आमाले बेलाबेला आफ्ना जीवनका घतलाग्दा कुराहरू सुनाएर कहिले हामीलाई हँसाउने त कहिले रूवाउने गर्नुहुन्थ्यो।
आमाले भनेको त्यस्तै एउटा कुरा म अहिले पनि सम्झिरहन्छु–
त्यो बेला म बाह्र वर्षकी थिएँ होला। मेरो बिहे गरिदिने भन्ने कुराले घर पूरै घन्किएको थियो। म आमाको काखमा टाउको राखेर नौला–नौला सपनामा हराइरहेकी थिएँ।
आमा, ‘मैले आज राति अचम्मको सपना देखें नि’। मेरो कुरा आमाले खुब चाख मानेर सुनेझैं गर्नुभयो र मेरो कपाल सुम्सुम्याउँदै भन्नुभयो। ‘छोरीले सपना देख्दैनन् नि नानी! अब त तैंले दुलाहाका सपना देख्नुपर्छ। किनकी अब दुलाहाका सपना नै तेरा सपना हुन्’।
आमाको जवाफ त्यो बेला मैले कत्ति पनि बुझिनँ।
तर कुरालाई अरू तन्काउन पनि चाहिनँ। लाग्यो, दुलाहा र म एउटै ओछ्यानमा सुतेपछि एउटै सपना देखिने रहेछ कि! भन्दाभन्दै आमा लाजले हो कि खै के ले हो खित्का छाडेर हाँस्नुभयो।
आमाले मलाई यो कुरा सुनाउँदै गर्दा आमा सँगसँगै म पनि लजाएकी थिएँ र हाँसेकी पनि थिएँ।
आमाले प्रसंगलाई बदल्ने प्रयास गर्नुभयो र भन्नुभयो– अनि मैले कुरा अन्तै मोडेर आमासँग भनेकी थिएँ।
‘कस्तो सारी ल्याउँछन् होला है आमा ती दुलाहाले अनि मेकअपको सामान पनि ल्याइदिन्छन् रे नि हो? मलाई त राता चुरा लगाएर छम्छम् बजाउन मन छ’।
आमाले मलाई यी सबै कुरा सुनाउँदै गरेका दिनहरू सम्झन्छु र आफ्नै मनसँग अहिले पनि प्रतिप्रश्न गर्छु– के साँच्चै छोरीका सपना हुँदैनन् हो?
के छोरीले अर्काको सपनालाई नै आफ्नो बनाएर बाँच्नु पर्छ? आज पनि हाम्रो समाज उस्तै छ भन्ने कुरालाई मेरी एउटी पढैया साथीले सत्य सावित गरिदिई।
मेरो एकदमै मिल्ने साथी– गीता। अस्ति उसलाई बाटोमा भेटेकी थिएँ। उसले मलाई भनेकी थिई ‘सुष्मा, मेरो बिहे हुँदैछ तँ जसरी नि आइज है’।
‘ए, हो र? अनि तेरो पढाइ ? पढाइ बीचैमा छोडेर विवाह गर्छेस्’ ? उसले मलाई मलिन स्वरमा भनि ‘बिहे गरेपछि घरकाले पढ्न दिएछन् भने पढ्छु नभए त अब सकियो’ ।
उसलाई सम्झाउँदै मैले भने ‘तँ जस्तो क्लासकै अब्बल मान्छेले पनि यसो भनेर हुन्छ? पढ्न त छोड्न हुन्न नि’।
उसले भनि ‘त्यो त हो के रे। केटा पक्षसँग कुरा राखेकी छु, मान्लान् नि! पढाइमा रोकावट गर्दिनँ त भनेका छन्। त्यही पनि अब दुलाहाका सपना नै मेरा सपना हुन् क्या रे। उनले जे भन्छन् मैले त्यही गर्न पर्यो नि हैन र’?
उसले दुलाहाका सपना के भनेकी थिई म झसंग भएँ।
आमाले सुनाएका कुरा फेरि मस्तिष्कमा रिँग्न थाले। सोचें समय अझै पनि उस्तै त रैछ, न समय फेरिएको रहेछ, न विचार।
कोठामा आएपछि ढिलोसम्म निन्द्रा लागेन। साँच्चै बिहेपछि नारीका सपनाको अन्त्य नै हुने हो त ? कोही कलाकार हुन्छन्, कोही लेखक साहित्यकार। उनीहरूका सपना केही उत्कृष्ट काम गरेर नाम कमाउने रहेको हुन्छ। के दुलाहा योग्य परेन भने नारीले आफ्ना ती सपनालाई बागमती सेलाइदिनु पर्ने हो ?
मैले समाजमा के देखेकी छु भने पुरूषहरू आफ्ना सपना पूरा गर्न जीवन पर्यन्त लागिरहेका हुन्छन् तर धेरैजसो नारीले आफ्ना सपनाबाट विश्रान्ति लिन्छन्। कस्तो अचम्म पुरूषले चाहिँ सपना देखिरहन पाउने नारीले आफ्नै सपनाको मलामी भएर हिँड्नु पर्ने? तर अपवादका रूपमा केही थोरै जोडीहरू नभएका होइनन् जहाँ नारीको सपनाको पनि कदर गरिएको हुन्छ।
आफ्ना सपना आफैंले देख्ने रहरकै कारण कतिपय नारीहरूको पारिवारिक जीवननै संकटमा परेको पनि देखिएको छ। यस्तो किन ?
मानिस स्वतन्त्र जन्मन्छ र स्वतन्त्र मर्छ। मानिसका केही कुरा आपसी पनि होलान्, केही कुरा सामाजिक पनि होलान् तर सपना निजात्मक हुन्छन्। आफ्ना सपनामा बाँच्ने अधिकार सबैको हुनुपर्छ।
हो, विवाहपश्चात् केही सपनाहरू मिलेर देखिन्छन् र मिलेरै पूरा गरिन्छन्। तर थुप्रै सपना हुन्छन् जो एक्लै देखिन्छ र एक्लै पूरा गर्ने लालसा जीवनपर्यन्त रहन्छ।
यहींनेर सपना मिसाउने कुरा पनि आउँछ। यदि सपना मिसाएर देखिन्थ्यो भने? भनेको श्रीमतीका सपना पनि श्रीमानले देखिदिने र सोही अनुसार सक्दो सहयोग गर्ने अनि श्रीमानको सपना पनि श्रीमतीले देखिदिने र सक्दो सहयोग गर्ने।
साँच्चै सपनाहरू यसरी मिसाएर देख्न थाल्ने हो भने यो समाजको रूपान्तरण हुन बेरै लाग्दैनथ्यो।
मलाई लाग्छ, सपनाहरूलाई कहिल्यै पनि बिसाउन हुँदैन सकिन्छ भने मिसाउन पर्छ।