कोरोना महामारीको बीचै भएपनि एउटा सानो अध्ययनका शिलशिलामा केही दिन अघि, म र एक मित्र उनको गाडी लिएर मुग्लिनसम्मको यात्रमा निस्कियौँ। धेरैपछि बाहिर निस्किन सकेकोमा आनन्दित मन, तर पनि कोरानाको डर थियो नै।
थानकोट कटेपछि निक्कै फ्रेस महशुस गर्यौ, सँगै कसरी आफूलाई सुरक्षित राख्ने होला भन्ने चिन्ता पनि। परिस्थिति सहज थिएन। जे होस् आँट्यौँ। अध्ययनको मूल उदेश्य अरु नै भएपनि चिउरी र चेपाङ बारे केही बुझ्ने अवसर पाएको थिएँ। अध्ययनबाट जाने बुझेको कुरा बाँड्न पाउँदा आनन्द लाग्छ। यस्तै एउटा प्रयास गरेको छु।
मित्र चन्द्र बराम हामीलाई पर्खेर गजुरीमा बसेका थिए। सामान्य भलाकुसारी पश्चात हामी छलफलमा लाग्यौँ। गजुरीको छलफल सकेर चरौदीमा चेपाङ संघका अध्यक्ष जीतेन्द्र चेपाङकहाँ पुग्यौँ। स्थानीय स्तरको व्यवसाय गरी बसेका जीतेन्द्र हेर्दा करिब ४५/५० उमेर हाराहारीका लाग्ने, शान्त स्वभावका देखिए।
उनी र मेरो भेट पहिलो थियो। चियाको सुर्कोसँगै गफको शिलशिलामा चेपाङ र चिउरी, चिउरी माथि चेपाङहरुको निर्भरताका बारेमा बडो रोचक कुराहरु उनले सुनाए। चेपाङ र चिउरीकाबारे सायद धेरैले सुनेका छन्। मैले पनि पहिला नसुनेको होइन। तर यसपटक निक्कै रोचक लाग्यो। मैले उनलाई यसबारे अलिक विस्तृतमा बताउन आग्रह गरेँ।
जीतेन्द्रले भने, 'चिउरीको चेपाङले कुनै पनि चिज खेर फाल्दैनन्। सबै चिज प्रयोग गर्छन्। चिउरीको पात खाना लगायत जाँड रक्सी पिउने दुना बनाउन प्रयोग हुन्छ।'
उनले थपे, 'चेपाङहरु चिउरीको फूलको रस संकलन गरी खान्छन्। एक पटक त चिउरीको रसको मिठाइ पनि बनउने कोशिश गरेका थिए रे।' चिउरी फुलेको बेला रस मात्रै होइन, चमेरोको शिकार खेल्ने वातावरण बन्छ। चिउरीको फूल फुलेको बेला चमेरो फूल खान राति आउँदा चेपाङहरु फूलमा जाल थापेर चमेरालाई जालमा पार्छन्।
चिउरीको पात, फूलको रस, र फूल मार्फत चमेरोको शिकार गर्ने बताए। अझ उनी थप्छन्, 'चैत वैशाख जेठ, तीन महिना चेपाङहरुका लागि कठिन समय मानिन्छ। यो समय चेपाङहरु अनिकालमा पर्छन्।'
उनको संकेत थियो, यी महिनाहरुमा पुरानो अन्न बाली खाइ सकिएको हुन्छ। नयाँ अन्नबाली पाकिसकेको हुँदैन। त्यसैले अन्नको अभाव हुन्छ। तर, अनिकालको संजिवनी बुटी चिउरीको रुख हुन्छ। अन्नबाली नपाकेर के भो, चिउरी वनैभरी फुल्छन्। चैत्र वैशाख महिनामा चिउरीको दाना लाग्ने गर्छ र दाना संकलन गरी खाने गर्छन् चेपाङहरु।
जीतेन्द्र चेपाङले भने, 'अनिकालको समयमा चेपाङहरुको जीवन धान्ने चिउरी नै हो। फूल मात्रै होइन, चिउरीको चोप मार्फत शिकार गर्न पनि उत्तिकै माहिर छन् चेपाङहरु। चिउरीको चोप निकालेर लिसो बनाउने अनि चराको शिकार गर्ने।
लिसो बनाउँन चिउरीको चोप र खिर्ला मिसाएर पकाइन्छ। लिसो चाँडै नसुकोस् भनेर बाँसको सिन्कामा बेरी बाँसैकै ढुङ्ग्रो भित्र राखिन्छ। लिसोको प्रयोग गरी चराको शिकार गर्ने चेपाङहरुको ज्ञान पनि बडो रोचक छ। एउटा लामो काठको एक छेउको टुप्पासम्म लिसोयुक्त सिन्काले वरिपरि फन्को लगाएर लिसो राखिन्छ।
लिसोयुक्त भाग नछोपिने गरी केही तल काठको वरिपरि केराको दाम्चाले बाँधिन्छ। चराको चारोको लागि छिचिमिराहरु (चैत्र वैशाखमा जनिमबाट निस्कने एक प्रकारको उड्ने कमिला) सामएर सानो पात गाँस्ने सिन्कामा उसको पछाडि भागमा उन्छन्। यसरी उनीएका छिचिमिराहरुलाई काठमा बाँधिएको केराको दाम्चामा गाडेर अड्याइन्छ।
आठ दश वटा छिचिमिराहरु आठ दश वटा सिन्कामा उनेर केराको दाम्चामा राख्दा छिचिमिराहरु पखेटा फिरिरि फट्काउँदै बस्न बाध्य हुन्छन्। गजबको कुरा, छिचिमिराहरुको शरीर सिन्कामा उनिए पनि २ देखि ३ दिनसम्म जीवितै रहन सक्छ। त्यसैले जीवित भइन्जेल छिचिमिराहरु पखेटा हल्लाउँदै बसिरहन्छन्।
जंगलमा लगेर यो काठ ठाडो पारेर राखिन्छ। चराहरु छिचिमिराहरु खान आउँछन्। खान आउने क्रममा लिसो भएको काठमा बस्दा लिसोमा टेक्न पुग्छन्। लिसोमा टाँसिएर चाराहरु उड्न सक्दैनन्।
अब चिउरीको दानाको कुरा गरौं। जीतेन्द्रले भने, 'चिउरीको दाना संकलन गरी अनिकालमा खानु अनिवार्य परम्परा हो। दाना मात्र होइन, दाना भित्रको गेडा झन उपयोगी हुन्छ हामीलाई।'
'कसरी?' मैले सोधेँ।
उनका अनुसार चिउरीको फल खाएपछि फल भित्रको दानाबाट घिउ निकालिन्छ। घिउ बनाउनका लागि दानालाई मज्जाले सुकाइन्छ। त्यसपछि ढिकीमा कुटेर धुलो बनाइन्छ (अहिले मेसिन आएको हुनाले मेसिनमा पेलेर पिठो बनाउँछन्)। पानी उमालेर धुलोलाई बफ्याइन्छ (यसलाई फुङ गर्नु भन्छन्)।
अर्को शब्दमा चिउरीको धुलोलाई पानी उमालेर बाफले पाकाउँछन्। पाकेपछि बफ्याएको धुलो, बाँस र काठले बनाएको एक प्रकारको चेपुवामा राखेर पेल्ने गरिन्छ, जसलाइ उनीहरु चेपुवा वा प्यार पनि भन्छन्। चेपुवामा राखेर डोरीले बेस्कन कसेर पेल्छन् र रस निकालिन्छ। यसैबाट घिउ बनाउँछन्।
घिउ पनि बहुउपयोगी- खान, बाल्न र औषधीको रुपमा समेत प्रयोग हुन्छ। घिउ निकालेपछिको पिना पनि चेपाङहरुले फाल्दैनन्। पिना पनि उत्तिकै बहुउपयोगी हुन्छ। पिनालाई माछा मार्ने विष र अन्नबालीमा मलको रुपमा प्रयोग गर्छन्। हिलोले खुट्टा खाँदा औषधीको रुपमा पनि पिना प्रयोग हुन्छ।
स्थानीयहरुको मौखिक भनाइ अनुसार चेपाङहरुले बनाएको चिउरीको घिउले पहिला पहिला पशुपति र स्वयम्भुमा बत्ती बाल्ने गरिन्थ्यो। चेपाङ पूर्खाहरु घिउ बोकेर नागढुङ्गामा बास बस्दै काठमाडौँ प्रवेश गर्थे। घिउ बोकेर जाँदा हालको नैकापमा उनीहरु फाटेका लुगाहरु टाल्थे रे।
त्यसैले त्यो ठाउँको नाम नैकाप रहन गएको हो भनिन्छ। चेपाङ भाषामा नै लुगाको काप टाल्नु नैकाप हुन्छ। घिउ व्यापारले चेपाङहरुको काठमाडौँका नेवारहरुसँग हितेरी मितेरी खुबै जमेको थियो। जीतेन्द्र भन्छन्, 'अझै पनि काठमाडौँका बाङ्गेमुढा तिर चेपाङहरुको मितहरु छन्। धन भनेको खाक, इष्ट भनेको लाख।'
त्यो समयमा चेपाङहरु सायद अहिलेभन्दा समृद्ध थिए होलान् भन्ने अनुमान गर्न सकिन्छ। तर, विसं २०१३ सालमा त्रिभुवन राजमार्ग (नागढुङ्गादेखि नौबिसे) र विसं २०२४ सालमा पृथ्वी राजमार्ग (नौबिसेदेखि मुग्लिन् खण्ड) खुलेपछि हितेरी मितेरी र घिउ व्यापार खिइदै गयो र अहिले इतिहास भयो।
राजमार्ग खुलेसँगै नयाँ व्यापरीहरु आए। अब चेपाङहरु काठमाडौँ ढाकारमा घिउ बोकेर जानु नपर्ने भयो। यस्को सट्टा व्यापारीहरुले घिउहरु खरिद गरी काठमाडौँ आपूर्ति गर्न थाले। समय र पैसाको पनि बचत भयो। सायद नयाँ व्यापारीहरुले दाम पनि राम्रै लगाए होलान्।
राजमार्ग खुले सँगै आएको यस्तो सामाजिक तथा आर्थिक परिवर्तन र अवसर देखिन् चेपाङहरु पनि दङ्ग परे। झट्टा हेर्दा चेपाङहरुको दिन खुले जस्तो भयो, दुखका दिन गए जस्तो भयो। कयौं दिन लगाएर, चुइ चुइ ढाकारमा घिउ बोकेर काठमाडौँ नगइ घरमै पैसा आउने उनीहरुले ठाने, अब राम्रो हुन्छ।
तर, उनीहरुले देखेको सुखको भविष्य दिगो रहन सकेन। घिउ व्यापार सकिए सँगै, चेपाङहरुको नेवाहरुसँगको हितेरी मितेरी साइनो पनि चट भयो। यही बिन्दुबाट चेपाङहरुको दुर्गति सुरु भएको हो कि जस्तो देखिन्छ।
'व्यापार कसरी सकियो?'
हल्का दुख मिसिएको हाँसोमा उनले भने, 'घिउ व्यापारीले बढी नाफा कामाउन, घिउमा पिँडालु मिसाएर बेच्न थाले। मन्दिरमा दियो बाल्नु पर्ने घिउमा पिँडालु मिसाएपछि कसरी दियो राम्रो बलोस्?' उनका अनुसार, 'ल अब यो चेपाङहरुको चिउरीको घिउबाट दियो बल्न छाड्यो अब देखिन् यिनीहरुको घिउ नलिने काठमाडौँका बासिन्दाले भने।'
राजमार्गको निर्माण सम्पन्न भएसँगै विभिन्न स्थानहरुबाट मानिसहरु आएर राजमार्गको किनारमा व्यापार व्यावसाय गर्न थाले। विभिन्न स्थानहरुमा तीव्र रुपमा सहरीकरण भयो। भव्य रिसोर्ट र होटलहरु बने र बनिरहेका छन्। यसले झन् आर्थिक गतिविधिहरु बढेर गए।
अहिले हेर्न हो भने नागढुङ्गादेखि मुग्लिनसम्मको त्रिभुवन र पृथ्वीराज मार्ग भित्र, साना/ठूला गरी हजारौ घरपरिवारले व्यापार व्यवसाय गरी बसेको पाउन सकिन्छ। तर, यी हजारौमा, व्यापार व्यवसाय गरी बसेका चेपाङहरु हातको औँलामा गन्न सकिने अवस्थामा पनि पाउन सकिँदैन।
चेपाङहरु गाउँमै छन्, पहिलाभन्दा अझ सीमान्तकृत भएर बसेका। कोही भेटिहाले पनि त्रिशुलीको माछा हातमा झुन्ड्याएर राजमार्ग हिड्ने यात्रुलाई बेच्न बसेका हुन्छन्। अथवा उनीहरु सामान्य चिया पसलमा सीमित भेटिन्छन्। चेपाङहरु चिउरीको रुखमा अझै निर्भर छन्।
गजुरीदेखि त्रिशुली पारी माझिटारमा बसोबास गर्ने माझिहरुको हालत उस्तै देखेँ। जे जस्ता सामाजिक तथा वातावरणीय प्रभावहरु भए उनीहरुले नै भोगे, देखे। तर, राजमार्गको निर्माणसँगै उपलब्ध भएको आर्थिक अवसरहरुमा कसरी यी समुदायहरु चुके होलान्। 'बाटोघाटोको निर्माण भएपछि समुदायको उन्नति, प्रगति हुन्छ' भन्ने हाम्रो विकासे नीति र सोच सम्झिएँ।
अध्ययनहरु अनुसार सरकार र आइएनजीओहरु चेपाङहरुको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि नलागेका होइनन्। तर समाचारहरुमा आइरहन्छन् 'गैडाको चोरी शिकारी गरेको हुनाले फल्ना चेपाङ पक्राउ परे। चेपाङहरु ओडारमा अझै बस्छन्।' इच्छाकामना गाउँपालिकाकी एक जनप्रतिनिधिले भनिन्, 'अझै पनि चेपाङहरुमा बालविवाह अधिक छ। बाल बच्चाहरु स्कुल जाँदैनन्।'
अन्त्यमा,
चेपाङले कसरी एउटा चिउरीको बृहत उपयोगीता र बहुमूल्य गुणहरुको पहिचान गरे होलान्। यस्ता बुहउपयोगीता भएका तर पहिचान हुन बाँकी बोटबिरुवाहरु प्रशस्तै छन् होला। बनस्पति तथा इथ्नोबोटानिकल चेपाङहरुको जत्तिकै स्तरमा, अध्ययताहहहरुले कुनै नयाँ प्रजातिको बोट बिरुवाको मानव समुदायलाई पुर्याउने गुणहरुको बृहत अध्ययन गर्नु सम्भव होला कि नहोला? सम्भव भए पनि कति समय लाग्ला? कति स्रोत र मिहेनत लाग्ला?
अर्को पाटो, बहुउपयोगी चिउरी, चेपाङ संस्कृतिमा नछिर्ने कुरै भएन। एउटा उदाहारण, हरेक चेपाङ चेलीले विवाहपछि चिउरीलाई पित्री प्रसादको रुपमा ग्रहण गर्छिन्। चिउरीले अनिकालको महाभूमरीबाट छोरीलाई साथ दिने छ।
आफू मानवशास्त्रको समानान्य अध्ययता भएको नाताले मलाई के थाहा थियो भने मानवशास्त्रीहरु एउटा सांस्कृतिक बिन्दुमा टेकेर कुनै एक समुदायको जीवन र जगत बुझ्ने प्रयास गर्दै आएका छन्। तर, चेपाङ र चिउरीलाई केलाउँदा मलाई के पनि लाग्न थाल्यो भने कुनै खास समुदायको जनजीविका र संस्कृतिसँग परमपरागतरुपमा जोडिएको कुनै खास बोटबिरुवा मार्फत पनि उनीहरुको जीवन र जगत बुझ्न सकिन्छ।