कोरोना महामारीको असरबाट नेपाल, त्यसमा पनि काडमाडौँ अब चोखो रहेन। बितेका तीन/चार महिना अगाडि टोल वा कुनै क्षेत्रमा देखिएको कोराना संक्रमण लुकाछुपीको विषय थियो।
अहिले ती सब कुराबाट माथि उठेर कारोनाको संक्रमण चोकचोक र गल्लीगल्लीमा यत्रतत्र सर्वत्र छाएको छ। अहिले मान्छे संक्रमणको शिकार भएको छ भने संक्रमण नहुनेहरू कोरोनाको मनोवैज्ञानिक शिकारमा परेका छन्।
पत्रपत्रिकामा पनि कोरोना संक्रमणका तिता, कहालीलाग्दा र मर्मस्पर्शी लेखहरू पनि प्रकाशित हुन थालेका छन्। संक्रमणबाट मुक्त हुनेहरू पनि मर्निङवाकमा होस्, वा अन्य कुनै समयमा होस्, क्वारेन्टिनमा बसेकाहरु आफ्ना अनुभव सुनाउन थालेका छन्। भनौँ, कोरोना अब छ्याप्छ्यापी भयो।
झन्डै तिन हप्ताअगाडि सँगै हातेमालो गर्ने मेरा एकजना दाइ पनि कारोना परीक्षण पछि संक्रमणको शिकार हुनुभयो। त्यसपछि उहाँ र परिवार दुई हप्ता घरमा नै आइसोलेसनमा बस्नुभयो। त्यही पेरिफेरिमा म उहाँसँगै हिड्ने त कहिले बाइकमा धेरै नै पटक छोटो यात्रा गरेको थिएँ।
एकदिन, बिहानै दाइले आफू कोरोना संक्रमणमा परेको खबर फोनबाट दिएपछि मलाई निकै नै तनाव उत्पन्न भयो। म पनि अफिस नगइकन घरकबाट नै काम गर्दै आएको थिएँ।
लगभग दुई दिनजस्तो टाउको भारी हुने, मुख सुख्खा भएजस्तो हुने, घाँटी खसखस भएजस्तो हुने एक किसिमको तनावमा म परिरहेँ। घरमा कसैलाई केही पनि भनिनँ पनि।
विस्तारै उल्लेखित समस्या हट्दै गए पनि। दिनहरू बित्दै गए। त्यही बीचमा छिमेकी एकजना दिदी पनि संक्रमित भएको कुरा थाहा पाइयो।
अचम्म कुरा, ती दाइ दुई हप्ताभन्दा बढी समय पूर्ण रूपमा होम आइसोलेसनमा बस्नुभयो तर तिनै दिदी भने मास्क नै नलगाइकन मज्जाले निस्कने, परिवारका अन्य सदस्यले पनि मास्क नै नलगाउने सहजै हिड्नेजस्ता क्रियाकलाप आफ्नै आँखा देख्दा अब कोरोनाको शिकार पक्कै पनि हुने भइयो भन्ने लाग्यो।
संक्रमित दिदीको घरभन्दा उत्तरपट्टिका दाइ, दिदीभन्दा पनि अगाडि संक्रमित भएको भन्ने कुरा थाहा थियो। सोचेँ, स्वयम् संक्रमितको घरमा त कुनै किसिमको प्रवाह छैन भने म किन व्यर्थैमा तनाव लिएर बसेको छु। आफैले आफैलाई सम्झाएँ भनूँ।
यसै बीचमा परिपक्व उमेरका एकजना हजुरबुबाको कालगतिले देहान्त भयो। शव लिएर जाने क्रममा घरमा दाजुभाइ जम्मा हुने क्रममा नै थियो। त्यहाँ केही संक्रमणका शिकार भएर निको भइसकेका दाजुभाइहरू पनि आउनुभएको थियो। उनीहरूले आफ्ना अनुभव सुनाउँदै थिए। म शान्त भएर सुनिरहेको थिएँ।
कुरा के भने, जब तपाई ती अनुभव सुन्नुहुन्छ, त्यसपछि त्यही कुरा आफूमा भएको आत्मसात गर्नुहुन्छ, परिवार सम्झनु हुन्छ, सानो छोरा वा छोरी सम्झनुहुन्छ, त्योसँगै मिडियामा आएका समाचार हेर्नुहुन्छ, सुन्नुहुन्छ। साँच्चिकै अनि नजानिदो तरिकाले तपाईमा मनोवैज्ञानिक असर पर्न थाल्छ। म पनि समय समयमा त्यसको शिकार भएँ भनूँ।
एकरात सुत्ने तर्खरमा थिएँ। त्यस दिन पनि अलिक तनावमा थिएँ। टाउको भारी भएजस्तो भएको थियो। त्यसै बीचमा जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र समीरले आफ्नो फेसबुकमा यस्तै कोरोनाको मनोवैज्ञानिक असरबारे एउटा गजबको कथा राख्नुभएको रहेछ। त्यो कथा मैले आद्योपान्त पढेँ।
कथामा एकजना व्यक्ति कोरोनाका कारण मनोवैज्ञानिक शिकारमा परेपछि हृदयघातका कारण मरेछन्। मैले आफूलाई त्यस्तो अवस्थामा त पाइनँ तर त्यो अवस्थामा पुग्ने आधार भने सानो सानो कुराबाट वा असरबाट नै हुने भन्ने कुराको मनन गरे। त्यो कुरा परिवारका सदस्यलाई पनि सुनाएँ। मन हल्का भएजस्ता भयो। त्यसपछि सुतिएछ। भोलिपल्ट शरीर त्यसै चङ्गा भएको अनुभूत पनि गरेँ।
पछिल्लो समय अफिसमा काम गर्ने सहकर्मी र उनको श्रीमान् पनि संक्रमित भएको कुरा फोनबाट मलाई जानकारी भयो। दुई वर्षकी छोरीलाई अलग्गै राखेर उनीहरू अहिले होम क्वारेन्टिनमा छन्। लाग्छ, अवस्था पक्कै पनि दु:खद् छ।
पत्रपत्रिकामा संक्रमितका अनुभवहरू पढ्दा ती कुराहरूलाई कसरी लिने भन्ने कुराले पनि साँच्चिकै महत्त्व राख्छ भन्ने मेरो विचार छ। सेतोपाटी पत्रिकामा नै एकजना तीन/चार वर्षको बच्चाकी आमा र छोरा संक्रमित भएको कुरा लेखको रूपमा प्रकाशित भएको थियो। मैले पढिसकेपछि मेरी संक्रमित सहकर्मी साथीलाई यो लेखको लिङ्क पठाइदिएँ। उनले पनि पढिछन्। आफू रोएको कुरा मलाई प्रतिक्रिया स्वरूप पठाइन् पनि।
हो, वास्तवमा मैले त्यो लेख रूवाउनको लागि कदापि पठाएको थिइनँ। तिम्रोजस्तै समस्याबाट अहिले हरेक व्यक्ति गुजर्दै छन्, तिमीले मनोबल बलियो बनाउनुपर्छ भन्ने कुरा बुझाउन मैलै त्यो लेख उनलाई सम्प्रेषण गरेको थिएँ वा थोरै भए पनि ढाडस मिल्ला भन्ने मेरो मनसाय थियो।
पछि मैले यिनै कुराहरू प्रतिक्रिया स्वरूप उनलाई पठाएँ पनि। खै, उनको मनले त्यो कुरा स्वीकार गर्यो या गरेन। आखिर मनै त हो। म आफै मनोवैज्ञानिक असरमा परेँ भनेपछि उनी त स्वयम् संक्रमणको शिकार भएर सानी छोरीलाई छोड्नु परेको अवस्था छ।
पछिल्लो समय महामारीले आक्रान्त तपाई हाम्रो टोलमा चाहे संक्रमित होउन्, चाहे संक्रमणमा नपरेका होउन्, हरेकलाई बलियो आत्मबल चाहिएको छ। साँच्चिकै सोचाइ अनुरूप आत्मबल बलियो छ भने आधा रोग त त्यसै पनि सकिन्छ भन्ने मेरो बुझाइ छ।
यही आत्मबलको कमीले मनोवैज्ञानिक असरलाई जन्माउँछ अनि भोक नलाग्नु, कब्जियत हुनु, निद्रा नलाग्नु जस्ता समस्या शरीरमा विकारका रूपमा देखिन थाल्छन्। यस्ता समस्याहरू कोरोनाभन्दा पनि भयावह हुन्छन्।
आत्मबल बलियो बनाउनका लागि पनि हामीले योग, ध्यानजस्ता पक्ष बढी उपयोगी हुने देखिन्छ। विश्वासनीय सञ्चार माध्यमको साहारा लिएर तिनीहरूले भनेका कुराहरू गर्न सकेमा पनि केही न केही फलदायी हुन्छ भन्ने लाग्छ।
अहिलेको अवस्थामा कोरोनासँग जुध्नका लागि स्वास्थ्य मन्त्रालयले अख्तियार गरेका मापदण्डको समुचिन पालना गर्ने र लागिहालेमा जुध्नका लागि दृढ आत्मबल बनाउनु सिवाय हामीसँग अरू कुनै विकल्प छ जस्तो लाग्दैन।