समाज भनेको समिष्टिगत रुप हो र यो राज्यको एउटा अभिन्न अंग हो। समाज मानवलाई नभइ नहुने पक्ष पनि हो र अवरोधको पर्खाल पनि।
विभिन्न उद्देश्य बोकेर भविष्यमा केही गरौंला अनि केही बनौंला भन्ने सपना देख्ने छोरीहरूलाई अशिक्षित र अचेतनशील समाज एउटा अवरोधको पर्खाल बन्दो रहेछ। र, म जस्ता कतिपय छोरीहरूलाई मौनताको परिधिमा खुम्चिनु बाहेक अन्य कुनै विकल्प भेटिदो रहेनछ।
यहाँ छोरीहरू कुनै दार्शनिक अतिक्रमणबाट ग्रसित छैनन्, छन् त केबल समाजमा रहेका व्यक्तिहरूको गलत मानसिकताबाट। समाजको संकुचन र निरीहताको प्रस्तुतीले एउटी छोरीको तन्तुमा हिंश्रक तरिकाले आक्रमण गर्दो रहेछ।
छोरीहरूको एउटा ड्रिम, उद्देश्य हराएका असफल यात्रीको यथार्थतामा परिणत भइदिन्छ। निडर भएर आफ्नो सपनाको अगाडि बढ्नु भनेर बाल्यकालमा आशीर्वाद दिनेहरू नै पछि ठूलो चुनौती बनेर निस्किदा रहेछन्। जब जीवनमा संघर्ष गर्ने समय आउँछ र त्यसको फल पाउने अवधि आउछ, त्यतिबेला नमिठो अनुभूतिले डस्दो रहेछ।
संकोच परिवार वा समाजले छोरीको गन्तव्यलाई दिशाहीन यात्रामा परिणत गर्ने प्रयत्न गर्दो रहेछ। समाजका मानिससँग घुलमिल भइ विविध वस्तुस्थितिको अध्ययन गर्ने मामिलामा कतिपय छोरी असफल हुने गर्छन्। रुढीबादी सोच र गलत दृष्टिकोण बोकेको समाजबाट अव्यक्त पीडाहरू मनमा हिउँ झैँ पग्लिने गर्छन्।
केही धारणाहरू प्रष्ट राख्न खोज्दा छोरी भएर धेरै बोल्न हुँदैन भन्ने सीमाले विक्षुब्ध हुँदै अनुत्तरित हुनु बाहेक अरू विकल्प हुँदैन। जीवनको मोडमा समाजको कुसोचले डसिएर बाँच्नुको नियतिबाट म जस्तै कयौँ छोरीले मुक्ति खोज्दैछन्। यसो सोच्दा, यो आकाश पनि हाम्रो होइन, टेकेको धर्तीमा आफ्नोपन छैन जस्तो आभास हुन्छ।
आफ्ना इच्छा, चाहाना र सपनाहरूको उडानमा पनि समाजले के भन्छ, समाजले के सोच्छ भन्ने मनोविज्ञानले कतिपय कुरा मनमा दबाएर राख्नुपर्ने स्थिति सिर्जना हुन्छन्। परिवारको समर्थन र विभिन्न बाधा व्यवधानहरूलाई पार गर्दै समाजको वास्तविक चरित्र चित्रण गर्न सक्ने स्थानमा आउनलाई मात्र पनि ठूलो संघर्ष नै बुझेको छु मैले।
छोरीका सपनालाई कुल्चेर कलिलो उमेरमा विवाह गर्दिन उचित सोच्ने आमा-बुवाले यो बुझ्दैनन् कि उनलाई उचित शिक्षा र संस्कार दिनु पहिलो जिम्मेवारी हो। एउटी नारी समाज परिवर्तनको सही माध्यम हो तर विडम्बना! यो कुरा समाजलाई पच्दैन।
भनिन्छ, एउटा व्यक्तिलाई शिक्षा दिनु केबल त्यही व्यक्तिलाई शिक्षा दिनु हो तर एउटी छोरीलाई शिक्षा दिनुको अर्थ पूरै समाजलाई शिक्षित बनाउनु हो। किनकी एउटी छोरी भोलि कसैकी श्रीमती त कसैकी आमा हुन् र सन्तानकी पहिलो शिक्षक।
उनीमा भएको शिक्षा र संस्कारको प्रभाव घर परिवार तथा सन्तानमा सीधै पर्न जान्छ। यसै क्रममा नेपोलियन बोनापार्टले भनेका थिए 'मलाई एउटी असल आमा देऊ, म तिमलाई एउटा असल राज्य दिनेछु।' तर एउटी छोरीको अस्तित्व भान्सा कोठाको चार दिवारी सोच्ने समाजको प्रभाव छोरीको जीवनमा सहजै पर्न जान्छ।
अध्ययनको लागि होस् वा अन्य कामले बाहिर हिड्दा, छोरीमाथि शंका र उपशंका गर्ने समाजले छोराको कर्तुतलाई देख्दैन। छोरीलाई अन्यत्र ठाउँमा अशुरक्षित सोच्ने मानव मस्तिष्कले यो तथार्थलाई पहिल्याउन सक्दैन कि आखिर अशुरक्षा कसको कारणले? कलेज वा कहींँ कतै घुम्न जाँदा घर समयमै आउनु भनिन्छ।
यसले गर्दा पढाइ वा अन्य आनन्दयमय पलहरूलाई ढुक्क साथ बिताउनभन्दा पनि मस्तिष्कमा घर कतिबेला पुग्ने वा अलिकति ढिलो भए के उत्तर दिने भन्ने कुराहरू खेलिरहेको मैले धेरैपटक भोगेको छु। छोरी घरबाट निस्कँदा भन्ने विषय र छोरा घरबाट निस्कँदा भन्ने विषयमा अन्तर पाइन्छ। यसले समाजको दृष्टिकोण र सामाजिक मनोविज्ञानलाई बोकेको छ। यही मनोविज्ञानको आधारमा समाजको धारणा बनेको छ।
हरेक कृयाकलाप वा व्यवहारमा छोराको महत्व झल्काउने समाजलाई छोरीले पनि धेरै गर्न सक्छन् भन्ने उदाहरण दिदै गर्दा विदेश गएर भए पनि अन्त्यमा पाल्ने छोरा नै हो भन्ने भनाइले गर्दा पनि छोरी चेलीलाई अगाडि बढ्न दिइदैन। आफन्तजनकै मुखबाट पढेर के गर्ने हो र? या आजसम्म पढेर आखिर के पायौ? भन्ने प्रश्न यिनै कानले सुनिरहन पर्छ।
म जस्ता छोरीलाई इज्जतको नाउँमा बोल्न, आँखा उठाउन, खुट्टा चाल्नका लागि समाजले सिमाना निर्धारण गर्छ। इज्जत धान्नका लागि उसका व्यक्तिगत स्वतन्त्रता, न्याय अन्यायका बारेमा बोल्न पाउने अधिकार छैन। एउटी छोरीको पलपलको व्याख्या गर्ने समाजले उसको मेहेनत, संघर्ष, शैक्षिक क्षमता, अद्भुत गुण, चुनौती, आर्थिक समस्या र अवरोधहरूको वास्ता नगर्ने पाएको छु।
समाज जहिल्यै छोरीलाई औंला उठाउँछ। छोरीले कसैलाई मन पराउनु वा प्रेम गर्नु पनि ठूलै अपराध जस्तो सोचिन्छ। आफूमाथि परेको अन्याय कतिपय अवस्थामा बुझ्दै नबुझ्ने। कतिपय अवस्थामा बुझेर पनि सामना गर्न नसक्ने अवस्थामा हुन्छन्। त्यसले गर्दा म आफ्नै आफन्त, नातागोता, आफ्नै समाज, आफ्नै परिवेशसँग असुरक्षित भएको छु। घरको मूलीको इज्जत जाने वा लज्जाबोध हुने डरले कतिपय इच्छा र स्वतन्त्रतालाई नै बली दिनुपर्ने हुन्छ।
जति पढे पनि आखिर त्यही घर सम्हाल्ने हो, छोराछोरी जन्माउने हो भनाइ सुनिरहन पर्दा आजका आकांक्षा भोलिको धरोहर नबन्ने हो कि भन्ने पीडालाई मनमा च्यापेर राखेको हुन्छु। परिवार वा समाजबाट सफलताको शिखरमा आरोहण गर्ने साहस प्राप्त हुने ठाउँमा उल्टै औंला ठड्याइन्छ र छोरीको स्वतन्त्रतामा सीमा निर्धारण गरिन्छ।
प्रत्येक पल र प्रत्येक परिस्थितिमा साथको अविरल आस्था पलाउँछ नै तर वास्तविकता अनुभूती गर्दा आफैलाई सम्हाल्ने शक्ति शून्यतामा परिणत भएको लाग्छ। कयौँ उतारचढावको परिस्थितिमा एउटी छोरीका सामाजिक परिवेशमा नअटाउने चाहानाहरू कता कता आँखाको संसारमा रमाएको पाइन्छ।
रोटीका लागि संघर्षरत र पुँजीवादबाट पीडित भएकाहरू मेरा शत्रु होइनन्। मेरो सफलताको शत्रु त मेरो संकुचित समाज हो जसभित्र मेरै परिवारका व्यक्ति पनि पर्छन्।
हुन त प्लेटो पनि आफै ज्ञानी थिएनन्, उनले औचित्यहीन घोषणा गरेका थिए। तसर्थ केही गर्ने र केही बन्ने मान्छे आलोचित हुनु वा समाजको नजरमा दोषी हुनु अस्वभाविक होइन। संकुचित र अशिक्षित समाजले निर्धारण गरेको सीमा र सत्कार्यमा पनि शंका गर्ने प्रवृत्तिबाट मुक्तिको सास फेर्न कठिन छ यहाँ।
समसामयिक कामको लागि परम्पराले दिदैन भन्ने समाजमा नै परम्पराको परिमार्जन अलपत्र छ। समाजको समसामयिक बेथितिले इच्छाको उडानमा अवरोधका पर्खालहरू ठड्याइदिएको छ। के एउटी छोरीले सपना देख्न हुँदैन र? छोरीहरूले आफ्नो जञ्जिर तब देख्ने गर्छन् जब आफन्त भनाउदाबाट नै साथ र समर्थनको सट्टा अपमान मिल्छ। छोरीको जीवनलाई सम्पूर्ण सामाजिक प्रतिबद्धताका यावत षाड्यान्त्रिक नेटवर्कको तारले बाँधिन्छ।
एउटी केटीले जीवनमा विविध चुनौतीहरूको सामना गर्नुपर्छ। उनलाई पढ्ने र करियर बनाउने समय अत्यन्तै थोरै हुन्छ। त्यसैमा पनि विवाहको चाँप उस्तै। समाजमा विभिन्न डर देखाउदै, ललाइफकाइ गर्दै छोरीलाई विवाह प्रस्ताव स्वीकार गर्न बाध्य बनाइन्छ जसको नतिजा यो निस्किरहेको छ कि समाजमा सम्बन्ध विच्छेदका मुद्दा धेरै निस्किरहेका छन्।
सानै उमेरमा माइतीको करले घर छाडेकी छोरीका विभिन्न इच्छा र सपना पराइको डरले मरेर जान्छन्। एउटी छोरीको विवाह उमेर तोक्ने समाजले त्यही छोरी आफ्नै खुट्टामा उभिन खोज्छु भन्दा आखिर किन कुरा काट्छ? मैले एकपटक पब्लिकमा सामाजिक कुरा बोल्दै गर्दा 'आइमाइ भएर नेता बनेको सुहाउदैन' भन्ने जवाफ पाएकी थिएँ।
पुरुष र महिलाले गरेको एउटै गल्तीलाई पनि समाजले पुरूषको गल्तीलाई गल्ती देख्दैन। भन्ने गर्छ कि लोग्नेमान्छे हो, उसले जे गरे पनि सुहाउँछ तर ठेगानमा त आइमाई बस्नुपर्छ। र, यस्तो भन्नेहरू प्रायः आइमाई नै हुन्छन्। यस्तो किसिमको निच सोचले जरा गाडेको समाजमा छोरीलाई अगाडि बढ्न सहज पक्कै पनि छैन।
हरेक आमा-बुवाले आफ्ना सन्तान प्रतिष्ठित भएको र समाजमा केही गरेको देख्न चाहान्छन् तर व्यवहारमा भने छोरीलाई चाँडै बिहे गरेर अन्माइदिन्छन्।
निष्कर्षमा, पश्चिमी संस्कृति दिनानुदिन भित्रि रहेको यस कम्प्युटर र वैज्ञानिक युगमा एउटी छोरी शिक्षित हुन अझ बढी जरूरी छ। अन्य देशका महिला चन्द्रमामा पुगिसके तर यहाँ सामाजिक परम्परागत संरचनाको नाउँमा भाग्यलाई दोष दिदै अब पनि खप्पर ठोक्दै बस्ने परिवेशलाई अन्त्य गर्नैपर्छ।
एउटा यस्तो गोरेटो कोर्नपर्छ जहाँ म जस्ता छोरीको लागि बाटोभरी काँडा छरिएका होउन् तर आफ्नो स्वाबलम्बी विचार र संघर्षले पन्छाउन सकियोस्। यस्तो मार्ग बनाउन आवश्यक छ जहाँ छोरीका अगाडि गगनचुम्बी पहाडहरू ठडिएका होउन् तर त्यसको छातीलाई चिरेर ती छोरीले नाघ्न सकुन्।
औंला ठड्याउने मात्र होइन, छोरीहरूलाई सत्मार्गमा हिड्न प्रेरणा दिन इच्छा राख्ने समाजको निर्माण हुन जरूरी छ। छोरीले पनि समाजप्रति धेरै जिम्मेवारी हुन्छन् भन्ने कुरा बिर्सनु हुँदैन। हामीले यो समाज जोगाउन छोरीका लागि विभेदयुक्त सामाजिक मान्यता, सामाजिक मनोग्रन्थी, सामाजिक दृष्टिकोण, सामाजिक परम्परा, सामाजिक मनोविज्ञानलाई परिवर्तन गर्न सक्नुपर्छ।