आजभोलि बलात्कारीको लिंग छेदन, जिउँदै जलाउने, झुण्ड्याउने जस्ता आवाज चर्को उठिरहेको पाइन्छ। यही बेला 'लैंगिक न्यायका लागि संघीय महिला सांसद समूह' गठन भएको छ, जसलाई 'टास्क फोर्स' भनिएको छ। र, यसको टास्क भनेको बलात्कारीलाई मृत्युदण्डको कानुन बनाउने हो।
यो लेख कानुन र त्यसको प्रक्रियाको छलफलबारे भने होइन। बरू, न्यायका नाममा कसरी हिंसाको प्रवर्द्धन हुन गइरहेको छ भन्नेमा केन्द्रित हो।
कुनै व्यक्तिले अपराध गरेका कारण उसलाई अपराधी भनिन्छ। त्यस्ता अपराधीलाई सजायका नाममा हामीले पनि यदि हिंसात्मक विकल्प रोज्यौं भने एक अपराधी र हामीबीच के फरक रहला? वा कानुनी राज्यको आवश्यकता किन होला?
दैनिक हुने बलात्कार घटना र राज्यको गैरजिम्मेवारीपनले मानिसहरूलाई स्वभाविक रुपमा आक्रोश पैदा गरेको छ। त्यसको प्रतिक्रियास्वरुप हिंसात्मक आवाज उठ्छ नै। यस्ता आक्रोश सम्बोधन गर्न राज्यले पीडितलाई न्यायको सहज पहुँच र कानुनी दण्डको प्रभावकारितामा जोड दिनुपर्छ।
केही महिला अधिकारकर्मी र सांसदहरू राज्यलाई हत्याको लाइसेन्स थमाउन क्रियाशील छन्। उनीहरूको विश्वास हुन सक्छ- एक बलात्कारीलाई झुण्ड्याइयो भने अर्कोले बलात्कार गर्ने हिम्मत गर्दैन।
तर बुझ्नपर्ने के भने, कुनै पनि व्यक्तिले दण्डको व्यवस्था हिसाबकिताब गरेर अपराध गर्दैन। त्यसो हुँदो हो त जुन देशमा 'खुनको बदला खुन' कानुन छ वा दोषीलाई मृत्युदण्ड दिइने कानुन छ, त्यो देशमा कसैले अपराध गर्नै डराउनु पर्ने हो।
त्यसकारण मृत्युदण्ड कानुन कुनै पनि अपराध वा बलात्कार घटाउने विकल्प होइन।
केही अपराधी यस्ता हुन्छन् जो सोचेर, विचार गरेर अपराध गर्छन्। त्यस्ता व्यक्तिबाट अर्को मानिसलाई जहिल्यै खतरा रहन्छ भने त्यस्तालाई समाजसँग बस्ने सुविधा हुन सक्दैन। तर त्यस्तालाई पनि त समाजबाट छुट्याएर आजन्म जेलमा राख्ने विकल्प र सुविधा राज्यसँग छ। तर ठगिएको वा डुबेको धन फिर्ता हुने सम्भावना भए जसरी फाँसीमार्फत तिनको अपराध फिर्ता हुन सक्दैन भने तिनलाई फाँसी दिनुको अर्थ हिंसाको बदला हिंसा हो। जुन कुनै पनि हिसाबले उपयुक्त होइन।
अझ साहित्यकार खलिल जिब्रानको तर्क छ- न्यायाधीशलाई मान्छे मार्ने अधिकार नै हुँदैन। उनी आफ्नो कथा मार्फत प्रश्न गर्छन्, फाँसीको फैसला दिने न्यायाधीश इश्वर हो र? यदि उसले मानिसलाई जीवित बनाउन सक्दैन भने हत्या गर्ने अधिकार कसरी पाउँछ?
मर्नु प्राकृतिक नियम हो। प्राकृतिक नियमलाई राज्यले उल्लंघन गर्छ भने त्यो पनि आधिकारिक अपराध नै हो। राज्यलाई नागरिकको अभिभावक मानिन्छ। तर अभिभावकले नै अपराधको लाइसेन्स बोक्छ भने त्यसले नागरिकलाई न्याय दिन्छ या भय?
मृत्युदण्डको दुरुपयोगः
फिल्म 'द ग्रिन माइल (१९९९)' मा जोन नामको एक अश्वेत व्यक्ति दुई गोरा बालिकाको बलात्कार र हत्या गरेको अभियोगमा अपराधी किटान भई मृत्युदण्डको समय पर्खेर बसेको हुन्छ। त्यो अवधिमा जेलको वार्डेन पाउलले थाहा पाउँछ, जोन अपराधी होइन। एक असल मानिस हो।
त्यसपछि वार्डेनले जोनलाई भन्छ, 'मैले थाहा पाएँ, तिमी निर्दोष छौ। तर म तिमिलाई केही गर्न सक्दिनँ। बरु चाहन्छौ भने म तिमीलाई जेलबाट भाग्न सहयोग गर्न सक्छु।'
जोनले वार्डेनको प्रस्ताव अस्विकार गर्दै भन्छ, 'म यो समाजदेखि थाकिसकेँ। समाजमा गएर थप दुःख पाउनु भन्दा मर्नु नै आनन्ददायी हुन्छ।'
अन्यमा उसलाई करेन्ट लगाएर मृत्युदण्ड दिइन्छ।
मृत्युदण्ड लाइसेन्सको एक निर्दोष व्यक्तिमाथि कसरी प्रयोग हुन सक्छ र असल मान्छे पनि कसरी समाजसँग निराश भएर मृत्यु रोज्न पुग्छ भन्ने यो उदाहरण मात्र हो। हाम्रै सामुन्ने यस्ता अनेक घटना छन्।
एक खरिदार रामहरी सुवेदीलाई एक हजार रुपैयाँको भ्रष्टाचार मुद्दामा अख्तियारले ४२ दिन थुन्छ। त्यसलाई सहन नसकी उनले आत्महत्या गर्छन्। अर्बौं भष्ट्राचार गर्नेहरू खुला घुमिरहँदा एक हजार खाएको आरोपमै कसैले मृत्यु भोग्नु पर्छ। अनि एक हजार भ्रष्टाचारको बेइज्जत सहन नसकी आत्महत्या रोजेका रामहरी सुवेदीलाई अदालतले मृत्यको तीन वर्षपछि भ्रष्टाचार गरेको पुष्टि हुन सकेन भनेर सफाइ दिन्छ।
अर्को घटना पनि छ।
रुकुमका किरण केसी र पूर्णबहादुर ओली हत्या अभियोगमा दोषी ठहर भई जन्मकैदको सजाय पाउँछन्। तर पूर्णबहादुर ओली पाँच वर्षपछि र किरण केसी सात वर्षपछि अदालतबाट निर्दोष सावित हुन्छन्।
यी प्रतिनिधि घटना मात्र हुन्। यदि यस्तै घटना मृत्युदण्डमा भइदियो भने? त्रुटि, प्रतिशोध या पहुँचका कारण निर्दोष मानिसको गलामा फाँसी बेरियो भने?
कुनै दोषी फाँसीपछि निर्दोष सावित भएमा त्यसको जिम्मेवारी कसले लिने? निर्दोषलाई दण्डका नाममा हत्याको सजाय दिनेले के सजाय पाउने? फाँसी?
सबै जना फाँसीको पछि दौडिरहँदा एक महिला सांसदले अलि नरम भाषामा धारणा राख्नुभयो- खास प्रकृतिको बलात्कारमा चाहिँ मृत्युदण्ड दिनु उपयुक्त हुन्छ।
उहाँको भनाइ भने उपयुक्त छैन। किनकी बलात्कार बलात्कार नै हो। त्यो कुनै खास, अनि कुनै न–खास भन्ने हुँदैन। फकाएर, धम्क्याएर, हाँसेर गरेको बलात्कार ठिकै अनि रिसाएर, आक्रामक भएर शारीरिक चोटपटकसहितको बलात्कार चाहिँ खास प्रकारको? या बलात्कारपछि एकै मुक्कामा गरेको हत्या ठिकैको हत्या, अनि तड्पाई तड्पाई मारेको चाँहि खास हत्या?
यस्ता तर्कले राज्य र पहुँच हुनेलाई आफू अनुकूल व्याख्या गर्ने र विपक्षीलाई सिध्याउन वा अपराधी उम्काउन सहयोग पुर्याउन भूमिका खेल्नेबाहेक केही मद्दत गर्दैन।
व्यक्तिको नैतिकताः
एउटा कथा छ। केही पुरुषहरू एक महिलालाई व्यभिचारीको आरोपमा चोकमा उभ्याएर ढुंगाले हानेर मार्ने सजायको निर्णय लिन जिसस क्राइस्ट कहाँ पुग्छन्। जिससले ती पुरुषहरूलाई भन्छन्– यी महिलाले व्यभिचार गरेले तिमीहरूले गरेको निर्णय ठीक छ। पुरुषहरू तँछाडमछाड गर्दै ढुंगा उज्याँउछन्।
उत्ति नै बेला जिससले रोक्दै भन्छन्– यो महिलालाई त्यो पुरुषले मात्रै ढुंगा हान्ने अधिकार पाउँछ जसले जीवनमा एकपटक पनि व्यभिचार नगरेको होस्।
त्यसपछि सबै पुरुष पछि हट्छन्।
नेपालमा पनि आजभोलि वैवाहिक बलात्कारको विषय अलि चर्चामा आउन थालेको पाइन्छ। श्रीमती-श्रीमान भएकै कारण कुनै एकको चाहना विपरीत गरिने यौनसम्बन्ध वैवाहिक बलात्कार हो। हाम्रो समाजमा यसको आँकडा सहजै अनुमान लगाउन सक्नुहुन्छ। औंलामा गन्नेबाहेक अधिकांश वैवाहिक बलात्कारी हुने पूर्वानुमान गर्न सकिन्छ। अनि त्यस्ता व्यक्तिले अर्को व्यक्तिलाई बलात्कारी भनेर झुण्ड्याउने अनुमति वा फैसला दिने नैतिकता कसरी रहन्छ?
लिंग होइन सोचको छेदनः
बलात्कारीको लिंग छेदनको माग पनि सुनिन थालेको छ। यसमा छलफल गर्नुअघि बलात्कारका लागि पुरुषको लिंग पहिला उत्तेजित हुन्छ कि उसको मस्तिष्क पहिला उत्तेजित हुन्छ भन्नेमा जानै पर्छ। हामीलाई थाहै छ, शरीरका हरेक अंगको परिचालन मस्तिष्कबाट हुन्छ। त्यसैले लिंगको होइन, बलात्कारी सोच छेदन गर्न जरुरी छ।
कुनै पनि अपराध एक सोच र मनोवृत्तिको उपज हो। कतिपय सन्दर्भमा परिस्थितिको पनि उपज मान्न सकिन्छ। त्यसकारण अपराधीलाई मारेर अपराध नियन्त्रण हुन्छ भन्ने तर्कको औचित्य पुष्टि हुन सक्दैन।
थुप्रै अध्ययनले पनि देखाएको छ, मृत्युदण्ड कानुनले बलात्कार या अपराध घटाउन कुनै भूमिका खेलेको छैन। भारतमा निर्भया काण्डका दोषीलाई झुण्ड्याएपछि बलात्कार घटना घटेको कुनै तथ्य छैन।
अपराध नियन्त्रणमा न्यायको पहुँच र कानुनी दण्ड महत्वपूर्ण कुरा हुन्। तर सँगै अपराधको स्रोतमाथि नै बृहत छलफलमा ध्यान केन्द्रित गर्नु समाधानको वास्तविक प्रयत्न हुन सक्छ।
डोरी र चक्कु बोकेर बलात्कारीको गला र लिंग खोजी हिँड्नुभन्दा अपराधी या बलात्कारी सोचको 'नर्सरी' नै बन्द गर्ने प्रयास हुनुपर्छ।