मनमा अनेकौँ द्विविधा हुँदाहुँदै पनि लेख्ने आँट जुटाएँ। हुन त, यो मजस्ता युवा युवतीको साझा समस्या पनि हो। यस्ता कुरा पनि भन्छन् र, यो त गोप्य पो राख्नुपर्ने कुरा हो भन्ने विचारबाट म पनि ग्रसित छु वा मजस्तै हाम्रो समाज पनि ग्रसित छ।
फेरि म भन्छु, समस्या साझा हो। नभनिएको र कतै नलेखिएको मात्र हो। वा लेखिए तापनि मैले नपढेको अवस्था पनि हुन सक्छ। जे होस्, कुरा गर्भपतनका हो।
झन्डै नौ वर्षअगाडि हाम्रो बिहे भएको थियो। बिहे हुँदा मैले स्नातकोत्तर समाप्त गर्नै लागेको अवस्था थियो भने उनको स्नातक समाप्त भएर स्तातकोत्तर अध्ययन गर्ने तर्खर थियो।
यसैबीच बिहे गरेको ५/६ महिनापछि हाम्रो पहिलो सन्तानको रूपमा गर्भ रहन पुग्यो। हामी कत्ति पनि सन्तुष्ट थिएनौँ। उनको अध्ययनमा बाधा पुग्ने, जन्माएर पनि कसरी पाल्ने भन्ने कुरामा हाम्रा बीचमा निकै नै विचारविमर्श भए। र त हामी त्यो अवस्था पुग्यौँ, भनौँ।
अस्पतालमा गइयो। डाक्टर दिदीले उनलाई मेरै अगाडि राम्रोसँग सम्झाएको मलाई राम्रोसँग याद छ। 'हेर, केटा मान्छे भनेका यस्तै हुन्। पतन गराइसकेपछि गर्भ रहने सम्भावना पनि कम हुन्छ! तिमी दवावमा आएर त यस्तो गरेकी होइनौ नि? आदि आदि।'
कुरा सुनिरहेको थिएँ। जब अर्को गर्भ नरहने सम्भावना पनि हुन्छ भन्ने कुरा सुनेँ, म तर्सिएँ। डराएँ पनि। हामीले फेरि पनि सल्लाह गर्यौँ। अन्ततोगत्वा पतनको निर्णय लियौँ।
पीडामय, दर्द र दु:खमय त्यो अवस्था निकै कठिन परिस्थिति हुँदो रहेछ। दिनहरू बित्दै गए। अहिले हामीसँग ६ वर्षको सन्तान छ।
कहिलेकाहीँ विगतलाई फर्केर हेर्छु, यदि हामीले त्यो कुरालाई स्वीकार गरेको भए हामीसँग नौ वर्षको सन्तान हुने थियो। त्यसै पनि मजस्ता युवायुवतीहरू अध्ययन सकौँ, राम्रो जागिर वा व्यवसायमा बलियो खुट्टा टेकौँ अनि बिहेको कुरा सोचौँला भन्दा भन्दै थुप्रै समय बितेको हुन्छ।
अनि कहिले बिहे गर्ने, कहिले जन्माउने, कहिले हुर्काउने आदि लगायतका प्रश्नहरूमा रूमल्लिने आम युवायुवतीको बाध्यता भनौँ कि अबुझपन भनौँ। स्वभावत: मान्छेले आफ्नो सन्तानलाई आफूभन्दा फरक वातावरण र शिक्षादिक्षा दिन चाहन्छ।
आफूले पूरा गर्न नसकेका वा विविध कारणले अवसरबाट वञ्चितको अवस्था सन्तानमा नआओस् भन्ने अपेक्षा हरेक अभिभावकमा हुन्छ। कहीँकतै त्यही अवस्था मिलाउनको लागि पनि मजस्तै युवायुवतीले गर्भपतनको बाटो अपनाउँछन्। हो, हामीले पनि त्यही गरेका थियौँ।
मनुष्यका लागि सुखका धेरै माध्यम होलान्। के हो त सुख भन्ने कुरा लामै बहसको विषय पनि बन्ला। तर सबैभन्दा ठूलो सुख, सन्तान सुख हो कि जस्तो लाग्छ। यही कुरा जनावरहरूमा पनि लागू हुन्छ।
सन्तानका लागि जनावरहरूले गरेको सङ्घर्ष अवर्णनीय छ। त्यसमा पनि चेतनशील मनुष्यको त के कुरा भयो र!
कुनै समय विद्यालय निरीक्षण पदको तयारीका लागि पुतली सडकको इन्स्टिच्युट धाउँदा, एकजना प्रोफेसरले भनेको कुरा निकै घत लाग्छ 'परिवारमा आमा-बाबुले भनेको नमानेपछि विद्यालय पठायो, त्यहाँबाट पनि नभएपछि बिहे गरिदियो। त्यसपछि सन्तान हुन्छन्, माया ममतामा कसिन्छन् र अलिक जिम्मेवार नागरिक बन्छन्' भन्ने भावको विचार कक्षामा प्रोफेसरले गर्नु भएको थियो।
उल्लिखित कुराले पनि सन्तानप्रतिको माया कति हुन्छ भन्ने कुरालाई नै पुष्टि गर्दछ। विवाह हुनुपूर्व चाडबाडमा मौका पर्दा ताससास पनि खेलिहाल्ने साथीजस्ता एकजना हजुरबाले भनेको सम्झन्छु। 'ए केटा, ब्या गर्दैनस्? नाति पछाउँछन्। बाआमालाई पनि नातिनातिनाको मुख मन छ होला।'
मजस्तै तपाई एकछिन सोच्न बाध्य हुनुहुन्छ अनि कुरा त ठिकै पनि हो जस्तो पनि लाग्छ। अनि व्यावहारिक पाटोतिर हेर्यो। के नमिलेको के नमिलेको जस्तो हुन्छ।
तपाई अविवाहित हुनुहुन्छ, विवाहित तपाईका साथीहरू हुनुहुन्छ भने ती साथीको जवाफ हुन्छ। 'ए अब बिहे गर। यो ढिला गर्ने कुरा रहेनछ।' कुनै समय म पनि यस्ता प्रश्नहरूमा बाधिएको थिएँ र तपाईहरू पनि पक्कै बाधिनु भएको छ। यही कुरा केटी साथीहरूका बीच हुन्छ कि हुँदैन, त्यसको अनुभव मलाई छैन पनि।
उल्लेखित कुराहरूलाई मनन गर्दा ठिकै पनि हो जस्तो लाग्छ, यदि बिहे नै नगर्ने वा आजीवन सन्यासी नै बन्ने हो भने त फरक कुरा भयो। यदि बिहे नै गर्ने हो भने आखिर ढिला नै किन? हुन त यो मेरो व्यक्तिगत विचार हो। तर मेरोजस्तै विचार राख्ने लाखौँ युवा/युवती होलान्। तिनले भनेका कुराहरू सायद मननीय पो हुन् कि?
सामान्यतया, मजस्तै पढेलेखेका युवायुवतीले आफू र आफ्नो परिवार पाल्न सक्ने कुनै इलम वा जागिर गरौँ अनि बिहे गरौँ भन्ने सोच हुन्छ। आखिर स्वभाविक पनि लाग्छ।
पढेर सक्दा र जागिर खाँदा जीवनको लगभग तिसौँ वसन्त त कटि नै सक्छ अनि बिहे गर्ने जन्माउने, हुर्काउने अनि सन्तानकोको कमाइ खाने वा सन्तानको सुखका दिन हेर्ने भन्ने कुरा आकाशको फल आँखा तरि मर जत्तिकै लाग्छ।
मास्टर पढ्दाताका एकजना प्राध्यापकले भनेको कुरा निकै मननीय लाग्छ। 'यी अमेरिकामा बस्ने छोरीले उपहार स्वरूप दिएको कार हो यो। अहिले मलाई कुनै कुराको पनि कमी छैन तर स्वास्थ्यले साथ दिँदैन, कारण डाइबिटिज छ। मनलागी खान हुँदैन। समयमा निद्रा पर्दैन। सोचेको ठाउँमा घुम्न जान सकिदैन' आदि आदि।
कारण, अहिलेको तनावयुक्त जिन्दगी, उपयुक्त आहारविहार आदिआदि आदरणीय प्रोफेसरले इंकित गर्न खोज्नु भएको कुरा पनि यही नै थियो। यही कुराबाट अहिले युवापिढीँ पनि अछुतो रहन सक्दैन।
तपाईको सन्तान बीस वर्षको हुँदा तपाई लगभग अर्ध शतकतिर पुग्नु नै हुन्छ। अनि उसले बलियो गरी खुट्टा टेक्न अर्को दशक लाग्छ नै। त्यहाँसम्म तपाई तीन बीसको हाराहारीमा पुग्ने अवस्था हुन्छ। अब भन्नुहोस्, सन्तानको सुख कहाँ राख्ने!
त्यसमा पनि त्यो उमेरमा कुनै पनि किसिमको दीर्घरोग पलाएन भने अहिलेको युवा महा-भाग्यमानी हो कि जस्तो लाग्छ। खैर, यिनै गन्थनमन्थनका बाबजुद, त्यो समयमा हामीले लिएको निर्यण ठिकजस्तो लागे पनि अहिले चालिस प्रतिशत ठिक र साठी प्रतिशत बेठिक हो भन्ने हाम्रो बुझाइ छ।
हामीले त्यो समयमा अलिक बल नै गर्नु पर्थ्यो। साँच्चिकै, हाम्रो जित नै हुन्थ्यो भन्ने लाग्छ। तर त्यति बिघ्न गुनासो पनि छैन।