अहिले हामी जति पनि यो ब्लग पढिरहेका छौँ, हजुरहरु सबैलाई मेरो एउटा प्रश्न छ। हामी जति पनि महिला दिदीबहिनी छौँ, महिनावारी हुँदा के हामी आफ्नो सुत्ने कोठा, भान्छा या कुनै मन्दिर भित्र छिर्छौं त? या महिनावारी हुँदा कुनै पनि चाडपर्व मनाएका छौं?
यदि यी माथिका मध्ये कुनै पनि एउटा हामीले बारेका अथवा गर्यो र गरिरहेका छौँ भने केवल सुदूरपश्चिम र कर्णालीमा मात्र छाउपडी नभएर हाम्रो आफ्नै घर दैलोमा पनि छाउपडी भइरहेको छ। फरक केवल यति छ कि उनीहरु छाउगोठमा बस्छन् त हामी पढेलेखेका शिक्षित भनाउदाहरु ठूलाठूला छाउ बिल्डिङमा।
जेठो दाइ र तीन जना दिदीपछि म मेरो घरको सानी छोरी कहिले ठुली हुन्छ भन्ने नै लाग्थेन। अलि चञ्चल र चकचके स्वभावकी म यताउता कुदिरहँनु पर्ने, दाइ दिदीलाई प्याट्ट पुट्ट हात छोडी हाल्ने बानीले गाली भने निकै खान्थेँ। हुर्किदै र बढ्दै गर्दा मेरा आमा बुवाले छोरी र छोरामा काखा र पाखा भने कहिले लाउनु भएन।
१३ वर्षकी हुँदा मेरो पहिलो महिनावारी भयो र योनिबाट बगिरहेको त्यो रातो रगत किन बगिरहेको छ, मलाई केही अत्तोपत्तो थिएन र होस् पनि कसरी? न त महिनावारीको बारेमा मेरो घरमा नै सिकाइयो न त हामीले भन्ने शिक्षाको मन्दिरमा नै त्यो महिनावारीको कुरा सिकाइयो जुन हामी प्रत्येक महिला लगायत पुरुष दुवैले जान्नु र बुझ्न पर्ने कुरा हो।
सायद मलाई पनि विद्यालयमा पढाइ हुने हाम्रो स्वास्थ्य विषयमा महिनावारीको बारेमा पहिला नै पूर्ण जानकारी गराइदिएको भए मेरो पहिलो महिनावारी हुँदा ममा त्यति डर र त्रास हुने थिएन होला।
अब कुरा गरौँ फेरि मेरो महिनावारीको नै। अधिकांश महिला दिदीबहिनीहरु जस्तै म पनि यो महिनावारी बार्ने प्रचलनदेखि अछुत भने भइनँ। जब मैले मेरो योनिबाट बगेको त्यो रगत देखेँ तब म डर र त्रासले दौडिँदै, हतासिदै मेरो आमासँग गएँ र आमालाई भन्दा, 'छोरी तिमी अब ठुली भयौ' भनेर मलाई सुनाउनु भयो।
त्यसै कुरा बीच थाहा भयो कि मेरो पहिलो महिनावारी पो भएको रहेछ र त्यसपछि मलाई महिनावारी भएपछिका मेरा दायराहरु बुझाइयो। जस्तै कि घाम हेर्न नहुने, घरको छोरा मान्छे हेर्न नहुने, भान्साकोठा जान नपाइने, पूजा कोठा जान नपाइने, त्यस्तै आदि इत्यादि।
जन्मेदेखिको पहिलो पटक मैले पाखा लागाइएको महसुस गरिरहेकी थिएँ। सधैँ बुवाको नजिकै बसेर खाना खानुपर्ने म आज छुट्टै कोठामा एक्लै खाना खाँदै थिएँ, दाइलाई सधैँ जिस्काइरहने म आज यी बन्द कोठाका भित्ताहरुले मलाई जिस्काइरहेको थिएँ, सधैँ साँझमा भगवानको पूजा गर्ने म आज भने मन्दिरभित्र पाइला टेक्न नमिल्ने भएकी थिएँ।
विद्यालय जाने भनेपछि हुरुक्कै हुने म अबको सात दिन भने समाजले दिएको छुट्टीमा बसेकी थिएँ। मंसिरको त्यो जाडो, त्यसमाथि घाम पनि हेर्न नहुने रे पहिलो पटक रजस्वला भएकी किशोरीले, यो कस्तो चलन? जब प्रत्येक मान्छेलाई घामको न्यानोपन चाहिन्छ, अझ त्यस्तो बेला बढी सरसफाइ र घामको न्यानोपन चाहिन्छ र विभिन्न किटाणुहरुले आक्रमण नगरोस्, किटाणुहरु नष्ट हुन भन्ने चाहना गर्ने हो भने घामको तातोपन चाहिन्छ।
यहाँ भने केटीहरुलाई रजस्वला हुँदा घाम हेर्न दिइँदैन। 'प्रकृतिको एउटा वरदानलाई मान्छेले किन अपवित्र ठान्यो? यो कुरा बिना सृष्टिको कल्पना गर्नु असम्भव छ।' झमक घिमिरेले लेखेको यो मर्मस्पर्शी वाक्य अधिकांश महिलाहरुसँग एकदमै मेल खान जाने यी अनुभवहरु सुनिरहँदा र लेखिरहँदा पनि मन एकदमै कठ्यांग्रिएर आउँछ।
एकचोटि दसैँको बेलामा महिनावारी हुँदा, सबैले रातो रंगको टीका लगाएर आफूभन्दा ठूलाबाट आशीर्वाद लिइरहेका थिए र म भने त्यही रातै रंगको रगत बगाएर एउटा कुनामा उभिएर सबैलाई हेरिरहेकी थिएँ। उपस्थित भएर पनि उपस्थित नहुनु सायद यसलाई नै भनिन्छ।
यो सबै प्रश्नको जवाफ माग्दा मैले केवल एउटा उत्तर पाएँ र त्यो भनेको यदि महिनावारी बारिएन भने देवता रिसाउँछन्। यदि हामी महिला महिनावारी हुँदा देउता रिसाउने नै भए नारीको जन्म यो सृष्टिमा हुने नै थिएन, र नारी बिनाको सृष्टि कल्पना गर्न सकिँदैन। हामी महिलाको रगतबाट नै जन्मिएर त्यही रगतलाई नै अपवित्र भनेर पर किन सारिन्छ?
यसैगरी मैले ४-५ वर्ष भने हाम्रो समाजले तोकिदिएको दायरामै बसेँ तर उच्च शिक्षा लिँदै जाँदा भने मेरो दिमागमा बसेको महिनावारीको बारेमा समाजले कोरिदिएको चित्र हट्दै नयाँ नक्सा बनिरहेको थियो। मलाई के कुराको बोध हुँदै गयो भने महिनावारी भनेको एउटा महिलाको शरीरमा हुने जैविक प्रक्रिया हो जसको हाम्रो धर्म र संस्कृतिसँग कुनैपनि तरिकाको लेखाजोखा छैन।
म आफै पनि एउटा जनस्वास्थ्यको विद्यार्थी भएर अरुलाई महिनावारी सामान्य हो भन्दै सिकाउँदा आफू महिनावारी हुँदा भने घरमा छिर्दा भान्छा नजानु, चाडपर्व नमनाउनु भने कदापि स्वीकार्य भएन र अहिले म महिनावारी हुँदा जुनैपनि चाडपर्व मनाउँछु र समाजले तोकिदिएको दायराबाट मुक्त छु।
किनकी जब कामख्य देवी अर्थात रजस्वला भइरहेकी देवीलाई पुजिन्छ भने हामी महिला रगत बग्दा नछुने कसरी हुन्छौँ? पर कसरी सर्छौं? अपवित्र कसरी कहलिन्छौँ? हाम्रो घर छिमेकमा रहेका केही महिनावारीको बारेमा रहेका गलत धारणा र त्यसको सत्यतथ्य यस प्रकारका छन्:
गलत धारणा
• महिनावारी हुँदा बग्ने रगत फोहर र अपवित्र हुन्छ।
• महिनावारी हुँदा भान्सा छिर्नु हुँदैन।
• महिनावारी हुँदा मन्दिर भित्र पस्दा अशुभ हुन्छ।
• महिनावारी हुँदा छुइछाइ भयो भने घरको पुरुष व्यक्तित्वलाई ऐठन हुन्छ।
• महिनावारी हुँदा यौन सम्पर्क भयो भने संक्रमणको जोखिम बढ्नसक्छ।
सत्य-तथ्य
• महिनावारी हुँदा बग्ने रगत अरु बेला निस्केको रगत झैँ सामान्य नै हुन्छ।
• महिनावारी हुँदा भान्सामा नछिर्नको कारण केही दिन काम नगरी शरीरलाई विश्राम दिनको निम्ति मात्र हो।
• महिनावारी हुँदा मन्दिरभित्र पस्नु हुँदैन भनेर कुनैपनि धर्म या ग्रन्थमा लेखिएको छैन।
• ऐठन भनेको छुइछाइका कारणले नभइ सुताइ नमिल्नु या अप्ठ्यारोको कारणले हुन्छ जसलाई अंग्रेजीमा स्ल्पिङ प्यारालाइसिस भनिन्छ।
• महिनावारीमा यौन सम्पर्क हुँदा कुनैपनि प्रकारको जोखिम या संक्रमण हुँदैन।