तिहार आएको छ दैलोमै। तर म तिहारलाई हर्षकासाथ स्वागत गर्न सकेकी छैन। तिहार आउँछ, मनको घाउमा अमिलो पोखेर यसै बिदा हुन्छ।
आज अठार वर्ष भयो यसरी नै तिहार आउँछ, जान्छ। उसलाई म ‘नआइज’ भन्न पनि सक्दिनँ, स्वागत गर्न पनि सक्दिनँ। अठारै वर्ष भयो, शरद ऋतुमा हरेकको घर आँगनमा फुल्ने सयपत्री र मखमली मेरो घर आँगनमा फुल्न छोडेको।
तिहारको उमङ्ग मनभरि संगाल्दै आँगनभरि सयपत्री फुलाउने मेरो रहर लुट्ने अरू कोही नभएर दश वर्षसम्म मानव रक्तमा होली खेलेको ‘माओवादी युद्ध’ हो।
तत्कालीन माओवादीहरू (यतिबेला नेपाली ‘माओवाद’ले सत्ताको चास्नीमा डुबेर आत्महत्या गरिसकेको छ) यो रक्तपातपूर्ण विद्रोहलाई ‘जनयुद्ध’को नाम दिन रुचाए पनि हजारौं सोझा र निमुखा जनतालाई मारेर उनीहरूको लाशको भर्याङ चढी सत्ताको चास्नीमा लुटपुटिन पुगेका युद्धनायकहरूको अभिप्सालाई मजस्ता सायद कुनै पनि नेपाली जनताले ‘जनयुद्ध’ भन्न सक्दैनन् होला।
युद्धको डढेलो सल्काउनेहरूका लागि त्यो युद्ध ‘महान’ लाग्दो हो तर मजस्ता हजारौं हजार युद्धपीडित नेपालीहरूका लागि त्यो केवल खुसीहरू सल्काउन लगाएको ‘डढेलो’ मात्र भएको छ।
यी अठार वर्षका हरेक तिहारमा तत्कालीन युद्धनायकहरू कसकसले कोकोसँग भाइटीका गरे भनेर नेपाली मिडियाका हेडलाइनहरू उनीहरूका तस्वीरसहित सिँगारिन्छन्। तर ती मिडियामा त्यस दिन आउने समाचारका कुनै पनि कुनामा त्यो दश वर्षमा युद्धको नाममा हत्या गरिएका कुनै दाजुभाइ वा दिदीबैनीको खबर देखिँदैन।
दश वर्षे युद्धले कति दिदीबैनीको हातको टीका खोसियो ? कति दाजुभाइको निधार खाली भयो ? कुनै खोजखबर हुँदैन।
भाइटीकाको साँझ तँछाड मछाड गरेर पस्किने समाचारमा युद्धनायकहरूका निधारमा सप्तरङ्गी टीका र गलाभरि सयपत्री र मखमलीको माला देख्दा तिहारको लगत्तै मारिएका मेरा दाजुको सम्झनाले थिलोथिलो हुन्छु।
सायद यसरी नै थिलोथिलो हुँदो हो मजस्तै उक्त युद्धकालभरि आफ्ना दाजुभाइ गुमाएका दिदीबैनीहरूको मन पनि।
आतंक, हत्या अनि नेपाली जनताको रगत र आँसुले भिजेको इतिहासकै त्यो क्रुर दशक ! माओवादी युद्धमा मारिएका आफ्ना दाजुभाइहरू सम्झेर मेरोजस्तै गरी रोएको त होला ती दिदीबैनीहरूको मन पनि !
शरद ऋतुसँगै प्रायः गरेर सबैको घरआँगनमा ढकमक्क भएर फुल्ने सयपत्री मेरो आँगनमा फुल्नै मान्दैन अझै पनि। २०५९ सालको कात्तिक महिना। आँगनैभरि फुलेको सयपत्री।
सम्भव भएसम्म हरेक तिहारमा टुप्लुक्क आइपुग्ने माइला दाजु त्यो वर्षको तिहारमा आउन पाउनुभएन।
युद्धको विभिषिका चर्किरहेको बेला जिल्लाकै शान्ति सुरक्षाको जिम्मेवारी लिएर बसेको एक राष्ट्रसेवकलाई भाइटीका भन्दा देश ठूलो लाग्यो। ‘यसपालि आउन पाइनँ, अर्काे साल लगाउँला भाइटीका’ । दाजुको यही बोली अन्तिम भयो र अन्तिम भयो हाम्रो परिवारको तिहारको सक्कली खुसी।
तिहारको लागि साँचेर राखेको सयपत्री दाजुको पार्थिव शरीरमा चढाउने माला बनेर आर्यघाट पुगेको त्यो दिन कसरी भुल्न सक्छु र ?
जबजब टेलिभिजनमा गलाभरि सयपत्रीको मालाले सजिएका युद्धनायकहरू देख्छु, तिनका गलामा सजिएको त्यो सयपत्रीका थुँगा थुँगामा मेरो दाजु र उहाँजस्ता थुप्रै दाजुभाइको शरीरबाट निस्केका रगतका छिटा देख्छु अझै पनि।
मेरा दाजुजस्ता हजारौंको मानवबली चढाएर मुक्तिको लामो सास फेरेका युद्धनायकहरूले बेलाबेलामा गलाले धान्नै नसक्नेगरी सयपत्रीका मालैमालाले ढाकिएर सगर्व प्रदर्शित भइरहेको देख्छु, मलाई आर्यघाटमा तिहारको सयपत्रीले ढाकिएको मेरो दाजुको मृत शरीरको झझल्को आउँछ।
तिनका गलामा झुण्डिएका सयपत्रीका प्रत्येक थुँगाथुँगामा युद्धमा मारिएकाहरूको अनुहार देख्छु।
उनीहरूको कुटिल मुस्कानमा सहीद परिवारको चित्कार देख्छु। पूरै अठार वर्ष मेरी आमाले पुत्रवियोगमा आँसु झारेर बिताउनु भयो र भर्खर यो संसारबाट बिदा भएर महायात्रामा निस्कानुभयो।
उहाँको सो यात्रामा काँध थाप्नुपर्ने छोराको उल्टै ती बूढी आमैले किरिया गर्नुपरेको दर्दनाक पीडा कसरी भुल्न सकिएला र ? मेरी आमा मात्र होइन, युद्धमा मारिएका हजारौं छोराछोरीका आमाहरूले यसैगरी आँसु बगाइरहेका छन्।
हजारौंका बाबुहरूले थर्थराउँदै बुढ्यौलीका सहारा आफ्ना सन्तानलाई चितामा राखेर दागबत्ती दिएका दृष्यहरू अझै आँखाबाट ओझेल हुन सकेका छैनन्।
देश बनाउँछु भनेर सोझासाझा नेपाली छोराछोरीलाई युद्धको आगोमा झोसेर आफ्नो बहादुरी प्रदर्शन गरेकाहरू युद्धको भूमरीबाट निस्केर सिंहदरबार छिरे।
तर त्यहाँ छिरेपछि उनीहरूले केको लागि रक्तपात मच्चाएका थिए भन्ने कुरा नै बिर्सेको देख्दा यस्तो लाग्छ, उनीहरूको प्रमुख उद्देश्य नै सिंहदरबार छिर्नु रहेको थियो।
गरिब र निमुखा जनतालाई तिनको जीवनस्तर उकास्ने ‘ललिपप’ देखाएर फुकेको क्रान्तिको बिगुलले युद्ध सकिएपछि अर्कै रूप लियो।
आम निमुखा नागरिकको हालत आज पनि उस्तै छ तर नागरिकको जीवनस्तर नउकासिएर के भो त ! क्रान्ति नायकहरूको जीवनस्तरले युरोपेली मापदण्ड छोएको देखिन्छ।
आम नागरिकलाई बाँडिएका सपनाको घोडा चढ्दै नेपाली राजनीति यतिखेर कुर्चीदौडको खेलमा बालुवाटार र खुमलटारको फन्को मारिरहेको छ।
बिहानदेखि रातिसम्मै नेपालका हरेक मिडियाहरूले पस्किने समाचारमा नेताहरूको सत्ताको लुछाचुँडीका खबरले कान टट्टाउँछन्।
तर महामारीका कारण रोजिरोटी गुमेर रित्तो पेट बाँचेकाहरू र रित्तो पेटको औडाहा सहन नसकेर आत्महत्या गर्न पुगेका कैयौं नागरिकको बारेमा उनीहरूको मुखबाट कतिवटा शव्द निस्के भनेर सुन्नको लागि कान थाप्नुपर्छ।
राज्यको ढुकुटीबाट करोडौं करोड खर्चेर विदेशका महँगा अस्पतालमा उपचार गराएर आफूलाई स्वस्थ र तन्दुरुस्त भएको धाक लगाउनेहरूले नागरिकलाई महामारीमा निशुल्क उपचार गराउन नसकिने कुरा गर्छन् र उनीहरूको उपचारको लागि अदालतले बोलिदिनु परेको छ।
आम नागरिकहरू अस्पताल चहार्दाचहार्दै उपचार नपाएर मरिरहेका खबर सुन्न अभिषप्त यो देशको एउटा सामान्य नागरिक म आज यो देशका शासकहरूसँग प्रश्न गरिरहेछु– आखिर केको निमित्त मारिएका थिए नेपाल आमाका ती हजारौं हजार सन्ततीहरू ?
के को लागि खोसियो म र मजस्ता हजारौं दिदी बहिनीका हातको मखमली र सयपत्रीको माला ?
भाइटीकामा आफ्नो निधारमा सप्तरंगी टीका लर्किँदै गर्दा आफूहरूले युद्धको आगोमा वली चढाएका उस्तैगरी सप्तरंगी टीका लर्किने ती हजारौं हजार निधारहरूको सम्झना हुन्छ कि हुँदैन होला ?
आफूले जस्तै गलाभरी सयपत्री र मखमली माला लगाउने ती हजारौं हजार गलाहरूको याद आउँछ कि आउँदैन होला ?