन्ने संस्कारको बिजारोपण गरीदिन सके बलात्कार जस्ता जघन्य घटना अवश्य कम हुने थियो।
३. हामीले उनीहरुका जिज्ञासा मेटाइ दिने कहिल्यै चेष्टा राखेनौँ। यो उमेर भनेको कौतुहलताको उमेर हो। किशोरावस्था स्वभावैले जिज्ञासु हुन्छ। सूचना प्रविधिको विकासले हाम्रो समय र अहिलेको समयमा आकाश जमिनको फरक देखिन्छ। हामीले ३० वर्षको उमेरमा थाहा पाएका कुराहरु उनीहरुले ७/८ वर्षमा नै जानी सकेका हुन्छन्।
आफ्ना हर जिज्ञासा कौतुहतला मेटाउन उनीहरु इन्टरनेटको सहारा लिन सक्षम हुन्छन्। सूचना संजालको चक्रव्यू भित्र सही साइटको छनौट गर्न जानेमा उनीहरु सकारात्मक संसारमा प्रवेश गर्छन् भने गलत साइटको लतमा परे भने जिन्दगी नै बर्बाद हुन सक्छ।
सोसल मिडिया एक्पोजरका कारण ग्ल्यामर दुनियाँको भुलभुलैयामा रमाइ आफ्नो यथार्थतालाई भुलेर एकअर्कासँग तुलना गर्ने, जसले गर्दा महत्वाकांक्षा बढ्ने र आत्मबल घट्ने भएकोले डिप्रेसन, एन्जाइटी जस्ता मानसिक रोगका शिकार बन्दछन्। यिनीहरुमा कुनैपनि विषयवस्तुको खोक्रो सतही ज्ञान त हुन्छ तर सत्य र तथ्यको गहिराइमा पुगेर विश्लेषण गर्ने क्षमताको विकास भइसकेको हुँदैन।
सही के हो र गलत के हो भनी छुट्याउन उनीहरुमा आफैभित्र अन्तरद्वन्द चलीरहन्छ। यस्तो परिस्थितिमा सही बाटो देखाइ दिने व्यक्ति भएमा भविष्यमा सफल र असल नागरिक भएर निस्कन्छन्। तर जब व्यक्ति कुनै निर्णय गर्न नसकेर कुहिरोमा हराएको कागजस्तो हुन्छ, उसले सजिलो बाटो रोज्दछ र क्षणिक सुखानुभूति गर्दछ अनि जीवनभर पछुताउँछ। फलस्वरुप समाजमा कयौं दुर्व्यसनीमा फसेका युवा जमातको प्रादुर्भाव हुन्छ।
यसर्थ, एउटा जिम्मेवार अभिभावकको नाताले आफ्ना सन्तानलाई सही सूचना दिन किन हिच्किचाउने? हामीले आफ्ना छोराछोरीको क्षमता विचार नगरी आफ्ना अपूर्ण इच्छालाई छोराछोरी मार्फत पूरा गराउने अतृप्त चाहानाले सधैँ उनीहरुलाई आफूले चाहेजस्तो मात्र बनाउन खोज्यौँ। उनीहरुलाई उनीहरुको क्षमता र चाहाना अनुरुप अगाडि बढ्ने अवसर उपलब्ध गराएनौँ।
बच्चालाई निरन्तर अरुसँग तुलना गर्यौँ जसले उनीहरुको इगो हर्ट भयो। यसलाई हामीले हल्का रुपमा लियौँ। हामीले जानी नजानी उनीहरुलाई इमोसनल ब्ल्याकमेल गरेर भएपनि आफूले चाहेजस्तो मात्र बनाउन खोज्यौँ। जसको परिणाम बालबालिकाले आत्महत्या गर्ने अवस्थासम्म पुग्ने कुरामा हामी सचेत हुन जरुरी छ।
समय यस्तो आयो की पाँच/छ कक्षा नपुग्दै केटाकेटीहरुको गर्लफ्रन्ड/ब्वाइफ्रेन्ड बनाउने ट्रेन्ड चलिसकेको हुन्छ। कुरा बुझ्दै जाँदा सबैले बनाए, त्यसैले बनाएको रे। नबनाए त स्कुल/कलेजमा बुल्लिङको शिकार भइन्छ। यसरी अरुको लहैलहैमा लागेर गाँसेको सम्बन्ध कस्तो होला त? वास्तवमा यो उमेरमा प्रेमभन्दा बढी आकर्षण हुनेहुँदा यस्ता विषयमा अल्मल्लिएमा भविष्य अन्यौलग्रस्त हुने सम्भावना बढी हुन्छ।
त्यसैले आफ्नो भविष्यको निर्णय उनीहरुकै हातमा छ भन्ने कुरा उनीहरुको कलिलो मस्तिष्कमा सिँचित गर्न जरुरी छ। अतः किशोर/किशोरीहरुलाई सही मार्गदर्शन, अभिभावकको साथ सहयोग र असल संगत अति आवश्यक हुन्छ। सन्तानलाई पखेटा मात्र लगाइदिने होइन, उड्न पनि दिनुपर्छ।