'पुकुलु, जाम् गुर्जो किन्न,' मैले ममीलाई भनेँ। म चाहिँ गुर्जो नचिनेको मान्छे, कोरोनाले चिनाइदियो। हाम्रो टोलमा पनि कसैको बारीमा गुर्जो रहेनछ।
'जाऊँ न त जाऊँ। कहाँँ जाने?' ममीले सोध्नुभयो।
'रेश्माको घरअगाडिको नर्सरीमा पाइन्छ होला। नजिकै पनि छ,' मैले भनेँ।
निस्कियौं आमा-छोरी गुर्जो किन्न। मेरो मात्र ममीको बानी हो कि तपाईंहरूको नि यस्तै गर्नुहुन्छ, थाहा भएन। मेरी ममीलाई बाटोभरी चिनेको जति सबैलाई 'नमस्कार' भन्दै सन्चो-बिसन्चो के छ' सोध्नै पर्ने। अनि दुई मिनेट उभिएर गफ गर्नैपर्ने!
'हे भगवान!,' भन्दै दिक्क मानेँ मैले। समातेको पाखुरा फुत्काउँदै अलि अगाडि हिडेँ, छिटो-छिटो। दस कदम जति अगाडि टक्क उभिएँ। गफगाफ सकिएपछि मुसुक्क हाँस्दै आउनुभयो ममी मतिर।
'माँ, तपाईंलाई जोसँग नि बोल्नुपर्ने,' रिसाएजस्तो गरेर बोलेँ।
'मरी लानु के छ र बाबै, बाँचुन्जेल त हो नि हाँस्ने-बोल्ने,' आयो हाम्री पुकुलुको टिपिकल डाइलग!
ङिच्च दाँत देखाएँ मैले!
ममीको पाखुरा समातेर आमा-छोरी गफ गर्दैगर्दै नर्सरी पुगेर गुर्जो किन्यौं। फर्केर आउँदा फेरि एकजना बूढी आमा र उनकी बुहारीसँग भेट भयो। लौरो टेक्नुभएको थियो हजुरआमाले। सेतो कपालमा लरक्क रातो धागो, कति राम्रो सुहाएको! आँखै कपालमा पुग्यो मेरो।
'नमस्कार आमा। चिन्नुभयो मलाई?' ममीले सोध्नुभयो।
(लौ लौ, फेरि सुरू, अति के! धन्न मास्क लगाएकी छु र अनुहार कुच्चेको देखिँदैन मेरो।)
आँखा नै छोपिएझैं गरी लगाएको मास्क अलि तल तानेर अनुहार देखाउनुभयो ममीले। आमैले नमस्कार त फर्काउनुभयो तर चिन्न सक्नुभएन।
'म के! ऊ यो घर पछाडिको रातो घरमा बस्थ्यौं नि पहिला! सेतो कपाल फुल्या आमा हुनुहुन्थ्यो नि, उनको बुहारी। महादेवस्थानको चौतारीमा गफ हुन्थ्यो नि तपाईंहरूको मेरो सासूसँग,' यत्रो कुण्डली नै तेर्स्याउँदा नि चिन्नुभएन त्यो ती हजुरआमाले।
किन सेतो कपाल फुलेको 'बूढी आमा' को नाम लिएर चिनाएको भनेर सोच्दै हुनुहुन्छ भने भन्दिहालम्, हाम्री 'हजुरआमा' हाम्रो वडाभरी 'फेमस'। अझ अरू बूढी आमाहरूको माझ त झनै फेमस!
'छोरी हो?' भनेर बुहारी आन्टीले सोध्नुभयो। मैले नि अहिले चाहिँ नमस्कार गरेँ। आमैले अझै चिन्नुभएन र पो।
'कति पढ्ने छोरी? बिहा भयो?,'सोध्नुभयो।
'कहाँँ बिहा गर्नु! मास्टर पढ्दै छे,' ममीले भन्नुभयो। बिहेको प्रश्न सुन्नेबित्तिकै रिस उठ्यो मलाई चाहिँ।
'ह्या होस् के, हिँड्नु जाम,' सुटुक्क ममीको कानमा भनेँ।
'ल त ल। हतार भयो रे,' भनेर अलि अगाडि मात्र के पुगेका थियौं, बुहारी आन्टीले बसिरहनुभएकी हजुरआमालाई हाम्रो परिचय गराउनुभयो।
'कस्तो नचिनेको तपाईंले? त्यो रातो घरको लाटोको बुढी के!'
मैले सुनिहालेँ।
'थुक्क! फेरि आज मेरो नमस्कार खेर गयो। फेरि आलु-भन्टा-गोभीहरूलाई नमस्कार गरेछु मैले,' मनमनै गाली गरेँ सबैलाई।
आलु-भन्टा-गोभी चाहिँ मैले गर्ने 'भेजिटेरियन' गाली हो। उसै पनि 'सत्यमेव जयते' को पहिलो भागमाभनिएको थियो- व्यवहारको सम्मान गर, उमेरको होइन। यो भनाइको कट्टर पालक हुँ म।
ममीले सुन्नुभयो कि भएन होला भन्ने सोचमा परेँ म। हुन त हाम्रो ममीले जिन्दगीमा सुन्न बाँकी के नै पो छ र? 'बिवी हो तो एसी' भन्ने फिल्मभन्दा कम छैन हाम्रो ममीको जिन्दगी! फिल्ममा रेखाले जस्तैगरी क्लाइमेक्समा अंग्रेजी फरर बोल्न जाने त! आहा, सुनमा सुगन्ध हुन्थ्यो। सबजना ठेगान लाग्थे अनि!
तर अब मैले त सुनिहालेँ ती बुहारी आन्टीले भनेको। अहिले भर्खर सुनेको होइन। बच्चैदेखि सुनेकी। मेरो परिचय 'लाटोकी छोरी!'
तिनी बुहारी आन्टीले भनेजस्तै, बच्चैदेखि यस्तै शब्द सुन्दै, यही संस्कारमा हुर्केका आन्टी-अंकलहरूले राखिदिनुभएको 'नाम'।
मैले पहिलोपटक यो 'नाम' ढुंगेधारामा पानीको लाइन र भीड हेर्न गएकाबेला सुनेकी थिएँ। लाइन धेरै छ भने-भरेतिर जाउँला भनेर। आन्टीहरू लुगा धुँदै, अंकलहरू पानी भर्दै थिए। त्यहीबेला सुनेकी।
मेरो यति राम्रो नाम बिगारेर के बनाएका हुन् कुन्नि! कम्ता रिस उठेको थिएन। घर आएर फेरि सुकेको नर्कट बोकेर सबलाई कुटिदिन्छु भनेर निस्केकी थिएँ। नर्कट बोकेर त गएँ तर आफूभन्दा धेरै उचाइ भएका सबैजना 'डब्लु.डब्लु.इ' का रेस्लर लाग्ने रहेछ। फर्किएँ।
ममीले किन बोकेको त्यो नर्कट भनेर सोध्दा 'माथि माथि सैलुङ्गेमा चौंरी डुलाउनेलाई' भन्दै एक फन्का घुमेकी नि थिएँ। सानै त थिएँ नि म!
'तिनीहरूको भन्दा धेरै राम्रो नाम छ मेरो' भन्दै घमन्ड पनि गर्थेँ म।
'तिनीहरूलाई के थाहा, मेरो बाबा कति कूल मान्छे भनेर। खप्परमा हुनुपर्यो नि तिमीहरूको मेरो बाबाको संगत गर्न,' भन्ने लाग्न थाल्यो त्यो सुनेपछि।
कहिलेकाहीँ त लाग्छ एउटा ठूलो भ्याकुम क्लिनर बनाऊँ अनि यो अंकल-आन्टीहरूको दिमागमा भएको सब फोहोर र उनीहरूले बच्चैदेखि सिकेका यस्ता शब्दवलीको डंगुर सब सफा गरिदिऊँ। कुचो लगाउन धेरै मिहेनत लाग्छ, भ्याकुम सजिलो!
तर सबैले यस्तो नामाकरण गर्नुभएन। कोहीकोही राम्रो हुनुहुन्थ्यो। माया गरेर 'नानी' भनेर बोलाउनुहुन्थ्यो। त्यसैले मलाई 'नानी' भनेर बोलाउनुभएको औधी मनपर्छ।
साथीहरु पनि भाग्यले पाएकी छु। कोही नहुँदा तिनीहरू नै थिए। स्कुलदेखिका, अझ भन्नुपर्दा त एल.के.जीदेखि सँगै पढेका नि अझै साथी छन्। दयाको नजरले नहेर्ने, आकाश नै खसेजसरी 'कठै, विचरा' नभन्ने। कोही विदेश गए। कसैको बिहा पनि भइसक्यो।
ए, साँच्ची बिहे प्रसंगका बारेमा त भनेकै छैन मैले। ५-६ वर्ष अगाडिको कुरा हो। हाम्री हजुरआमा (बाबाको आमा) बिरामी भएर अस्पताल भर्ना गर्दा म पनि गएकी थिएँ। हजुरआमाको छेउको बेडमा सुतिरहनुभएका बाबालाई भेट्न त्यहीँ भएकी एकजना आन्टी आइन्।
उनलाई खुब कौतुहलता लागेछ हाम्रो परिवार देखेर। धेरैलाई लाग्छ त्यो त! गफैगफमा आन्टीले ती बाबालाई हेर्दै सोधिन्, 'पहिल्यैदेखि यस्तै हो कि?'
मैले भनेँ, 'हैन, पछि टाइफाइड बिग्रेर भएको।'
'कठै। यति राम्रो मान्छे,' भन्दै सहानुभूति जनाइन्।
'आफ्नो सहानुभूति आफैंसँग राख्या भए हुने,' भनौं जस्तो लागेको थियो, भनिनँ। मान्छेको आँखामा 'कठै-विचरा' देख्यो कि एकदम रिस उठ्छ मलाई। के-के न भएजस्तो! आकाश नै खसेजसरी दया देखाउँछन्। उफ्! फिटिक्कै मन पर्दैन।
'अनि यिनी चाहिँ छोरी?' मलाई देखाउँदै भनिन्।
'हजुर। म जेठी,' मैले नाकका पोरा फुलाउँदै भनेँ।
'ब्याचलर पढ्दै छे अहिले,' ममीले सुनाइ हाल्नुभयो।
'ए, बिहा गर्ने बेला भएछ,' आन्टीले सासै नफेरी भन्नुभयो।
हत्तेरिका। फेरि सुरू भयो। बल्लबल्ल अस्तिको महिना नाइँ भन्या, फेरि आयो बिहे!
अनि त आन्टी भट्ट्याउन थालिन्, 'मेरो भाइ छ, ३० वर्षको।'
(आन्टी, म २० वर्षकी हुँ।)
'इन्जिनियरिङ पढेको। कमाइ पनि एकदम राम्रो छ।'
(मलाई कस्तो इन्जिनियरिङको 'मिम' याद आयो। हाँसम् नि नहाँसम्? ए, कमाइ? ल बधाइ छ आन्टी! धेरै प्रगति गरून् तपाईंका भाइले।)
'तर उसको अलि प्रब्लेम छ।'
(मेरो पनि। मलाई मेरो निद्रा एकदम प्यारो लाग्छ।)
'ऊ बैसाखी टेकेर हिँड्छ। आनीबानी सब राम्रो छ। बिहेका लागि केटी हेरिरा'को।'
(हँ?)
एकछिन त दिमागले कामै गरेन मेरो, 'यिनी आन्टी त खतरा रहिछिन्। हामी त भेटेको भर्खर दस मिनेट भयो। हाम्रो सम्मान नगरे पनि, कम्तिमा आफ्नो भाइको त सम्मान गर। होइन, यिनीहरू के भएका?'
मलाई रिसको पारा चढ्यो। उनको भाइको कुरा गरिन् भन्दा पनि हामीलाई हेर्ने दृष्टिकोणले। उनले आफ्नै भाइलाई हेर्ने दृष्टिकोणले गर्दा। दसैं, भाइटीकामा आशिष पनि के दिँदी हुन् यिनले?
मिल्ने भए त कस्तो मज्जाले चिउरा बजाइदिन्थेँ। तर म नि के कम? हाँसीहाँसी सुनाइदिएँ-
'कहाँँ बिहा गर्नु र आन्टी? भर्खर त ब्याचलर पढ्दै छु। बल्ल जागिर लाग्या छ। अस्ति भर्खर ह्वाँ अमेरिकाको डाक्टरलाई नाइँ भन्या छु। त्यो डाक्टर नि क्यान्सरमा रिसर्च गर्दै थियो क्यार, सिनियरहरूसँग मिलेर...।'
ममीले बीचमै काट्नुभयो मलाई, 'कहाँ अहिल्यै बिहे गर्नु नि। सानै छे। पढ्दै छे।'
'अझै क्या सुनाइदिन लाग्या थिएँ। अझ त्यो नेवीवाला मान्छेको त सुनाउनै पाइनँ। क्या बोर,' मनमनै लाग्यो।
आन्टी कुन्नि के बहाना बनाएर जुरुक्क उठेर कतै गइन्। ममीलाई हेर्दै मुसुमुसु हासेँ म।
के भनेकी ती आन्टीले भनेर सोध्दै हुनुहुन्थ्यो बाबाले। हामीले कुरा घुमाएर 'आत्तिनु पर्दैन, ठीक हुन्छ आमालाई' भनेको भन्दियौं।
तर आन्टीले केही गडबड भनिन् भनेर बाबाले मेरो अनुहार हेरेर हल्का मेसो पाइसक्नुभएको थियो। उनको मान्छे ल्याएको दुई हप्ता भयो रे भनेर थपिदियौं।
मन दुख्दैन कि क्या हो बाबाको चाहिँ?
भन्नेहरूले भन्न छोड्दैनन्। के-के मात्रै सुनाउने? मुख टाल्न सकिँदैन सबैको। मिल्ने भएको भए त अहिले म सुपरग्लु लिएर कुदिरहेको हुन्थेँ होला। कस्तो रमाइलो!
मलाई यस्ता अंकल-आन्टीहरूको दृष्टिकोण फिटिक्कै मनपर्दैन। कहिले सुध्रिने होलान् जस्तो लाग्छ।
सोच्छु, 'अब यिनका बच्चाबच्ची नि यस्तै होलान्? अनि तिनका बच्चाबच्ची नि? केही गतिलो नसिकाउने भए। आउने पुस्ता सब 'बर्बाद जुलका' हुने भए। तोइट्!'
ल, उसो भए आज मै सिकाउँछु, एउटा नयाँ शब्द। तपाईंहरूलाई थाहा नभएको शब्द।
यो एउटा यस्तो जादुमयी शब्द हो जसले तपाईंलाई समाजमा सभ्य बनाउन मद्दत गर्नेछ। अल्लादिनको चिराग नै चहिँदैन तपाईंलाई! अनि तपाईंहरूको भावी पुस्ताले नि धन्यवाद भन्नेछ। अब जरा राम्रो भए नि हाँगा नि सप्रिन्छ। हैन र?
त्यो शब्द हो- बहिरा।
कम्तिमा पनि त्यो 'लाटो' भन्ने शब्दको सट्टा 'बहिरा' शब्द जानेर सुरूआत गरे पुग्छ। यहीँबाट सुरू गर्नुहोस्। बानी बसाल्नुहोस् अहिल्यैबाट। संवाद गर्न सक्ने मान्छेलाई लाटो भनिँदैन।
अनि अरू शब्द पनि त छन् नि! 'अन्धो' को सट्टा दृष्टिविहिन। यस्तैयस्तै अलि नहोच्चाउने शब्द! यस्ता नहोच्चाउने शब्दलाई कापीमा मात्र सीमित नराख्नुस् है! प्रयोग पनि गर्नुहोस् बोलीचालीको भाषामा। अझ म त भन्छु नामले बोलाउनुहोस्। नाम थाहा छैन भने थर त थाहै होला के रे! उनको वास्तविक नाम नि फेरि। माथि भनेजस्तो 'परिचय' वाला नाम हैन!
'अन्धो' को सट्टा दृष्टिविहिन भन्न थाल्नुभयो भने विस्तारै हेर्ने दृष्टिमा नि परिवर्तन आउनेछ। अनि त्यो 'अपांग' भन्ने शब्द पनि नराम्रो सुनिने छैन होला। यति परिवर्तन आओस्, 'अपांग' भन्ने शब्द 'दाल-भात' भने जत्तिकै अथवा 'ज्वरो' भने जत्तिकै सामान्य लागोस्।
तपाईंहरू नि अघि मैले बखान गरेका अंकल-आन्टी जस्तो सोच्नुहुन्छ भने मैले भर्खर सिकाएका नयाँ शब्द सिकेर सुरूआत गर्नुहोला। 'नाइँ, सिक्दनँ' भन्नु हुन्छ भने एउटा भ्याकुम किनेर दिमागको मैला सफा गर्नुहोला!
हामी कति जना मोनिकाले कति वटा भ्याकुम लिएर कतिवटा दिमाग सफा गर्न भ्याउनू!
अँ, झण्डै भन्न बिर्सेकी! अरु कोही मोनिका यो पढ्दै हुनुहुन्छ भने यो उहाँहरूका लागि म एउटा 'सिक्रेट' भन्छु। मैले कतै सुनेको थिएँ- हतौडाको चोट नखाइकन त पत्थर पनि भगवान बन्दैन।
यी सब वचनले हामीलाई झन् बलियो पो बनाउँदो रहेछ। फलामजसरी आफ्नो मनोबललाई खिया लाग्न नदिनुस् है! तपाईंको घरमा कोही अपांगता भएका व्यक्ति हुनुहुन्छ भने उहाँहरूलाई अपशब्द बोल्ने, दयाको दृष्टिले हेर्ने नगर्नुहोस् है!