प्रि-कोरोना दसैं
हरेक वर्ष दसैं आउँछ। प्रायः स्कुल-कलेज जानेहरुको छठसम्म झन्डै १ महिना बिदा हुन्छ। अरु नोकरी गर्नेहरुको पनि ५-७ दिन बिदा हुने गर्छ। कसै-कसैको बिदा नहुनेहरुको मजाले दसैंमा व्यापार हुन्छ। नोकरी नगर्नेहरुमा पनि अरुको बिदा हुने बित्तिकै हर्षका दिन सुरु हुन्छ।
हरेक वर्ष दसैं आउनुभन्दा १ महिना आगाडिदेखि नै सबैमा उत्साह देखिन थाल्छ। दसैंमा कुन लुगा लगाउने, आगाडि नै सिलाउन दिने हो की, कहाँबाट किन्ने/अर्डर गर्ने, म्यचिङ लगाउने की यसपालि भन्ने मिटिङ हुन्छ। अर्का तिर फेरि दसैंमा के पकाउने, पकाउनको लागि के-के सामाग्री ल्याउने, कहाँबाट ल्याउने भन्ने छलफल हुन्छ।
कोही भने दसैं मनाउन घर जानलाई टिकट काट्न लाइन बस्न जाने हतारमा हुन्छन्, त्यो पनि १ महिना आगाडि नै। कोही दसैंको बिदाको मौका पारेर टुर/ट्रेकिङ जान तम्तयार हुन्छन्, होटल बुक गर्छन्। यस्तै किसिमको महिनौँ आगाडि नै सबैको आफ्नो आफ्नो पाराका दसैंका योजना र पूर्वतयारी हुने गर्छन् नेपालीहरुको।
कोरोनाकालको दसैं
यी हरेक वर्ष हुने गरेका तयारी, रौनक, र उत्साह यो वर्ष अलग्ग भयो। कोभिड-१९ को महामारीको कारणले गर्दा सबै भताभुंग भयो। न त स्कुल-कलेज जानेहरु बिदा भएर खुसी थिए न त घरबाटै अफिसको काम गरेकाहरुमा उमंग थियो।
मेरो एकजना भान्जा भन्दै थिए 'कहिले कलेज जाउँ भैरहेको छ, बिदा धेरै भयो।' बरु दसैंमा भएपनि स्कुल/कलेज जान पाए खेल्न पाइन्थ्यो, साथीसँग अर्कै रमाइलो हुन्थ्यो भन्छन् केटाकेटीहरु। दसैंको छुट्टी हुनु एक/दुई दिन आगाडिदेखि नै उफ्रिनेहरुमा पनि योपालि कत्ति पनि उमंग छैन।
जमेर शपिङ जाने, पार्टी थ्रो गर्ने जस्ता रमाइला योजनाहरु पनि देखिएनन्। त्रिशरा र किंग्स लाऊन्जको एउटा टेबुल बुक गर्न हम्मे हम्मे हुने समय हुन्थ्यो, फेसबुकभरी बीचमा त्रिशरा लेखेको फोटो छ्यास-छ्यास्ति देखिन्थ्यो। तर कोरोनाको समयले गर्दा यसपालि कसैलाई त्रिसराको याद पनि आएन होला। घर-घरमै बार्बिक्यू गरेर धुवा उडेको फोटो चाहिँ फेसबुक र इन्स्टाभरी देखियो बरु।
यसपालि न त खाने कुरा बनाउन चाहिने सर्दम जुटाउन पसलमा झुम्मिएको देख्न पाइयो। फाट्ट फुट्टले अनलाइन शपिङ गरे। धेरै त पुरानै लुगा लगाऔं भन्ने सहमतिमा आए। केहीले टेलरहरुमा गएर सिलाए पनि होलान्, मेरी बहिनीले जस्तै। उसले त डिजाइन पनि दिएर चिटिक्कको वान-पिस सिलाईछिन् घर नजिकैको चिनजानको टेलरबाट। अरुले भने फिटिङ गर्न पनि पाए कि पाएनन् कुन्नि।
कोरोनाको महामारी बीचमा पनि दसैं मनाउन घर जानेको लर्को बढेकै थियो तर पहिलेको वर्षहरुभन्दा धेरै कम। काठमाडौँमा गाडीको चहल पहल हेर्दा पनि दसैं कतै देखिएन। १५-२० वर्षदेखि काठमाडौँमै बस्दै आएपनि यस वर्ष यही पहिलोपल्ट दसैं मनाउनेहरु पनि भेटेँ।
हाम्रो एकजना मामा र उहाँको परिवार दसैंमा न त कतै जानु भयो न उहाँहरुकोमा कोही गयो। हुन त उहाँहरु ७ महिनादेखि जम्मा ३ पटक घर बाहिर निस्किनु भयो। तरकारी पनि अरु नै कसैलाई किनिदिन भन्ने अनि आफू मुख्य ढोकाबाट एक पाइला पनि बाहिर टेक्नु भएन।
कोरोनाको बढ्दो संक्रमणले गर्दा दसैं नै भएपनि निस्किने कुरै भएन। उहाँहरुलाई पनि छोरा/छोरी अनि दिदी/बहिनि र स-परिवार भएर टीका लगाउने मन नभएको कहाँ थियो र!
हामीले पनि घर भित्रका सदस्यहरु माझ टीका लगायौँ। घरका सदस्यबाट पनि दाजु यही दसैं र कोरोना समयको मौका पारेर पिसिआर टेस्ट गरी १० दिनको लागि विपाशना/ध्यान केन्द्र जानु भयो। एक सदस्य घटीहाल्यो। यसपटक कतै नगएर र कोही नआएर खल्लो त भयो तर हामीले अरुलाई कोभिड संक्रमण सार्ने जोखिम पनि कम र हामीलाई अरुबाट सर्ने जोखिम पनि कम गर्नको लागि यही नै ठिक ठान्यौँ। थाहा छैन कहिलेसम्म जोगिन सकिन्छ।
मोबाइलले टीका लगाएको भर्चुअल दसैं
फेसबुकमा केही आफन्तको फोटाहरु हेर्दा मास्क लगाएर, अझ फेस सिल्ड लगाएर टीका लगाएको पनि देखेको थिएँ। आफूले सकेसम्मको सावधानी लिनु राम्रो हो। पहिले पहिलेको दसैंमा विदेश गएका साथीहरुले भिडिओबाट टीका र जमरा थाप्ने गरेको धेरै देखिन्थ्यो।
अहिले त नेपालभरी नै भेला हुन नसकेका परिवार र आफन्तहरु सबै भिडिओबाटै टीका लगाउदै आशीर्वाद लिदै रहेछन्। मैले पनि एक जना दाजुलाई यही मौकामा दक्षिणा ई-सेवा वा बैंक खातामै सिधैँ पठाईदिए हुन्छ भनेर भनेँ। कुन्नि कहिले आइपुग्छ खै!
यस्तै रमाइलो गर्दै आमा-बुवा, हजुरआमा र केही आफन्तसँग भिडिओ कल गर्दै दशमीको दिन कटीहाल्यो। भिडिओमा अगाडि नै टीका देखाउने क्रममा कसैकसैले आफ्नो फोन टीकाले रातै बनाए। झट्ट हेर्दा मोबाइलले दसैं मनायो- टीका लगायो, जमरा पनि थाप्यो। भिडिओबाट साँच्चिकै नजिक जस्तो अनुभव हुने रहेछ।
हाम्रो हजुरबुबा र हजुरआमाको पालामा कम्तिमा पनि ७/१० सन्तान हुन्थे र अहिले ती सन्तानका सन्तानहरु गरेर ४०-५० जनाभन्दा कम हुँदैनन्। सबै एकै घरका त हुन्, एकै आमा-बुवाका सन्तान, तर यो कोरोना कालको समयमा यी आफ्नै सन्तान भेला हुनु पनि साह्रै गाह्रो कुरो भएको छ। दसैंमा झ्याप्प सबै जम्मा भएर टीका लगाएर रमाइलो गर्नुको मजा बेग्लै हुने। त्यो पनि यही कोरोना कालले देखाएको र सिकाएको कुरा हो।
जम्बो टोलीको सधैँ जम्ने दसैं
सधैँ झैँ साइँलो मामा अनि उहाँको परिवार हेटौडाबाट आउने बित्तिकै दसैं आयो जस्तो लाग्थ्यो, यो पटक त्यो पनि भएन। हाम्रो घर नजिकै भएको मामाघरमा अष्टमीदेखि झन्डै ३ दिन जति जम्मा भइन्थ्यो ३० देखि ३५ जना जति, सबै हाम्रा हजुरबुवा र हजुरआमाको परिवार मात्र।
गोलो घेरामा सबै बसेर दही-चिउरा अनि अरु परिकार खाँदाको मज्जा कति बेग्लै हुन्थ्यो। एकले अर्कालाई जिस्काउदै खुब हाँसिन्थ्यो। मामाघर आगाडि ठूलो लिंगे पिङ हुन्थ्यो, सबै जना गएर पालैपालो खेल्थ्यौँ। कहिलेकाहीँ मामाहरु बुवा र सनोबुवाको राजनीतिक र अन्य समसामयिक गफ हुन्थ्यो, अनि हामी केटाकेटी त्यो समूहबाट छुट्टिएर फेरि केटाकेटी माहोलमा खेलिन्थ्यो।
दशमी टीकाको दिन झन् खास हुन्थ्यो। सबै दसैंको नयाँ लुगामा सजिएको हुन्थ्यौं। हाम्रोमा सधैँ सानो उमेरको मान्छेदेखि सुरु हुन्थ्यो टीका लगाउन। भुइँमा चकटी हालेको हुन्थ्यो र सबैभन्दा कान्छो मान्छे सोही चकटीमा बस्थ्यो अनि सबैले एकैपटक टीका लगाईदिनु हुन्थ्यो। एउटै निधारमा टीका लगाइदिनेको हात त कति कति।
टीका लगाइदिनेको एक हुल हुन्थ्यो टीका थाप्नेको निधारमा। झन्डै ३० जनालाई लगाउनु पर्ने, त्यसो नगरे दिनभरमा पनि सकिन गाह्रो हुन्थ्यो। क्रमशः एकबाट अर्को उमेरको क्रम संख्या अनुसार पालैपालो भुइँमा बसिन्थ्यो, टीका थापिन्थ्यो, आशिष पनि धेरै जनाबाट थरिथरिका र रमाइलो पाइन्थ्यो अनि उठिन्थ्यो।
कसैले बिहे छिट्टै होस् भन्ने पाउँथे, कसैले सन्तानले घर ढाकुन भन्ने, कसैको नोकरी राम्रो होस्, कसैलाई ज्ञानी हुनु इत्यादी इत्यादी। कहिलेकाहीँ उमेरमा पनि बहस हुन्थ्यो। मामा हरेक वर्ष मेरो अनि एकजना दादाको उमेरमा झुक्किनु हुन्थ्यो किनभने दादा मभन्दा जम्मा २८ दिनले ठूलो हुनुहुन्थ्यो। उहाँ हरेक वर्ष भन्नु हुन्थ्यो 'ए... तिमी (दादा) पो ठूलो तिमी (म)भन्दा' त्यो पनि हरेक वर्ष। हाँसिन्थ्यो मजाले।
दक्षिणा दिने र ढोग्ने कार्यक्रम पनि ठूलै हुन्थ्यो। दक्षिणा गन्दै कसको धेरै भन्दै हामी केटाकेटी त्यसमै मस्त हुन्थ्यौं। सुटुक्क ट्वाइलेटमा गएर खाम खोलेर हेर्दाको मजा कति हुन्थ्यो कति। अर्को अनिवार्य कुरा फोटो खिचाउने हुन्थ्यो। सामूहिक फोटो खिचाउने पनि ठूलै हुलदंगा हुन्थ्यो, कोही कतै कोही कतै छरिएर गफ गर्दै गरेकालाई जम्मा पर्दै एउटा फोटो खिच्न ३० मिनेट लाग्थ्यो।
त्यसमाथि सबै अटेन फोटोमा भन्दै पछाडि सरेको सरेकै गर्नु पर्थ्यो। फोटोमा सबै ३० जना नै अटाउनको लागि लाइन मिलाउदै खिच्नु पर्थ्यो। केही वर्ष यता सेल्फी लिने हुण्डरी आइसकेको थियो। पूरै जम्बो टोली फोटोपछि खाना खाएर फेरि कता-कता टीका लगाउन गइन्थ्यो। अनि बल्ल दसैंको दिनको भित्रैबाट अनुभव हुन्थ्यो। मनमा यी सब कुराहरु कल्पना गर्दै जम्मा ४ जना बीच दसैं मानियो यसपालि।
विवाहपछिको कोरोना सहितको दसैं
एक त कोरोनाको कहर, त्यसमाथि विवाहपछिको मेरो बल्ल दोस्रो दसैं। आफन्तहरुको नियास्रो र कोरोनाको डर बीच यसपालिको दसैं कसरी सकियो कसरी। विवाह पछाडि पनि दसैं नरमाइलो भएको त होइन, तर सधैझैँ सँगै हुने दाजु, भाइ, दिदी, बहिनीसँग जस्तो विन्दास तरिकाको अलि हुँदो रहेनछ।
होस् पनि कसरी, झन्डै ३० वर्षसम्म चाडपर्वमा सँगै भएकाहरु एक्कासी वरिपरि नदेख्दा, र नयाँ परिवारका सदस्यसँग पनि चाडपर्व मनाउन थालेको भर्खर केही वर्ष मात्र भएको हुँदा केही अचम्म भने अवश्य लाग्दो रहेछ। यो पनि विस्तारै जम्दै जाला।
त्यो ३० जनाको समूहबाट एक मामा र उहाँको परिवार, दिदी अनि दादा विदेशमा हुनु भएपनि उहाँहरु भएको दसैंको झ-झल्को आउँछ जहिले पनि। यो पटकको दसैं अलग अनि अलग्गै मनाइयो। यो कोरोनाको सबै कुरा हराएर जावोस् अनि सँगै अर्को दसैंमा फेरि पहिलेको जस्तै रमाइलो गरौँला भन्ने सोचेर बसियो।