कार्यालयमा मेरो उपस्थिति जागिर खानका लागि मात्र हो? पेशामा अर्थपूर्ण योगदानको लागि आफ्नो स्थान खोजिरहेका धेरै कामकाजी महिलाहरूको साझा प्रश्न हो यो।
यो प्रश्नले मलाई गैरसरकारी निकायको जागिरे खटाइप्रति यति वितृष्णा जगाइदिन्छ कि कहिलेकाहीँ त जागिरै छोडिदिऊँझैं लाग्छ।
कति हण्डर खेपेर यहाँसम्म पुर्याएको करियरको मायाले त्यसो गर्न पनि दिँदैन।
पेशागत जीवनमा महिलाहरूले अनुभूति गरेको असामान्य परिवेशबारे केन्यामा गरिएको एक अनुसन्धानको सहभागीले भनेकी छन्, ‘जब म पहिलोचोटि काम गर्न गएँ, पुरूष वर्चस्व भएको कार्यस्थल देखेर छक्क परें। जहाँका मूल्यमान्यताहरू पुरूषद्वारा पुरूषका लागि डिजाइन गरिएका थिए।
कार्यालयमा हाबी भएको ‘मर्दवाला’ शैलीका अगाडि मजस्ता धेरै महिला कारिन्दाले आफूलाई खुम्च्याएर जागिरमा टिक्नु पर्ने रहेछ। कार्यस्थलमा हुने पुरूष डोमिनेटेट संस्कृतिलाई झेल्दै जागिरमा टिक्ने क्रममा हेपिएका, दबाइएका महिलाहरूको प्रतिनिधि गन्थन हो यो लेख।
महिला र पुरूषलाई कुनै पनि पेशामा सहभागिताका लागि समान अवसरको नीति धेरै देशहरूले अवलम्बन गरेका छन्।
तर करियर चुम्ने कुरामा महिलाहरू अझै पछाडि छन्। नदेखिने स्वरूपमा कार्यालय हुने प्रतिकूल वातावरणले महिलाको पेशागत विकासमा प्रत्यक्ष-अप्रत्यक्ष बाधा गरिरहेको हुन्छ।
सावित्रा ढकालले एक लेखमा भनेजस्तै महिला सशक्तीकरण सँगसँगै सशक्त महिलासँग परिवार र समाजले कसरी र कस्तो व्यवहार गर्ने भन्ने पक्ष पनि उत्तिकै महत्वपूर्ण हुन्छ जसले पुरूषको व्यवहार र आचरणमा परिवर्तनको माग गर्दछ।
तथापि तिमी अपरिपक्व पात्र हौ भन्ने मनसायका व्यवहारहरू पुरूष मित्रबाट विभिन्न स्वरूपमा प्रकट भइरहन्छन्। महिलाहरूलाई बौद्धिक र प्रभावशाली व्यक्तित्वका रूपमा अपनाउन अझै कति समय लाग्ने हो भन्न सकिन्न।
कामका दौरान धेरैचोटि आफूलाई लैंगिक हैसियत याद दिलाइएको महशुस गरेको छु मैले।
एक आइएनजिओमा अनुगमन मूल्यांकन अधिकृत हुँदाको प्रसंग हो। एक पुरूष समकक्षीले मलाई उनको सहयोगीझैं व्यवहार गर्थे।
एकदिन हुकुमी शैलीमा मलाई उनको रिपोर्ट बनाउन भनि अह्राए।
‘मेरो टिओआरमा तपाईंको थिमाटिक रिपोर्ट बनाउनु पर्छ भनेर उल्लेख छैन’ यस पटक इन्कार गरें। म्यानेजरसँग बढी हेलमेल गरिराख्ने मध्येका तिनले मैले उसँग कोअर्डिनेसन गर्दिनँ भनेर कुरा लाएछन्। म्यानेजर मेरो क्याबिनमा आएर ‘तपाईंले उहाँसँग कोअर्डिनेसन गर्नुहुन्न रे, आइन्दा यसो नगर्नू’ भने।
प्रश्न नगरी अह्राएको खुरुखुरु मान्नू भनी मलाई बुझाउँदा एक बचन मेरो राय लिने चेष्टा गरेनन् उनले। यसरी स्वःचालित नभएर जानेको कुरा पनि नजानेको जस्तो गरी सञ्चालित हुनुपर्दा अदृष्यात्मक, झिनामसिना र कम रचनात्मक खालका कामहरूमा समय बिताउनुपर्ने बाध्यता हुन्छ।
कार्यस्थलमा देखिने पुरूषमैत्री अभ्यास अर्को पाटो हो, जसले नजानिँदो गरी पुरूष उच्चताको निरन्तर पुनर्उत्पादन गरिरहेको हुन्छ। जस्तो विभिन्न अध्ययनहरूले देखाएका छन्, एक पुरूषले महत्वपूर्ण जिम्मेवारी सुम्पिने क्रममा पुरूषलाई नै अघि सार्दछ।
म एक आयोजनामा कार्यरत रहनेक्रममा एक सिनियर पद खाली भयो। कुनै आन्तरिक प्रतिस्पर्धाबिना मेरो समकक्षी पुरूषलाई सो पदमा सिधै छनोट गरियो।
विषयगत इकाइको कोर जिम्मेवारी सम्हाल्दै आएको नाताले म पनि प्रतिस्पर्धामा ‘डिजर्भ’ गर्थें। यस्ता बढुवा वा कर्मचारी प्रोत्साहनका रणनीतिहरू महिलाको केसमा सर्वसम्मत औपचारिक प्रक्रिया नै लागू हुने तर पुरूषको केसमा चाहिँ सिनियर तहका आन्तरिक सञ्जालसँगको अनौपचारिक हिमचिमको फल बन्दो रहेछ।
यस्तो लाग्छ सिनियर पदहरू पुरूषकै लागि मात्र बनाइएका हुन्। परम्परादेखि शक्तिको विरासतमा रहेको पुरूषले महिलालाई आफूभन्दा माथि देख्नै चाहँदो रहेनछ। अनि दक्षता, ज्ञान, दृष्टिकोणको प्रयोगमा महिलालाई अङ्कुश लगाउने प्रयास हुँदो रहेछ।
तथापि महिलाकै अन्तरनिहित क्षमतालाई दोष दिएर यसलाई सामान्यीकरण गरिँदै आइएको छ।
हेर्दा सानो देखिने यस्ता समस्याले महिलाको पेशागत प्रगतिप्रतिको आकांक्षालाई नै निमोठिरहेको हुन्छ।
यसबाहेक होच्याउने खालका व्यवहारहरूको त कुरै नगरौं। मलाई दिइने जिम्मेवारीमा पनि मेरो प्राविधिक पृष्ठभूमि, रुचि, सम्भावनाले प्रायः अर्थ राख्दैन।
आवश्यक विज्ञता, योग्यता भएरमात्र पुग्दैन, आफ्नो क्षमता पुष्टि गर्न बारम्बार प्रमाणित गरिरहनु पर्दछ। अन्डरस्टिमेट गरी प्राविधिक परामर्शका नाममा क, ख पढाउन थालिन्छ।
फोल्डर बनाउने, गणितीय तथ्यांक वर्ड फाइलमा होइन एक्सलमा राख्नु पर्छ भन्ने, उपलब्धि मापनको फिल्ड सर्वेक्षण गरेपछि उत्पादनको रूपमा प्रतिवेदन बनाइन्छ, थाहा छ के? सम्मका कुरा पनि नजान्ने ठानिन्छ।
त्यही कुरा मैले भन्दा ‘इग्नोर’ गर्ने तर पुरूष साथीले भनेपछि गहकिलो विचारका रूपमा महत्व पाउने। आफ्ना जिम्मेवारी अन्तर्गतका कार्ययोजनाहरूमा हस्तक्षेप गर्ने आदि सामान्य चर्या हो। यसरी आफ्नो हाराहारीको एक प्रतिस्पर्धीका रूपमा स्वीकार्यता पाउन सकेको अवस्था छैन।
आफूले गरेको योगदानको स्वामित्व नपाउनु प्रायः महशुस भइरहने अर्को विषय हो।
सन्दर्भ सामग्रीको विश्लेषण गर्ने, धारणा बनाउने, विशेष संरचनामा ढाल्दै मस्यौदा तयार पार्ने, टिमको प्रतिक्रिया समेटी त्यसलाई मूर्तरूप दिनमा कयौं समय र मेहेनत खर्च भएको हुन्छ।
कुनै बहानामा ती सामग्रीको इन्डोर्स नगरी झुलाइ रहने अनि केही कन्टेन्ट थपघट गरेर हुन्छ वा संरचना काँटछाँट गरेर तिनको उत्पादनकर्ता अन्ततोगोत्वा उनीहरू नै कहलिन्छन्।
एक पटक मेरो सिनियरले निर्देशिका बनाउन भने र मैले बनाएर पठाएँ।
केही दिनमा सम्पूर्ण टिमलाई सम्बोधन गर्दै सोही निर्देशिका समावेश गरी ‘मैले बनाएको यो डकुमेन्टमा तपाईंहरूको प्रतिक्रिया चाहन्छु’ भनि इमेल आयो।
उनीहरूको इनपुटै नभएको काममा पनि ‘आइ ह्याभ डन दिस विथ द हेल्प अफ फलाना’ भनी कर्ताको रूपमा जस लिन पछि पर्दैनन्।
सर्वश्रेष्ठ बौद्धिक सामाजिक प्राणीका रूपमा चित्रित पुरूषहरूलाई महिलाका विचारमा उभ्याउँदा हीनताबोध महशुस हुनेरहेछ। त्यसैले घरमूली भएर स्वामित्ववाला भएजस्तै कार्यालय मूली पुरूषले हाम्रो अवधारणा, काम र त्यसको उपलब्धी सबैमा दाबी गर्ने रहेछन्।
यस्तै अर्को सन्दर्भ, एक प्राज्ञिक एनजिओमा काम गर्दाताका मैले तयार पारेका प्राज्ञिक लेखको मस्यौदाहरूले मेन्टरिङ प्रक्रियाका धेरै घनचक्कर काटें।
सहकर्मी पुरूष साथीको लागि लेखाइदेखि छपाइसम्म उहाँहरूको कति सहयोग भयो देखेकी मैले मेरो केसमा अलि बढी नै भाउ खोजेको पाएँ।
रिभ्युका लागि लेख पठाइ दिनु भन्ने अनि फिर्तै नगर्ने। पछि त रिमाइण्डर गराउन पनि छाडिदिएँ। यस बाहेक विकासे संस्था तथा आयोजनामा कार्यरत रहँदा कार्य सञ्चालनका लागि तयार पारेका रणनीति, निर्देशिका लगायतका दस्तावेजहरू मसँग अझै सुरक्षित छन्।
सुरूमा सकारात्मक प्रतिक्रिया पाएका आफ्ना स्वतन्त्र तार्किक मन्थनमा आधारित कामहरूको पछि गएर कदर नहुँदा यस्तो लाग्छ, सहकर्मी पुरूषहरूको करियर विकासका लागि सहयोगी भूमिका निर्वाहप्रति बफादार हुनु मात्र हाम्रो जागिर रहेछ।
पुलिंग दृष्टिकोणबाट निर्मित कार्यसम्पादनको संस्कार र शैलीले महिलालाई केवल टोकन र मौन सेवक ठान्दो रहेछ। तर्क गर्ने, निर्णय गर्ने, अह्राउने खटाउनेवाला पुरूष र महिलालाई आज्ञापालक मान्दो रहेछ। हामीले आफ्ना कार्यशैली र औकातलाई तदनुरूप ढाल्दै ‘एडजस्ट’ हुनुपर्छ।
एक साथीले भन्थिन्- उनको कामको उपलब्धी पुरूष सहकर्मीको तुलनामा राम्रो छ तर पनि काम गर्ने तरिका भएन भनेर प्रश्न उठाइन्छ। व्यक्ति अनुसार काम गर्ने तरिका फरक हुन सक्छ। यसरी पाइलै पिच्छे हाम्रा कमजोरी खोजेर घाँटी अठ्याउन दायाँबायाँका जमातहरूबाट घेरिएका हुन्छौं हामी।
हेमामाली गुनातिलाकाको (सन् २०१९) लेख अनुसार, सामाजले महिला र पुरूषबाट चाहेजस्तो व्यवहार र प्रतिक्रिया गराउन व्यक्तिलाई जीवनभर सिकाइ रहेको हुन्छ।
कार्यालयहरूमा आन्तरिकृत भएको आचरण र व्यवहार त्यसकै अभिव्यक्ति रहेछन्। विशिष्ट उचाइमा पुगिसकेकाहरू त पुरुषत्व प्रदर्शन गर्न राम्रैसँग अभ्यस्त भइसक्दा रहेछन्। त्यसैले अन्तर्क्रिया, निर्देशन आदिमा ठ्याक्कै उही लैंङ्गिक सामाजिकीकरणको तुस प्रतिबिम्वित भइरहेको हुँदो रहेछ।
यसरी लैंगिक पूर्वाग्रही सोचका कारण महिलाहरूले न्यून सहयोग, विश्वास र अवसर पाएका हुन्छन्। जागिर गुम्ने डरले यावत अपहेलना र अनुचित कार्यबारे बोल्न सक्तैनन्।
यदि बोल्न चाहे पनि कार्यालयमा अल्पसङ्ख्यक समूहमा पर्ने उनीहरूको आवाज न त त्यति सशक्त हुन्छ न त यस्ता आन्तरिक विषय अन्त उजुरी गर्न नै सहज छ।
तसर्थ जबसम्म कार्यालयहरूलाई लैंगिक तटस्थ व्यवहार र संवेदनशीलताको अभ्यास गर्नेतिर जिम्मेवार बनाउन सकिँदैन तबसम्म प्रभुत्ववाला चिन्तनको बाहुल्यताको अगाडि सम्झौता गरी ‘जागिर छ यही नै ठूलो कुरो हो’ भन्नु सिवाय अरू उपाय हुँदैन।