थुप्रै महिनाको अनलाइन पढाइपछि दसैंको रमाइलोको बारेमा जुम्ल्याहा छोराहरूसँग कुराकानी गर्दै थियौं। अचानक एकदिन बिहान सञ्चार क्षेत्रमा काम गर्ने श्रीमानले रूघा लागेको संकेत दिनुभयो।
घरमा दमको रोगी आमा भएकोले तुरून्तै पिसिरआर टेस्ट गरेर आइसोलेसनमा राखें र आफू पनि आइसोलेसनमा बसें।
बेलुकी रिपोर्टमा जे नहोस् भनेको त्यही भयो अर्थात् कोरोना पोजेटिभ।
दुई दिनपछि हामी दुवै ज्वरो अनि टाउको दुख्ने जस्ता समस्याबाट पीडित हुन थाल्यौं।
पहिलोचोटिको कन्ट्याक्ट ट्रेसिङमा आमा लगायत छोराहरू र बहिनीको रिपोर्ट नेगेटिभ आएपछि पीडाका बीच पनि खुसीको सीमा बयान गरिनसक्नु थियो तर त्यो धेरै समय टिकेन।
हामीसँग छुट्टिएर तल्लो तलामा रहनु भएका आमा लगायत छोराहरू र बहिनीहरूलाई समेत ज्वरो आउन थाल्यो।
सात जना कोरोनाले ढलेपछि आमालाई अस्पताल लैजान समेत हामी श्रीमान श्रीमतीलाई अत्यन्तै गाह्रो भयो।
आइसियुमा आमा, अवस्था गम्भीर! टाउको दुखेर उठेर खाना बनाउने वा पानी तताउने क्षमता समेत थिएन हाम्रो।
‘पर्यो भन्ने भन्नुस् है’ यो वाक्यसँग यति घृणा लाग्छ किनकी मलाई परिसकेको थियो।
बाहिर गएर सिटामोल ल्याउने स्थिति पनि थिएन। यस्तो बेलामा केही नगण्य मित्र र सानिमाकी छोरीहरू छोडेर अरूसँग चित्त दुखेर रोएका थियौं हामी।
अस्ट्रेलियामा रहेका बहिनीहरूले हारगुहार गरेर बाहिरबाट खाना ल्याउने व्यवस्था मिलाउनु भयो। एक जना साथीको साथ त यति रह्यो, हरेको दिन बच्चाहरूको लागि केही न केही पठाउन थाल्नु भयो।
परिवारै कोरोना संक्रमित भएको कुरा आफैंले सामाजिक सञ्जालमार्फत् जानकारी गराएको थिएँ।
तर केही छिमेकीहरूले मेरो घर तर्फको झ्याल समेत एकाएक बन्द गरिदिनु भयो। केही बाटोबाट हिँड्दा देखिन्छ कि भनेर तर्केर हिँड्न थाल्नुभयो। यसले हामीलाई थप पीडा दियो।
हामी सबै जना कोरोना संक्रमित भएको पाँचौं दिनमा आमाले पनि कोरोनाकै कारण हामीलाई ६८ वर्षको उमेरमा छोडेर जानुभयो।
आमालाई शिक्षण अस्पतालको आइसियूमा सुम्पिएपछि नर्स रहनु भएकी मेरी आमाजू र अन्य नर्सको आँखाबाट मात्र हेरियो। मुख समेत हेर्न पाएनौं, नेपाली सेनाको हातबाट दाहसंस्कार गर्न पशुपति पुर्याइँदा हामी टाढाबाट मुकदर्शकमात्र भयौं।
भाइले विदेशबाट आउँछु भन्दा कोरोनाको कारण रोक्नुपर्ने अवस्था पनि कम पीडादायक रहेन। आमालाई कोरोना हामीले सारेकोले कहिलेकाहीँ आमाको मृत्युको कारण बन्न पुगेकोमा आत्मग्लानीले पोल्छ!
हामीलाई असंख्य माया गर्ने केहीले ढिपी गरेर भेट्न आउँछु भन्दा छोराहरूको आइसोलेसन अवधि १४ दिन नपुगेकाले नआउन अनुरोध गर्यौं र सामाजिक सञ्जाल र टेलिफोनमार्फत् नै समवेदना ग्रहण गर्यौं।
तर केही आफन्तले घरमा (सामाजिक दूरी र अन्य उपाय पालना गरिएको मेरो घर) आएर पनि दुई मिनेट पनि नबसी, नबोली जानुभयो। सबैको घरमा विचार (मर्दा लगिने सामग्री) लिएर जाने वा पठाउने मेरी आमाको मरणमा पीडाबाहेक केही थिएन।
‘बुढाबुढी मरिहाल्छन् नि, तिमीले त अफिसमा कोरोना सारिदियौ!’
मेरी बहिनीले कोरोना पोजेटिभ भएको उसको अफिसमा खबर गरेकी थिई। त्यसपछि केही दिनपछि बैंकमा काम गर्ने उसको साथीले फोन गरेर ‘तिमीले अरूलाई सारिदियौ’ भन्दा सबै प्रोटोकल पालना गरेकी उसको आँखाबाट आँसु बगे।
आमाको मृत्युको खबर गर्दा उसको हाकिमले ‘ए बुढी हुनुहुँदो रहेछ, त्यस्तै हो” भन्दा त हामी नेपालीहरूको मनमा मानवता हराएको हो त! जस्तो लाग्यो।
थाहा नपाएर आफ्नै कामका लागि फोन गर्दा ‘हामी त परिवारै संक्रमित छौं’ भन्ने बितिक्कै अतालिएर फोन काट्ने थुप्रै आफन्तहरूले दिएको पीडालाई भुल्न केही समय लाग्नेछ।
‘मानिसहरूलाई कति डर नलागेको’ भन्दै कुरा गर्ने अनि आफू असन गएर भीड देखेको कुरा सुनाउने तर नेगेटिभ आइसकेको मेरो परिवारलाई समवेदना भन्न आउन डराउनेलाई अल्पज्ञानको कमाल भन्नु बाहेक के भनुँ र!
आज आमा बित्नु भएको एक महिना हुन लाग्दा पनि हामीप्रतिको हेय भावमा खासै कमी आएको छैन।
अन्त्यमा, संकटको समयमा सहयोग गर्न नसके पनि हेलाको पीडा हामीलाई जस्तो नपरोस्! संक्रमित भएर बाहिर निस्कन अप्ठ्यारोमा परेकालाई पानी, औषधि, खानेकुरा, आदि कुरा पुर्याएर सहयोग गर्न सकिन्छ।
हामीले त आमा गुमायौं तर तपाईंहरू सचेत रहनुस्।
हामीले गर्ने व्यवहारका कारण संक्रमितहरुले सूचना लुकाउँदा स्थिति भयावह हुन सक्छ! त्यसैले हाम्रो अनुरोधः
हेला हैन सहयोग!
मास्क, हातधुने, सकेसम्म सामाजिक दूरी कायम गर्ने, स्यानिटाइजरको प्रयोग नै अहिलेका लागि कोरोनाको भ्याक्सिन हुन्, यसलाई पालना गरौं।