चियाको चुस्कीदेखि बियर वा ह्विस्की खाँदासम्म पनि अहिलेको युवापुस्ता सामाजिक सञ्जालमै झुम्मिन्छन्। यहाँ देश, विदेश, भूगोल, साहित्य, संस्कृति, संस्कार, इतिहास, विज्ञान लगायत हरेक क्षेत्रका विज्ञहरु भेट्न खासै मुस्किल भने छैन।
तर यसै सामाजिक सञ्जालको युगले विज्ञ शब्द माथि नै ठूलो प्रश्न चिन्ह खडा गरेको छ। यहाँ हरेक सेकेन्ड हजारौँ युवा आफ्ना विचार पोखिरहेका हुन्छन् र आफ्नो विज्ञता पुष्टि गर्न हरसम्भव प्रयास गर्छन्।
यहाँ तथ्यभन्दा हल्लाले जरा गाडेको छ। सामाजिक सञ्जालको युगले गर्दा युवा शक्तिमा सहन सक्ने क्षमतामा निकै ह्रास आएको छ। सबैलाई आफू र आफ्नै तर्क ठिक हो भन्ने भ्रम पैदा गरेको छ। को छिटो, को बाठो र को ज्ञाता बन्ने होड चलेको छ।
एकलाई अर्कोको कुरा चित्त बुझेन भने भएभरको गाली र आक्रोश अर्को माथि पोखिन्छ। आज एउटा कुरा लेख्दा प्रिय बनेको साथी भोलि अर्को कुरा लेख्दासम्म दुश्मन भइसक्छ भने यसलाई कसरी सामाजिक भन्ने? एउटाले अर्कोको आलोचना गर्यो र आफू ऊभन्दा जान्ने बुझ्ने भएको भनी फुक्क फुल्यो, यो कस्तो खोक्रो चेतना।
विवेकलाई घटाउने र आवेगलाई बढाउने सञ्जाललाई कसरी सामाजिक भन्ने? तथ्यभन्दा तर्कले जितेर कालोलाई सेतो र सेतोलाई कालो बनाउने युवा पुस्ताले संयमता के हो, कसरी बुझ्ला र? चेतनाभन्दा बढी उत्तेजना, स्नेहभन्दा बढी घृणा, आलोचना, भडास, कुण्ठा, आवेग र आक्रोशले यतिसम्म जरा गाडेको छ कि यो लेख पनि आलोचित हुन्छ भन्ने कुरा मलाई पहिल्यै ज्ञात छ।
वाक स्वतन्त्रताको आडमा आडम्बर पुनः धावा तथ्यहीन तर्कको बल जफत प्रयोगगरी हरेक मान्छे आफूलाई सक्षम, विज्ञ र सम्यम देखाउन भरमजदुर प्रयास गर्छ। तर वाक स्वतन्त्रता छ भन्दैमा नैतिकता र समाजिक प्राणी हो भन्ने हैसियत बिर्सदा यो नवीन युवा पुस्ताले देख्ने भोलि कस्तो होला?
कसैले भनेका थिए 'जब जुत्ता काँसको सो रुममा र पुस्तक सडकको किनारमा बिक्न थाल्छन् तब बुझ्नु, मान्छेलाई दिल, दिमाग र ज्ञानको होइन जुत्ताको खाँचो छ।' मलाई यही कुराले पोल्छ आजभोलि।
सामाजिक सञ्जालमा एउटाले लेखेको कुरा अर्कोले मन परेन वा आलोचना गर्यो भने लेख्ने मान्छे नै चिन्तित हुन्छ। उसले खाली मलाई आलोचना गर्यो, गाली गर्यो, मेरो तर्कमा सहमति जनाएनन् इत्यादि सम्झन्छ अनि आफूमाथि आफैले कसी लगाउन सक्दैन।
खासमा हामी सबैभन्दा चेतनशील प्राणी भएर पनि किन अरुबाट परिचालित हुने? जबकी तपाई हाँस्ने, रमाउने, खुसी हुने, दुःखी हुने तपाईको व्यक्तिगत कुरा हो। अरुले आफ्नो कुरामा सहमति नजनाएकै भरमा, मन नपराएकै भरमा रिसाउने, दुःखी हुने गर्न थालियो भने त आफू नै रहिन्न।
अनि अरु कसैले परिचालन गरे जस्तो भयो भने आफू अरुको इशारामा नाच्ने कठपुतली पो भइन्छ त। तसर्थ आफू आफ्नो तरिकाले बाँच्ने हो, सञ्जालको कमेन्टमा अरुले के भन्यो भनेर आफूले आफूभित्रको नियन्त्रण गुमाउने होइन। तर यो युवा पुस्तामा सञ्जालको कमेन्टले रातभर सुत्न नसकेको नजिर पनि प्रशस्तै भेट्न सकिन्छ।
सञ्जालमा युवापुस्ता देख्दा यस्तो लाग्छ, यी आफूलाई मन नपर्ने सब चिज अतिवाद हो र मनपर्ने सहीवाद हो। भलै मान्छे सद्भावले नै प्रतिकृयावादी हो तर सञ्जाल हेर्ने हो भने अध्ययन, अनुसन्धान तथ्य र विश्लेषण बिनै हरेक मान्छे हरेक कुरामा प्रतिकृया दिन चाहन्छ। त्यो पनि बेगमा, तेजमा अरु सबैले तल पारेर।
कोही मान्छे मनपरेको छैन भने उसको कुरै नसुनी विषय नै नबुझी विश्लेषण त परै जाओस्, अन्दाजीफिकेशन र अड्कलाइजेशनको भरमा आक्रोश पोख्न, गाली र निन्दा गर्न तम्सन्छन्।
एक क्यानडियन फिलोशफर ले भनेका थिए 'मिडियम इज म्यासेज।' साँच्चिकै यो ब्यारियर फ्री र कथित सामाजिक सञ्जाल भनिने माध्यमले हरेक कुरामा तीव्र प्रतिकृया माग्दछ र यसैले गर्दा नै मान्छेमा एटेन्सन स्प्यान घटेको छ र मान्छे रफ्तारमा प्रतिकृया दिन चाहन्छ।
बुझ्नभन्दा पहिला बोल्न चाहन्छ। भडास पोखेर पेट नभरिउन्जेल ऊ अघाउदैन, उसलाई तृप्ति मिल्दैन तर यसलाई तृप्ति सोच्ने मानसिकतामा तथ्यगत तर्कको खडेरी परेको कहिले बुझ्दैन। आफ्नो आवेगको ज्वालाले आफैलाई पोलेर डामी सक्दा पनि मान्छे चेतमा आउँदैन। वाह क्या गज्जब सञ्जाल!
सञ्जालको कुरा गर्दैगर्दा यसै सञ्जालका सहयोगबाट गरिने र गरिएका कामहरुको जस्तो: रक्तदानमा सेवा पुर्याउने, हराएका चिजहरु भेट्टाउन सहज हुने, विपन्न, गरिब, दीनदुखी र बिरामीलाई सहयोग गर्ने जस्ता अनेकौं कामहरु यस सञ्जालबाट भएका छन्। यसलाई नजरअन्दाज गर्न कदापि सकिँदैन, गरियो भने अन्याय हुन जान्छ।
तर यस्ता काममा युवा जमात अग्रसर हुन्छ किनकी यसले सिधैँ मर्ममा प्रहार गर्छ। तर त्योभन्दा बढी मर्ममा छुने गाली, रिस र आवेगको बारेमा बुझ्दै बुझ्दैन युवापुस्ता। किनकी, यहाँ पहिले एउटा यस्तो छाप परेको छ कि शारीरिक समस्या मात्रै समस्या हो, मानसिक समस्या त समस्या नै होइन।
उदाहरणको लागिः मानौँ एकजना सुत्केरीको लागि रगत अभाव भयो भनेर सञ्जालबाट पोस्ट गरेर सहयोग गर्ने युवाले अर्को युवाको पोस्टमा गएर उसको कुरा चित्त नबुझेकै भरमा, पोस्ट मन नपरेकै भरमा तथानाम गर्छ भने यस संजाल कसरी सामाजिक भयो?
सहयोग र सद्भाव नभइ सामाजिक बन्न सकिँदैन, यहाँ सहयोग भयो र सद्भाव भएन। त्यसैले यो सञ्जाल सामाजिक सञ्जाल हुनबाट चुक्यो। यसले सामाजिक शब्दको परिभाषा माथि नै अन्याय गर्यो, खिसी उडायो, शब्द माथि नै न्याय गर्न सकेन।
हुन त अझै ढिला भइसकेको छैन। मानव सभ्यतालाई झन् विकासोन्मुख बनाउन सहयोग गर्ने यस संजाललाई साँच्चिकै सामाजिक बनाउन सकिन्छ र त्यसो गर्न उत्पातै गाह्रो पनि छैन। बस् हामीले सबैको भावनालाई सम्मान गर्न सिक्नु पर्यो, समाज र सामाजिकताको मर्म बुझ्न सक्नु पर्यो।
उग्र प्रतिकृयावादीभन्दा माथि उठेर तथ्यमा आधारित विश्लेषण गर्नु पर्यो। सहयोग मात्रै होइन, सद्भाव पनि व्यक्त गर्नु पर्यो। शारीरिक मात्र होइन, मानसिक समस्या बारे पनि बुझ्नु पर्यो। अन्दाजीफिकेशन र अड्कलाइजेशनलाई चटक्कै छोडेर तथ्यमा आधारित विचार व्यक्त गर्नु पर्यो।
यदि यसो गर्न सकियो भने मात्रै यो सञ्जाल सामाजिक बन्न सक्छ र यसलाई सामाजिक संजालभन्दा अन्याय हुँदैन। त्यसैले आजैदेखि यस संजाललाई सामाजिक बनाउन लागी परौँ। सबैको सम्मान गर्न सिकौँ र आगामी पुस्तालाई समेत सही मार्गदर्शक बन्ने प्रण गरौँ।
नत्र भोलि निकै अँध्यारो हुन सक्छ, हामी दलदलमा भासिन सक्छौँ र त्यहाँबाट उम्किन निकै गाह्रो पर्न सक्छ। त्यसैले संयम बनौँ, सबैलाई सम्मान गरौँ, संजाललाई सामाजिक बनाऔँ।