मेरा बाको गाउँले जीवन। उमेर ढल्किदै छ। बा प्रायः सबेरै उठ्छन्। गाउँको घर गोठको काम सकाएर बा बिहान ६ बजेको समाचार सुन्न हातमा पाँच मुठी दूधको चिया लिएर घर बाहिर बेन्चमा बस्छन्। बाले त्यही रेडियोबाट धेरै नेताको नाम र उनीहरुको काम पनि चिनेका छन्।
कुन नेताले कुन ठाँउबाट कति पटक चुनाव जित्यो, बालाई कण्ठ छ। पंचायत, राजतन्त्रको राम्रो अनुभव भएका बाले गणतन्त्रको लागि त योगदान नै गर्नुपरेको थियो। नेपालका राम्रा, नराम्रा सबै परिवर्तनको साक्षी हुन् बा। रेडियोको समाचार, अन्तर्वार्ता सुनेर बा आफ्नो दैनिकी सुरु गर्छन्। बा धेरै नेताको चुनावमा जिन्दावाद, मुर्दावादको नारादेखि गणतन्त्र, धर्म निरपेक्षता, समावेशीता, संघीयता अझै जनवादी राज्य व्यवस्थाको लागि भएका सबै आन्दोलनमा सरिक थिए।
जब राजतन्त्रको अन्त्य भयो, बाको मनले पनि जितेको महशुस गर्यो। अब कोही पनि रोग, भोक, गरिबीले मर्नु नपर्ने र देशमै सबै नेपाली छोराछोरीले रोजगारी पाउने सपना देखेका बा। दुई-दुई पटकको चुनावपछि नेपालले संघीयता सहितको संविधान पायो। बा अझैँ हौसिए। उनले पकाएर खुवाएका कैयौँ नेता मन्त्री, पिए र अन्य सरकारी ठाँउमा जागिरे भए।
यसै बीच कोही चुनाव हारेर पनि मन्त्री कोही के-के भए बाको मनमा गणतन्त्रको परिभाषा र उनलाई रटाएको व्यवस्थाले सशंकित बनाइरहेको थियो। यही बीचमा बाले गाउँदेखि केन्द्रसम्म सधैँ लडाइ मात्रै गर्ने दुई ठूला कम्युनिस्ट पार्टीको एकीकरण पनि देखे। उनलाई लाग्यो, अब त केही होला। स्थिर सरकार बन्ला, विकास धेरै उचाइ लेला।
सुरुदेखि कम्युनिस्ट पार्टी भित्रको पद र भागबन्डाको प्रत्यक्षदर्शी हुन् बा। बालाई कहिलेकाही भेट्छु। समसामयिक, राजनीतिक विषयमा कुरा गर्छु। बा निर्धक्कका साथ पुराना दिन, अहिलेका प्रायः नेताका गुण दोषको फेहरिस्त सुनाउछन्। बाको यो सरकार प्रति अत्यन्तै बितृष्णा छ।
यो महामारीमा संघीय सरकारले गरेका काम प्रति उनी पूरै असन्तुष्ट छ्न्। माहामारीको सुरुआती मै स्वास्थ्य सामाग्री खरिदको अनियमिततादेखि अहिले भएको नियुक्ति देख्दा बाले पुरानै गाउँको उखान- काम कुरो एकातिर कुम्लो बोली ठिमी तिर भन्छन्।
बा भन्छन्- नेताहरु राज्यबाट बारम्बार करोडौं रुपैयाँ लिएर उपचार गर्छन् तर संविधान विपरित, जनस्वास्थ्य ऐन विपरित निशुल्क भनिएको सरुवा रोगको उपचारमा शुल्क लिनेभन्दा बा रिसले चुर छन्। यति धेरै तयारीको समय पाउँदा पनि सरकारले केही गरेन। उल्टो यो माहामारीलाई त कमाउने उपयुक्त अवसर पो भो, बा भन्छन्।
देश विदेशबाट आफ्नो गाँस कटाई नेपाल पठाएको कोरोना कोषको रकम कहाँ छ र यो कस्को लागि हो, बालाई सोध्न मन छ रे। लकडाउनको सुरुदेखि नै संघीय र प्रदेश सरकारले गरेका काम प्रति बा सन्तुष्ट छैनन्। बरु बाहिरी देश र जिल्लाबाट आउनेहरुको व्यवस्थापनमा स्थानीय सरकारले गरेको काम पो बाले राम्रो देखेका छन्।
सिङ्गो विश्व, देश र जनता महामारीसँग जुध्दै गर्दा प्रधानमन्त्रीले पार्टी फुटाउने अध्यादेशदेखि सांसद अपहरण र आफ्नै सरकारमाथि अविश्वासको प्रस्ताव ल्याएको रमिता देख्दा बा टोलाउँछन्। आजसम्म बालुवाटारदेखि शीतलनिवाससम्मका गतिविधि, खर्च या बैठक पार्टीका भागबण्डा र कसले कसलाई सिध्याउने भन्नेमै सीमित रहेको अनि चुनावमा पराजित बामदेवलाई सधैँ कोभिडभन्दा ठूलो मुद्दा बनाएको देख्दा बाका आँसु थामिदैनन्।
मच्छिन्द्रनाथको रथ जात्रा लगायतका धेरै धार्मिक-सांस्कृतिक कार्यक्रममाथि रोक लागे पनि सयौँको भिड जम्मा गरेर पार्टी प्रवेश गर्न, उद्घाटन गर्न, राष्ट्रपति भवनमा पार्टीका नेतालाई भोज दिन कुनै कानुनले छेकेको छैन। नक्कली सुकुम्बासी बनेर राज्यकोष चुस्नेलाई कारबाहीको साटो निर्लज्ज रूपमा राज्यकोषको चाबी थमाइएको छ।
विदेशी माटोमा अलपत्र मजदूरलाई बीस हजारको हवाइ भाडा सत्तरी हजारमा बेचियो, क्वारेन्टीनको नाममा होटेलसँग कमिशनको डिल भयो र ती निमुखाको रगत चुस्ने काम भयो। अझै पनि कति धेरै नागरिक बेखर्ची भएर अलपत्र छन्। सेनाको नाम बेचेर ओम्नीकै सामान ल्याइएपछि सेना मेडिकल सामग्री आयातबाट पछि हट्न बाध्य भयो।
अर्बौँ खर्चेर ल्याइएका सामग्री नक्कली निस्किए। रक्षामन्त्री नै फेर्नुपर्ने अवस्था आयो। किसानले मल पाएनन्। विदेशबाट रोजगारी गुमाएर फर्केकालाई खासै रोजगारीमा दिन सकेन रे सरकार। उत्पादन गरेर जीविका चलाउनेले बजार पाएनन्। दैनिक ज्यालामजदुरी गरेर पेट पाल्नेहरू सडकमा एक छाक खानाका लागि लाइन लागे।
कति धेरै नागरिकले उपचार पाएनन् र एम्बुलेन्समै हस्पिटल चहार्दै ज्यान गुमाए। बोर्डरमा आएर पनि आमाको किरिया बस्न देश छिर्न पाएनन्। अहिले भेन्टिलेटर कहीँ कतै खाली छैन, दिनहूँ कतिले ज्यान गुमाउँदै छन्। न आर्थिक सहयोग, न कर छुट, न कुनै सुविधा। सक्ने बाँच, नसक्ने जति मर जस्तो अवस्था छ बा भन्छन्।
ए सरकार! प्रधानमन्त्रीले रुचाएको मान्छे हुन पो पर्यो, उसलाई चाहेको ठाँउमा नियुक्ति यति सजिलै गरिन्छ की बा अचम्मै पर्छन्। पूर्व अर्थमन्त्री युवराज खतिवडालाई त बा खप्परमा लिएरै आएको रैछन् पो भन्छन्। देशको सिमाना, स्वाभिमानको विषयमा प्रधानमन्त्रीले लिएको पछिल्लो कदमले बा बिद्रोही बनेका छन्।
आफ्नो गरिमा, ओहोदा र स्वाभिमानी देशको जननिर्वाचित प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्था रअका पदाधिकारी र प्रमुखलाई आफ्नै निवासमा भेट्दा बाको चाउरिएको मुहार र ओठहरु थर्थरी कापेका छन्। न्यायलय, अख्तियारदेखि अन्य मोटो आम्दानी हुने निकायहरुमा चाप्लुसी, आसेपासेकै रजाइँ अनि बिचौलियाको नियन्त्रणमा सरकार परेको देख्दा बालाई आफू र अन्य जनताले नेता र व्यवस्था परिवर्तनको लागि गरेको योगदानको हिसाबकिताब गर्न पो मन लाग्छ रे।
महामारी व्यक्तिगत समस्या होइन। यो देशको जिम्मेवारी हो। चरम पुँजीवादी देशले समेत हात उठाउन सकेका छैनन् भने आफूलाई समाजवादी दाबी गर्ने हाम्रो देशले गरेको निर्णयले बा आन्दोलित छन्। बाले आँखै अगाडि धेरै नेताको भाषण देखे, सुने। अहिले यति बहुमत प्राप्त सरकार हुँदा पनि केमा अलमल छ, बा दंग छन्।
सेना, पुलिस, कर्मचारी भित्रको राजनीति, बेथितिले यो व्यवस्था कै खिल्ली उडाएको ठान्दै मुर्मुरिन्छन्। पानीजहाज, रेल, घरघरमा ग्याँसको पाइपलाइनको नारा लेखिएको चुनावी घोषणापत्र बाले घरको भित्तामा टाँसेका छन्। म गएको बेला पढ्छु जुन बाले घरको थाममा टाँसेका छन्।
बा भन्छन्- तिम्रो हात एक्लो राजश्वले धानेन भनेर मन्त्री, सांसद, सल्लाहकार या कर्मचारीको सङ्ख्या घटेको छैन। तिनको तलबभत्ता, तामझाम र भ्रष्टाचार घटेको छैन। सबैभन्दा ठूलो पार्टीका प्रमुख नेताहरू आफ्नो गुट कसरी बलियो बनाउने, कसलाई मन्त्री, राजदूत बनाउने, कसलाई विभिन्न संवैधानिक निकायहरुमा नियुक्ति दिलाउने भन्ने कुरामा मात्रै सीमित देखिन्छन्।
बाले भन्छन्- उहिले उहिले त संगठन बनाउदा धेरै दुख गर्थे रे कार्यकर्ता अनि नेता। कति धेरै बैठक, प्रशिक्षण अनि गल्ती गरे कारबाही पनि हुन्थ्यो रे, पार्टी सदस्यता लिन पनि कति गाह्रो पो हुन्थ्यो रे। तर आज त माथिदेखि तलसम्म पैसा भए सबै हुन्छ।
भूकम्प गए सबैभन्दा पहिले त्रिपाल तिनैले पाउँछन्, कोभिडमा हप्तामै दुई पल्ट तिनले पिसिआर गर्न पाउँछन्। कहाँ हराउँछन् विभिन्न मन्त्रालय का स्वरोजगारका अर्बौंका वार्षिक बजेटहरु? गरिब जनताको गाँस काटेको कर र विदेशमा अर्कैको गुलाम बनेर पठाएको रेमिट्यान्समा कति मोज गर्छौ? भान्जाभान्जीलाई जागिर चाहिए तत्काल नयाँ आयोग बन्छ, नियुक्ति हुन्छ।
जिउँदै मान्छेको नाउमा प्रतिष्ठान खोलेर पैसा बाड्ने समय होकी खान नपाएर भोकै मर्न लागेकाहरुलाई बचाउने। जनताको करबाट तलब, भ्रमण, औषधी-उपचार लगायत सबै सुविधा लिने आफू मात्रै चुस्ने, मोटाउने र डकार्ने तर आम जनताको जीवनमरणको सवाल आउँदा हात उठाउने तिमीलाई म मेरो सरकार कसरी भनूँ? तिम्रा ओम्नीदेखि यति ग्रुपसम्म पाल्नकै लागि मैले पेट काटेर कर किन तिरूँ?
भन त सरकार, आफू अघाएपछि तिमीले हात उठाउन मिल्छ भने मेरो बाले हात उठाउन किन मिल्दैन? तिमीहरूले जस्तै मेरा बाहरुले कहिले पेट भरी खान पाउछन्, तिमीहरुकै तुलनामा कहिले औषधी उपचार पाउछन्?