बिहानपख आँगनमा बसेर घाम ताप्दै थिएँ, छिमेकी दिदीले आफ्ना बच्चाहरूलाई हाम्रो घरतिर देखाउँदै भन्दै गरेको सुनेँ, 'ऊ त्यो घरमा कोरोना छ रे बुझ्यौ, त्यो बाटोबाट नहिँड्नु।'
जतातिर हेर्यो सबैको चोर औँलाको टुप्पो हाम्रै घरतिर सोझिएको देखिन थाल्यो। आउन जान बन्द त छँदैछ, बोली-चाली समेत बन्द हुँदै गयो। एक/दुई छिमेकीले त सहानुभूति स्वरूप टाढैबाट भनेको पनि सुनियो, विचरा घर बनाउँदै थियो, सम्पन्न गर्न नपाउँदै यही उमेरमा कोरोनाको फेला परेछ।
केही शुभचिन्तकहरूले 'हामी छौँ, चिन्ता गर्नु पर्दैन। केही सामान चाहिएमा भन्नुहोला' भनेर पनि भने। घरकाले पनि लापरबाही गरेर कोरोना सारेर ल्यायो भनेर आपसमा कुरा गरेको जस्तो लाग्न थाल्यो।
जसले जसरी बुझे पनि लापरबाही त मेरै थियो। जोगिन नसकेको र अनायासै कोरोना संक्रमित हुँदाको आत्मग्लानीमा मन पोल्न थाल्यो। परिवारका अन्यमा सर्छ की भन्ने पिर मात्र नभइ कोरोनाप्रतिको बुझाइ र हेर्ने दृष्टिकोणमा त ९० डिग्रीको भिन्नता पाएँ।
कोरोनाको कारणले श्रृजित शारीरिक तथा मानसिक पीडा व्यक्त गर्न सान्दर्भिक लागेर तपाई माझ सेयर गर्दैछु।
चीनमा कोभिड-१९ को संक्रमणको समाचार बाहिर आएदेखि नै यस सम्बन्धी जानकारी लिने र समाचारहरू पढ्ने गरिएकै थियो। बाहिर जाँदा-आउँदा मास्क तथा पञ्जा लगाइयो, साबुनपानीले हात धुने, भीडभाडमा नजाने लगायतका सावधानी अपनाएकै थिएँ।
जोखिम हुन्छ भनेर सार्वजनिक यातायात प्रयोग गर्नुको सट्टा कहिलेकाहीँ त दिनमा १५-१६ किमीसम्म पनि पैदल हिँडियो तर असावधानी अपनाइएन। खानपिनमा सावधानी त पहिल्यैदेखि थियो नै, बचाउ स्वरूप मह, कागती, बेसार पानी, ल्वाड-मरिच, गुर्जो लगायत जडिबुटी पनि प्रशस्तै खाइयो।
हिउँद होस् वा वर्षा कहिल्यै पनि चिसो पानी खाइएन। बैठक, तालिम तथा नियमित कक्षाहरू पनि सबै अनलाइनबाट लिइयो। सचेतनाको कमी पनि थिएन र लापरबाही पनि कहिल्यै गरिएन। तैपनि अपर्याप्त भएछ, अर्थात् कोरोना सर्नबाट जोगिनका लागि निकै सावधानी र बचाउको आवश्यकता हुँदो रहेछ।
गत असोज १९ गते सोमबार पनि अफिस गइयो, साथीसँगै फर्किएँ। रातिको खाना खाएर पल्टेको मात्र थिएँ। ९:३० बजेतिर थियो, तालु सुकेको, घाँटी दुखेको अनुभव भयो। उठ्न अल्छि लाग्यो, यत्तिकै निदाइएछ। बिहान अलि खोकी लागेजस्तो महशुस भयो तर नित्यकर्ममा कुनै असजिलो महशुस भएन।
अफिसमा पनि त्यति असजिलो भएन। अलिअलि खोकीले गर्दा कोरोना होकी भन्ने शंका लाग्न थाल्यो तर आफ्नो सावधानी हेर्दा होइन होला जस्तो लाग्यो। बेलुकीतिर त अलिअलि शरीर दुखेको, खोकी बढेको जस्तो लागेर, गाडीबाट ओर्लिनासाथ मेडिकलबाट खोकीको औषधी बोकेर घरतिर आएँ।
विसञ्चो होला जस्तो छ भनेर परिवारका सबैलाई जानकारी गराएँ, छुट्टै बसेँ। रातिको खाना खाएपछि त ज्वरो बढ्दै गयो, खोकी बढ्यो, रुघा लाग्यो, मुख सुक्न थाल्यो। पूरै शरीर दुख्न थाल्यो, जाडो भयो, थप ओढ्ने लुगा मागेर सुत्ने प्रयास गरेंँ तर सकिनँ, ज्वरो नाप्दा १०२-१०३ सम्म देखिन थाल्यो।
खोकी बढ्ने,रिंगटा लाग्ने, ज्वरोले च्यापेकाले केही समय निकै कमजोर महशुस भयो।
२० गते बिहान डाक्टर तथा मेडिकलका भाइहरुसँग सम्पर्क गरेँ, सबै लक्षणहरु जानकारी गराएँ। डाक्टरहरुले सुझाए अनुसार थप औषधी मगाइयो, कोरोना परीक्षण गर्ने र रिपोर्ट आउन्जेलसम्म पूर्ववत अलग्गै बसिराख्ने कुरा भयो।
दिनभरी ओछ्यानमै बसे दालको झोल, झोलिलो खानेकुरा, सिटामोल, खोकीको औषधी खाइयो, उठ्ने हिम्मत पनि थिएन, जरो बढेको, रिंगटा लागेको र शरीर पूरै दुखेको अवस्था थियो।
गंगालाल राष्ट्रिय हृदययरोग अस्पतालमा मेडिकल तर्फका चिनेका भाइहरुले सास फेर्न निकै गाह्रो भएमा वा बेहोस हुने अवस्थामा तत्काल फोन गर्न र नियमित औषधी सेवन गरी आराम गर्न सुझाव दिँदै शुक्रबार परीक्षण गर्ने कुरा भयो।
अस्पताल जाने सोच पनि नआएको त होइन तर २-३ वटा जतिमा सम्पर्क गर्दा बेड खाली नभएको जानकारी हुँदा र अस्पतालको बारेमा आउने समाचारहरुले पनि औषधीको सेवन साथ घरमै छुट्टै बस्न बाहेकको विकल्प देखिएन।
आज शुक्रबार, भाइहरुले बिहान १० बजेसम्ममा स्वाब लिन आउने जानकारी गराएका छन्, ज्वरो १०० को आसपास छ आज। अन्य स्वास्थ्य अवस्थामा भने सुधार भैसकेको छैन। खानामा स्वाद छैन, खाने इच्छा छैन। दाल, गेडागुडी देख्दै बान्ता आउला जस्तो हुन्छ तर पनि औषधी खानका लागि तरकारीको सुपसँग रोटी खाइयो।
९:३० मा भाइहरु आउनु भो, स्वाब लिएर जानु भो। आफन्त धेरै जसोले त परीक्षण नगराउन सुझाव दिनु भएकै हो तर मनले मानेन र परिणामको ख्याल पनि भएन, परीक्षण गराइयो। यता स्वास्थ्यमा क्रमिक सुधार देखिन थाले पनि रातदिन कोरोना परीक्षणको नतिजा कस्तो पो आउने हो भन्ने चिन्ताले थप सताउन थाल्यो। मनमा परिणाम सकारात्मक रहने लगभग निश्चित हुँदा पनि कोरोना नदेखिएको भए हुन्थ्यो भन्ने लाग्न थाल्यो।
शुक्रबार र शनिबार यस्तै बिते, कसै कसैले आजको आज नै परीक्षणको नतिजा पाउँदा समेत मैले त आइतबार (तेश्रो दिन) को अपरान्ह तिर धेरै तर्फ फोन गरेर मात्र आफ्नो परिणाम थाहा पाउन सकियो। अझ अस्पतालले त चौथो दिन अर्थात्, सोमबार मात्र फोन गरेर मेरो बारेमा जानकारी लिन खोजेको थियो भने सम्बन्धित पालिकाबाट छैटो दिनमा फोन आको थियो।
शारीरिक तथा मानसिक पीडा
लक्षण अनुसार पोजेटिभ रिर्पोट आउँछ भन्नेमा परीक्षण गराएकै दिनमा मनमनै सोचिसकेको थिएँ। हालसम्म कुनै औषधी पत्ता नलागेको यो संक्रमणसँग जुघ्न जनस्वास्थ्यका नियमहरुको पालना गर्नु, आत्मबल बलियो बनाउनु, सचेत हुनु र शरीरको रोग प्रतिरोधी क्षमता बढाउने उपायहरु अपनाउनु बाहेक अरु खासै ठोस विकल्प नभएकोमा पनि जानकार थिएँ।
रिर्पोट आएपछि अस्पताल वा आइसोलेसन सेन्टर जाने कि यथावत स्थान घरमै बस्ने दोधारका बीच घरमै बस्ने निष्कर्षमा पुगेको थिएँ र अप्ठ्यारो परे जुनसुकै बेला जाने गरी डाक्टरहरुसँग सम्पर्क स्थापित गर्ने काम पनि गरिराखेको थिएँ। तर, अचम्म के भने मानसिक रुपमा पहिलेदेखि नै तयार हुँदाहुँदै पनि ‘पोजेटिभ’ भएको औपचारिक जानकारी पाएपछि यसको गहिरो चिन्ता पर्यो।
कोरोना लाग्यो, कहाँबाट कसरी सर्यो? कहाँ चुकिएछ? अब यसको असर के होला भन्ने कुरा मनामा खेलेको खेल्यै गर्न थाल्यो। झन् छर छिमेकमा जसलाई जता देख्यो औंला हाम्रै घरतर्फ सोझिएको देख्दा त आफूलाई बिसञ्चो भएको भन्दा पनि ठूलो गल्ती गरिएको जस्तो हीनता बोध हुन थाल्यो।
घरका मान्छेले पनि अलिकति झर्केर बोल्दा आफूले यो कोरोना भन्ने बिमार जानी जानी ल्याएको र यसबाट आफ्नो साथै परिवारको सामाजिक प्रतिष्ठा नै गिराएको जस्तो अपराध बोध हुन थाल्यो।
जोखिम हुन्छ भनेर सार्बजनिक यातायात प्रयोग गर्नुको सट्टा कहिले काहीँ त दिनमा १५-१६ किमीसम्म पैदल हिँडेको, खान पिन लगायत सावधानी अपनाइएको, बैठक, तालिम तथा नियमित कक्षाहरु पनि सबै अनलाइनबाट लिइएको थियो। अर्थात्, सचेतनाको कमी पनि थिएन र लापरबाही पनि कहिल्यै गरिएन।
तापनि मलाई लक्षण सहित देखिएकोले थोरै समयमा लत्याकलुतुक बनाएरै छाड्यो, मेरो शरीरको कोरोना प्रतिरोधात्मक क्षमता कमजोर भएर हो वा मेरो आहार बिहार र जीवनशैलीले हो।
संक्रमण मुक्तिको अपेक्षा
अब म संक्रमण मुक्तिको प्रतिक्षामा थिए। शारीरिकभन्दा पनि मानसिक रुपमा मभित्र पीडा थपिएको थियो। परिवारका मान्छेहरुलाई मेरो कारणले दुख भएको, समाजले कुरा गरेको, आवत-जावत बन्द भएको जस्ता केशहरुले कहिले काहीँ त निकै पीडा हुन्थ्यो।
बडो मुस्किलले ध्यान अन्त मोडेर, सुतेर, टिभी हेरेर कठिनसँग लामा दिन रातहरु ब्यतित गरिए। पहिलो परीक्षणपछिको आइसोलेसनको समय बिताएको १५ दिनपछि शारीरिक अवस्थामा धेरै सुधार भैसकेको थियो। कमजोरी बाहेकका अरु लक्षणहरुमा बोल्दा खोकी लाग्ने मात्र थियो।
खाना खान थालेको थिएँ, नियमित व्यायाम, योग, ध्यान गरिराखेकै थिएँ। फूलपातीको दिन आइसोलेसनको १६ औँ दिन भैसकेकाले चिनेका डाक्टरहरुको सल्लाहमा दोस्रो परीक्षण गर्न निजी प्रयोगशालामा गएर स्वाब दिइयो। फर्केर घर आईसकेपछि आफूले प्रयोग गरेका लुगा-कपडा धोएँ, सुकाएँ, र बाथरुम सबै सफा गरेँ।
रिपोर्ट नेगेटिभ आउँछ भन्नेमा शतप्रतिशत विश्वस्त थिएँ। क्याम्पस पढ्दा रिजल्ट कुरेको जस्तै कुरियो, तर धेरै जसो परिणामहरु जस्तै यो परिणाम पनि पोजिटिभ देखायो जुन मेरो दुर्भाग्य र निकै संकटको समय हुन थाल्यो। रिपोर्ट आएको दिनको बेचैनी त वर्णन गर्न नसकिने छ।
दशैँ त छदैछ, कतिपय आफन्त, छिमेकले यस्तो बेलामा कोरोनालाई भयानक सरूवा रोगको रूपमा लिइ टाढिएको र असामाजिक व्यवहार र बुझाइ प्रस्तुत गरेकोले झन् पीडा थपेको थियो। अपेक्षा त कोरोना संक्रमित प्रति सकारात्मक व्यवहार सहित भौतिक दूरी कायम गरेर सामाजिक सद्भाव देखाउनु पर्ने हो। कोरोना लाग्दैमा छिःछि दूरदूर गर्ने यो समाजले संक्रमितलाई चाहिने हौसला र माया के हो भन्ने कुरा अझै बुझेको छैन।
आइसोलेसनको समयमा मेरो परिवार र कतिपय शुभचिन्तकहरुको सहयोग साथै भावनात्मक र नैतिक समर्थन नपाएको भए मलाई यो लडाइँ जित्न सहज हुने थिएन। दोश्रो परीक्षणपछिको प्रत्येक समय लामो लाग्न थाल्यो, कसैलाई भन्न पनि असहज हुन थाल्यो, स्वास्थ्यमा नियमित सुधार छ तर मानसिक पीडाले मनस्थिति अस्थिर हुन थालेको थियो।
चिकित्सकहरुले सुझाए अनुसार कोरोनाका अवशेषहरुले गर्दा पोजेटिभ देखाएको हुन सक्ने तर अब तपाईबाट संक्रमण हुने कुनै जोखिम छैन भन्नु भएदेखि केही सहज महशुस त भयो तापनि परिवार बच्चाहरुले आइसोलेसनमै बस्दा सहजता महशुस गर्ने संकेत पाएर सोही अनुसार बसियो।
तेश्रो परीक्षणका लागि धेरै समय कुर्न सकिएन। चुपचाप गएर सातौँ दिन परीक्षण गराएर आएँ र बेलुकी ५:३० मै कोरोना नेगेटिभको रिपोर्ट पनि प्राप्त भयो, खुसीको त सीमा नै रहेन र वर्षौंसम्म आइसोलेसनमा बसेको महशुस हुने अवस्थाबाट मुक्त भइयो।
जुनसुकै विपत्तिहरुले पनि केही न केही शिक्षा दिएकै हुन्छ। जीवनमा सिकाइ पनि समस्याहरुबाटै हुने गर्दछ। कोरोना महामारी संक्रमण भोगाइको यो २२ दिनको समयावधीमा निकै कुराहरु सिक्न पाइयो।
सु-स्वास्थ्यका लागि सचेतना र सावधानी नै महत्वपूर्ण रहेछ, आरोग्यता ठूलो धन हो, दुख पीडामा साथ दिने साहस सबैले गर्दैनन् र अपेक्षा पनि गर्नु हुन्न। हाम्रो पुरानो जीवन पद्धतिका कतिपय कुराहरु (स्वयंपाक्य, लुगा फेरेर खाना पकाउने-खाने, चुलो नजिक बसेर खाना खाने, बाहिरबाट आएपछि आगो स्पर्ष तथा हात-गोडा धोएर, कुल्ला गरेर मात्र घरभित्र पस्ने, एकअर्का बीचको दूरी बनाउने, हात जोडेर नै अभिवादन गर्ने आदि) वैज्ञानिक रहेछन्, जीवन र मृत्यु बीचमा धेरै दूरी छैन जस्ता सिकाईहरु भए।
हुन त मैले कोरोना कालमा समेत जस्तोसुकै अवस्थामा पनि नित्य स्नान र सन्ध्या बन्धन बन्द गरिनँ, व्रत पनि चालु राखेँ। त्यही कारणले होला मलाई तन्दुरस्त हुन निकै समय लाग्दै छ।
तर कोरोना संक्रमितले सीघ्र स्वास्थ्य लाभका लागि अपनाउनु पर्ने उपायहरुमा चिसोबाट मुक्त रहनु पर्ने, शरीरलाई न्यानो बनाई राख्ने, खाने पिउने सबै तातोसँग सम्बन्धित हुनुपर्ने, तातोपानीको बाफ लिनुपर्ने, घाम ताप्नु पर्ने जस्ता प्राकृतिक र अति महत्वपूर्ण कुराहरु हुँदा रहेछन्।
अन्तमा, सचेतना र सावधानीको बाबजुद पनि म कताबाट कसरी कोरोना संक्रमित हुन पुगेछू र निकै समयपछि मात्र बल्ल स्वस्थ हुँदै छु। यसको अल्पकालीन वा दीर्घकालीन थप शारीरिक तथा मानसिक असर कस्तो हुन जान्छ,पुनरागमन वा निर्मूलको अवस्था के हुने हो, अहिले नै भन्न सकिने छैन।
तर तत्कालका लागि यो वैश्विक महामारीबाट आफू बाँचिएछ भन्ने लागेको छ। अवश्य पनि यो लेख लेख्दासम्मको आफ्नो बाँच्ने रहर पूरा भएको छ। शारीरिक तथा मानसिक रुपमा यसको आगामी असर के कस्तो रहन्छ, नियमित काममा गएपछि थप अनुभव होला।
शारीरिक रुपमा स्वस्थ हुन अझै केही समय लाग्ने निश्चित छ भने मानसिक रुपमा त कोरोनाको प्रायश्चित्त गर्न धेरै कुर्नुपर्छ जस्तो छ। यसका लागि हाम्रा धर्म शास्त्रहरुले सुझाए जस्तो कुनै प्रायश्चित गौदान, तीर्थ-व्रत, महादान वा यस्तै कुनै अन्य उपायको पनि खोजी भइ नसकेको अवस्थामा कोरोना रुपी अपराधबाट मुक्त हुन सफल सबैको हार्दिक प्रशंसा गर्छु।
यसका संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना साथ आफ्ना अनुभवहरु लेख मार्फत प्रस्तुत गरेर कोरोना प्रायश्चित गर्ने प्रयास गरेको छु। जानी नजानी म कोरोना संक्रमित भएर यसबाट परिवारजन, आफन्तजन तथा शुभचिन्तकहरुको सामाजिक प्रतिष्ठा, सम्मान र मार्यादामा पुगेको आघात र यसबाट हुन गएको असुबिधाका लागि क्षमा चाहन्छु।