गत वर्ष पौष महिनाको तेस्रो साता। चीनको वुहानमा कोरोना भाइरसको चर्चा सुरु भएको थियो। मेरो बसाइ टिचिङ अस्पतालको क्याबिन नं. २०५ मा थियो। छोटो बसाइमा एक जना डाक्टरसँग पेशागत अनुभव सेयर गर्ने मौका मिलेको थियो।
मलाई चलाइएको औषधीहरुको साइड इफेक्ट, डोज, हाफ लाइफ, मेटाबोलाइट जस्ता कुराहरु मैले सोधें।
‘तपाई मेडिकल पर्सन हो?’ डाक्टरले सोधे।
‘होइन’ छोटो उत्तर दिएँ।
‘औषधीको बारेमा जिज्ञासा किन?’
‘अन्य औषधीमा होइन। लागुऔषध बारे मलाई बढी जिज्ञासा छ।’
‘लागुऔषध प्रयोगकर्ता त होइन नि?’ डाक्टरले हँसाए।
‘लागुऔषधसँग खेल्छु तर प्रयोगकर्ता होइन।’
‘उसो भए सप्लायर्स हो? प्रहरीले समाउलान् नि! होस गर्नु। सजायको बारेमा थाहा छ?’
‘किन थाहा नहुनु। चरेस तान्नेदेखि खैरो हेरोइन खानेसम्म कसलाई कस्तो सजाय हुन्छ, त्यो कुरा लागु औषध नियन्त्रण ऐन २०३३ मै लेखेको छ।’
‘लागु औषधको बारेमा चासो राख्ने तपाई को?’
‘म तपाई जस्तै एप्रोन लगाएर काम गर्ने कर्मचारी हो। तपाई अस्पतालमा काम गर्नु हुन्छ। म फरेन्सिक ल्याबमा काम गर्छु’ एक सासमा परिचय दिएँ।
‘अरे वा! फरेन्सिक एक्सपर्ट।’ डाक्टर मुस्कुराए।
‘उसो भए डा. हरिहर वस्तीलाई चिन्नु हुन्छ?’ उनले फेरि सोधे।
‘मेडिकोलिगल क्षेत्रमा उहाँलाई नचिन्ने को छ र?’ मैले पनि प्रश्न गरेँ।
‘यु आर राइट’ भन्दै अर्को बिरामी तिर लागे।
डिस्चार्ज हुने दिन पुरानै डाक्टर आए। ड्रेसिङ गर्ने बेला घाउ पोल्यो।
‘एैया! दुख्यो’ मेरो मुखबाट फुत्त आवाज निस्कियो।
‘अस्पतालमा बिरामीहरुलाई दुख्छ। फरेन्सिकमा उनीहरुलाई दुख्दैन हो?’ डाक्टरले पोष्टमार्टमपछिका स्याम्पलको कुरा गर्दै सोधे।
एकछिन सोचेँ अनि भनेँ- ‘मृत अंगहरुलाई पो दुख्दैन। उनका आफन्त र प्रियजनहरुलाई धेरै दुख्छ।’
‘तपाई अलि बढी इमोशनल हुनुहुन्छ’ यति भनेर डाक्टर हिंडे।
‘के साँच्चै म बढी इमोशनल छुँ?’ यो प्रश्न मैले आफैलाई गरेँ।
प्रश्न गरेको झण्डै एक वर्षपछि आज इमोशनको बारेमा लेख्न मन लाग्यो। यही सन्दर्भमा कान्तिपुर टिभीको एउटा कार्यक्रमको केही संवाद याद आउँछ।
कार्यक्रम ‘सुमनसँग’ को एउटा एपिसोडमा पाहुनाको रुपमा डा. हरिहर वस्ती हुनु हुन्थ्यो। हजारौं शव परीक्षण गरी ‘शवहरुको पुस्तकालय’ जस्तै मानिने डा. वस्ती फरेन्सिक एक्सपर्ट मात्र होइनन्, उहाँ राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको बोर्ड सदस्य पनि हुन्। उहाँलाई एउटा प्रश्न थियो-
‘कुनै शव परीक्षण गर्दाखेरी रोएको वा भक्कानिएको अनुभव छ?’
‘पटक-पटक’ डाक्टरको उत्तर थियो।
‘इमोशन हुन्छ।’
‘सानो बच्चाको जीउमा छुरी चलाउँदा, मृतकका आफन्तहरुको रुवाबासी अन्य यस्तै परिस्थितिले मेरो मन, मष्टिस्क र आँखा इनर्ट (स्थिर) रहन सक्दैनन्’ यो भनाइ टिभीबाट सुनेको थिएँ।
‘आम बिरामीहरुको अपरेशन गर्दा डाक्टरका हातहरु काँप्दैन रे। आफ्नै आफन्तहरुको अपरेशन गर्दा डाक्टरका हातहरु काँप्छन् रे।’ यसको कारण इमोशन हो रे। यो कुरा फिल्ममा सुनेको थिएँ।
शंकास्पद मृतकहरुको डाक्टरहरुले शव परीक्षण गर्छन्। परीक्षणको लागि खास खास अंगहरु निकाल्छन्। प्रिर्जभेटिभ राखी प्लाष्टिकको बट्टामा सिल प्याक गर्छन्। प्रहरीहरु मार्फत प्याक गरिएका बट्टाहरु प्रयोगशालामा परीक्षणका लागि आइपुग्छन्।
ती नमुनाहरुसँग परीक्षण गर्ने मान्छेहरुको भावनात्मक सम्बन्ध हुन्छ र? जसरी चिकित्साशास्त्रमा- एउटा बिरामी मानिस, डाक्टरको लागि केवल बिरामी शरीर मात्र हुन्छ। त्यसरी नै प्रयोगशालामा- एउटा बट्टामा प्याक गरिएको मानव अंग, विशेषज्ञको लागि नमुना मात्र हुन्छ।
मान्छेमा एउटा मानवीय गुण हुन्छ। जब भावनामा डुबिन्छ तब मृतकको सानो अंश पनि पूर्ण शरीर झैं लाग्छ। जीवित झैं लाग्छ। सोच्दै जाँदा अनेकौ प्रश्नहरुको लहरहरु उठ्छन्।
हावा नछिर्ने गरी बन्द गरिएको अंगहरुको बट्टा देख्दा उकुस मुकुस लाग्छ। उनीहरु बन्द कोठाभित्र निस्सासिंदैनन् होला? कोल्डरुममा बस्दा चिसो लाग्दैन होला? कैंचीले टुक्रा टुक्रा पार्दा दुख्दैन होला? कडा एसिड राख्दा पोल्दैन होला? ३०० डिग्री सेल्सियस तापक्रममा जल्दैनन् होला?
यी सवै प्रश्नहरु भावनात्मक मात्र हुन्। यथार्थमा मृत अंगलाई काट्दा न दुख्छ, एसिड राख्दा न पोल्छ। दुख्ने र पोल्ने त केवल जिउँदालाई मात्र अनुभव हुन्छ। यस्तै दुइटा घटनाले मलाई अहिले पनि पोल्छन् र बेलाबेलामा मन दुखाउँछन्।
पहिलो घटना २०७१ बैशाख २७ गतेको हो। एक जना नजिकका आफन्तले विष सेवन गरी आत्महत्या गरेछन्। त्यतिखेर काम विशेषले धनगढी थिएँ। सेती अञ्चल अस्पतालमा उहाँको पोष्टमार्टम भयो। डाक्टरले प्रयोगशाला पठाउनको लागि आवश्यक अंगहरु निकाले।
मेरो आग्रहमा पेटमा भएको थोरै पदार्थ सानो भाइलमा मलाई दिए। फरेन्सिक क्षेत्रसँग मेरो नाता भएकोले डाक्टरले नकार्न सकेनन्। मेरो उद्देश्य घटनास्थलमा नभेटिएको कुन किसिमको विष हो, यति मात्र चाँडै जान्नु थियो। डब्बामा प्याक गरिएका नमुनाहरु प्रहरीले बुझे। बाँकी शरीर आफन्तहरुले बुझे।
परम्परा अनुसार सदगत गरियो। दोस्रो दिन बसमा काठमाडौं हिंडेँ। जिउँदो हुँदासम्म उहाँसँग कहिल्यै बसमा हिड्न मौका जुरेन। अवसर आज मिलेको थियो। दुर्भाग्य! उहाँ मेरो छेउको सिटमा बस्नु भएन। उकुस मुकुस गर्दै झोलामा कोचिनु भयो।
झोला मैले बसको डिक्कीमा कोचें। कीर्तिपुर कोठा आइपुग्दा श्रीमती निन्याउरो अनुहारमा दुःखी देखिन्थी। सँगै आएका आफन्तलाई सिंढीमा बसाएँ। अघिपछि भएको भए भन्ने थिएँ-
‘घरभित्रै आउनुस भिनाजु।’
आत्महत्या गर्ने ती आफन्त मेरा साख्खै माइला भिनाजु थिए। अर्को दिन उहाँ मेरो अफिसमा सँगै आउनु भयो। अन्तिम पटक उहाँलाई मैले सोधेँ-
‘कुन विष खानु भएको थियो भिनाजु?’
उहाँ बोल्नु भएन।
उहाँलाई माइक्रो सिरिन्जमा लोड गरेँ। जाँचको लागि मेसिनमा इन्जेक्ट गरे। मेसिनले उहाँले खाएको विष पत्ता लगायो। बजार सजिलै गरी पाइने विष नुभान (डाइक्लोरभस) रहेछ। स्याम्पल इन्जेक्ट गर्ने क्रममा मेरा हात यसरी कापें कि सिरिन्जनै बांङ्गियो। यो संयोग हो वा भावना हो, म यसै भन्न सक्दिनँ।
दोस्रो घटना २०७६ साल असोज ६ गतेको हो। भर्खरै दशैं सकिएको थियो। अर्को अशुभ खबर कानमा ठोक्कियो। हुँकिएर लगनखेल पाटन अस्पताल पुगें। शवगृहमा उहाँसँग दुःखद भेट भयो। उहाँ डिएनए शाखाबाट रगत नमुना संकलनका लागि यो अस्पताल आइरहनु हुन्थ्यो। मुद्धा परेका वादी र प्रतिवादीहरुको रगत नमुना यही पाटन अस्पतालमा संकलन गरिन्छ। प्रायः अस्पतालमा आइरहने भएकोले धेरै नर्सहरुले उहाँलाई परैबाट चिन्थे।
एक्कासी बाथरुपमा लडेर बेहोस भइ इर्मजेन्सी वार्डमा पल्टिरहँदा त्यहाँका नर्सहरुले चिने कि चिनेनन्? शवगृहमा पोष्टपार्टम गर्ने डाक्टरले मृतक व्यक्ति फरेन्सिक विशेषज्ञ भएको थाहा पाए कि पाएनन्? पोष्टमार्टम गर्ने डाक्टर र मुचुल्का उठाउने प्रहरीलाई यो केस खुमलटार नपठाउन आग्रह गर्यौं। किनकी यो केससँग हाम्रो भावना जोडिएको थियो।
खुमलटार प्रयोगशालाको टक्सिकोलोजी शाखामा ललितपुर, भक्तपुर, धादिङ, सिन्धुपाल्चोक र काभ्रे गरी पाँच जिल्लाका केसहरु आउँछन्। केही महिनापछि ललितपुर जिल्लाबाट केसहरु आइपुग्यो। केसहरुको चाङ मध्ये एउटा पत्रमा मृतकको नाम लेखिएको थियो- बसन्त राज पोख्रेल।
यो नाम उही हो जुन केही समय पहिले बायोलोजी शाखा जाने ढोका छेउको नेम प्लेटमा झुन्डिएको थियो। नेम प्लेटमा लेखिएको थियो- बसन्त राज पोख्रेल, वैज्ञानिक अधिकृत।
मृतक मेरा सहकर्मी थिए। २०६३ सालमा हामी फरेन्सिक ल्याबमा सँगै छिरेका थियौँ। विश्वास लाग्दैन उहाँ हुनु हुन्न भनेर। कीर्तिपुर–लगनखेल रुट चल्ने पहेंलो रङको बस देख्दा यात्राको क्षणहरु मानसपटलमा घुम्छन्। कीर्तिपुरको ओरालो, सुन्दरीघाटको झोलुङ्गे पुल, धोबीघाट, एकान्तकुना, सातदोबाटो चोक हुँदै राष्ट्रिय विधि विज्ञान प्रयोगशाला परिसरमा निकै वर्ष सँगै हिंडियो।
सँगै हिंडेका पाइलाका छाप अहिले पनि खोज्छु। पाइला पछ्याउँदै जाँदा उहाँलाई आफ्नै अफिसमै देख्छु। अहिले उहाँ बस्ने कोठा फरक पाउँछु। बस्ने कोठा अँध्यारो छ। कुलिङ्ग कम्प्रेसर राखेर कोठा चिसो पारिएको छ। कोठामा उहाँ जस्तै अरु तीन/चार सय जना कोचिएर बस्छन्। कोही बेवारिसे छन् त कोही हाइ प्रोफाइलका पनि छन्। यो कोठामा नयाँ सदस्य आउने र पुराना सदस्यहरु निस्कने क्रम चलिरहन्छ।
यिनै सदस्यहरुमध्ये दुई जना २७ वर्षदेखि निरन्तर बसिरहनु भएको छ। उहाँहरुलाई अधिकांश नेपालीले चिन्दछन्। एक जनालाई त नेपालका वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले धेरै नजिकबाट चिन्नु भएको छ। २०५० जेष्ठ ३ गते ‘दासढुंगा जिप दुर्घटना’ भनिएको रहस्यमय घटनाको प्रत्यक्ष साक्षीहरु मदन भण्डारी र जीवराज आश्रित पनि यहीँ बसिरहनु भएको छ।
मेरा हितैषि मित्र कोल्डरुमको चिसोमा बसीरहँदा मेरो शरीर पनि चिसो हुन्छ। अनि मन दुख्छ।
के उहाँहरुलाई दुख्दैन?
(लेखक राष्ट्रिय विधि विज्ञान प्रयोगशाला धनगढीका निमित्त कार्यालय प्रमुख हुन्।)