कोभिड-१९ ले अहिलेसम्म विश्वभरि ५ करोडभन्दा धेरै संक्रमित र १२ लाखभन्दा बढी मानिसहरुको मृत्यु भैसकेको अवस्था छ। नेपालमा पनि दिनहूँ ३ हजारभन्दा बढी संक्रमित हुने क्रम चलिरहेको छ।
विगत केही महिनाको अन्तरालमा कोरोना भाइरस सामुदायिक चरणमा फैलिन सुरु भैसकेको विज्ञहरुले बताइ रहँदा मृतक संख्या पनि दिनहूँ बढीरहेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म विभिन्न उमेर समूह र सम्पूर्ण प्रदेशमा गरेर कोभिड-१९ ले १०८७ जना (लेख तयार गर्दासम्म) को ज्यान लिईसकेको छ।
पक्कै पनि संक्रमणबाट निको हुनेहरुको संख्या पनि उल्लेख्य नै छ तर पनि सामुदायिक स्तरमा फैलिसकेको र जोखिम समूहका मानिसहरु अब कोभिड-१९ को जोखिममा पर्ने सम्भावना बढ्दै गईरहेको छ।
कोरोना भाइरसको हालसम्म कुनै उपचार पद्धति र औषधी बन्न सकेको छैन र मानिसहरुको रोग प्रतिरोधात्मक क्षमताको आधारमा बिरामीहरु निको हुने अथवा मृत्युवरण गर्ने अहिलेको यथार्थ हो। जोखिम समूहका वृद्ध, दीर्घरोगीहरु बच्चाहरु मुख्यतः यस रोगबाट ज्यान गुमाउनेमा परिरहेका छन्।
नेपालमा संक्रमण दर बढिरहँदा रियल टाइम पोलिमर चेन रियाक्सन (आरटी-पिसिआर) मसिनको बारेमा धेरै चर्चा हुँदै आएको थियो र सरकारले पनि पहिला गर्दै आएको र्यापिड डायगोनोस्टिक टेस्ट (आरडिटी) को ठाउँमा अहिले संक्रमण निर्क्यौल गर्न आरटी-पिसिआरलाई नै मान्यता दिदै आईरहेको छ।
पछिल्लो समय निको हुने दर (रिकभरी रेट) घट्दै गएको र जोखिम समूहका मानिसहरुलाई पनि रोगले छुन थालिसकेको परिपेक्षमा भेन्टिलेटर मेसिनको बारेमा पनि कुरा उठीरहेको छ। जनमानसमा पिसिआरको बारेमा धेर थोर जानकारी भएपनि भेन्टिलेटरको बारेमा अझै पनि अन्यौलता देखेको पाएर यस लेख मार्फत कोभिड-१९ संक्रमणमा यसको भूमिका, प्रयोग गर्ने विधि र आवश्यकताका बारेमा यस लेख मार्फत जानकारी दिन प्रयास गरिएको छ।
भेन्टिलेटर श्वास प्रश्वास रोगबाट पीडित र नियमित सास फेर्न असमर्थ बिरामीहरूलाई यथेस्ट मात्रामा श्वास फेर्ने प्रक्रियामा सहयोग गर्ने उपकरण हो। सामान्य अवस्थामा, हावामा भएको अक्सिजन नाक वा मुखबाट घाँटी, ट्रेकिआ (श्वासनलि), ब्रोन्कस, ब्रोंकियोल्स मार्फत हाम्रो फोक्सोहरुमा रहेका अल्भियोली (हावाको थैली) हरुमा पुग्छ।
अक्सिजन अल्भियोलीबाट रक्तनलीहरुमा पठाइन्छ र कार्बनडाइअक्साइडलाई रक्तनलीहरुबाट अल्भियोली हुँदै बाहिर वातावरणमा पठाइन्छ। गम्भीर श्वास प्रश्वास सम्बन्धी समस्याहरूमा, हाम्रो रगतमा अक्सिजन मात्र धेरै कम हुन सक्छ र कार्बनडाइअक्साइडको मात्र उच्च हुन सक्छ।
यो मध्ये कुनै पनि अवस्था, मुटु र हृदय जस्ता हाम्रा महत्त्वपूर्ण अंगहरूका लागि खतरनाक हुन सक्छ र समयमै उपचार गरेन भने ज्यान नै जोखिममा पर्न सक्ने भयावह स्थिति पनि निम्त्याउन सक्छ। कोभिड-१९ ले यस्तो अवस्था एक्युट रेस्पिटरी डिस्ट्रस सिन्ड्रोम (एआरडिएस) उत्पन्न गराएर गर्दछ जसले फोक्सोको नियमित सास फेर्ने कार्यलाई अबरोध गर्दै मुख्यतय दीर्घ श्वास प्रश्वास रोगहरुबाट ग्रसित (दम, वृद्ध र शिशुहरू, मुटुका बिरामीहरू, आदि) लाई असर गर्ने गर्दछ।
यी अवस्थाहरूमा बिरामीहरूलाई मेकानिकल भेन्टिलेसन मार्फत थप अक्सिजन वा सास फेर्न मद्धत चाहिन सक्छ। बिरामीलाई भेन्टिलेटरमा राख्ने निर्णय गर्नु अघि चिकित्सकहरूले 'श्वास प्रश्वास असफल' को संकेतहरु खोज्नु पर्ने हुन्छ।
श्वास प्रश्वासको दर, श्वासको कमी, रगतमा कार्बनडाइअक्साइडको मात्रा आदि अनुगमन गरेर मात्र भेन्टिलेटरमा राख्ने वा अन्य उपायहरु अवलम्बन गर्ने गरिन्छ। सामान्य अवस्थामा श्वास प्रश्वास दर प्रति मिनेट १५ हुन्छ र श्वास प्रश्वास दर २८ श्वास प्रति मिनेटभन्दा धेरै भएको खण्डमा भेन्टिलेटरबाट श्वास प्रश्वासको आवश्यकता भएको संकेत गर्ने गर्छ।
बिरामीलाई भेन्टिलेटर अक्सिजन दिनुअघि अक्सिजनको मात्रा बढाउने अन्य प्रयासहरू पनि छन्। बिरामीलाई अक्सिजन मास्क मार्फत पनि सहयोग गर्न सकिन्छ तर नियमित रुपमा अक्सिजनको आवश्यकता भएको बिरामी र रगतमा अक्सिजनको मात्र धेरै घटिसकेको, श्वास प्रश्वास दर अत्याधिक भैसकेको अवस्थामा बिरामीलाई भेन्टिलेटरमा नै राख्नु पर्ने हुन्छ।
गम्भीर कोभिड-१९ का बिरामीहरूमा सिर्जना हुने एक्युट रेस्पिरेटरी डिस्ट्रस सिन्ड्रोम (एआरडीएस) अवस्थामा बिरामीलाई अक्सिजन लगातार तर साना मात्रा दिइरहनु पर्छ। यस श्वास प्रश्वास समस्याबाट पीडित बिरामीहरुलाई सास फेर्ने हप्तौँसम्म भेन्टिलेटरमा निर्भर रहनुपर्ने हुनसक्छ।
साथै कोभिड-१९ का बिरामीहरुलाई अन्य प्रकृयाहरुबाट उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीहरूमा भाइरस सार्ने जोखिम बढ्ने भएकाले सम्भव भएको खण्डमा अन्य विधिहरुभन्दा मेकानिकल भेन्टिलेटर मार्फत उपचार गर्ने गरेको पाइन्छ। बिरामीलाई मेकानिकल भेन्टिलेसन मार्फत श्वास प्रश्वासको आवश्यकता भए नभएको चिकित्सक सहजै निर्णय गर्न सक्छन्।
अक्सिजन मास्क लगायत अन्य सास फेर्ने विधिहरूबाट बिरामीले सास फेर्न सकेन र आपतकालीन अवस्था सिर्जना भएर श्वास प्रश्वास असफल भएको खण्डमा मेकानिकल भेन्टिलेटर उपकरण सामान्यतया ३० मिनेटमा जडान गर्न सकिन्छ। यद्यपि यसका निम्ति उपकरण जडान गर्न र निश्चित तरिकाले संचालन गर्न उचित तालिम भएको स्वास्थ्यकर्मी र प्राविधिक जनशक्ति आवश्यक पर्छ।
मेकानिकल भेन्टिलेसन प्रकृयामा अगाडि बढ्नु अघि बिरामीलाई शरीरमा पर्याप्त अक्सिजन रिजर्भ राख्नका निम्ति मुख र नाकमा अक्सिजन मास्क दिएर गहिरो सास फेर्न भनिन्छ। तत्पश्चात इंट्राभेनस विधि (आइभी) मार्फत चिकित्सकले बिरामीलाई अचेत बनाउने औषधी दिएर मेकानिकल भेन्टिलेसनको पहिलो प्रक्रिया इन्डोट्रयाकियल इन्टुवेशन सुरु गरिन्छ।
बिरामी सुतीसकेपछि, इन्टुवेशन गर्न लेरिन्गोस्कोप भन्ने उपकरण प्रयोग गर्ने गरिन्छ। लेरीनोस्कोपमा ह्यान्डल, बत्ती, र धार नभएको ब्लेड हुन्छ जसले इन्डोट्रयाकियल ट्यूबलाई श्वासनलि भित्रको उचित स्थानमा राख्न मद्धत गर्दछ।
इन्डोट्रयाकियल ट्यूबलाई उचित स्थानमा राखीसकेपछि, लेरिन्गोस्कोप हटाइन्छ र ट्यूब स्थिर स्थितिमा भएपछि ट्यूबलाई मेकानिकल भेन्टिलेटरमा जोडिन्छ। मेकानिकल भेन्टिलेटर एउटा विशेष रूपमा डिजाइन गरिएको पम्प हो जसले अक्सिजनयुक्त हावालाई फोक्सोमा पुर्याउँछ र कार्बनडाइअक्साइडलाई फोक्सोबाट निकालेर श्वास प्रश्वास कार्य सहज तरिकाले गर्नका निम्ति सहयोग गर्छ।
भेन्टिलेटर राम्रोसँग काम गरिरहेको वा नगरेको शरीरमा भएको अक्सिजन र कार्बनडाइअक्साइडको मात्रा अनुगमन गरेर सहजै बुज्न सकिन्छ। बिरामीले सास फेर्ने अवधि र प्रत्येक सासमा लिने सक्ने हावाको परिमाणको विश्लेषण गरेर चिकित्सकले मेकानिकल भेन्टिलेसन जारी राख्न वा बन्द गर्ने निर्णय गर्छन्।
प्रक्रिया नियमित भएता पनि, कोभिड-१९ का बिरामीहरूमा, चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरु भाइरसबाट संक्रमित हुन सक्ने सम्भावना अत्याधिक भएकोले सावधानीका सबै प्रकृयाहरु पूरा गरेको सुनिश्चित हुनुपर्दछ।
मेकानिकल भेन्टिलेटरहरूको संख्या धेरै सीमित छ र यस घडीमा भेन्टिलेटरको प्रयोग कोभिड-१९ बाट गम्भीर रूपमा संक्रमित बिरामीलाई बचाउने अन्तिम प्रयासको रूपमा देख्न सकिन्छ। श्वास प्रश्वास समस्याबाट पीडित कोरोना संक्रमित बिरामीहरुलाई बचाउन प्रयोग हुने मेकानिकल भेन्टिलेटरको अभाव हुन नदिन सबैभन्दा स्पष्ट तरिका मध्ये एक, यो रोगबाट संक्रमित व्यक्तिको संख्या घटाउनु नै हो।
कोरोना भाइरसको संक्रमणबाट आफूलाई बचाउन सामाजिक दूरी, मास्कको प्रयोग, सेनिटाइजर, हात धुने लगायत अन्य सरसफाइ नियमहरु पालना गर्नुपर्ने हुन्छ।
(लेखक बायोमेडिकल इन्जिनियर, र क्यानोपी नेपालका सह-संस्थापक तथा प्रबन्ध निर्देशक हुन्।)