छोरीलाई अन्माएर पराइघर पठाउँदा आमाबाबु खिन्न हुँदै भन्छन्, 'यो घरको खुसी र सुखकी मुहान, हाम्री प्यारी राजकुमारी, यस घरकी लक्ष्मी, सबैको आँखाकी नानी जाने भई।'
तिनै आमाबाबु अर्कोघरबाट अन्मिएर आउने कसैकी छोरीलाई बुहारी बनाएर भित्र्याउँदा भने शंकाको घेरामा हुन्छन्, 'कलहको बिउ पो आउने हो कि? यस घरको सुख शान्ति पो भाँडिने हो कि?'
दुलहीको घरबाट जन्तीले एउटी राजकुमारी, कसैकी प्यारी छोरी, मुटुको टुक्रा लिएर हिँड्छन्। तर जब दुलाहाको घर पुग्छन् उनीहरूले एउटी कुलंघार, घर भाँडुवा, घरको अशान्तिको कारण, छोरो, दाजु, भाइलाई भड्काउने मानिस लिएर पुग्छन्। छोरी मान्छेको अवतार बाटबाटैमा बदलिदिन्छ समाजले।
आफू जन्मेहुर्केको ठाउँ, मातापिता, रहनसहन, खानपान, सर्तरहित मायाममता दिने मान्छे सबैथोक छुट्छन् उसका। छोरी हुँदा हकदाबीले पाखुरा सुर्केर पाएको माया अब बुहारी हुँदा त्यस्तो माया पाउन त अनेक दृश्य, अदृश्य परीक्षामा पास हुनुपर्छ। मनका इच्छा, चाहना, जिउने आफ्नो व्यक्तिगत पारा, तरिका सबैथोकलाई कोमामा राखेर उसले एउटा नयाँ ठाउँको नयाँ घरपरिवारमा आफूलाई स्थापित गराउन पाइलापाइलामा पुनर्जीवन लिनुपर्छ।
अब जन्मघरमा जस्तो चर्को बोल्नु भएन। गल्गलाएर हाँस्नु भएन। मनखुसी घोडा दौडेजस्तो कुद्नु भएन। भोक लाग्यो मलाई भनेर ठूलो स्वरले बोल्नु भएन। चुल्हामा के पाकेको छ कुदेर गएर कसैलाई नसोधी कापकुप खानु भएन। आमा, दिदीबहिनी, भाइदाजुहरूसँग जस्तो बाझ्नु भएन। मुक्कामुक्की गर्नु भएन। लडेको लोटालाई लत्याउँदै हिँड्न भएन। आँगन सिकुवामा कसिंगर परेको वास्तै नगरी बस्नु भएन। जुठेल्नाका जुठा भाँडा पहिलेजस्तो 'आ भोलि ब्यान माझ्छु है’ भनेर लत्तो छोड्नु भएन। माइतमा जस्तो आफूलाई मात्रै चिया पकाएर खाँदै कुर्सीमा बसेर मोबाइलमा घोप्टिन भएन।
कति छन् कति त्याग्नुपर्ने, सम्हालिनु पर्ने, विवेक पुर्याउनु पर्ने भाउजू, बुहारीका कुरा। हिजोसम्मकी पुलपुले छोरी एकाएक सबैको नजरले पलपल 'जज' गर्ने, खोट निकाल्ने, सिकाउने 'नाजुककली' बुहारी वा भाउजू हुन्छे ऊ।
'के गर्ने जीवनभन्दा पहिले संस्कार र परम्परा त धान्नै पर्यो छोरीको जातले,' आफ्ना गन्यमान्य ठूलाबडाले यही भन्छन्।
छोरीले जन्मघरमा जिउन, बोल्न, खान, लाउन, काम गर्न, जिम्मेवारी लिन जम्मै सिकेर आएकी हुन्छे बुहारी वा भाउजू बनेर आउँदा।
एउटा घरआँगनमा यति स्वीकृत, यति प्यारी, यति ज्ञानी छोरी योजनाबद्ध ढंगले किन सबैकी दुर्छे हुन आउँछे त बेहुला घरमा चाहिँ? कदापी त्यस्तो उद्देश्यले आउँदिन। तर समाजले त्यसरी नै बुझेर ल्याएको छ छोरीलाई भाउजू, बुहारी बनेपछि।
हाम्रो पनि घरमा दाइको बिहेको कुरा चल्न थाल्यो।
'अब दाइसँग लाडिनु, दंग्याउनु, चल्नु, घुर्की लाउनु धेरै छैन है, भाउजू नआउन्जेल मात्र हो, त्यसपछि त तिमेर्को दाइलाई भाउजूले लगिहाल्छिन् नि' कुरा चलेदेखि नै गाउँका मान्छेले भनेको सुन्दा बरू त दाइको बिहे नगरेकै ठिक भन्ने लाग्थ्यो।
मान्छेका कुराले यही समाजमा छोरी भएर बुहारी, भाउजू भइसकेकी मेरी आमालाई पनि औडाहा हुन्थ्यो होला सायद। बेलाबेला ठूलोठूलो सास फेर्नुहुन्थ्यो आमा। मान्छेका दुनियाँदारीका कुराले आमालाई पनि त हैरान नपारेका कहाँ थिए होला र?
बिहे भयो। भाउजूको गृहप्रवेश भयो। भाउजूले हाम्रो घरको वातावरणमा घुलमिल हुन बेरै लाउनु भएन। दाइ सारै खुसी थियो, मन मिल्ने जीवनसाथी पाएकोमा। मलाई गाउँलेले भनेका कुरा मिलेजस्तो लागेन।
दाइले त उसका लागि जीवनसाथी मात्र होइन आमा र बुबाका लागि अर्की एउटी छोरी, मेरा लागि मेरै दौंतरीकी मिल्ने साथी र बा(हजुरबा)लाई 'स्याहार गर्ने' अर्की बुहारी पनि साथै ल्याएको रहेछ।
जुनबेला म आफूलाई घरकी सानी मान्छे, सबैकी प्यारी, डुल्नेखेल्ने उमेर मेरो भन्दै त्यसको लाभ उठाउँदै थिएँ त्यही बेला मेरी भाउजू छोरीबाट एकाएक 'बुहारी, भाउजू, जेठानी, देउरानी' बनेर हाम्रो घर प्रवेश गर्नुभयो।
आमाले बिहान उठेर सबै धन्दापात छिनेर चिया पकाएर बोलाउँदा पनि अटेरी गरेर सुतिरहने म। मसँग मिल्दोजुल्दो उमेरकी भाउजू बिहानबिहानै आमासँगै उठेर घरधान्दामा लाग्नुहुन्छ।
भाउजूले आँगन बढार्दाको आवाजले मेरो कान खान्छ। म एक्लै झर्किंदै फेरि एक निन्द्रा सुत्छु। त्यो आवाजले मलाई गिज्याइरहेको थियो होला सायद, तैंले भोलि कसैकी भाउजू हुँदा यसरी अबेरसम्म रानी पल्टेर सुत्न पाएको हेरूँला भनेर।
भाउजूका हातको खरेटोको आवाज झनझन् चर्को सुनिँदै आउँथ्यो म सुत्ने कोठाको झ्यालैबाहिर। मलाई चेतावनी पो दिँदैथियो कि तेरा नि दिन आउँछन् भनेर?
हामी सबैजना अँगेनाको वरिपरि बसेर आगो तापिरहेको बेला भाउजू बाहिरको चिसो र अँध्यारोमा भाँडा माझिरहेको हुनुहुन्थ्यो। त्यो कालो अन्धकार रातले पनि मलाई ठूल्ठूला आँखा पार्दै भित्रै हेर्द केही भन्न खोज्याजस्तै गर्दैथ्यो। मैले नदेख्याजस्तो गरेर आगो तापिरहेँ, गफ जोतिरहेँ।
भात पाकेको देखेपछि हुरुक्क भोक लागेर आयो। भाउजूसँग मागेँ र खाइहालेँ। भाउजूलाई पनि त उत्तिकै भोक लाग्या होला! कहिले जन तयार होलान् र खाऊँला भनेर सबैका मुखमुख हेर्दै ट्वाल्ल पर्या पनि नदेख्या होइन भाउजूलाई। तर मलाई के मतलब भाउजूको भोकसँग। भाउजूको भोकले पनि मलाई दुई-चार पाठ पढाउनै खोज्दै थियो होला, तेरो पनि यही हो हविगत पर्खिंदै गर भनेर।
मलाई कहिलेकाहीँ बिहान एक डोको घाँस काटेर स्कुल जाने र बेलुका आएर भोक लाग्यो भनेर धुन्धुनाउँदै आफूखुसी खाजा खाएर वा बारीमा काम गर्दै गरेकी आमालाई 'भोक लाग्यो' भनेर घरमा ल्याई खाजा बनाउन लाएर आफू होमवर्क गर्न बसे बेलुकाको भात पाकिहाल्छ। भाउजूको दिन कहाँ त्यति सजिलो छ र!
भाउजूको ठाउँमा दिदी थिई भने 'काम सघा न ए बाले, खानकी काले’ भनेर एकपल्ट जगटा नै केलाउँथी होला मेरो। तर भाउजूले बोल्नु भयो यहाँ?
भाउजूको धपेडी एकाबिहानैबाट सुरू भएर बेलुकाको भान्सापछिको सरसफाइमा मात्रै टुंगिन्छ। बिहान सनोतिनो काम सकेर वा परिवारको भोजन तयार गरेर हतारहतार खाएर दिउँसोभरि जागिरमा जानुपर्छ। दिनभरिको कामले लखतरान भएर घर फर्केपछि पनि बुहारी नै भएर घर फर्किनु पर्छ भाउजूले। म जस्तो छोरी भएर 'म भुतुक्क भएकी छु गलेर, गर्दिनँ बुढीआमा तिम्रो कामसाम। खाजा लेऊ भोक लाग्यो' भन्न कहाँ पाउनु भाउजूले। त्यसमाथि बच्चा नि भए?
म सहरबाट दसैं बिदामा आउँदा घर बस्दा लाउने लुगा प्राय: लग्दिन थिएँ। आमाले भाउजूसँग मागेर लगा भन्नुहुन्थ्यो। मैले भाउजूलाई लुगा मागेँ। भाउजूले आफ्नो नयाँ लुगाको दराज खोलेर 'जुन मन पर्छ त्यही लाउनू' भन्दा मेरो आँखामा आँसु आउनुपर्ने हो! आफूले नलगाई साँचेर राखेको लुगा घर बस्दा लगाउन दिन ठूलै मुटु चाहिन्छ। म पनि भाउजू भएपछि त्यसो गर्न सकूँला के? प्रश्नले हान्छ एकपल्ट।
सहरबाट आउँदा ल्याएका जिन्स र टिसर्ट लगाइ हेर्न आमा र काकीहरूले कर गरे। मैले पनि लगाइहालेँ। सुहाएको, नसुहाएको, राम्री, नराम्री प्रतिक्रिया आउन थाले। म पनि फुरुंग पर्दै आफूलाई भाग्यमानी ठान्दै बाहिर-भित्र वरपर गर्न थालेँ। मेरै उमेरकी भाउजू आँगनको पल्लो कुनामा सुकाएको बिस्कुन चलाउँदै, बेलाबेला मतिर हेर्दै गर्नुहुन्थ्यो।
'आफू त बुहारी मान्छे, रहर त छ नि जिन्स लाउने! घरकाले लगाउने भए लगा न त भनेर मात्र भयो र? तगारोको अर्को पत्र छैन गाउँघर छरछिमेकको? म तपाईंजस्तो छोरी हो र जिन्स लाउनलाई?' भाउजूले ठट्यौली गर्दै भनेको भए नि त्यो मनको मर्मले बोलेको हो।
सहरबाट गएपछि आमालाई एकान्त पारेर 'भाउजू कस्ती रछिन् त आमा, असल कि खराब?' भन्नुको साटो भाउजूलाई खुसुक्क 'हाम्री आमा कत्तिको गनगन गर्छिन् आजभोलि? पहिले त सारै गर्थिन् त?' भन्दा पनि हुने हो।
हामी दिदीबहिनी त आमालाई 'गनगन नगर है बज्यै धेर' भन्छौं त सामुन्नेमै। आमा हाँसेर टारिदिनुहुन्छ, आफ्नो सुर छोड्नुहुन्न। आमाले नि हामी छोरीलाई 'मुखाले, गफाडी, खान मात्रै मीठो खोज्ने, अल्छीकी महारानी’ मनलाग्दो भन्नुहुन्छ, हामी खिसिक्क हाँसेर टार्छौं। आफ्नो थेत्तरोपन।
भाउजूलाई नि छोरी नै मानेर यो सब खुल्ला गरिनु हो भने भाउजू अझ बढी खुल्नुहुन्थ्यो होला। घरपरिवारमा भाउजूको अझ बढी आत्मबल र आत्मसम्मान बढ्थ्यो होला। परम्परागत सासू-बुहारी, नन्द-भाउजूको अघोषित शंका, डर, कटुताको मनोविज्ञान हटेर आपसमा अझ बढी प्रेम, विश्वास, स्नेह र हेरचाह बढ्दैनथ्यो होला त?
आफ्नो प्यारो छोराकी जीवनसाथी, आफ्नै ज्यानभन्दा प्यारा नातिनातिना जन्माइदिने मान्छे र सासूपछि घर घराना धानेर अघि बढाउन आफ्नो छोरासँग नारिने रथको एउटा पाङ्ग्रो त आखिर तिनै भाउजू नै हुन्। वा बुहारी नै हुन्। घरपरिवारको यस्तो महत्वपूर्ण सदस्यलाई आफूले जन्माएका छोराछोरी सरहको व्यवहार र बरियता दिन किन नसोचिएको होला ?
त्यही छोरी ! उही शारीरिक रुपरङ, उही लाऊँला खाऊँलाको रहर र मन। तर वल्ला घरको नरे पल्ला घरमा सरेपछि 'छोरी’ नै भएर ऊ जिउन पाउँदिन। उसलाई उसका बाबुआमाले जस्तै 'राजकुमारी’ छोरीकै रुपमा पोइघरले पनि स्वीकार गरिदिए के फरक पर्छ?
उसले घाँस काट्न, भात पकाउन, चिया खुवाउन, सकेको जागिर खान र परिवारलाई सुखदु:खमा साथ दिन जानेकै हुन्छे त माइतमा हुँदा जस्तै। अझ त्यसमाथि घरमा कसैले गर्न नसक्ने हजुरबा हजुरआमाको नातिनातिनाको मुख हेर्ने रहर, कुल वंशको लहरो तन्काउने खाँचो र लोग्नेलाई बाउ हुने रहर नि मेटिदिन्छिन् भाउजूले बच्चा जन्माएर।
'बुबा चिनीको एक बोरा किन्ने चैं मेरो भाग है' दसैंको किनमेलमा भाउजूले आफ्नो जिम्मेवारी घोषणा गर्नुभयो।
'आमा, यो जुत्ता किनेर आजै लगाको सारै सजिलो र'छ, यो चाहिँ हजुर लाउनू' भाउजूले उदार मन देखाउँदै आफूलाई साह्रै सजिलो लागेको जिनिस आमालाई लाउन भनेको सुनेँ। बरु म छोरी पो सजिलो आफूले हडपेर आमालाई अप्ठ्यारो दिन्थेँ कि?
'आज मेरी नन्द आउँदैछिन् काठमान्डुबाट। कसैगरी यी काँक्रा मलाई बेच्नु न' भन्दै जागिरबाट फर्किँदा गाउँमा सिजनभन्दा अघि नै फलेका काँक्रा देख्दा अनेक जुक्ति गरेर किनेर ल्याई मलाई खुवाउने उनै भाउजू हुन्।
मैले खोइ जान्या छु यी र यस्ता कुरा?
'यस्ता कला र पारा कहिले सिक्नुभो भाउजू? अनि कहाँ?' भनेर सोधूँजस्तो लाग्छ मलाई।
'मलाई नि यसरी नै सिकाएर तयार पार्नू है भाउजू,' म छोरी हुन छाडेर भाउजू हुन जानुअघि भन्न मन लाग्छ भित्रभित्रै। तर नबोली नबोली पनि भाउजूबाट सिकिरहेकी छु।
'छोरी त घरका पाहुना हुन्। जति माया गरे पनि आखिर पराइलाई दिनै पर्छ' भन्नुहुन्छ आमा। धेरै उग्रवादी नभई सोच्ने हो भने आमाका कुरा सामान्यत: सही हुन्।
छोरी घरका पाहुना भए बुहारी के हुन्?
बुबाआमाका लागि अर्काले लैजाने आफ्ना छोरीकै झझल्को दिएर घर-आँगन उज्यालो बनाउने, कहिल्यै पराइघर दिनु नपर्ने, र हामी छोरीको माइतघरको उज्यालो बत्ती हुन् भाउजू। आफ्नो कुल-परम्परा बचाउन रचना गरिएको सृष्टि पनि हुन् भाउजू। हामी छोरी त अर्कैको कुल जोगाउन र अर्कैका भाउजू हुन हिँडिहाल्छौं।
हार्दिक नमन भाउजूजस्ता सबै भाउजूलाई !!