कपिलवस्तुको उत्तरमा पर्ने गाउँ बोक्टापुरदेखि पश्चिम र गब्दहवादेखि पूर्वको घना जंगलको बीचमा आपको एउटा बगैंचा थियो।
त्यहाँ बाँझिएका खेतका गह्राले पहिला कुनै समयमा बस्ती थियो भन्ने पुष्टि गर्थे। करिब ४५ वर्षअघि मैले देखेको दृष्य हो।
अहिले जंगल धेरै पातलिए होला भन्ने अनुमान गर्न त सक्छु तर त्योभन्दा बढी अरू अनुमान गर्न भने नमिल्ने अवस्था भैसक्यो। त्यो बगैंचाका आँप टिप्ने र खाने गाईभैंसी चराउन जाने गोठालाबाहेक बाँदर तथा ढेंडुवाहरू हुन्थे।
आँप पाक्ने महिनामा हजुरआमाले मलाई गोठालाहरूसँग आँप टिप्न पठाएकाले त्यहाँ पुग्ने मौका जुरेको थियो। विकासे तथा कलमे आँपका रूख त अलि होचा हुन्छन् तर स्थानीय जातका ती रूख निकै अग्ला थिए।
अहिले त्यस्तो अग्ला आँपका रूखको बगैंचा भेटिँदैनन्। हुँदैनन् पनि। रूख भने निकै अग्ला तर फल भने साना र धेरैजसो अमिला–न–अमिला र कुनै कुनै साह्रै मीठा हुन्थे। एउटा रूखको फलमा त महको स्वाद थियो। त्यो स्वाद त्यसपछि मैले कुनै पनि आँपको फलमा खाएको छैन।
आधुनिकीकरण बढ्दै गएर इँट्टाका पक्की घर बन्न थालेपछि ती अग्ला आँपका रूख काट्दै इँट्टा पोल्दै गरेकाले त्यस्ता रूख अब भेटिनन्।
गाउँलेको भनाइ अनुसार त्यो ठाउँमा पहिले मानव बस्ती थियो। तर, डाँकाले सधैंजसो लुट्ने र असुरक्षित भएपछि त्यहाँ मान्छे बस्न छाडेकाले खेत बाँझिए र सुनसान भएको हो।
दसैं–तिहार, बिहावारी र हिउँदको फुर्सदको समयमा गाउँमा देखाइने नौटंकी (नाटक)हरूमा देखाइने डाँकु मानसिंह, डाँकु सुल्ताना जस्ता कथावस्तुबाट त्यो विस्थापित भएको बस्ती अवस्थालाई सहजै महशुस गर्थें।
गाउँका धार्मिक भावनाबाट प्रभावित भएर वैराग्यता अपनाएका अर्धजोगीहरूले बगैंचा हुर्काउँदा धर्म हुने भावनाबाट बगैंचा लगाउँथे। त्यो बगैंचा पनि त्यस्तै कुनै जोगीले लगाएको र हुर्काएको भन्ने पनि सुनेको हुँ।
त्यस्ता वैरागीहरूले जोगीको संगत गर्ने र धर्मग्रन्थहरूप्रति रूची राखेर लेख्न र पढ्न पनि जानेका हुन्थे। नत्र, अहिलेको जस्तो स्कुल हुन्थेनन्।
धनी साहुहरूले गुरू(शिक्षक) घरमा पालेर केटाकेटीलाई अक्षर चिनाउने पढाउने गर्थे। त्यस्ता गुरूहरूले पनि गाउँका अरू बच्चा थपथाप गरेर आफ्नो आम्दानी थपथाप पार्थे। पढेका गुरूहरू बाहुन हुने हुनाले पूजा गराएर पनि कमाइ थप्थे।
हामी बोक्टापुर गाउँमा बस्थ्यौं। चारैतिरबाट घना जंगलले घेरिएको झिँगइ खोला र टाँकुको खोलाको बीचनमा टाँकु र बोक्टापुर नामका दुइटा सानासाना गाउँ थिए। थारूहरूको मात्र बस्ती रहेका ती दुई गाउँका जमिदार पहाडिया भए पनि अरू सबै थारूहरू थिए।
वि.स. २०२१ सालमा भूमिसुधार लागू भएपछि र औंलो उन्मूलन भएपछि पहाडबाट झरेका बासिन्दा थपिँदै गए। म त्यो जंगलका बीचको आँपको बगैंचामा पुग्दा, त्यहाँबाट १० किलोमिटर दक्षिणमा बनेको पूर्वपश्चिम राजमार्ग बन्न सुरू पनि भएको थिएन।
पछि त्यो राजमार्ग बन्न थालेपछि हाम्रा गाउँका खोलाका ढुंगा बोक्न हाफ–ढाला ट्रक ल्याउन बाटो बनाउँदै आएका डोजरलाई मेरा थारू दौतरीहरूले 'भेँडबहादुर' भन्थे।
ती दौतरीहरूले पढ्ने स्कुल नै थिएनन् र उनीहरूलाई लेखपढ महत्वको विषय पनि थिएन। म भने सदरमुकामको स्कुलमा पढ्थें र छुट्टीमा गाउँमा पुग्थें।
उमेरले मभन्दा जेठा दौतरीहरूमध्येका ललवा, घिसवाहरू भने मैले सात कक्षामा पढ्दा आधा घण्टाको जंगल हिँडेर पुगिने रन्गाई गाउँमा स्कुल खुलेपछि अक्षर चिन्न तथा पढ्न हिँडेका हुन्।
केही वर्षपछि बुझ्दै जाँदा सन् १९४७ को भारत र १९४९ मा चीनको राजनीतिक परिवर्तनको प्रभावले नेपालमा फैलिएको जनचेतनाकै कारणले धमाधम स्कुल खुल्न थालेका थिए।
रन्गाईको स्कुल पनि त्यस्तै एउटा स्कुल थियो। मेरो अनुभव र अनुभूति अनुसार त्यसअघि वैराग्य मिस्रित धार्मिक भावनाले लेख्ने पढ्ने विषयमा ऊर्जा दिने गरेको थियो।
रामायण, गीताजस्ता धार्मिक ग्रन्थको अध्ययन र साधनाबाट ‘मरेपछि स्वर्ग गइन्छ’ भन्ने भावनाले लेखपढको भावना बढेको थियो।
धार्मिक भावनामा लिप्त नहुने र सामान्य दैनिकीमा रमाउने मानिसहरू भने लेखपढलाई पटक्कै महत्व दिँदैन थिए।
हिन्दू धर्म अन्तर्गत आर्थिक कमाइ इज्जतसाथ हुने हुनाले ब्राम्हणहरूमा पढ्ने प्रचलन भने थियो।
सायद पेशाको सुरूक्षा र वर्चस्व कायम राख्ने उद्देश्यले ती पण्डितहरूले पढाइका लागि ईश्वरले नै जात छुट्याएकाले तल्ला जातले वेदजस्ता ग्रन्थ अध्ययन गरे पाप लाग्ने डर फैलाएका थिए।
पुरूष हैकम कायम राख्ने चातुर्यताका लागि गायत्री मन्त्र सुन्ने महिला पागल हुन्छन् भनेको सुन्ने गर्थे।
तर, पछि प्रविधिको विकाससँगै गायत्री मन्त्र रेडियो माइक हुँदै युट्युब आदिमा बज्न थालेपछि त्यो मन्त्र सुनेका महिला सद्दे नै देखेपछि बल्ल पण्डितहरूको धुर्त्याइप्रति वितृष्णा जाग्यो। जति बुझ्दै गएँ घृणा बढ्दै गयो।
धुर्त पण्डित्याइमा होइन वैराग्य भावले अध्ययनको महत्वसहित मानव समाजको कल्याण चाहने एक ब्राम्हण जातका चिन्तामणि अधिकारी भन्ने ब्यक्ति बोक्टापुरको गाउँबाट हराए। त्यो वि.स. २०३१–३२ सालतिरको कुरा हो।
पहाडबाट बड्का शिरको जग्गा किनेर हाम्रो गाउँमा बसाइ सरेका उनी पशुपालन (भैंसी)लाई प्रमुख पेशा मान्ने गल्देली परिवारका एक किसान प्रतिनिधि थिए। मान्छे हराएको भन्ने सुनेको मेरो जीवनको पहिलो घटना थियो।
अलि दिन त गाउँलेहरूले उनलाई जंगलतिर पनि खोजें तर पत्तो लागेन। घरमा श्रीमती र छोराछोरीलाई अलपत्र पारेर उनी बेपत्ता भए।
त्यो जमानामा टाँकु बोक्टापुरमा काठ, खर–टाटीमा माटो लिपेका भित्ता र खरकै छानो छाएका घरमात्र थिए। त्यस्ता भित्तामा माटोले मजुर, हरिणजस्ता जंगली जनावरका र फूल बिरूवाका चित्र बनाइएका हुन्थे।
ती अर्गानिक कलाकृति थिए। एक दुई वर्षमा नविकरण गरेर ठडाइने ती भित्ताहरूमा कलाकारिता फेरि जन्मन्थे। इँट्टा, सिमेन्ट तथा गाह्रो पर्खाल भन्ने एउटा पनि थिएन।
ती दुई नदीका बीचमा ‘इनार खने अफाप हुन्छ’ भन्ने गाउँलेहरूको विश्वासका कारण खोलाको जरूवाको पानी खाने चलन थियो।
काठका अग्ला खाँबा गाडेर बनाएको हाम्रो अग्लो ठाँटीबाट जंगलको मुखसम्मकै बाटो छर्लंगै देखिन्थ्यो। ठाँटीमा माथि हामी सुत्थ्यौं तल बाख्राको खोर थियो। त्यो जंगलको मुखसम्म पुग्न करिब ७ मिनेट लाग्थ्यो।
खेतका अलि मोटा आलीलाई नै बाटो मानेर हिँड्ने चलन थियो। म भने ती हराएका व्यक्ति कुन दिन फुत्त त्यहीँ जंगलतिरबाट आइपुग्छन् जस्तो मानेर हेर्ने गर्थें।
अलिदिन उनको अत्तोपत्तो लगाउने क्रममा छिमेकी गाउँहरूमा देखिएका बटुवाको हुलियाका भरमा गाउँलेहरूले उनी कुनै तीर्थतिर गएको अनुमान गरेका थिए।
उनको धार्मिक र वैराग्यभाव देखेका अलि पाका गाउँलेहरूको अनुमान थियो त्यो। मेरो दिमागमा त्यही छाप बसेकाले होला कुन दिन फुत्त आएको देखिन्छ भन्ने भान भैरहन्थ्यो।
अहिलेजस्तो सिसिटिभीका प्रविधि प्रचलनमा थिएनन्। बितेका ५० वर्षमा सर्वसाधारणले प्रयोग गर्ने प्रविधि यति विघ्न बढ्यो कि त्यसअघि कुनै प्रविधिले पनि मानिसको जीवनमा यति विघ्न दख्खल कहिल्यै दिएन भन्ने किटान गर्न सकिन्छ।
मोबाइल फोन त आविष्कार नै भएको थिएन, तर बोक्टापुर गाउँभरिमा एउटा रेडियो(ट्रान्जिस्टर) थियो। त्यो हाम्रै घरमा थियो। नेशनल पानासोनिकको त्यो रेडियो आकारमा कन्तुर जत्रो थियो। त्यसका ब्याट्री बुवाले बेलाबेला घाममा सुकाउनु हुन्थ्यो।
धेरै वर्षसम्म मैले त्यो रेडियोमा भित्र बसेर बोल्ने मान्छेहरू भेटाउने आशा गर्ने गर्थें। खम्पाहरूसँगको नेपाली सेनाको लुकाछिपी लडाइँका समाचार त्यही रेडियोमा सुनेको हल्का सम्झना छ।
रेडियोले अमेरिकी हतियार उनीहरूसँग भएको बताउँथ्यो। तीनताक हराएका मानिसको सूचना त्यो रेडियोमा सुनेको भने सम्झना छैन।
राजा महेन्द्र मरेको समाचार पनि त्यही रेडियोले हाम्रो गाउँसम्म पुर्याएको थियो। त्यसपछिका धेरै दिनसम्म शोकधुन र समाचार मात्र सुनियो रेडियोमा। बसन्त काकाहरूले राजा मरेको भनेर टाउको मुडुलै पार्नु भयो। कतिपय गाउँमा राजाको किरिया पनि बसेको गाइगुइ थियो।
पछि ती हराएका चिन्तामणि गाउँमा फर्किए भन्ने सुने। तर, हामी त्यो गाउँमा बस्न छाडिसकेका थियौं। बसाइ अर्कै गाउँमा थियो र पढाइ मेरो सदरमुकाममा हुँदा उनी फर्किए अरे भन्ने थाहा पाए पनि भेट भएन।
तर मैले त्यो जंगलबाट उनी फुत्त निस्केको देख्न नपाए पनि उनी फर्किएको थाहा पाएर मन खुसी भएको थियो।
उनी बनारस गएका रहेछन्। जोगीहरूको संगत गरेर धेरै बसेर किन फर्किए रहस्य नै रह्यो। मैले त्यो विषयमा बुझ्ने मौका जुराउनै सकिन।
पछि एसएलसी पास भएपछि म काठमाडौं पढ्न गएँ। एक पटकको छुट्टीमा म बोक्टापुर गएको थिएँ। एउटा जाँगरिला पशुपालक भाञ्जे–भाइ (माइला)सँग मह काड्ने र खाने भन्दै जंगल गयौं।
उही पुरानो जंगल बीचको बगैंचातिर पुगिन्छ कि भन्ने लाग्यो तर त्यतैकतै पुगे पनि मलाई अन्धाधुन्ध लाग्यो। ती भाइ र उनका दौतरीहरूले त्यो जंगलसँग चिरपरिचित व्यवहार देखाइरहेका थिए। भैंसीहरूसँग उनीहरू त्यो जंगल चाहरिरहन्थें।
मैले ती अग्ला रूखहरूमध्ये कुनै एउटा रूखको हाँगामा झुण्डिएको मौरीको घार देखिएला र धुवाँ लगाएर मौरी भगाएर मह काढेर खाने होला भन्ने बुझेको थिएँ।
तर, ती ठिटाहरूले एउटा मझौला आकारको रूखमा बञ्चराले काट्न थाले। अलि धेरैबेर नै बञ्चरा चलाएपछि रूख ढल्यो। त्यसपछि उनीहरूले त्यो ढलेको रूखको बीचतिर बञ्चराले हिर्काउन थाले। रूखभित्र धोन्द्रो भेटियो।
उनीहरूले त्यो धोन्द्रो भित्र मह भएको पहिचान गरेर त्यो रूख ढालेका रहेछन्। तर, त्यो मह मैले सोचेजस्तो मौरीको थिएन, मौरीभन्दा अलि साना काला पुत्लाको मह रहेछ त्यो। स्वादमा अलि फरक हुँदो रहेछ।
गाउँघरमा मौरीको महभन्दा पुत्लाको महमा औषधि गुण हुन्छ भन्ने विश्वास छ। खुब धेरै खाउँला भनेको थिएँ।
त्यो मह थोरै खाएपछि मटक्क पार्यो। धेरै खान सकिँदो रहेनछ। अर्को दिन म बोक्टापुरबाट फर्किएँ। ती चिन्तामणि गाउँमा फर्किएर केही वर्ष बसेपछि फेरि हराएछन्।
सायद उनी फेरि बनारस वा भारततिरै कुनै तीर्थतिर गएका पनि हुनसक्छन्। उनी पहिला किन हराए ? किन फर्किए ? किन फेरि हराए ? केही थाहा छैन।
तर, अनुमान गर्छुः वैरागी भनाइमा जोगी बनेर घरबार त्यागेका सन्तहरूका बीचमा पनि गुरू चेलाको राजनीति तछाडमछाडको द्वन्द्बबाट दिक्क भएर उनी गाउँ फर्किए होलान्।
गाउँमा झन ठूला दाउपेच, ठगी देखेर ‘मरेपछि पुग्ने स्वर्ग जाने आशा’ले उनलाइ फेरि त्यही जोगीको अखाडातिर पुर्यायो होला। मेरो अन्दाजै त हो। तर, मानिसको दिमागले जे कुराको उत्तर भेट्दैन त्यसको उत्तरमा अध्यात्मवादको कल्पनामा सन्तोष मनाउने जुक्ति खोजिरहन्छ।
वैराग्यमा सन्तोष नगर्नेहरूले नभेटिएका उत्तर खोज्ने जिम्मा पुस्ता दरपुस्ता जिम्मेवारी दिँदै जान्छन्। त्यसैको परिणाममा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्सी)सम्म पुगेको छ।
मान्छेले भेटाउन नसकेका रहस्य भेट्नमा यो नयाँ प्रविधिको विकासले गन्तव्यसम्म त पुर्याउला कि नपुर्याउला अहिलै भन्न सकिन्न!