म र संस्कृति सानैदेखिका मिल्ने साथी हौँ। हाम्रो घर आधा घण्टाको दूरीमा छ। तर पनि कोरोनाका कारण भेट नभएको महिनौं बितिसकेको थियो।
भेटघाट नभएको लामो समय भएकाले जे परे पर्ला भनेर उसलाई भेट्न घर गएकी थिएँ। महिनौंपछि भेटेर, घाम ताप्दै गफ गर्न पाउँदा हामी निकै उत्साहित थियौँ। अझ त्यसमाथि, चारैतिर ढकमक्क फूलेका सयपत्री र मखमलीको दृश्यले मन दङ्ग थियो।
यत्तिकैमा संस्कृतिको छिमेकी अङ्कल टुप्लुक्क आइपुग्नुभयो।
‘छोरी संस्कृति, के छ खबर?’
‘नमस्ते अङ्कल’ मेरो सबै ठिक छ। हजुर आरामै हुनुहुन्छ?’
‘सन्चै छु नानी। अनि के गर्दै थियौ त?’
‘धेरैपछि साथी आएकी छन्, उनैसँग गफ हानेर बसिराखेकी छु’ आँखाले मतिर इसारा गर्दै संस्कृतिले जवाफ दिन्छे।
मैले पनि अङ्कलतर्फ हेर्दै नमस्ते टक्र्याउँछु।
संस्कृतिका बुवा हाम्रो संवाद सुनेर भित्रबाट आउनुहुन्छ।
‘ओहो! दाइ नमस्ते, आरामै हुनुहुन्छ?’
‘हजुर, ठिक छु भाइ। तिम्रो हालचाल के कस्तो छ?’
‘अहिलेसम्म त ठिकै छ दाइ। अनि कान्छो कहिले आउछ त?’, छिमेकी अङ्कलले संस्कृतिका कान्छा अङ्कलको बारेमा प्रश्न गर्नुहुन्छ।
‘यस्तो परिस्थिति छ भाइ, त्यसैले यसपालि आउँदैन। ठूली दिदी यहीं आउनुहुन्छ, बहिनी र कान्छाले उतै टिका लगाउँछन्।’
‘त्यसो भए यो वर्ष नानीहरुको निधार रित्तै हुने भयो त? हुन त छोराछोरी बराबर नै हुन्, तर बेलाबेलामा यस्ता परम्पराले एउटा छोरो त चाहिने रहेछ भन्ने भान हुन्छ, हैन त दाइ?’ म शिक्षित छु, तर मैले आफूभित्रको पितृसतात्मक सोच त्याग्न सकेको छैन भन्ने कुरा आफ्नो भनाइद्वारा अङ्कलले प्रष्ट्याउनुहुन्छ।
संस्कृतिका बाबु, आमाका तीन बहिनी छोरीहरुः सरिता, संस्कृति र समृद्धि। दिदी सरिता र संस्कृतिबीच पाँच वर्षको अन्तर छ। संस्कृति र संमृद्धिबीच भने दस मिनेटको। तीन वटी जन्मनासाथ उनीहरुका बुवाआमाले अर्को सन्तानको चाह राख्नुभएन। उनीहरुका लागि सन्तान हुनु नै ठूलो कुरा थियो।
छोरा–छोरी भन्दै विभेद गर्न थाल्नुभएन। रुढीबादी र पितृसतात्मक सोचभन्दा अलिक माथि उठेको उहाँहरुको सोच, यो विभेदकारी समाजको आँखामा कसिङ्गर सावित भएको थियो। त्यसैले, कुनै न कुनै मौका ढुकेर, छोरा नभएको कुरा निकाली ताना हान्न पछि पर्दैनथ्यो, यो समाज। संस्कृतिका बाबुआमाले त्यस्ता कुरालाई खासै वास्ता गर्नुहुन्नथ्यो।
संस्कृतिलाई भने तिहारको निहुँमा ‘छोरा’को कुरा निकालिरहने छिमेकी अङ्कललाई सधैंका लागि मौन बनाउने चाहना थियो, उसले भन्न थाली।
‘हैन अङ्कल, हाम्रो निधार हामीले खाली नराख्ने निधो गरेका छौँ। हामी तीन बहिनीले नै एक- अर्कालाई तिहारको टीका लगाइदिने योजना गरेका छौँ। हामीले पाइला टेक्न थालेदेखि नै दिदीले हाम्रो सुरक्षा गर्दै आउनुभएको छ। सानामा खुट्टा सार्दा लड्नबाट बचाउनुभयो, ठूलो भएपछि कुलतमा फस्नबाट जोगाउनुभयो।
हामीलाई हरेक कुरामा प्रेरित गर्नुहुन्छ, आत्मनिर्भर बन्न हौसला दिनुहुन्छ। आफूले जागिर खान थालेदेखि हामी दुई वटीको अध्ययन शुल्कको जिम्मा पनि उहाँ आफैले उठाउनु भएको छ। हाम्री दिदीले जस्तो सच्चा हृदयबाट हाम्रो सुरक्षा कसैले पनि गर्न सक्दैन।’
‘तिहारमा, दिदीभाइ र दाइबैनीले एकअर्काको सुरक्षाका निमित्त गरेका कार्यहरुप्रति कृतज्ञता जनाउन एक अर्कालाई पूजा गरी धन्यवाद स्वरुप एकअर्काको लामो आयुको प्रार्थना गर्छन्। तर, हाम्री दिदीले आजका दिनसम्म हाम्रो यसरी सुरक्षा गर्दा पनि, कुनै विशेष दिन निकालेर उहाँलाई धन्यवाद दिँदै पूजाआजा गर्ने मौका पाएनौँ, अथवा त्यो मौकालाई चिन्दै चिनेनौँ।
त्यसैले, यो वर्ष हामीले नयाँ तिहारको सुरुवात गर्ने निधो गरेका छौँ। अबदेखि तिहारलाई हामीले दिदी–बहिनी टीकाका रुपमा भब्यताका साथ मनाउनेछौँ। यसरी, हाम्रो सबैभन्दा महान चाडलाई लैङ्गिक विभेदको कारक हुनबाट जोगाउन कदम चाल्ने भएका छौँ’, संस्कृति यति भनेर चुप लाग्छे।
केहीबेर अगाडि उसले मलाई तिहारका लागि आफ्नो योजना सुनाएकी थिई, जुन सुन्दा मलाई छुट्टै खुसी लागेको थियो। उसलाई पहिलेबाटै यसो गर्ने इच्छा थियो, तर अङ्कलको छोरो टीका लगाउन आउने हुँदा, केही बोल्न सकेकी थिइन।
यसपालि उ नआउने भएपछि घरमा सबैलाई आफ्नो इच्छाको बारे सुनाएकी थिई र सबैले सहमति पनि जनाउनु भयो। यो वर्ष मात्र नभई, प्रत्येक वर्ष एक–अर्कालाई टीका लगाइदिएर, तिहार मनाउने तीनै जनाले निष्कर्ष निकालेका थिए।
यति सुन्नासाथ छिमेकी अङ्कल चर्किन थाल्नुभयो, तिमीले जे मन लाग्यो त्यही भनेर हुन्छ, भाइ टीकाको बारेमा तिमीलाई के थाहा? प्राचिन कालदेखि नै आफ्नो छुट्टै मौलिकता बोकेको प्रथालाई तिमीले एका–एक परिवर्तन गर्ने कुरा गरेर हुन्छ। आजकलका केटा–केटी अलि अलि पढेलेखे भन्दैमा आफ्नो पहिचान दिलाउने चाडपर्वमाथि नै प्रश्न गर्न थाल्छन् रीतिरिवाज, प्रथालाई बिर्सन थाल्छन्।’
संस्कृतिले फेरि पनि बडो निडरताका साथ तर्कहरु राख्न थाल्छे, ‘मैले कहाँ चाडपर्व बिर्सने कुरा गरेकी छु र अङ्कल! हामीले पहिलेदेखि नै दिदी–भाइ र दाइबैनीको सम्बन्ध मनाउँदै आएका छौँ, यसमा अबदेखि दिदी–बहिनी र दाइभाइको सम्बन्धलाई पनि मनाउन थालौँ भनेकी मात्र हुँ। मैले बिर्सने होइन, थप्ने कुरा गरेकी हुँ। तिहार केवल सीमित व्यक्तिको मात्र पर्व नभइ, सबैको पर्व होस् भन्ने इच्छा राखेकी हुँ।
सबैको घरमा छोरा–छोरी दुबै हुन्छन् भन्ने छैन, केवल छोरा–छोरी दुबै भएकाको घरमा मात्र तिहार मनाइने क्रम जारी रह्यो भने, कसरी पर्वको संरक्षणमा सबैको संग्लनता हुन्छ त? वास्तवमा रीतिरिवाज जोगाउने जिम्मा लिनुभएका विज्ञहरुले यो कुरामा ध्यान दिनुपर्ने हो।
समयअनुसार हामीले मनाउँदै आएका चाड पर्वलाई परिमार्जन गर्नुपर्ने हो। तीव्र गतिमा परिवर्तन भइरहेको वातावरणमा समायोजित हुन, मानिसले आफूलाई त्यहीअनुरुप परिवर्तन गर्नुपर्छ भने रीतिरिवाजमा यो कुरा लागू नहोला र? आजसम्म हामीले अपुरो तिहार मनाउँदै आएका छौँ, अबदेखि पूर्ण तिहार मनाउन थालौँ र सुरुवात आफूबाटै गरौँ भन्ने मेरो भनाइ हो।’
संस्कृतिका कुरा सुनेपश्चात उसका बुवा छुट्टै चमककासाथ मुस्कुराउनुहुन्छ। छिमेकी अङ्कलसँग संस्कृतिका प्रश्नहरुको कुनै जवाफ नभएकाले हो, अथवा उसका कुराबाट साँच्चै प्रभावित भएर हो, त्यसपछि केही नबोली चुप लागेर बसिराख्नुभयो र कुराकानी अर्कै विषयतिर मोडियो।
मलाई भने संस्कृतिका तर्कहरुले सोचमग्न बनाए। साँच्चै यतिका वर्षसम्म हामीले तिहारलाई अपुरो मनाइराखेका रहेछौँ। पौराणिक कथाका अनुसार यमुना नाम गरेकी देवीले मृत्युको मुखमा पुगेको आफ्नो भाइलाई भगवान् यमराजको आराधना गरेर बडो चतुर्याईंका साथ मृत्युको मुखबाट फिर्ता ल्याउनुभएको थियो रे!
त्यशपश्चात यो पर्वलाई दाइबैनी र दिदीभाइले एक अर्कालाई पूजा गरी, टीका लगाइदिएर आफ्नो सम्बन्ध सुदृढ बनाउन भब्यताकासाथ मनाउँदै आएका छन्। तर, यदी त्यो कथामा कुनै भाइले आफ्नो दाइको ज्यान जोगाएको भए, यसलाइ दाइ–भाइको पर्वको रुपमा मनाइन्थ्यो होला। त्यसैले एउटा मात्र कथालाई मान्यता दिँदै यो पर्वलाइ किन केवल दिदी–भाइ र दाईबैनीको पर्वमा सीमित राख्ने त?
दिदीबैनी अथवा दाइभाइको प्रगाढ सम्बन्ध र स्नेहमा पनि त विभिन्न कथा होलान्। ती कथालाई पनि यो पर्वमा सम्मेलित गरेर, दिदीबैनी, दाइभाइ, दाइबैनी, दिदीभाइ सबैले एक अर्कालाई पूजा गरी, आआफ्नो सम्बन्धलाई अझ बढी सुदृढ बनाउने बाचा गरेपश्चात बल्ल यो पर्वले पुर्णता पाउने थियो।
यदि यो पर्वमा दिदी भाइ, दाइ बैनीले एकअर्काका लागि मागेको वरदान ईश्वरले पुरा गर्नुहुन्छ भने, सच्चा ह्रृदयबाट दिदीबैनी, दाइभाइले एक अर्काका लागि मागेको वरदान पनि त पक्कै पुरा गर्नुहोला। भगवान् त पक्कै पनि विभेदकारी हुनुहुन्न होला, अनि किन हामीले यो पर्वलाई साँघुरो बनाउने कार्य गरिराखेका छौँ त?
कुनै पनि रीतिरिवाज, चाडपर्वलाई जस्ताको त्यस्तै केही पनि परिमार्जन नगरी, दोस्रो पुस्तामा हस्तान्तरण गर्नु भनेको त्यसको संरक्षण गर्नु होला र? त्यस्ता पर्वहरुलाई समय अनुसार उनीहरुको महत्व झन् बढाउन, आवश्यक हेरफेर गरी, अझ झन् फराकिलो बनाउँदा उचित नहोला र? त्यसैले, आउनुहोस् हामी सबैले अपुरो होइन, पूर्ण तिहार मनाऔँ र सुरुआत म आफैंबाट गर्छु।