प्रायः सुविधा-सम्पन्न अस्पतालहरु सहर बजार र यातायातको पहुँच पुगेको ठाँउमा मात्र भेटिन्छन्। अस्पतालहरु सेवामुखीभन्दा व्यवसायमुखी भएकै कारणले गर्दा नै सहरमुखी हुन पुगेको हो। सबैको उदेश्य मानव स्वास्थ्य सेवा भनिए पनि प्राय अस्पतालहरु पूर्ण व्यवसायिक हुन पुगेका छन।
स्याउलीवाङ जहाँ त्यहाँका जनताले अस्पताल देखे पनि अस्पतालले त्यहाँका जनतालाई देखेको छैन। लाग्छ यसपालि अस्पतालसँग प्रत्यक्ष मिलन नभए पनि अस्पतालका प्रतिनिधिसँग मिलन भएको छ।
१५/१७ वर्षका किशोरीहरु जो मलाई आमन्त्रण गरी सहयोगका लागि मेरा स्वास्थ्य सामाग्री र केही औषधीहरुलाई डोको र नाम्लो लगाएर ३ घण्टाको यात्रा गरेर आएका यस अघि गाउँघरबाट बाहिर निस्किएका थिएनन्। उनीहरुलाई पनि अब आँखा सम्बन्धी अध्ययन गर्ने र समाजमा सेवा गर्ने रहर जागेको बताए।
एकदिन पनि कतै बाहिर जान अनुमति नदिने मेरी आमाले पहाडी जिल्ला अन्जान ठाउँमा जान कसरी दिइन्, लाग्छ स्याउलीवाङले मेरी आमासँग कुनै सम्झौता गर्यो की? कि त्यहाँका व्यक्तिहरुको सहयोगका लागि मेरी आमाले कम्प्रमाइज गरिन्? तर जे भयो राम्रो भयो।
न त मेरो घर न माइत न मावली, अझ भन्नु पर्दा त केही नजिकको आफन्त नभएको र कहिल्यै सुन्दा पनि नसुनेको ठाँउमा म कसरी आइपुगेँ, कुनै न कुनै सम्बन्ध त पक्कै छ। लाग्छ कुनै जुनीमा म यो स्याउलीवाङको जंगलमा पंक्षी बनेर रमाइरहेकी हुन्थ्येँ होला। त्यसैले त म हिड्दा यहाँका जंगलहरु मुस्कुराइरहेका हुन्थे अनि चराचुरुङ्गीहरु गीत गाउँथे।
म अवश्य फेरि आउनेछु। अर्कोपल्ट आउँदा थप औषधी र विशेषज्ञ लिएर आउने कोशिस गर्नेछु। ती दिदी-बहिनीलाई भेट्नेछु अनि ती काका जो मेरो आग्रहलाई स्वीकार गर्दै धुमपान त्याग्ने वाचा गरेका थिए। ती होटेलकी आमै जो मेरो लागि चिसोबाट जोगाउन मन्द मन्द बास्ना आउने ब्ल्याङ्केट ल्याएर खाप्देकी थिइन्।
वर्षौँदेखि आँखाको दृष्टि गुमाइ उपचारको बाटो हेर्दै दिन काट्दै गरेका बाटा मुनिका साइँला बा, चौबिसै घण्टा आँखाको आँसु पुछीराख्ने ठूला पिपल माथिकी सेतु आमै, कोदो टिप्न जाँदा कोदोको नलले आँखा घोचेर फुलो परेका ती हर्के काका र गुन्द्री बुन्ने रसिले बानेर बाङ्गो टिङ्गो गरी जसोतसो चश्मा लगाएकी ती श्रृजना बैनीले सायद मलाई कहिल्यै भुल्ने छैनन्। ती सुजाता नानी पहिले नै आइदिएको भए भन्दै भविष्यमा पनि सम्झिरहन्छन् होला।
साँच्चिकै अनुभवको कुरा गर्नु पर्दा आमाको गर्भमा ९ महिना बसेको भन्दा स्याउलीवाङमा बिताएका ९ दिनको अनुभव मलाई अत्यन्तै विशेष लाग्यो। साँच्चै आफ्नै इच्छा र रहर साथै केही गरौँ भन्ने भावना सहित गरिएको कार्यले गर्दा होला, जीवनमा गरिएका कैयौँ भ्रमण र मनोरन्जनभन्दा खास थियो यो स्याउलीवाङको मेरो यात्रा।
मसँग बेला बखत कार्यक्रमकै शिलशिलामा भए पनि धेरै भव्य ठाँउ तथा तारे होटलको अनुभव छ। त्यहाको सत्कार बस्ने व्यवस्था आदि अति नै भव्य हुन्छन्। हरहर बास्ना आउने परिकार, छिर्ने बित्तिकै मङ बास्ना आउने कोठा। एकातर्फ कलकल निलो पानी, अर्को तर्फ आकर्षक फुलबारी अनि त्यहाँका कर्मचारीले गर्ने सत्कार सार्है नै यादगार हुन्थ्यो।
तर त्योभन्दा बढी यादगार मलाई यो स्याउलीवाङको हुँदै छ। व्यवस्था फरक छ। सुविधाहरु कमी छन् तर पनि कुनै स्वार्थ छैन, कुनै नाफामुखी स्वार्थ छैन। मात्र भावनाको सम्बन्ध छ। मात्र उत्सुकता एवम् उमङ्गको माहोल छ। लाग्छ हामी एक अर्कासँग वर्षौँदेखि परिचित छौँ। केबल मैले बाटो बिर्सिएर आउन ढिला गरैको मात्र हो।
मलाई स्याउलीवाङ मात्र पुग्नु छैन, मलाई त कोचिबाङ, अर्खा, रजबारा जस्ता ठाउँहरु पनि पुग्नु छ। यस जिल्लाका दूरजराजहरुमा पुगी त्यहाँ रहेका समस्याहरुलाई केही न केही सेवा गर्नु छ। त्यहाँ पर्खाइमा रहेकाहरुको दुखी रहेको घाउँमा मल्हम लगाउनु छ। के थाहा ती ठाँउहरु पनि मेरै पर्खाइमा, मेरै बाटो हेर्दै दिन बिताइरहेका छन् की?
अवश्य पनि मेरो तर्फबाट सम्भव भएसम्म मैले यो प्युठान जिल्लाका हरेक समुदायमा आँखाका आधारभूत सेवाहरु पुर्याउने छु। त्यहाँका समुदायलाई आँखा सम्बन्धी सचेत गराउनका लागि त्यहाँ अवस्थित समाजसेवी, शिक्षक तथा स्वास्थ्यकर्मीहरुलाई आँखा सुरक्षा तथा प्राथमिक उपचारको बारेमा अभिमुखीकरण कार्यक्रम संचालन गरी समस्याहरुलाई न्यूनिकरण गर्दै जाने र कुनै समस्या परिहालेको खण्डमा उपचारका लागि सहज पहुँचको लागि मार्ग निर्देशन गरी 'रिच दि अनरिच्ड' भन्ने नारालाई आत्मसाथ गर्दै एउटा उदाहरणीय कार्यको सुरुआत गर्ने अठोट र पर्तिवद्धता राखेको हुनाले सबैको सहकार्य र समन्वयका लागि पनि अनुरोध गर्दै फेरि पनि भन्न चाहान्छु की, आउनुहोस् यस पवित्र कार्यमा हात बढाऔँ।
(लेखक आँखा उपचार केन्द्र (प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल)बिजुवार प्यूठानकी प्रमुख हुन्।)