‘छोरी भएर जन्मनु अभिसापै हो भने, बरिलै नजन्माईदेउ सृष्टिले’ गीतले भने जस्तै छोरी भन्ने शब्द नै निशब्द छ। सबैको प्यारी अनि घरकी लक्ष्मी, बगैचाकी फुल, संसारकी सृष्टिकर्ता अनि धर्तीकी सुन्दर प्रकृति। यी शब्द नाममा मात्र सीमित छन्। आजको युगमा पनि कैयौँ परिवारमा छोराको चाहना अत्याधिक छ।
पेटमा दोस्रो पटक गर्भ रहँदा जाँच गरिन्छ। जब छोरी हुन्छे, परिवारका सदस्य गर्भपतन गर्ने निर्णयमा पुग्छन्। छोराको पर्खाइको कारण आमाको कोखमा नै मारिन्छन् छोरीहरू।
के दोष छ छोरीको? छोरी भएकै कारण गर्भदेखी नै हिंसा भोग्नु पर्ने। छोरीले आमाको कोखमानै विलीन हुनुपर्ने कस्तो अच्चम! सुनेकी थिएँ, छोरा भाग्यले पाउछन्, छोरी सौभाग्यले। तर, आज साँच्चै नै त्यो दृश्यले मलाई घचघच्याइ रहन्छ।
आफ्नो स्वास्थ्य ठिक नभएकोले म फार्मेसी गएँ। पालो कुर्दै गर्दा एकजना दिदीसँग भेट भयो। कुरा गर्ने क्रममा मैले प्रश्न गरेँ, दिदीलाई के भएको? केहीछिनको मौनतापछि भन्नु भयो ‘गर्भपतन गर्न आएकी।’ उनको पहिलो र दोस्रो सन्तान छोरी छन्।
फेरि पनि सोधेँ ‘अनि अहिले?’
उनले जवाफ दिइन् ‘उही अभागी छोरी।’ उनको यो शब्दले मलाई सहन गाह्रो भयो। एकाएक सन्नाटा छायो। चिटचिट पसिना छुट्यो। मैले केही सोच्नै सकिनँ। केही भन्ने आँट नै आएन। लाचार भएर बसेँ।
मेरोभन्दा अघि पालो भएकोले ती दिदीलाई डाक्टरले भित्र बोलाए। तर, यता मलाई कोख भित्रकी ती छोरीको हत्या प्रति असैह्य भयो। मलाई कोख भित्रकी ती छोरी बोलेको आभास भयो। मुटु धड्कन थाल्यो। जोडले धड्किएको मुटुलाई साम्य पार्दै सुन्छु, ती अवोध छोरीको वेदना।
‘आमा, बाबालाई भन्नुस् न! म यो दुनियाँमा आउन चाहान्छु। यो डाक्टरलाई भन्नुस् न, मलाई मेसिनले छिया छिया पारेर नमार्नु! मलाई पीडा भएको छ, आमा। म हजुरको छोरी भएर रोशन छर्न चाहान्छु।’
तर ती छोरीको गुञ्जन कसैले सुनेन। आखिर ती अवोधलाई आमाकै गर्भमा मारियो, छोरी भएकै कारण!
फेरि पनि ती छोरीले आफ्नी आमालाई केही भने झैँ लाग्छ ‘आमा, मेरो पीडा त यहाँ कसैले सुनेन। मेरै कारण तिमीलाई पनि पीडा भयो। अब आफ्नो कोखमा छोरीको गर्भ कहिल्यै नबोक है, आमा! फेरी मेरी बहिनीको यसैगरी हत्या हुनेछ।’
म आफू सम्हालिन बाहेक केही गर्न सकिनँ। यी छोरी जस्तै हाम्रो समाजमा धेरै छोरीहरूले अकालमै ज्यान गुमाएका छन्। गर्भ भित्रदेखि गर्भ बाहिरसम्म छोरीलाई आरामसँग बाँच्न दिइएको छैन। कोही बलात्कारको नाममा, कोही दाइजोको नाममा, कोही बोक्सीको नाममा लाखौं छोरीहरूलाई बाँच्न मुस्किल भएको छ।
सोच्दा सोच्दै चेक जाँच गर्ने पालो आयो। चेकजाँच गराएर फर्कने क्रममा त्यो दिदीलाई यताउता हेरेँ, कहीँ भेटिनँ। मलाई पनि मेरी आमाले गर्भमै मार्न दिएको भए, म आज यस यो संसारमा हुने थिइनँ। अनि यस्तै छोरीहरूको पीडा देख्ने र भोग्ने पनि थिइनँ।
अनि आफैलाई प्रश्न गरेँ। हामी छोरी भएकै कारण कमजोर हौं कि छोरीलाई यो समाजले कमजोर बनाएको, या देखेको?
आफ्नो गर्भमा रहेकी छोरीलाई बचाउन ती आमाले किन सकिनन्? ती आमा पनि छोरी भएर जन्मेकी हुन्। उनले किन अरूको खुसीको लागि छोरा पाइदिनु पर्ने? परिवार र समाजलाई खुसी पार्न तिनले तिलान्जली दिएकी हुन् त? यी अनेक प्रश्नले आफैलाई आकुल ब्याकुल गरायो।
मेरो आफन्त पर्ने एक परिवारको पहिलो र दोस्रो छोरी भए। तेस्रो र चौथो गर्भ रहँदा छोरी भएकै कारण हत्या गरे। ससुराले अब बुहारीले नाति पाउने छाँटकाँट छैन, छोरालाई अब अर्को बिहे गर समेत भन्न भ्याए। पाँचौँ गर्भ रह्यो। चेकजाँच गर्दा छोरा देखियो।
अहिले त्यो छोराले संसार देखेको छ। छोरी भएकै कारण त्यही आमाको कोखबाट दुई वटी छोरीको हत्या गरियो। यो केही प्रतिनिधिमुलक पात्र हुन्।
अहिले हाम्रो समाजमा प्रायः दुई सन्तान जन्माउने गर्छन्। पहिलो छोरा भएपछि त्यो परिवार ढुक्क हुन्छ। जब पहिलो छोरी हुन्छे। अनी अर्को गर्भ रहँदा लिंग छुट्याउन चेक जाँज गर्न लगिन्छ। यदि छोरी छ भने चेकजाँचसँगै हत्या हुन्छ।
पहिलो सन्तान छोरा हुनेले अर्को सन्तान जन्माउने पनि गरेका छन्। यदि पहिलो छोरी छ भने छोरा जन्माउनकै लागि भए पनि दोस्रो सन्तान अनिवार्य जस्तो भएको छ। यो कुसंस्कारको पराकाष्ठ हो।
आज छोराको पर्खाइले कैयौं आमाहरूले आफ्नो ज्यान जोखिकमा राखेर गर्भमा रहेकी छोरी हत्या गर्ने जस्तो जघन्य अपराध गर्न बाध्य छन्। कसैले दबाबमा परेर त कसैले आफूखुसी।
नेपालको संविधान २०७२ को मौलिक हक र कर्तव्य अन्तर्गत प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी हक हुने व्यवस्था गरिएको छ। तर हाम्रो समाजले महिलाको इच्छा भन्दा पुरूषको इच्छालाई बढी प्रथामिकतामा राख्दछ।
राज्यको कानुनले पनि लिंगको आधारमा कसैले कसैलाई भेदभाव गर्न नपाइने कुरा उल्लेख छ। तर हाम्रो समाजमा भेदभाव मात्र हैन। छोरी भएकै कारण गर्भमा रहन नपाउने या जन्मन नपाइने भएको छ। त्यसमा पनि कुल घरना अथवा जान्ने बुझ्ने भन्नेहरूबाट नै गर्भमा रहेकी छोरीको हत्या हुन्छ।
‘छोरा र छोरी दुवै बराबरी’ को मन्त्र सर्वत्र घन्काइन्छ। संविधान र कानुन छ। तर, छोरी भएकै कारण अझै पनि विभेद छ। सायद यो पुरूषत्व हावी भएर पनी हो। अर्को, यो समाजले जति जिम्मेवार भए पनि छोरीलाई विश्वास नगरेर यो विभेद अन्त्य हुन सकेको छैन।
‘छोराले चलाए वंश, चल्न थाल्यो अंश’ भन्ने उखान जस्तै अझै पनि सर्वेसर्वा नै छोरा भयो, छोरी केही होइन पराई घर जाने जातको रूपमा लिइन्छ। यस्तो घृणित सोच र प्रवृतिले पनि छोरीहरूले गर्भदेखि नै हिंसा सहन बाध्य छन्।
मैले बलात्कारको धेरै घटनाहरू भएको सुनेँ। त्यसमा बालक तथा पुरूष बलात्कार भएको समाचार सुनेको छैन। छ महिने बालिकादेखि सत्तरी वर्षकी आमै बलात्कृत भएकी छन्। अझै तिनै छोरीको चरित्र माथि औंला उठाइन्छ। औंला उठाउनु पर्ने त ती छोराहरू प्रति हो नि। किन हाम्रो समाजले छोरीलाई स्वीकार्दैन?