भनिन्छ जीवन इश्वरको सुन्दर वरदान हो। हुन पनि जीवन सबैलाई प्यारो हुन्छ र जस्तोसुकै अवस्थामा पनि जीवन जोगाउन प्रयत्नशील हुन्छ मान्छे। तर एउटा मान्छेले बाँच्न गर्नुपर्ने संघर्ष पनि कम जटिल हुँदैन।
जिन्दगी सधैँ सरल रेखामा हिँड्दैन। एकछिनमै नसोचेको भड्खालो आइदिन्छ यात्रामा अनि सुरु हुन्छ अनेकौ परीक्षा। बाँच्नुको कडा परीक्षा दिइरहनु पर्छ बारम्बार।
एक्काइसौ शताब्दीमा पनि के महिला र पुरुष भन्नु? सबै समान हुन् पूरापूर हक दिएको छ भनेर कानुनले भन्छ तर आजको समाजमा अर्कै पाइन्छ। वास्तविक जिन्दगीमा एउटी महिला भएर अनुभूत गरेका र समाजमा देखेका केही कथाहरू लेख्दै छु।
छोरी थिएँ, हुर्किएपछि विवाह गरिदिएर आफ्नो कर्तव्य पूरा गर्नतिर बुवा-आमा लाग्नु भयो। सोही अनुसार विवाह भयो। माइती र घर त्यति धेरै टाढा नभएपनि चालचलन भने आकाश जमिनको फरक थियो।
नौलो परिवेश नौला मान्छे, आफू घुलमिल हुन निकै सकस भयो। समयले सिकायो बुहारी हुन। समयले नै सिकायो तीता-मिठा कुरा सहन। बुहारी, भाउजू, आमा हुन सबै समयले सिकायो।
तर असल अनि धेरै माया गर्ने श्रीमान पाएकोले जीवनमा जस्तोसुकै कठिनाइ पनि सजिलो लाग्दै जिन्दगी बित्दै थियो। अकस्मात् मेरो जन्मदाता, मेरो बुवाको अकल्पनीय मृत्युको खबरले स्तब्ध बनायो।
दौडिदै माइतीघर गएर ममीको काखमा घोप्टिएर क्वा क्वा रोएँ! मनमा धेरै प्रश्नहरु आउन थाले। भर्खरै मेरो विवाह भयो, भाइबहिनी पनि सानै छन्, अब ममीको काँधमाथि कति एक्लै गर्नु पर्ने जिम्मेवारीहरु थपिए।
कसरी गर्ने ममीले सबै, आफन्त त छन् तर आफ्नै लागि मात्र हुँदा रहेछन्। आफू धेरै ममीको सहारा बनौँ भन्ने लाग्थ्यो तर एउटा छोरी पराइ घर गएपछि माइती घरलाई सहयोग गर्न खोज्दा पनि धेरै बाधा अड्चन खडा हुँदो रहेछ।
आफ्नो मनले केही गर्न नपाइने हाम्रो समाजको परम्परा? सानैदेखि ठूलोबुवाको घरमा हुर्की बढी विवाह भएकाले आफ्नो बुवासँगको माया भने कहिले नजिकबाट पाउन सकिनँ मैले। आज बुवा सधैँलाई टाढा हुँदा टुहुरो भएको महशुस भयो अनि यस्तै रहेछ सायद मेरो भाग्य भन्ठानेँ।
ममीलाई सम्झिन्छु, आँखाभरी आँसु आउँछ, गर्न केही सक्दिनँ थिएँ। केही सहयोग गर्न खोज्यो, सबै माइतीलाई पहिराइ भन्ने हाम्रो समाज। बुवाको बियोगपछि जीवन चल्ने क्रममा दुई छोरा एक छोरीले फेरि मेरो जीवन हराभरा बन्यो।
चारै तिरबाट खुसी भएको अनुभव हुन थाल्यो। अब त जीवन सजिलै काटिन्छ, पीडाहरु भुल्नै थालिसकेको जस्तो हुँदा हुँदै धेरै कठिनाइ सिक्नै गाह्रो पाठ तेर्सियो जिन्दगीको अगाडि। आगोमाथि हिँड्नु पर्ने समय आयो।
तीन सन्तान मेरो काँधमा छाडेर जीवनसाथी आधा बाटोमै सधैँको लागि साथ छोडेर जानुभयो। उहाँले क्यान्सरलाई जित्न सक्नु भएन, क्यान्सरले नै उहाँलाई जित्यो। मैले निकै कोशिश गरेकी थिएँ उहाँलाई जिताउन, एक्लै महिनौँ महिनासम्म उहाँको उपचारका लागि अस्पतालमा बसेकी थिएँ।
भारत, नेपाल, आयुर्वेदिक, एलोपेथिक सबै सबै औषधी चलाएको थियो। कुनै मन्दिर, कुनै देवी-देवता, कुनै फुक-फाक केही बाँकी थिएन उहाँको उपचारको लागि। तर केहीले काम गरेन। इन्डिया जस्तो ठाउँमा एक्लै उपचार कालमा आइलागेका हरेक समस्यासँग लडेँ।
कहिले एक्लै रोएँ, कहिले भगवान अगाडि रोएँ, म त यति विवश थिएँ कि, रुन पनि म उहाँको अगाडि सक्दिन थिएँ। हिड्दै डुल्दै गरेको उहाँलाई एक्कासी लास्ट स्टेज क्यान्सर हो भनेर भन्ने हिम्मत पनि ममा थिएन, लुकाएरै राखेँ। एक्लै हरेक उपचारमा आफू अगाडि सरेर कसरी हुन्छ बचाउन धेरै कोशिश गरेँ।
अन्ततः दुई वर्षकी छोरी सहित दुई छोरा मेरो भागमा छोडेर उहाँ सदाको लागि हामीलाई कहिल्यै नभेट्ने गरी हामीबाट धेरै टाढा जानुभयो। जीवन त्यही ठप्प रोकिए झैँ भयो। एक्लै अब के गर्ने, कसो गर्ने, कता जाउँ, के गरौँ, यी साना-साना बच्चाहरुलाई के जवाफ दिउँ। अनेक प्रश्न आउन थाले।
उहाँको उपचारथ अवस्थामा मलाई परिवारको साथको खाँचो परेको थियो। त्यतिखेर मलाई स्नेहको वचन, घोप्टिएर रुने काख चाहिएको थियो तर यी सबै कुराको अभाव भयो। आफ्नो आँसु आफैले पुछेर सन्तानका लागि बलियो हुनु थियो मैले। कति दिन रुनु, आँसु सुकिसकेको थियो।
बलियो हुने प्रयास गर्छु तर पटक-पटक समाज मलाई कमजोर बनाउन खोज्छ। के म सधैँ रोएर हिँड्नु पर्ने हो र? के म रोएको मात्रै हेर्न चाहन्छ र समाज? एकातिर छोराछोरीको प्रश्नले रुवाउँछ।
सानी छोरी बुझ्दिन, तीज आउँदा भन्छे, 'मामु लामो पारेर सिन्दुर किन नलगाएको? किन पोते नलगाएको? अन्टीहरु जस्तै लगाइस्योन, किन नलाएको?'
छोराछोरी स्कुलको कुरा झिक्छ्न्, सबैको बाबामामु स्कुलमा देख्छन् तर आफ्नो मामु मात्रै, बाबा खोइ? चाडपर्व आउँछ, सबैका बाबाले नयाँ-नयाँ सामान लुगाफाटा किनिदिएको, घुमाउन लगेको अनेक कुरा देख्छन्। मेरो मष्तिस्कमा एउटै कुरा आउँछ, यी सबै कुरा मेरा छोराछोरीको आँखाबाट टाढै रहुन्, केही नदेखुन्।
देखेपछि गर्ने अनेक प्रश्नै प्रश्नमा घेरिन्छु म। उत्तर भेट्दिनँ, उत्तर आँसु बनेर झर्न खोज्छन्। छोराछोरीको अगाडि कमजोर हुन मन लाग्दैन र आँसु आफैभित्रै सुकाउछु। कहिले सानो छोराले भन्छ- 'मामु, भगवानलाई भनिस्योन मेरो बाबालाई एकचोटि पठाइदिनु। भगवान म राम्रोसँग बाबालाई हेर्छु, धेरै माया गर्छु अनि म कहिले बाबालाई दुख दिदिनँ भन्छु।'
छोराको कुरा सुनेर अँगालो मार्दै 'बाबु म छु नि, अब तिम्रो बाबा मामु दुवै म हुँ'। यस्ता कुरा कहिलेकाहीँ लाग्छ कतै मेरो बच्चाहरुलाई मेरो मायामा कमी त भएन। आफूलाई जति दुख भए पनि कुनै आमाले सन्तान रोएको हेर्न सक्दिनन्, बरु त्यो कमी कसरी पूरा गर्ने भन्ने तिर हरेक आमाले आफ्नो बच्चाको लागि सोचेकी हुन्छिन्।
कतिपय आफन्त साथिभाइ भनेका मलामी जान र भोज खानका लागि मात्रै हुने रहेछन्। सम्पत्तिभन्दा सद्भाव ठूलो हुन्छ भन्ने किन बिर्सिन्छ मान्छे? आफू सहयोग नगर्ने, अरुले गरेको सहयोगमा आलोचना लाञ्छना, इर्ष्या गर्ने किन यति साघुँरो हुन्छ मान्छेको मन?
एउटी महिलाले एक्लै संघर्ष गर्दा हरेक ठाउँ दगुर्नु पर्छ, हरेक मानिससँग भेट गर्नु पर्ने हुन्छ, हरेक मानिससँग बोल्नु पर्ने हुन्छ तर यहीँ कुरालाई समाजले किन गलत रुपले लिन्छ? अरुसँग बोल्दैमा, हिड्दैमा र अरुले गरेको सहयोगलाई पनि विभिन्न लाञ्छना लगाउन तयार किन हुन्छ मान्छे?
म दह्रो पाइला टेक्न खोज्छु, पटक-पटक किन म मुनिको जमिनमा खाल्डो पार्न खोज्छन् मानिसहरु? म उभिन चाहन्छु, मलाई साथ देऊ न कि साहाराको नाममा अपमान। कुनै एकल महिला कुनै पनि कार्यालयमा काम गरिदाको समयमा गरिने पुरुष तथा महिला मित्रहरुले गर्ने व्यवहारमा पनि धेरै फरक पाइएको छ।
काम गर्ने शिलशिलामा पनि कुनै पुरुषसँग हिड्दा बोल्दा अरुले त्यस महिलालाई हेर्ने र विचार गर्ने दृष्टि किन यति तल्लो स्तरको देखिन्छ? के एक्लो महिलाले मात्र महिला बाहेक कुनै पुरुषसँग बोल्नै नहुने, हिड्नै नहुने हो र? यो समाज हामी हरेक एक-एक मानिसले बनाएको समाज हो?
के भोलि हामी हरेक पुरुषको घरमा कुनै छोरी बुहारीसँग यस्तो घटना घट्यो भने के तपाई उसलाई पनि यस्तै गरोस् समाजले भन्ने चाहनु हुन्छ? सधैँ कमजोर भएर उभिन सक्दिनँ, म आफ्नै क्षमताको उपयोग गरेर बाँच्न खोज्छु, किन समय अवरोधको तगारो बनेर उभिन्छ? यिनै प्रश्न लिएर हेरिरहन्छु समाजका ढोंगी मानिसहरू।
जीवन र मृत्यु मानिसको हातमा छैन। यो भवितव्य कतिखेर कसरी आउँछ त्यो पनि अनिश्चित छ। तर बाचेको मान्छेलाई साहारा चाहिन्छ, स्नेह चाहिन्छ जुनबेला जरुरत हुन्छ, त्यहीबेला नुन छर्किने आफन्त के आफन्त?
म देख्छु विभिन्न घटना, कुनै एउटी महिला उमेर छँदै विधवा भइन् भने उसका श्रीमान तिरका परिवारले अनेक तरहका आरोप र तल्लो स्तरको शब्द प्रयोग गरेर उसलाई उसको हकको जायजेथा दिन आनाकानी गरेको।
भर्खरै घटेको घटना, श्रीमानको छ महिनाको काम गर्न गएकी सुस्मिता केसीलाई ससुरा र नन्द मिलेर मारेको। उसलाई प्रेम र स्नेह दिनुपर्ने ठाउँमा उसको हत्या गरियो। के दोष थियो उसको? त्यही पैसा र उसको उमेर?
एकदम साथ सहयोग गरेर अघि बढ्न हौसला दिनुपर्ने ठाउँमा किन पटक-पटक कमजोर पारेर मार्न खोज्छ समाज? श्रीमती मरेको चौध दिनमै अर्को विवाह गर्न स्वीकृत दिने समाज, महिलालाई भने सन्तानको हेरचाह गरेर बाँच्न पनि किन दिँदैन? किन घोचिरहन्छ घाउमा बारम्बार?
चितामा जलेको मान्छे त एक पटक जल्छ, सकिन्छ तर बाचेको मान्छेलाई कयौँ पटक किन जलाइरहन्छ परिवेश? किन जताइरहन्छ कि तँ विधवा होस्, तेरो हाँस्न पाउने अधिकार छैन भनेर। के सधैँ रोएर हिँड्नु पर्ने हो विधवाले? कतिपय सन्दर्भमा महिलाका पनि त आफ्ना व्यक्तिगत चाहना र धारणा हुन्छन्।
हरेक कुरामा किन खबरदारीको औँला तेर्स्याउछ समाज? ती सबै कुरामा अंकुश लगाउने अधिकार कसले दियो समाजलाई? महिलालाई सधैँ दोस्रो दर्जामा राखेर व्यवहार गर्ने समाजमा विधवा हुनु भनेको के अभिषाप नै हो त?
कतिपय अवस्थामा सहयोग गर्छु भनेर भिक दिए झैँ गर्ने मनस्थिति भएका मित्रहरू पनि आइलाग्नु हुन्छ। किन बुझ्नु हुन्न उहाँहरु, भोलिको दिन यस्तै घटना मेरो घरमा पनि हुनसक्छ कि? धमिलो पानीमा माछा मार्ने काम कसैबाट नभए कति सुन्दर र सुरक्षित हुने थियो यो समाज।
महिला भएर महिलाकै खेदो गर्नेको पनि कमी छैन पीडा भुलेर पनि हाँसेकी छ, केही गर्न खोजेकी छ भनेर साथ दिनु कता हो कता, उल्टै नराम्रो वचन प्रहार गरेर अझैँ कमजोर र दु:खी बनाउने प्रयास हुन्छ। किन आफूलाई त्यो स्थानमा राखेर हेर्न सक्दैनन् महिला? प्रश्नै प्रश्नको पहाड छ आफू अघि।
समान अवसर र सहास्तित्वका लागि हातेमालो गर्नु आजको आवश्यकता हो। पाइला पाइलामा तगारो तेर्साएर विभिन्न कष्ट दिने कामभन्दा सहयोगी हात अघि सारेर म जस्तै हजारौँ महिलाई अघि बढ्ने हौसला दिए के यो समाजको सर्वस्व जान्छ र?
पटक-पटक जलाउने र घाउमा नुन छर्किने कामभन्दा उसका समस्या र त्यसको समाधान गर्नतिर समाज अग्रसर भए कस्तो हुन्थ्यो होला? मन कमजोर भएको बेला सान्त्वनाको मल्हम भएर समाएर उभिइदिए कति शीतल मिल्थ्यो होला?
अवसर र सहकार्यमा हातेमालो गर्न पाए कति जाति हुन्थ्यो होला? सिन्दुर पखालेको जस्तो, चुरा फुटाएको जस्तो, पोते चुँडाएको जस्तो जीवन चुँडाउन पनि त सकिन्न। त्यसैले सबैले खुसी भएर बाँच्न पाउने अधिकारको सम्मान गरौँ।