'कोरोनासँग डराउने होइन, लड्ने हो है' भनेर फेसबुकमा स्टाटस राख्ने म र म जस्ता कोरोनालाई सामान्य रुपमा लिने मान्छेको नजरमा कोरोना केही होइन लाग्नु स्वभाविक हो। जबसम्म आफू र आफ्नालाई पर्दैन, जे कुरा पनि हल्का रुपमा लिने नेपालीको बानी नै हो।
समाचारमा कोरोनाको कारण आज यति जनाको मृत्यु भनेर भन्दा मर्नै पर्ने मान्छे मरेका त हुन् निः अशक्त, वृद्ध, रोगी यस्तै यस्तै तर्क दिन पनि पछि परिएन। अझै पनि हामी धेरैको सोच विचार यही छ तर यो सरासर गलत रहेको कुरा बुबा कोरोनाले ग्रसित हुँदा थाहा पाएँ।
मेरा बुबा मात्र होइन, अहिले धेरैको घर भित्र रुधाखोकी ज्वरो आएर त्यसलाई मन मनमा कोरोना भयो की मान्ने अनि बाहिर सामान्य हो। निको हुन्छ कोरोना, जचाउन गए त कोरोना भएको देखिहाल्छ नि भनी घरमै निको हुन्छ भनी बस्नेको सङ्ख्या धेरै छ।
बुबाले आफ्नो ज्वरो रुघाखोकीलाई सामान्य रुपमा लिइदिनु भएर ८/९ दिनपछि कोरोनाले फोक्सोमा नै आक्रमण गरेछ र बुबा धेरै नै गलेको खबर आमाले हामीलाई कार्तिक ३ गते गर्नु भयो। दाजुले अस्पताल लिएर गयो। घरबाट नजिक कीर्तिपुर अस्पताल हुनाले त्यता लिएर गएको खबर गर्यो तर अस्पतालले बुबाको अक्सिजनको मात्र चेक गर्दा निकै कम देखियो।
बिमारीको लक्षण कोभिड देखिएकोले तुरुन्त अन्त लान सल्लाह दिइएछ। दाइले हाम्रो फुपू-फुपाजु काम गर्ने टिचिङ हस्पिटल लिएर गयो। उहाँहरु भएर हामीलाई धेरैनै सजिलो पनि भयो।
अस्पतालको इमरजेन्सीमा लगेर राखियो। घरमा सानो बच्चा हुनाले आफू जान मन भएर पनि राति हुँदो जान सकिनँ तर दिदी-भिनाजू त्यहाँ पुगिसक्नु भएको थियो। बुबालाई अक्सिजन चडाइरहेको उहाँलाई आराम भएको भनेर दिदी-भिनाजुलाई घर पठाइ दिनु भएछ।
राति डाक्टरले चेक गरी 'तपाईको बिरामीको हालत नाजुक छ। हाम्रोमा भेन्टिलेटर खाली छैन, तुरुन्त अर्को अस्पताल लानुस्' भनी दाइलाई तर्साएछन्। त्यसपछि दाजुलाई एकदम डर लागेर दिदीलाई फोन गरेछ। दिदी पनि आत्तिदै मलाई फोन गर्नु भयो रातको १ बजे तिर। त्यसपछि मन ढक्क फुल्यो, एक प्रकारको डर पैदा भयो।
दाइलाई फोन गरेँ, उसले पनि कत्ति अस्पताल बुझेछ। कतै खाली नभएको तर बुबालाई ठिकै रहेको भन्यो। त्यसपछि रातभर सुत्न सकिएन। बिहान हुने वित्तिकै हामी बुढाबुढी अस्पताल तिर लाग्यौँ। अस्पताल गएर बुबालाई भेटेँ। विस्तारै बोल्नु पनि भयो, अक्सिजनको मात्रा ७५/७६ मा थियो।
६० भन्दा कम हुँदा मात्र भेन्टिलेटरमा राख्ने हो भन्ने थाहा पाइयो र बुबालाई गाह्रो नभएको र अब ठिक हुन्छ पनि सोचियो। डाक्टरहरुले पनि केही भनेनन्। १० बजेपछि पिसिआरको टेष्ट हुने अनि सोही अस्पतालको बेड खाली हुन्छ अनि त्यतै सार्ने विचार गरियो। तर समय हामीले सोचेको जस्तो भएन।
करिब १२ बजे तिर डाक्टरले तपाईको बिमारीको हालत निकै नाजुक छ, १ घन्टा भित्र भेन्टिलेटर भएको अस्पतालमा लानु भएन भने केही भएमा हामी जिम्मेवार हुने छैनौँ भनी अस्पताल जिम्मेवार नरहने भनेको कागजमा हस्ताक्षर गर्न लगाइयो।
त्यसपछि हामी यति आत्तियौँ की उपत्यकाका सम्पूर्ण निजी तथा सरकारी अस्पतालमा टेलिकमको १९७ मा फोन गर्दै फोन नम्बर लिदै फोन लगायौँ। कोरोनाको परीक्षण १० बजे तिर गरिएको थियो र छिटोभन्दा बेलुकी ५ बजे तिर रिर्पोट आउछ भन्ने थियो। धेरै अस्पतालहरुले भेन्टिलेटर खाली छैन भने र भएका अस्पतालको लागि पनि बिमारीको पिसिआर रिर्पोट अनिवार्य चाहिने भनियो।
हामी सब जना निकै आत्तिसकेका थियौँ। त्यसैमा आमाले बुबालाई सास फेर्न गाह्रो भयो, आओ न छिटो भन्नु भयो। हामी जाँदा अक्सिजनको मात्रा ३३ मा झरिसकेको रहेछ। त्यसपछि माइँली दिदी र म माहामृत्युजयको मन्त्र जपी बुबासँग बस्यौँ। लगभग १०/१५ मिनेटपछि अलि माथि आयो र भिड नगर्नु भनेकाले म बाहिर आएँ।
बाहिर त ठूलो दिदी-दाजु रुदै रहेछन्। मलाई भने के गर्ने, कसो गर्ने छट्पटि भइरह्यो। भगवानको सारा जीवन भजन किर्तन गरेर हिड्नु भएर होला, बुबालाई साँच्चै भगवान आएर बचाउनु भयो। फुपाजुले अस्पतालको निर्देशकसँग कुरा गर्नु भएछ र उहाँ आफै आउनु भएर दुई वटा अक्सिजन चढाउनु भन्ने निर्देशन दिनुभयो।
त्यसपछि बुबाको अक्सिजनको मात्रा बढ्दै पनि गयो। आफ्नो मान्छे भएर त माथिबाट निर्देशन दिएर मेरो बुबा अहिले यो दुनियाँमा हुनुहुन्छ। दुई वटा अक्सिजनले राम्रो काम गर्यो। बुबा बिमारी भन्ने थाहा पाएपछि बुबालाई प्रणायम गर्न भनेको हो तर बुबाले धेरै नगर्नु भएर रोगले ग्रस्त बनाएको हो।
माइँली दिदीले अक्सिजनको मात्रा बढाउने थेरापीको फोटो हामी सामु राखी र हामी चार छोराछोरी मिलेर कसैले हात कसैले खुट्टामा प्रेस गरेर अक्सिजनको मात्रा पनि बढाउन थाल्यौँ। त्यसले पनि निकै काम गर्यो। मान्छे त्यतिबेला भाग्यमानी हुन्छ जति बेला उसले जन्म दिएर हुर्काएका सन्तान जीवनको कठिन घडीमा उसको साथमा हुन्छन्।
हामी चार जना सन्तान बुबाको वरिपरि बस्दा बुबाको अक्सिजनको मात्रा बढेको होला लाग्यो। बेलुकी ६ बजे तिर बुबाको रिर्पोट पोजिटिभ आयो। अब भने हामीलाई जहाँ लान पनि सहज भयो तर त्यतिखेरसम्म बुबाले दुई वटा अन्डा पनि खाइसक्नु भएको थियो। त्यहाँको इन्चार्जले कतै लानु नपर्ने कुरा गरेर अब भने हामीलाई ढुक्क भयो र भोलिपल्ट कोभिड वार्डमा सारियो।
करिब ६ दिन आइसियूमा र २ दिन साधारण कोभिड वार्डमा राखेर घर लगियो र दसैँको अन्तिम दिन भएपनि हामी सबै जना गएर बुबाको हातको टिका लगायौँ। माछा, मासु, अन्डा केही नखाने मेरो बुबालाई यो कोरोनाले सब चिज खान बाध्य गरायो। बुबाले सब चिज मजाले खानु भएरै १० दिनमा घर जान सफल हुनुभयो।
बुबालाई यसरी स्वस्थ बनाउन सहयोग गर्ने हातहरु सबैलाई, विशेषगरी फुपाजुलाई, बहिनी सर्मिलालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
बुबासँगको प्रत्यक्ष सम्पर्कमा रहेरकाले घरमा छोराको अगाडि देखा परिनँ। त्यसमाथि आफूलाई रुधाखोकी लागेर शरीर पूरै गलेकाले बुबालाई कोभिड वार्डमा लगेपछि आफू जान पनि सकिनँ। करिब ३ दिनपछि छोराको अघि गएँ। कोरोना टेष्ट पनि गर्न गएँ। रिर्पोट धन्न नेगेटिभ आयो तर घरमा ससुरा बुबालाई पिसिआर पोजिटिभ आएको तर उहाँलाई केही नहुनाले घरमा नै बस्नु भयो।
यसलाई हेलचेक्राइ पनि गर्न नहुनाले उहाँको स्वस्थ्थको ख्याल गर्नु पर्ने हुनाले मेरा बुढाले आफू अस्पतालमा खाना लिएर कुरुवा बस्न जाने र मैले घर सम्हाल्ने कुरा राख्नु भयो र त्यसै पनि गरियो। र जीवनमा सुख-दुख आउने जाने हुन्। निकै डरलाग्दो दुखद् घडीबाट पार पनि पाइयो। यद्यपि यसपालिको दसैँ घरमा सासुआमाको हातबाट र जन्म घरमा बुबाआमाको हातबाट पूर्णिमाको दिनमा लगाइयो।
कोरोना भन्ने चिज नै छैन भन्ने हामी जस्ता साधारण मानिसलाई यसले नराम्रो छाप छोडेर गयो। हो, कोरोना छ र यसलाई परास्त गर्न सुरुमै लक्षण देखिने वित्तिकै टेष्ट गरिहाल्नु पर्ने र तातो पानी पिउने, बाफ लिने, चिल्लो पदार्थ मासु अन्डा पनिर प्रशस्त खाने गर्नु पर्छ।
साथै प्रणायाम व्यायाम पनि गर्नु पर्छ। यो रोग केही होइन भनेर हेला गर्दाको परिणाम अहिले हरेक दिन मृतकको सङ्ख्या बढी रहेको छ। यसबारे सुरुमै सचेत रहन सबैलाई आग्रह गर्न चाहन्छु।