विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण संसारका कुनै पनि क्षेत्रहरू अछुतो रहन सकेका छैनन्। अझ विशेषगरी शिक्षा क्षेत्रमा त झन् धेरै तहसनहस भएको छ। अन्य क्षेत्रहरुलाई महामारी रोकथाम भएपछि पूनर्जीवित गर्न सकिएला तर शिक्षा क्षेत्रमा भएको क्षतिलाई पूरा गर्न लामो समय र धेरै मिहेनतको आवश्यक रहने छ।
एउटा शैक्षिक वर्षनै हराएर जाने जोखिम बढेको छ, जसले सिकाइ प्रणालीमा दीर्घकालीन असर पार्ने कुरामा पक्कै पनि दुईमत नहोला। पूर्वप्राथमिक कक्षादेखि स्नातकोत्तर तहसम्मका सबै विद्यार्थी कोरोनाको महामारीको चपेटामा परेका छौँ।
म पेशाले एक शिक्षिका भएता पनि स्नातक तहको अन्तिम वर्षमा अध्ययन गरिरहेकोले विद्यार्थी समेत हुँ। काठमाडौँको कुनै एक निजी विद्यालयमा अध्यापन गर्दै त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तहको अन्तिम वर्षमा अध्ययन गरिरहेकी छुँ। बिहान कलेज अनि दिउँसो विद्यालय साथमा अढाइ वर्षकी छोरी पक्कै पनि सजिलो छैन। विद्यालयको जागिर, आफ्नो पढाइ अनि आफ्नी काखकी नानीलाई एकसाथ लिएर जान साच्चै एक चुनौती नै छ।
२०७६ सालको पौष महिनाबाट चीनबाट सुरु भएको कोभिड-१९ फागुन महिनसम्म आइपुग्दा विस्तारै नेपालमा पनि प्रवेश गर्यो। चैतबाट त देशभरी नै लकडाउन भयो। विद्यालयदेखि लिएर विश्वविद्यालयको सम्पूर्ण शैक्षिक प्रणाली नै अबरोध हुन पुग्यो। विद्यालय स्तरको अन्तिम परीक्षा (एसइई) पनि यसबाट अछुतो रहन सकेन। फलस्वरूप एसइई परीक्षालाई आन्तरिक मूल्यांकनका आधारमा परिणाम सार्वजनिक गरियो।
विद्यालय स्तरमा पुरानो शैक्षिक सत्र चैत महिनामा सकिने भएता पनि कोभिडका कारण कुनै विद्यालयले परीक्षा संचालन गर्न भ्याए भने धेरै विद्यालयले पहिल्यै संचालक भएको परीक्षाका आधारमा परिणाम निकाल्न बाध्य भएता पनि अघिल्लो शैक्षिक सत्र त्यती प्रभावित हुन परेन। नयाँ शैक्षिक सत्र वैशाख महिना भित्र भर्ना प्रक्रिया पूरा गरेर जेष्ठ महीनाबाट संचालन हुनु पर्नेमा अझैँसम्म पनि विद्यार्थी भर्ना हुन पाएका छैनन् जसको कारणले एउटा शैक्षिक सत्र नै गुम्ने खतरा बढेको छ।
नयाँ शैक्षिक सत्र सुरु गर्न नसक्ने अवस्था आएपछि जेष्ठ महिनापछि बैकल्पिक सिकाइ प्रणाली बारे बहस सुरु भयो। फलस्वरूप विद्यालय नगइकन नै विद्यार्थीलाई रेडियो, टेलिभिजन, इन्टरनेट लगायतका माध्यमबाट पढाउने भनेर भनियो। तर रेडियो र टिभीभन्दा इन्टरनेटबाट पढाउन सुरु भयो। केही विद्यालयहरुले इन्टरनेटबाट कक्षा संचालन गर्न सुरु गरेता पनि विद्यार्थी माझ इन्टरनेटको पहुँच नहुँदा यसलाई धेरै विद्यालयहरुले निरन्तरता दिन सकेनन्।
निजी विद्यालयमा पढाउने लाखौँ शिक्षकहरु बेरोजगार बन्न पुगे। केही विद्यालयहरुले त अघिल्लो शैक्षिक सत्रको तलब समेत दिएनन्। विद्यालयहरुले इन्टरनेटबाट पढाउँदा विद्यार्थीबाट शुल्क लिन नपाउने भनी सरकारले सुरुमा लागू गरेका कारण अभिभावकहरुबाट शुल्क लिन नपाएको बहानामा धेरै निजी विद्यालयले शिक्षकहरुलाई तलब दिएका छैनन् जसले गर्दा शिक्षक पेशाबाट जनशक्ति पलायन हुने खतरा पनि बढेको छ।
मैले पढाउने विद्यालयमा पनि नयाँ शैक्षिक सत्रको सुरुआतबाट नै बैकल्पिक सिकाइ सुरु भएको थियो। इन्टरनेटबाट पढाइने हुनाले शिक्षक र विद्यार्थी दुवैमा इन्टरनेटको पहुँच अनिवार्य रहने गर्दछ। विद्यालयले इन्टरनेट पहुँच नहुने शिक्षकहरुलाई इन्टरनेट, ल्यापटप लगायतको सुविधा लगायत इन्टरनेट खर्च भनेर थप रकम समेत उपलब्ध गराएको छ।
विद्यालयले तलबको ५० प्रतिशत मात्र उपलब्ध गराएता पनि अभिभावकसँग समेत आंशिक शुल्क लिएका कारण हामी शिक्षक सन्तुष्ट रहेका छौँ। घरमा नै बसेर पढाउन सक्ने भएकाले विद्यालय आउने जाने र बीचको समयमा छोरीको ख्याल गर्ने समय समेत मिलेको छ। सुरुआतमा पढाएको बखत छोरीले हल्ला गर्ने झगडा गर्ने गरेता पनि यो करिब ६ महिनाको अबधिमा साढे दुई वर्षकी छोरीमा मेरो मामुले पढाएको बेलामा छेउमा जान हुँदैन भन्ने बानीको विकास भएको छ।
करिब एक महिना अघि म काठमाडौँबाट मोरङ घरमा आएकी छु। घरमा सासुआमा, बुवा, देवर लगायत हुनुहुन्छ जसको कारणले अहिले पढाउन र छोरीको हेरचाहमा केही सजिलो भएको छ। उहाँहरुलाई मैले पढाइरहेको बेलामा मसँग बोल्नु हुँदैन भन्ने कुरा मेरो छोरीले सिकाउन भ्याएकी छिन्।
केही महिना अघि पढाउन ल्यापटप अगाडि बस्दा रोइकराइ गर्ने छोरी अहिले ल्यापटप खोलेपछि मामुलाई पढाउन अबरोध हुन्छ भन्दै परपर भाग्ने गर्दछिन्। दसैँको मुखैमा मात्र पनि विद्यालयले तलब हालिएको छ, घरमा चाहिने चिजबिज मैले किन्न नपरे पनि आफ्नो व्यक्तिगत प्रयोग हुने सामानको लागि भने कसैसँग हात फैलाउनु परेको छैन।
मैले यो उदाहरण पेशमात्र गर्न खोजेकी हुँ की लाखौँ निजी विद्यालयमा पढाउने शिक्षकहरु आज तलब भत्ता विहीन भएर बस्नु भएको छ। कोरोना महामारीका कारण हरेक क्षेत्र प्रभावित भएका छन्। भोलिको दिनमा कोरोना ठिक भएर विद्यालय सुरु भएपछि पनि पढाउने भनेको हामी शिक्षकहरुले नै हो।
त्यसैले निजी विद्यालय संचालकहरु कृपा गरेर भए पनि सबै महिनाको तलब दिन नसके पनि दसैँ मनाउनकै लागि भएपनि निजी शिक्षकहरुको मन राखीदिनुस्। मानिसको वास्तविक चरित्र समस्यामा परेका बेलामा देखिने गरिन्छ। सुखमा त सबैजना हासिदिने, रमाइदिने हुन्छन् तर महामारी र संकटको बेलामा गरिने सहयोगले मानिसलाई सधैँभरी सम्झन योग्य बनाउँदछ।