एकछिन हाम्रो गाउँघरतिर जाऊँ, जहाँ केही वर्षअघिसम्म यस्तो बोलीचाली सुनिन्थ्योः
'हाम्रो केटो कता मरेछ? देखेथ्यौ कि?' आमाको रिस।
'ऐया! खुट्टा कुल्चेर मर्यो। तँलाई साँढे!' भैंसी दुहुन लाग्दा बुबाको रिस।
'मरेस् मूर्दार!' मनभित्र बाफिएको प्रेमले स्वीकारोक्ति नपाउँदा प्रेमिकाको मुखबाट फुत्त बाहिरिएको रिस।
तपाईंले नौनीजस्तै कोमल र सख्खरजस्तै गुलिया यस्ता गाली सुन्नुभएको छ?
कसैको मरणको कामना नगरी 'मरी जा' भन्ने कति स्नेही गालीहरू है? इन्टरनेटको कृत्रिम भाषा बोल्ने युगमा यस्ता ग्राम्य भाषाको स्वाद अहिलेका पुस्ताले कसरी पाऊन्? धैर्य गर्नोस्।
कुनै दिन 'अर्ग्यानिक भाषा' बनेर फेरि यिनै लवजहरू सहरका ठूल्ठूला सपिङ मल र सुपरमार्केटमा सजाइने छन्, जसलाई तपाईं हामी नै बडो ठाँटका साथ खरिद गरेर घरमा ल्याउने छौं।
अचेल सहरभरि खोलिएका आधुनिक 'युनिक' रेस्टुरेन्टहरू यस्तै गामबेँसीका मौलिक शब्दले नामाकरण गरिन्छन्। कति रमणीय लाग्छन् यस्ता नाउँहरू। टक्क अडिन्छन् आँखा। समयको सुईको वृत्ताकार बाटोमा हिँड्दा छुटेका पाइला फेरि भेटिन्छन्। समय सायद फेरिँदैन, बरू दोहोरिन्छ।
म मूल विषय छोडेर बिरानतिर लागेँजस्तो छ। किन प्रेमदेखि गालीसम्म मर्ने नै कुरा गर्या होला है? उठ्न थाल्दा दलिनमा टाउको ठोक्कियोस्, बस्न लाग्दा सिस्नोले आसनमा पोलोस्, हात उचाल्दा काउसाको झुस बिझोस्, गोडा चाल्दा मयलको काँडा बिझोस्....यस्तो यस्तो किन नभनेको? मर्नै पर्ने?
सबै जान्दछन्, मृत्यु अवश्यम्भावी छ। यो जगत्मा जति पनि प्राणयुक्त सृष्टिहरू छन्, तिनको अन्त्य निश्चित छ।
अश्वत्थामा जस्तै निधारमा खटिरा लिएर तीनै लोक चहार्दै हिँड्ने अमर, काललाई परास्त गर्न सक्ने योद्धा यस लोकमा कोही छैन। मृत्यु सृष्टिको मूल कानुनको अपरिवर्तनीय धारा हो, विधिको कठोर निर्णय। यति जान्दाजान्दै पनि हामी किन फेरि मर्नदेखि डराउँछौं?
डराईडराई म तपाईंलाई यही प्रश्न सोध्दै छु।
मृत्युको त्रासमा क्षणक्षणमै मुर्छा पर्दै ब्यूँझँदै गरेको, थानातोफोबियाको रहमा एक सातासम्म डुबेर सतहमा उत्रिएको मै त हुँ नि! अरूको बखान के कहनु? आफ्नै बखान पर्याप्त छ।
मानिस जब कुनै डरबाट जसोतसो उम्किन्छ, कि त उसले नडराईकन त्यो अवस्थाको सामना गरेको भान दिलाउँछ वा त्यो डर यति भयानक थियो कि ऊ डराउनु स्वाभाविकै थियो भनेर भरोसा दिलाउँछ।
'आम्माम्मा ! झन्डै बितायो यार !' अब यसले पक्कै पनि दुई पाइलाको दूरीमा बडेमाको बाघसँग जम्काभेटकै गफ लाउँछ होला।
अथवा, 'नडराई खुरुखुरु ग'को त लुसुक्क ओरालो लाग्यो बजिया !' यस्ता पाङ्दुरे गफाडीहरू चार आनाको मासु बाह्र आनाको मसला भनेझैं जूनकिरीलाई देखाएर जूनको धाक लाउनेहरू हुन्। जंगलमा तित्रा कराउँदा सातकोस भाग्नेहरूले बहादुरीका गफ धेरै लाउँछन्।
अब आयो मेरो पालो। होसहवास उड्ने गरी डराएको त म पनि हुँ।
'धरोधर्म ! सोह्रै आना सही हो' भनेर भरोसा दिलाउने गरी कसरी कहूँ त्यो दर्द? चाहे कुरामा फुर्का हालीहाली बताऊँ वा लेग्रो तानीतानी, त्यो मस्तिष्क निचोर्ने कहर भीरमौरीको महझैं निख्खर हुने छ।
कुरा त्यसै वर्षको हो, जुन वर्ष कोरोना भन्ने अदृश्य सूक्ष्मतम् भुसुनाले संसारभरि उपद्रो मच्चायो। सर्वत्रका मानिसहरू मुख देखाउन नहुने भए, नाक देखाउन नहुने भए, आफ्नै हात छिनछिनमा अपवित्र भएर मिचीमिची धोइरहनुपर्ने भए, कानेखुसी गर्न नपाइने भयो, म्वाइँ खान बर्जित भयो, आलिंगनमा लिएर कसैलाई माया–ममता दर्साउन नपाइने भयो, मेलमिलाप पातला भए, आफ्नैदेखि पनि दूर रहनुपर्ने भयो, जसलाई देख्यो उही रोग धारण गरेर हिँडेको जस्तो ठान्नुपर्ने भयो, जल–थल–आकाश सबैथरीका सयरहरू बन्देज गरिए, विश्वको सर्वशक्तिमान प्राणी अचानक एउटा अदृश्य भाइरसको त्रासले गृहबन्दी भयो।
र मेरो हालत पनि त्यस्तै थियो। आफ्ना हाकिसाबहरूको शरीरभित्र अदृश्य भाइरस अज्ञात तवरले प्रवेश गरेपछि उहाँहरूको संगत र सामीप्यका भरमा डाक्टरी भाषामा म पनि आइसोलेसनमा बस्नुपर्ने भयो। कुरा स्पष्ट छ– परिवार र समाजदेखि अलग्गिएर एकान्तवासको नियम पालन गर्नुपर्ने भयो।
त्यहीँनेरबाट सुरू भयो– आफैंसगको महाभारत !
हाकिमसाबलाई ज्वरो आयो रे। कोरोना परीक्षणमा संक्रमण पुष्टि भयो रे। माइला माड्साबको पनि घाँटी दुख्दै छ रे, पिँडौला पनि असह्य दुख्दै छन् रे। उनलाई पनि पक्कै छोएको हुनुपर्छ। अस्ति दुई दिनसम्म घन्टौं एउटै टेबलमा बसेर भलाकुसारी गरेका थियौं, चिया खाँदै।
आफ्नैसँग त के अविश्वास गर्नु भनेर दुवैले मास्क फुकाल्यौं। शंकै भएन। म पनि अब कुनै हालतमा जोगिन्नँ। के भन्ठान्लान् कार्यालयभरिका सबैले? सबैलाई मास्क र स्यानिटाइजरको कडा उर्दी दिने म, आफैं बेवकुफ भएँ। हरे शिव !
कोरोना संक्रमणका लक्षणहरू सामाजिक सञ्जाल हुँदो, पत्रपत्रिका, रेडियो, टेलिभिजनमा पढेको, सुनेको थिएँ। परीक्षामा बसेको विद्यार्थीले झैं एक–एक गरेर सम्झिन थालेँ।
खुसी लाग्यो– भाइरसले स्मरण शक्तिलाई असर गरेको रहेनछ।
भएभरका लक्षण आफैंलाई हुन थालेजस्तो लाग्थ्यो, छिनमै टाउको दुख्ने, छिनमै नाक चिलाउने, हाछ्यूँ पनि आइहाल्ने। सबैथोक फेरि बिस्तारै हराउँथे। एकाएक लौ न! के भाको? घाँटी दुख्न थाल्यो, निधार र गाला ताता भए। हत्तपत्त काखीमा थर्मोमिटर च्यापेँ...जम्मा सन्तानब्बे।
राहतको लामो सास फेरेँ। राति सुत्ने बेलामा पिँडौला दुखेको महसुस भयो। माइला माड्साब पनि त्यसै भन्थे। जुरुक्क उठेर ओछ्यानमा बसेँ। अब चैं पक्कै हो। आ ! एकबारको जुनी, कतिबार रूनी ? भन्दै घुप्लुक्क सुतेँ। बिहान जाग्दा सबथोक ठिकठाक पाएँ। धन्य प्रभु !
यसो झ्यालबाट बाहिर हेरेँ। सडकभरि मानिसहरू सल्याङ्बल्याङ् गरिरहेका थिए। चौरभरि खेल्दै थिए, मोटरसाइकलमा दगुर्दै थिए। सबैजना भाइरसले पोतिएर लत्पत् भए झैं लाग्थ्यो, सद्दे कोही थिएनन्। धत्, बाछिटो झैं झ्यालबाट छिरे के गर्ने? हत्तपत्त झ्याल लगाएँ। कोरोना लाग्यो भने मरिन्छ। मलाई मर्नदेखि डर लाग्छ।
मेरी वृद्धा आमालाई सम्झेँ। आमा भन्नुहुन्थ्यो, 'शंकाले लंका जलाउँछ है बाबु!'
यो मेरी साउँ अक्षर नचिनेकी आमाको मौलिक उक्ति होइन, पुर्खाले हस्तान्तरण गर्दै ल्याएका हुन्। तर, उहाँलाई यसको भावको गहिराइको अन्दाज थियो। संसारमा आमाको काखजत्तिको सुरक्षित र भरोसायुक्त स्थान अरू कतै हुँदैन। एकछिन आमाको काख सम्झिएर पलङमा बसिरहेँ।
कहिले झ्यालमा उभिएर विश्वभरिका महान् नेताहरूलाई सम्झेँ। उनीहरू त देश र जनताका पक्षमा उभिँदा त्यहाँ पुगेका थिए, मलाई त यही भुसुनाको डरले यहाँ पुर्यायो। मन भुलाउन केही लेखौं भन्यो, अक्षरहरू निबको टुँडामा अल्झिएर दगुर्न थाले झैं लाग्थ्यो। केही पढौं भन्यो अक्षरहरू किताबका पन्नाबाट मसिना भुसुना झैं उड्दै मेरै अनुहारभरि आए झैं लाग्थ्यो। अनि झट्ट मुखमा मास्क लगाउँथेँ र कापीकलम सर्काएर एक्लिन्थेँ।
होइन ! यो भुसुना विप्लव कहिले रोकिएला?
कोरोनाको महाव्याधि नियन्त्रणमा आउन कोही डेढ वर्ष लाग्छ भन्छन्, कोही दुई वर्ष। यो पृथ्वी छिटोछिटो घुमेर त्यो दुई वर्ष बितिहाले हुन्थ्यो नि! कमसेकम दुनियाँभरिका मान्छेले शान्तिको सास त फेर्थे? कोही भ्याक्सिन नआएसम्म मत्थर हुने उपाय छैन भन्छन्।
होइन समुद्रपारिसम्म मार हान्ने मिसाइल बनाउने वैज्ञानिकले जाबो भुसुनालाई किचिक्क पार्न सक्ने सुई बनाउन हम्मेहम्मे परेकै हो त? बन्न त बन्ला नि है? आफैं मनलाई भरोसा दिलाउँछु। विज्ञान यति चाँडै र सजिलै हार्दैन।
श्रीमती यसो ढोकाबाट चियाउँदै हेर्छिन् र भन्छिन्– 'हैन, यत्तिका दिनसम्म कुनै लक्षण पनि देखा परेको होइन। अब त बाहिर निस्के हुन्न? कति गुफा बस्नु? डराउनुको पनि हद हुन्छ।'
म आत्तिँदै ढोका थुन्दै भन्छु– 'चौध दिन यता नचियाउनु। तिमीलाई झन् खतरा छ। नियमित औषधि सेवन गर्ने मान्छे बढी सतर्क रहनू भन्ने सुन्या छैन?'
अब हाम्रो पूर्वीय आयुर्वेदिक पद्धतिले पत्ता लगाएका ओखतीमुलो सेवन गर्न केही बाँकी छैन। गुर्जो, रुदिलो, येष्ठीमधु, असुरो, तुलसी, दालचिनी, अदुवा, बेसार, मरिच लगभग सबैथरीका गुणकारी जडीबुटी खाइसकेँ। अब शंका निवारक चूर्ण र हिम्मतवर्धक चूर्ण पाए म निको हुने थिएँ।
हैन ! कोरोना लागिहालेछ भने पनि हुन्छ के? मेरो मूल प्रश्न। कि त संसारभरि भए झैं लाखौं मानिसको मृत्यु पंक्तिमा दर्ज भइन्छ कि त करोडौं मानिस झैं सन्चो भएर घर फर्किइन्छ। मर्ने वा निको हुने? पापीमन, सकारात्मक त सोच्दै सोच्दैन। जतिपल्ट मुटु धड्किन्छ, उतिपल्ट मनले गाई कि त्रिशूलको खेल खेलिरहन्छ।
अनि हरेक धड्कनमा म पिङ मच्चिए झैं मृत्युको पल्लै छेउ पुग्छु र फेरि फर्किन्छु। अगाडिपट्टिको भित्तामा झुन्डिएको घडीको पेन्डुलम पनि त्यसरी नै मच्चिरहेको थियो। सात दिनसम्म एकचोटि होइन, दुईचोटि होइन, हजारौंचोटि यसरी नै मर्दै बाँचियो।
झ्यालभरि बेलाउतीको बुटाले हाँगा फिँजाएको थियो। झ्यालैबाट हात छिराएर दुईटा बेलाउती टिपेँ र नपखाली खाएँ। संसारका सबै फोहोर पानीले मात्रै पखालिन्नन्। अलि अलि पचाउनु पनि पर्छ। बाल्यकालमा रूखबाट झरेका आँप, बेलाउती, आरु, प्लम टप्प टिपेर कमिजको फेरोमा पुछेर क्वाप्प खाएको याद आयो। आखिर जिन्दगी बूढो हुने कहाँ हो रहेछ र? बाल्यकालका स्मृतिहरूसँग खेल्दा खेल्दै सकिनु पो रहेछ।
अचानक भाँचिदिएँ त्रासका ऐंठन पार्ने बन्धनहरू र भुर्र उडेर विचरण गर्दै छु, नीलो आकाशमा।
यो आलेखले बिट मारुन्जेलसम्म म यस भुसुनाको डसाइबाट मुक्त छु।
(लेखक लिटिल एन्जल्स स्कुलमा प्रधानाध्यापक छन्)