हिजोआज तनहुँको मानहुँकोट सामाजिक सञ्जालमा निकै चर्चामा छ। कुहिरोमाथिको सुन्दर संसारको अवलोकन गर्न त्यहाँ पर्यटकहरूको भीड लाग्ने रहेछ।
मेरा केही साथीहरूले पनि ‘ओए, हामी पनि जाम न। लास्टै राम्रो रैछ यार।’ भनेर अस्ति बेलुका मानहुँकोट जाने प्रस्ताव राखे।
मैले उस्को म्यासेज पढें तर केही रिप्लाइ दिइनँ।
भोलिपल्ट बिहानै उठें अनि घरको आँगनबाट देखिने कुहिरोले ढकमक्क ढाकेको स्याङ्जा बजारको एउटा सानो भिडिओ खिचेर साथीलाई पठाएँ र भनें ‘देखिस्! मेरो त घरमै मानहुँकोट छ। त्यो जाबो कुहिरो हेर्न किन तनहुँ गइराख्ने? बरु मेरै गाउँतिर आइजा तँलाई धित मरुन्जेल देखाइदिम्ला।’
उसलाई अचम्म लगेछ र सोध्दै थियो ‘तेरै घरबाट खिचेको भिडिओ हो यो?’
मैले भने ‘पत्याउदैनस् भने हेर्न आइजा न।’
‘तँलाई त लास्टै रमाइलो रैछ यार। घरबाटै यस्तो दामी ‘सिन’ देखिने रैछ’, उस्को उत्तर आयो।
कहिलेकाहीँ साथीभाइका अगाडि आफ्नो गाउँठाउँको फूर्ति लगाउन पाउँदा पनि विशेष किसिमको आनन्द आउँदो रैछ।
आफू जन्मेको हुर्केको ठाँउ प्यारो लाग्नु त स्वभाविक नै हो तर म मेरो गाउँमा न जन्मे न हुर्के, तै पनि खै किन हो कुन्नी मलाई यो ठाँउ अद्भूतै राम्रो लाग्छ।
जागिरको शिलशिलामा बुवा पहिलेदेखि नै गाउँ छाडेर स्याङ्जा बजार बस्दै आउनु भएको थियो। दिदी ३ महिनाको हुँदा मामु पनि स्याङ्जा आउनुभएको रे। मेरो जन्म चाहिँ स्याङ्जा बजारमा नै भयो।
दसैंमा हजुरबुवाको हातबाट टीका लगाउन र कहिलेकाहीँ स्कुलमा बिदा हुँदा बाहेक मलाई गाउँ जाने अवसर जुट्दैनथ्यो।
तर म जति पटक मेरो गाउँ पुग्थें, त्यति नै पटक यो ठाँउले मलाई मुग्ध पार्थ्यो।
यो ठाउँ छोडेर कहीँ पनि जान मन लाग्दैनथ्यो। जब गाउँ छाडेर सामान्य जीवनमा फर्कने समय आउथ्यो, यहाँको चिसो हावाले मलाई जबर्जस्ती पछाडि धकेलेर ‘तिमी यहाँबाट टाढा जान पाउँदैनौ’ भने जस्तै लाग्थ्यो। यहाँका चराचुरुङ्गीले रुँदै ‘नजाऊ न’ भनेर बिलौना गरेजस्तै लाग्थ्यो। मलाई यति धेरै माया गर्ने यो ठाउँलाई ,मैले माया नगरी बस्न मिल्छ र?
स्याङ्जा, पोखरा अनि काठमाडौं जस्ता सहरहरूमा बसिसकेकाले मैले सहरिया जीवनको त थुप्रै अनुभव बटुलेको छु। तर गाउँले जीवनलाई भने राम्ररी बुझ्न पाएको थिइनँ।
शिक्षा, स्वास्थ अनि गुणस्तरीय जीवनको खोजीमा सहर पस्न परे पनि, जब जीवन र मृत्युको सवाल आउँछ, तब गाउँकै आवश्यकता पर्दो रहेछ। म पनि कोरोनाको कहरबाट बच्न भनेर काठमाडौंबाट गाउँतिर हानिएँ। छिट्टै फर्कन्छु भनेर मकै छर्ने बेलामा गाउँ पसे पनि, मेरो बसाइ धान काट्ने बेलासम्म लम्बियो।
जीवनको १७ औं बसन्त पार गरिसक्दा पनि मैले आजसम्म मेरो गाउँमा यति लामो समय बिताएको थिइनँ।
करिब ८ महिने लामो यो कोरोना बसाइमा मैले मेरो गाउँलाई अझै राम्ररी नियालें। गाउँले जीवनलाई अझै राम्ररी बुझ्ने प्रयास गरें।
स्याङ्जा जिल्लाको सिरानमा मेरो गाउँ, बाङ्सिङ देउराली अनि गाउँको सिरानमा मेरो घर।
चारैतिर हरियाली, वनजङ्गल, खेतबारी अनि मलाई अत्यन्तै मन पर्ने खुल्ला चउर।
मलाई एकान्त मन पर्छ, त्यसैले हरेक दिन म केहीबेर चउरमा बसेर चिसो हावा खाँदै टाढाटाढा सम्मका डाँडाकाँडा अनि सुन्दर माछापुच्छ्रेको दृश्य हेरेर रमाउँछु।
कहिलेकाहीँ त समय बितेको पत्तै हुँदैन, घाम अस्ताउन थाल्छ अनि त त्यो दुई डाँडाको बीचबाट बिलिन हुन लागेको सूर्यको गाढा सुन्तले रङ्गको प्रभाव वातावरणमा पर्दा, चउर छाडेर घर जानै मन लाग्दैन। अहिले जस्तो फाँट अनि उपत्यका खोजेर घर बनाउने चलन पहिले थिएन।
पहिले त जस्को गोठमा धेरै गाईवस्तु छन् उसैलाई सम्पन्न मानिन्थ्यो रे। मेरा पुर्खाले पनि गाईवस्तु चराउने प्रशस्त चउरको खोजीमा गाउँको सिरानमा आएर घर बनाउनुभएको रे।
मेरो हजुरबुवाले आफ्नो बाल्यकालमा गाईवस्तु चराउँदाका अनि गोठमा सुटुक्क एक्लै खिर पकाएर खाँदाका रमाइला किस्सा मलाई सुनाउनु हुन्छ।
म र मेरो हजुरबुवा मिल्ने साथी जस्तै भएका छौं। मैले जानेका कुरा उहाँलाई सिकाउँछु। उहाँले जानेका कुरा मलाई सिकाउनु हुन्छ।
मैले मेरो हजुरबुवाबाट डोको, थुन्से,मान्द्रो बुन्न सिकें; रामायण, महाभारत लय हालेर पढ्न सिकें। त्यसैले उहाँ मेरो गुरु पनि हुनुहुन्छ।
मेरो गाउँलाई गृष्म ऋतुमा वन पाखाभरि रत्ताम्मे लालिगुराँस फुलेर सजाउछन् भने हिउँदमा पैंयौका गुलाबी फूलले।
यहाँ बतासको बेगसँगै सल्लो सुसाउँछ अनि चराचुरुंगीले आफ्नो मधुरवाणीले वातावरण नै गुन्जयमान पारिदिन्छन्।
बाँदरले वारिबाट सुटुक्क मकै चोरेर घरको धुरीमा बसेर मलाई गिज्याइ गिज्याइ मकै खान्छ।
मृगले ‘तँ सुतेपछि त बारीको कोदो मेरै हो नि’ भन्दै मेरो निन्द्रा पर्खेर बस्छ।
दुम्सीले पनि पिंडालु कहिले फल्छ भन्दै कुरेर बस्छ। मल्साप्रो घरको पालिबाट मलाई पुलुक्क हेरेर दगुर्छ।
यी जीवजन्तु अनि चराचुरुङ्गीको सुन्दर परिवेशमा रहँदा मेरो मन सधैं प्रफुल्ल हुन्छ, उदासिताको अनुभव नै गर्दिनँ। सायद प्राकृतिक उपचार भनेको यसैलाई होला।
मेरो गाउँमा विशेषत ब्राह्मण समुदायको बसोबास छ। मानिसहरूलाई स्वार्थपनको तुवाँलोले छोपिरहँदा यहाँका बासिन्दा भने यो प्रवृत्तिबाट टाढा छन्। उनीहरू सरसहयोग,भरापर्म, ऐंचोपैन्चोमा विश्वास गर्छन्। एक जना मर्दा सारा गाउँभरि हलो चल्दैन। विवाह ब्रतवन्धमा गाउँभरिका मान्छे जुटेर सहयोग गर्छन्।
उनीहरूको पवित्र हृदयमा छलकपट ,चोरीठगीको पालुवा अझै पलाएको छैन।
गाउँले जीवन विश्वासमै अडिएको छ। गाउँकै नजिक श्रवण कुमार र पञ्चासे जस्ता धार्मिक एवं पर्यटकीय गन्तव्य छन्।
अहिलेको कोरोना बसाइमा मैले यी दुवै स्थानको भ्रमण गर्ने मौका पाएँ, यी ठाउँका बारे किम्बदन्ती अनि इतिहासको अध्ययन गरें।
नजिकको तीर्थ हेला भनेझैं यहाँका मानिसहरूलाई यस्ता सुन्दर ठाँउहरूको महत्त्व बालाचतुर्दसीमा सद्बिउ छर्ने बेलाबाहेक अरू बेला रहेनछ।
पञ्चासे भने पोखराबाट पनि नजिकै रहेकाले केही पर्यटकहरू घुम्न आउने रहेछन्। यी क्षेत्रहरूको अलिकति प्रचारप्रसार गर्ने हो भने स्याङ्जा जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ।
प्राकृतिक छटाले भरिपूर्ण मेरो गाउँले विकासका अनेक सम्भावना बोकेको छ तर पनि अशातित विकास हुन सकेको छैन।
गाउँमा आइपुग्न एउटा कच्ची बाटो छ, जुन पिच हुन सकेको छैन। अहिले नयाँ बाटोको निर्माण सम्पन्न भएको र पिच गर्न बजेट छुट्टयाइएको बरेमा सुनेको छु।
गाउँमा भएका विद्यालयहरूमा ल्याब, लाइब्रेरीको राम्रो सुविधा छैन। गाउँलेहरू आज पनि परम्परागत कृषिमा निर्भर छन् , केहीमा बाहेक अरूमा व्यवसायिक खेतीको ज्ञान छैन। तर यति भन्दै गर्दा विकास नै नभएको भन्ने चाहिँ हैन।
एकै पटक सबै कुराको आश गर्नु पनि मुर्खता हो। मेरो गाउँको सुन्दर भविष्यको चित्र मेरो मानसपटलले कोरिसकेको छ।
आशा छ, अब मेरो कल्पना छिट्टै यथार्थमा परिणत हुनेछ, मेरो गाउँको मुहार फेरिनेछ। त्यसपछि त मेरो गाउँले मेरो मात्र हैन, यसलाई हेर्न बुझ्न आउने सबैको मन चोर्ने छ।
म अहिले तपाईंहरूलाई मेरो गाउँमा आउन निमन्त्रणा दिँदै छु, तपाईंहरूलाई स्वागत चाहिँ मेरो गाउँ आफैंले गर्छ।