दसैं पनि लगभग सकियो। यसपटक कोजाग्रत पूर्णिमासम्म टीका लगाउने विगतको जस्तो दौडधुप पनि देखिएन। नभन्दै यो पटकको दसैं अलि भिन्नै देखियो। दसैंको भिन्नता भित्रको अर्को नयाँ भिन्नता पनि देखियो। त्यो भिन्नता सामाजिक सञ्जालको चौतारीमा छरिएका तस्बिरमा देखिए। ती तस्बिरमा घरको एक जना मुली लोग्ने मान्छेको निधार प्रायः खाली देखिए।
किन निधार खाली देखिए त? विगतमा त्यति देखिँदैन थिए। विगतमा उनीहरू मान्यजनकोमा गएर टीका र आशीर्वाद थाप्थे। मान्यजन नहुनेहरू पुरोहितको हातबाट टीका र आशीर्वाद लिन्थे। कोभिड-१९ असुरले त्यसो गर्न प्रतिबन्ध लगाइदियो र घरको मुली भनिएका लोग्ने मान्छेको निधार खाली भयो।
दसैंको टीका र आशीर्वाद मान्यजनबाट थाप्ने प्रचलन र परम्परा हो। श्रीमतीको लागि श्रीमान् मान्यजन हुन्। त्यसैले, श्रीमतीले श्रीमानबाट दसैंको टीका र जमरा ग्रहण गर्छिन्। श्रीमती मान्यजन होइनन्। त्यही भएर श्रीमानले श्रीमतीबाट टीका र जमरा ग्रहण गर्दैनन्। परम्परादेखि विकास भएको सोच र प्रथा यही हो।
यो प्रथा कसरी विकास भयो, त्यतातिर नलागौं। जसरी विकास भएको भएपनि रीतिरिवाज, संस्कार र संस्कृति विकसित हुँदै जाने कुरा हुन्। सभ्य समाजले राम्रा पक्षलाई अझ परिस्कृत गर्दै लान्छ र नराम्रा पक्षलाई छाड्दै जान्छ। छाड्दै जानु पनि पर्छ।
यसरी परिस्कृत गर्दै लानको लागि तर्क र विवेकसंगत चेतना चाहिन्छ। चेतना र जानकारीको अभावमा परिवर्तन चाहनेहरू पनि परिवर्तित हुन सक्दा रहेनछन्। यसपटकको दसैंले यही महसुस गरायो।
सामाजिक सञ्जालबाट कोही कतै नजाने र घर परिवारबीच मात्रै दसैं मनाउने सन्देश प्राप्त भइरहेका थिए। भ्याक्सिन नामक देवी गर्भमै रहिन्। दसैंअगाडि उनको जन्म हुन नसकेकोले कोभिड नामक असुरमाथि विजय हासिल हुन सकेन। कहीँ कतै दसैंको उत्सव र खुसी हर्ष उल्लासका साथ मनाउन सक्ने अवस्थै रहेन। उत्सव र खुसी मनाउन कही जान सक्ने कुरै भएन। गइएन पनि। कोही आफन्तहरू आउने अपेक्षा पनि गरिएको थिएन।
दशमी अर्थात् टीकाको दिन म अफिस गइनँ। परिवारका चार जना बीच टीका लगाइयो। मेरी श्रीमती खाना पकाउँदै थिइन्। म पनि उनलाई सघाउँदै थिएँ। खाना लगभग पाकिसकेको थियो। श्रीमतीको फोन रिङ बज्यो।
‘फूपू, हामी टीका लगाउन आउँदैछौ है,’ उताबाट बोलेको सुनियो।
नदेखिने असुरले त्राहीमाम पारेको बेला यसपटक कोही पनि आउँदैनन् होला भनेर हामी ढुक्क परेका थियौं। श्रीमतीलाई धर्मसंकट पर्यो। आऊ भन्नु कि नआऊ भन्नु।
‘आउँछौ र!,’ उनले आश्चर्यजनक ढंगले जवाफ फर्काइन्।
‘आउने फूपू, मास्क लगाएर आउने नि। ज्वाइँले टीका लगाएकै छैन,’ भनेर भनेपछि उनले नआउ भन्न सकिनन्। उनीहरू आए।
भदै ढोकाबाट घर भित्र नपस्दै मलाई देखिन् र प्रश्न गरिन्, ‘अनि फूपालाई कसले टीका लगाइदियो?’
‘फूपूले।’
मेरो उत्तर सुनेर उनले आश्चर्य मान्दै भनिन्, ‘आमा... अनि फूपूले हजुरलाई टीका लगाइदिन हुन्छ!'
उनको आशय थियो- श्रीमतीको हातबाट पनि दसैंको टीका लगाउन हुन्छ त!
मैले मेरी श्रीमतीसँग टीका र जमरा लगाएको उनलाई अनौठो लाग्यो।
‘अनि दसैँको टीका त मान्यजनबाट मात्र लगाउने होइन र,’ उनले आश्चर्य मान्दै फेरि प्रति प्रश्न गरिन्।
भदै र भदाज्वाइँ दुवै पढे लेखेका। अझ ज्वाइँ क्यानडा अमेरिकाका नाम चलेका विश्वविद्यालयबाट लिन पर्ने उच्च शिक्षा बाँकी नराखी लिइसकेका मान्छे। भदैको निधारमा रातो टीका र कपालमा जमरा थियो। तर, ज्वाइँको निधार खाली थियो।
ज्वाइँ पढे लेखेका मात्र थिएनन्, अलि प्रगतिशील र सकारात्मक सोच पनि भएका मान्छे थिए। तर, उनमा आफ्नी श्रीमती अर्थात् जीवनसाथीबाट दसैंको टीका लगाउन हुन्छ भन्ने चेत खुलेको रहेनछ।
दसैंको नौ दिनसम्म नवदुर्गाको पूजा गरिन्छ। देवीकै आरधना गरिन्छ। उनकै महिमा र प्रशंसा गरेर कहिल्यै धर्मगुरु र पण्डितहरू थाक्दैनन्। ठूला-ठूला साहित्य लेखिएका छन्।
हो, देवीको पूजा गर्नैपर्छ। उनको साहित्य लेख्नैपर्छ। तर, नबोल्ने देवीको मात्र होइन, बोल्ने देवीको पनि पूजा हुनुपर्छ। अझ घर-घरमा हुनुपर्छ। बोल्ने देवीको पनि साहित्य लेखिनुपर्छ। लेखेर मात्र हुँदैन। लेखे अनुसारको चरित्र र व्यवहार पनि हुनु पर्दछ।
पूर्वीय समाजका मान्छेको जीवन पति-पत्नीको सम्बन्धबाटै सुरु हुँदो रहेछ। जन्मको आधार त्यसैले खडा गर्दो रहेछ। परिवार, नरनाता र समाज त्यही सम्बन्धबाट हुँदो रहेछ। हुर्किएपछि मान्छे बाबु-आमासँग मात्र जीवन बिताउन नसक्ने रहेछ। जीवन जिउन र जीवन बिताउन जीवनसाथी नै चाहिने रहेछ।
आखिर जीवनसाथी के हो त? श्रीमान्-श्रीमती। पति-पत्नी। श्रीमान्-श्रीमती एक रथका दुई पांग्रा। दुवै बराबर। बराबर भएन वा एउटा पांग्रा अलिकति तलमाथि भयो भने दुर्घटनामा पर्छ। रथ गुड्न सक्दैन। त्यसो हो भने लोग्ने मात्र कसरी मान्यजन हुन सक्छ? सक्दैन। उनीहरू बराबर हुन्।
बराबर हुन् भने श्रीमान-श्रीमती दुबैले एक-अर्कालाई दसैंको टीका लगाइदिन किन हुँदैन? हुन्छ। त्यही भएर हामी दुई जीवनसाथीले सन् २०१४ को दसैंदेखि एक-अर्कालाई टीका लगाउन सुरू गर्यौं।
काठमाडौंमा हुँदा मेरा मान्यजहरू धेरै थिए। मेरा आठजना दाजू र दाजूका भाउजूले एकै ठाउँमा एकै पटक दसैंको टीका लगाइदिनु हुन्थ्यो। आफ्नो एउटा निधारमा सोह्र वटा हात अट्नै मुस्किल। तर, सन् २०१४ देखि त्यो अवसर मिलेन। त्यो सालको दसैंमा हामी चार जनामध्ये तीन जनालाई मैले टीका लगाइदिएँ। मलाई टीका लगाइदिने मान्छे भएनन्। खोजी-खोजी टीका लगाउन जान पनि मन लागेन।
मेरो निधार खाली देखियो। मेरी श्रीमतीलाई त्यति मजा लागेन। उनले सोधिन्, ‘कि म लगाइ दिऊँ त? भगवानको पूजाको अक्षता मैले लगाइदिने गरेकै छु।‘
फेरि उनले के सम्झे स्तो गरेर भनिन्, ‘ए साच्ची, तिमीलाई पहिलोपटक मैले नै टीका लगाइदिएको हो नि।’
‘कहिले?,’ प्रतिप्रश्न गरेँ।
‘स्वयंबरमा,’ उनको उत्तर थियो।
‘हो त नि,’ मैले पनि सम्झेँ।
मेरो हातको पाखुरी समाएर जतन साथ मलाई स्वयंबरको लागि सजाइएको मञ्चमा लगियो। मञ्चको कुर्सीमा मलाई राखियो। म पनि बेहुलो, गमक्क परेर बसेँ। बेहुली आएर तीन पटक परिक्रमा गरिन्। रातो टीका लगाइन् र माला पहिर्याइन्। यसरी उनैले पहिलोपटक टीका लगाइदिइन्। त्यसपछि मात्र मेलै उनलाई टीका लगाइदिएको हो।
हामी दुई जोइपोइमा कसले बढी टिका लगाइदिँदो रहेछ त? त्यो पनि उनैले। उनले त हरेक पटक मन्दिर जाँदा मलाई टीका लगाइदिन्छिन्। तीजको ब्रत बस्दा लगाइदिन्छिन्। मेरो सुस्वास्थ्य र उन्नति प्रगतिको लागि व्रत बस्छिन्। दीर्घायू र सुख शान्ति एवम् प्रगतिको सधैं कामना गर्छिन्, पुकार गर्छिन्।
मैले त खाली वर्ष दिनमा आउने बडादसैंको टीकाको अवसरमा मात्र लगाइदिँदो रहेछु। मैले वर्षमा एक पटक लगाइदिँदो रहेछु। उनले वर्ष कतिपटक टीका लगाइदिइन् भन्ने लेखाजोखै रहेनछ मसँग।
मृत्यको नजिक पुगेर मलाई बाबुको दर्जा प्रदान गरिन्। जो मान्छे मेरो लागि ब्रत बस्छ, मन्दिरमा गएर पूजा गर्छ। दीर्घायूको कामना गर्छ र पुकार गर्छ। जो मान्छेसँग सहअस्तित्वको जीवन बितिरहेको छ। त्यो मान्छेसँग दसैंको टीका लगाउने नहुने? कुनै धार्मिक ग्रन्थमा पतिले पत्नीलाई दसैंको टीका लगाइदिन हुन्छ, तर पत्नीले पतिलाई हुँदैन भनेर लेखिएको छ? यदि छ भने सुधार गर्नुपर्छ। समय सापेक्ष बनाउन पर्छ।
परिवर्तका नाममा संस्कार, संस्कृति र परम्परालाई मेटाउन वा ध्वस्त पार्ने काम गर्न हुँदैन। तर, त्यसलाई समय अनुरुप परिस्कृत गर्दै लानु पर्दछ। व्यक्ति, परिवार र समाजको हित अनुकूल बनाउन पर्दछ।
नारी देवी भनेर ओठे भक्ति देखाएर मात्र हुँदैन। फेरि नारीले पनि म त देवी हुँ नि भनेर माया गर्ने मायालुसँग शक्ति स्वरुपा बन्न पनि हुँदैन। दुष्ट लोग्ने वा पुरुषसँग मात्र शक्ति स्वरुपा बन्ने हो।
हामीले मानि आएका संस्कार र परम्पराहरू आजभन्दा हजारौं वर्ष अगाडि सुरू भएका हुन्। विजयादशमीको टीकाका दिन मान्यजनले पुरुषलाई दिइने अशीर्वादमा त्रेता युग र द्वपर युगका पात्रहरूको नाम उल्लेख छ।
नेपालकै सन्दर्भ हेरौं। द्रव्य शाहले गोर्खा लिनु भन्दाअघि स्थानीय मगरहरु चेपेको किनारदेखि लिगलिगकोटसम्म दौडन्थे। दौडमा जसले जित्थ्यो, उही वर्षभरि राजा हुन्थ्यो। दौड प्रतियोगिता विजयादशमीकै दिन हुन्थ्यो।
दौड प्रतियोगितामा दौडने पुरुषै हुन्थे। उनीहरू शारीरिक रुपमा महिलाभन्दा बलिया हुने नै भए। जो बलियो र दह्रो हुन्छ, उसलाई सबैले मान्ने नै भए। त्यसमा पनि उसकी श्रीमतीले त मान्ने नै भई। त्यो बेलाको समाजको चेतना र आजको समाजको चेतनाको स्तर एउटै छैन र हुनु पनि हुँदैन। महिलाप्रतिका कतिपय त्यो बेलाका धार्मिक दृष्टिकोण अब फिक्का र असान्दर्भिक भएका छन्।
कोभिड असुरसँग डर लागिरहेको थियो। घरमा आएका पाहुना भदै र भदा ज्वाइँसँग डराउँदै टीका लगाउने प्रथा र दसैंका बारेमा कुराकानी भए। उनकी फूपू र मैले टिका लगाइदियौं। भदा ज्वाइँको पनि भदैकै जस्तो रातो टीकाले निधार भरियो। निधारको टीका र कानमा लगाइएको जमराले उज्यालो अनुहार भएका ज्वाइँ झनै उज्यालो देखिए।
भदा ज्वाइँले पनि आफ्नी श्रीमतीसँग स्वयंबरमा टीका लगाएको सम्झे। मन्दिर जाँदा होस् कि ब्रत बस्दा होस्, भदैले टीका लगाइदिएको सम्झे। भदैले खुसी हुँदै भनिन्, ‘हेर प्रिय, अर्को सालको दसैंमा म पनि तिमीलाई टीका लगाइदिन्छु।’
ज्वाइँ पनि खुसी हुँदै मुसुक्क हाँसे र भने, ‘हुन्छ।’