गफ दिएको नभन्नु होला, तर म हरेक दिनजसो काठमाडौँका सडकमा गुड्दा दश/बाह्र जनालाई ‘गाली गर्दै’ आइरहेकी छु विगत दुई/तीन वर्षदेखि। 'दाइ/दिदी, तपाईको साइड-लाइट बलिराको छ, निभाउनु' मेरो मुखबाट सबैभन्दा दोहोरिने वाक्य होला, मोटरसाइकल तथा स्कुटर चालकहरूलाई लक्षित गरेर।
म कामका सिलसिलामा दिनहूँजसो १०-२० किलोमिटर यात्रा गर्छु स्कुटरमा। जानेसम्म र सकेसम्म सबै ट्राफिक नियम पालना गर्न खोज्छु, सकेसम्म मेरा कारणले अरूलाई दुःख नहोस् भन्ने सोच्छु।
मेरो बुझाइमा आवश्यक भएको स्थान र समय बाहेक अन्य स्थानमा साइड-लाइट बाल्नु भनेको पछाडिका अन्य चालकहरूलाई अवरोध गर्नु हो, किनकी तपाईले सिधा जाँदा पनि साइड-लाइट बाल्नुभो भने तपाई दायाँ वा बायाँ मोडिन लाग्नुभएको सन्देश जान्छ र पछाडिका चालकहरूले त्यसै अनुसार आफ्नो गति निर्धारण गर्छन्। उनीहरू झुक्याइएको (डिसिभ्ड) महशुस गर्छन् र रिसाउँछन्।
साथीहरू, बुझ्नुहोस् की तपाईको सवारीको साइड-लाइट तपाईका लागि होइन, तपाईभन्दा पछाडि रहेका अन्य चालकका लागि हो। सार्वजनिक स्थानमा तपाईको निजी सवारीका सबै पाटपूर्जा तपाईको व्यक्तिगत स्वतन्त्रताका साधन हुन सक्दैनन्। सडक पनि सामाजिक सम्झौताको एउटा अंग हो, अनि सडकमा भएको तपाईको सवारी पनि। तपाईको सवारी अन्य कसैको आवेगको कारण नबनोस्।
त्यसैले दायाँबायाँ नमोडीकन सिधैँ अगाडि जाने चालकले साइड-लाइट बालेमा म पहिला हर्न बजाउँछु (मलाई थाहा छ, हर्नको प्रयोग सकेसम्म कम गर्नुपर्छ) र अगाडिको बाइक वा स्कुटर राइडरको ध्यानाकर्षण गराउन खोज्छु। हर्न बजाउँदा नि बुझेनन् भने नजिकै गएर हातले संकेत गर्दै मुखैले भन्ने पनि गर्छु।
हुन त यस्तो समस्या मोटरसाइकल र स्कुटर चालकमा मात्र हुने होइन, तर काठमाडौँमा अन्य सवारीसाधनका तुलनामा तिनीहरूको सङ्ख्या अत्याधिक भएकाले प्रायः अनावश्यक साइड-लाइट बाल्ने गल्ती पनि तिनीहरूले नै गर्ने गरेका हुन्छन्।
अर्को कुरा, आफूभन्दा ठूला सवारीसाधनका चालकले त्यस्तो गल्ती गरे भने सम्झाउनका लागि हाम्रो ‘औकात’ नै पुग्दैन नि, उनीहरू र हामीबीच गाडीको बडीको दूरी हुन्छ, केहीमा चालकको ढोकाको सिसा बन्द हुन्छ, कति गाडी हामीभन्दा दोब्बर अग्ला हुन्छन्।
चार वर्ष अगाडि तिर आक्कल-झुक्कल म दाइको गाडीमा सवार हुन पाउँथेँ। गाडी चलाउँदा उहाँले सधैँ अरूलाई गाली गरेको सुन्थेँ। 'कस्तो खालको मान्छे रेछ। चाहिने बेला पनि हर्न बजाउँदैन। साइड-लाइट पनि कहिल्यै बाल्दैन। के त्यसले त्यो बत्ती भरे घरमा टुकी-बत्तीका लागि भनेर साँचेको रहेछ? की साँझ घरमा बत्ती बालेर पूजा गर्न राखेको होला त?'
मलाई त्यति बेला लाग्थ्यो, चिन्नु न जान्नुका मान्छेलाई बेला न कुबेला किन गाली गर्नु? बेक्कार त्यो मान्छेले अब दाइलाई नराम्रो सोच्यो होला। कहिलेकाहीँ हाँसो उठ्थ्यो, कहिलेकाहीँ चिन्ता। तर, अहिले म आफै स्कुटर कुदाउँदा बुझ्न थालेकी छु दाइको पीडा।
अर्थात्, एकातिर नचाहिने ठाउँमा साइड-लाइट बाल्ने समस्या छ भने अर्कातिर चाहिने ठाउँमा पनि नबाल्ने। अर्थात्, समस्या साइड-लाइटमा मात्र छैन, हर्नमा पनि छ, लेनमा पनि छ, ओभरटेकिङमा पनि छ, क्रसिङमा पनि छ र टर्निङमा पनि छ।
हामी भनौँला, बाटै साँघुरो छ, वा कहिलेकाहीँ खाल्डाखुल्डी छल्न लेन मिचिन्छ वा सिधैँ जानुपर्ने अवस्थामा पनि दायाँबायाँ मोडिन्छ। तर सबैभन्दा ठूलो समस्या त सायद हामीभित्रै छजस्तो लाग्छ।
दाइ डेनमार्क बस्नु हुन्छ। एकाध वर्षमा एक पटक नेपाल आउनु हुन्छ। आएका बेला गाडी चलाउनु पर्यो भने फेरि पनि भन्नुहुन्छ, 'नेपालका मान्छेलाई गाडी चलाउनै आउँदैन। कसैलाई नियमको मतलब नै छैन, सबै मनलाग्दी गर्छन्।'
नेपालमै जन्मी हुर्केर केही वर्ष विदेश देखेका नेपालीहरूलाई लाग्न थालेको छ की नेपालका मान्छेलाई गाडी चलाउनै आउँदैन। भनेपछि नेपालमा लामो समयसम्म बसी यहाँको चालचलन देखे/भोगेका विदेशीहरू के सोच्दा हुन्?
म आफूलाई रिस नियन्त्रण गर्न सक्ने महिलाका रूपमा दाबी गर्छु। त्यसैले सडकमा अन्य चालकको व्यवहारमा खासै रिस पोख्दिनँ, बरु सकेसम्म तिनीहरूलाई सम्झाउने प्रयास गर्छु। तर, कहिलेकाहीँ सोच्छु मेरो ठाउँमा रिसको पारो चढेका दाजुभाइ तथा दिदीबहिनी हुँदा हुन् त उनीहरू अन्य प्रति दिक्क मान्दै के-के गर्दा हुन्?
उत्तर स्वाभाविक छः रिसको झोकमा कसैले पनि वेद पढ्दैन, उनीहरू पनि उत्तेजक व्यवहार देखाउँछन्, बदला लिन खोज्छन्, जसले गर्दा दुर्घटना निम्तिन सक्छ। विश्वका विभिन्न देशहरूमा भएका अध्ययनले ‘रोड रेज’ (सडक आवेग) भनिने यस्ता व्यवहारहरू बढ्दै गएको देखाएका छन्।
नेपालमा रोड रेजको अवस्था के छ भन्ने विषयमा कुनै वैज्ञानिक अध्ययन भएजस्तो त लाग्दैन, तर एउटा चालकले ओभरटेक गर्न खोज्दा अर्को उत्तेजित भएर अथवा अर्को चालकलाई देखाउनका लागि गति बढाउँदा सवारी दुर्घटना भएका र चालक तथा अन्य यात्रुको ज्यान गएको बेलाबेला सुनिएकै हो।
नेपालमा सवारी दुर्घटना नौलो होइन। पहाडी सडकका भिरबाट गाडी तल खस्दा हरेक वर्ष सयौँले ज्यान गुमाउने गरेका छन्। तर भिरालो जमिन नभएका काठमाडौँजस्ता ठूला सहरमा पनि दुर्घटनाका समाचार बाक्लै सुनिन्छन्।
मेरो विचारमा सहरी क्षेत्रमा हुने दुर्घटनाका दुई प्रमुख कारण- मापसे र रोड रेज नै हुन्। काठमाडौँको ट्राफिक प्रहरी कार्यालयको सक्रियताका कारण मापसेको दरमा उल्लेख्य कमी भएको मानिन्छ, प्रहरीको दाबी पनि त्यस्तै छ।
यस अवस्थामा अचेलका सहरी सडक दुर्घटनाको एक प्रमुख कारण रोड रेज हो भन्ने अनुमान गर्न गाह्रो छैन। अनि यो दाबी गर्नु पनि अनुपयुक्त हुँदैन की रोड रेजको एक प्रमुख कारण चालकहरूको गैरजिम्मेवार व्यवहारबाट अन्य चालकमा उत्पन्न हुने दिक्दारी र रिस नै हो।
सवारी साधन चलाउँदा सबैका बारेमा सोच्ने गरौँ। ‘त्योभन्दा पहिला म जान्छु’ भनेर नसोच्नुहोस्, अरूलाई उछिन्छु भन्दाभन्दै आफै छिनिनु होला।