लामो राहत, धेरै खुसी र अचम्म मानेर मेरो युपीकी साथीले सोधी- 'ठेकुवा नेपालमा पनि खान्छन् र?'
मलाई अचम्म लाग्दै थियो, ठेकुवा उता पनि खादा रैछन् र? मेरो मामुले कलेज पढ्दा भोक लाग्छ भनी खान हालिदिएको ठेकुवाले मलाई होस्टेलमा एउटा प्रिय मित्र दिलायो।
ठेकुवाले जोडिन पुगेका ऋतु र म सायद ठेकुवा नहुँदो हो त त्यति राम्रा साथी बन्दैन थियौं होला। ऋतुले खुसी भएर मलाई त्यसपछि लिटि-चोखा, सातुको पराठा साबुदानाको पोहा र अनेकौँ खानेकुराहरु पकाउन सिकाउँदै खुवाउथी पनि।
सानो उमेरमा नै फुपूको बिहे हेटौडामा भएछ। राजेश खन्नाका चलचित्र हेरी उस्तै सुइटरका डिजाइन उतार्न सक्ने मेरो फुपूले तराईको रहनसहन र खानेकुरा पनि छिटै सिक्नु भएछ। अनि त तिहारको लागि अब फुपूसँगै काठमाडौँ आउँदा सेल, फिनीसँग ठेकुवा पनि आउन थालेछ।
ठेकुवा सबैलाई मन परेपछि विस्तारै उहाँले ठेकुवा बनाउने साँचो पनि ल्याइदिनु भयो। भदा र भदै खाइराख्न पाउन् भनी ठूलोममी र मामुलाई पनि ठेकुवा बनाउन सिकाउनु भएछ। पाउरोटी र बिस्कुटभन्दा आडिलो र स्वास्थ्यवर्धक हुने भएकाले मेरो संयुक्त परिवारमा आमाहरुले डब्बाभरी दादाहरु, म र भाइले खान्छन् भनी ठेकुवा, निम्की र खजुरी बनाइदिने गर्नुहुन्थ्यो।
अरूभन्दा बनाउन अलिक सजिलो हुने हुँदा ठेकुवा बनाउन म र मेरो स्यानो भाइ पनि मामुसँग टुसुक्क बस्थ्यौँ। मट्टितेल हालेर बाल्नुपर्ने नुतन स्टोभमा धेरै घिउ तेल हालेर बसाउने बित्तिकै हामी घरमा आज ठेकुवा अथवा खजुरी बन्ने भएछ भनी दंग हुन्थ्यौँ।
स्कुल कलेजको कार्यक्रममा भाग लिनका लागि लामो समय घरभन्दा बाहिर रहँदा मसँगै एक झोला ठेकुवा पनि जान्थ्यो। राति साथीहरु यसको ममीले पठाउनु हुन्छ, यसको झोलामा पक्कै केही होला भनि आउँथे। कतिले ठेकुवा पहिलो पटक चाखेका हुन्थे।
भोलिपल्ट कतिले ऊ त्यो ठेउको, ठिक… यो कुन्नि के जाती खाम न हो भन्दा मुर्छा परि हाँस्थे। कार्यक्रमबाट आएपछि ठूलोममी र मामुले बनाइदिएको ठेकुवा त कस्तो हिट भयो भन्दा मेरो आमाहरूको अनुहारमा अर्कै खुसी देखिन्थ्यो।
मेरा साथीहरु यी कुरा हकैले भन्थे किनकी उनीहरुलाई पनि थाहा थियो, मेरो आमाहरुले ती कुराहरु बनाउँदा उनीहरुलाई पनि मनमा राखेर बनाउनु हुन्थ्यो। सायद आमाहरूको मन यस्तै हुन्छ। त्यसैले मेरो साथीको घरमा उसलाई मनपरोस् नपरोस्, म आउने भनेपछि मेरो लागि आन्टीले खोजीखोजी फर्सीको तरकारी बनाइदिनु हुन्थ्यो।
सलिनाको ममीले बनाउनु हुने गुन्द्रुक गोलभेडाको अचार, रन्जिताको ममीले बनाउनु हुने मेवाको अचार, सम्झनाको ममीले बनाउनु हुने चामलको रोटी र प्याजवाला परवलको तरकारी, नैनीतालकी साथी निकिताकी ममीले बनाउने घरेलु सुन्तलाको सर्वत, कोटद्वारकी साथी सालिनिकी आमाले बनाइदिने खानेकुरा सबै ती साथीहरुले भन्दा हामीले खान्थ्यौँ।
सायद हामीले यति मिठो मानेर खादा अन्टीहरुलाई पनि त्यस्तै महशुस हुन्थ्यो होला बनाउनु हुने। मास्टर्सको लागि भारत पढ्न जाँदा मेरो होस्टेलको सामुन्नेको कोठामा सानी आस्था बहिनी पढ्थिन्।
मेरो घरबाट जबजब ठेकुवा आउँथ्यो, त्यसबखत उनको घरबाट मुडकौला आउथ्यो। आस्था र म दुवैले एकआर्काका घरका खानेकुराहरु पहिले खाएका थिएनौँ। म दाजुभाइहरूको बीचमा हुर्केकी थिएँ, त्यसैले सायद मलाई कताकता दिदीबहिनीको अभाव महशुस हुन्थ्यो।
आस्था पनि मजस्तै दाजुभाइहरूको बीचमा हुर्किएकी थिइन् र उनलाई पनि कताकता दिदी-बहिनी भइदिए हुन्थ्यो जस्तो आभास हुन्थ्यो। मैले नयाँ मिठो मिठाइसँगै प्यारी बहिनी पनि सधैँको लागि पाएँ र आस्थाको परिवार मेरो पनि परिवार भयो।
मैले अनरसा भन्ने मिठाइ पहिले खाएकी थिइनँ। ठूलो दादा र ठूलो भाउजुको बिहेमा पोखराबाट अर्सा कोसेली ल्याएको थियो। बहिनी आस्थाको पुर्ख्यौली घर स्यांजा भएकोले तिनको घरमा अर्सा बन्दोरहेछ। एकदिन म बहिनीलाई भेट्न जाँदा आन्टीले म आउछु भनी अर्सा बनाएर राख्नु भएको रहेछ।
आस्थाले दिदी विधि अनुसन्धानले बताएको, अब विस्तारै नेपाली मिठाइ बनाउने चलन समाप्त हुने सम्भावना बढ्दै छ रे नि, हामीपछिका पुस्तालाई त थाहा नहुन सक्छ हामीले खाएका कुराहरूको बारेमा भन्दा सुनेर मनै अमिलो भयो।
यो हाम्रो जिन्दगीमा यति धेरै प्रसंग याद र सम्झना ल्याउने मिठाइहरु आजका पुस्तालाई हस्तान्तरण गर्न पाएन भने त मजा आउँदैन। अनि आस्था र मैले जे जसो बनोस्, हामीले पनि नेपाली मिठाइ बनाउने प्रयास गर्नेपर्छ भन्ने निधो गर्यौँ।
ममीहरूको साथमा लागेर बेलाबेलामा सेलरोटी, अनरसा, फिनी, निम्की नबनाएको त हैन तर पूर्णरूपले आफूले बनाएको पनि थिइनँ। आफ्नो बेलाबेलाको अनुभव अनि ममीसँग सोधेर कताकता फेरि म श्रीमानले घरेलु कुराहरु बनाउनुपर्छ भनेर बनाउने प्रयास गरौँ।
ज्यादै राम्रो नसकिए पनि एक बाटा हामीले पनि बनाई टोपलेउ। उनले अलि नरम भयो, मामुले पठाइदिने जस्तो भएन तर हामीले प्रयास त गरेकै हो भन्दा निकै खुसी लाग्यो। अब बनिहाल्यो यस्सो फेसबुकमा पनि हाल्न पर्यो भनी हालेको त कहिले नबोल्ने व्यक्तिहरुले पनि रियाक्ट गर्नुभयो।
कसैले मलाई पनि भनेर भन्दा थाहा भयो, ठेकुवा त धेरै जनालाई प्रिय रहेछ। नहोस् त पनि किन, तराई-पहाड सिमाना जोड्ने प्रिय ठेकुवा।