वन तथा वातावरण मन्त्रालयले एक दशक अघिदेखि चुरे क्षेत्र सहित तराई र भित्री मधेशमा सघन वन व्यवस्थापन प्रणालीमा आधारित ‘वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम’ कार्यान्वयन गरेको छ।
मुख्यगरी सालको वन लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको देखिन्छ। राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने, रोजगारी सिर्जना गर्ने, काठको आयात घटाउने र वनको प्राकृतिक अवस्थामा सुधार गर्ने उद्देश्य लिइ सुरु गरिएको यस कार्यक्रमका सामाजिक, आर्थिक र सुशासनका विविध आयामहरूको बारेमा बहसहरू भएका छन्।
सामुदायिक वन उपभोक्ता महासंघ लगायत विभिन्न सरोकारवालाहरूले वैज्ञानिक वन व्यवस्थापनले सामुदायिक वन उपभोक्ताको अधिकार संकुचित गर्ने र वन सञ्चालनको निर्णय प्रकृयामा वन प्राविधिकप्रतिको निर्भरता बढाउने हिसाबले कार्यक्रम आएको भनी आलोचना गरेका छन्।
त्यसैगरी अध्येताहरू र सामुदायिक वन अभियन्ताहरूले यो कार्यक्रमले विगतमा हासिल गरेको विकेन्द्रित वन व्यवस्थापनलाई कतै फेरि केन्द्रिकृत त गर्ने होइन भन्ने आशंका पनि व्यक्त गरेका छन् भने कतिपयको प्रश्न यो कार्यक्रमबाट उपभोक्ताभन्दा अरु कोही पो लाभान्वित हुने हुन् कि भन्ने छ।
अहिले यो कार्यक्रम सम्बन्धमा एक उच्चस्तरीय समिति र दुई संसदीय समितिहरूले छुट्टाछुट्टै अध्ययन पनि गरेका छन्। सार्वजनिक बहसहरू यो कार्यक्रमका सुशासनका विषयमा बढी केन्द्रित हुने गरेका छन्।
तर यस कार्यक्रममा जैविक विविधताको सवाल किन महत्वपूर्ण छ र यो कार्यक्रमले वनको जैविक विविधता संरक्षणमा कस्तो प्रभाव पार्छ भन्ने बारेमा कमै अध्ययन र चर्चा भएको देखिन्छ। भएका चर्चाहरू पनि यो कार्यक्रम सोलोडोलो सकारात्मक वा नकारात्मक भन्ने कोणबाट भइरहेका छन्।
वैज्ञानिक वन व्यवस्थापनले जैविक विविधतामा के कसरी असर पार्छ भन्नु भन्दा पहिले व्यवस्थापन गरिने वा उत्पादनशील प्राकृतिक वनमा जैविक विविधताको सवाल किन महत्वपूर्ण छ भन्ने बारेमा केही सैद्धान्तिक अवधारणाहरूको बारेमा चर्चा गर्नु उपयुक्त हुन्छ।
वनलाई हेर्ने र बुझ्ने दृष्टिकोण
वन भनेको के हो र वनलाई कसरी बुझ्ने भन्ने सन्दर्भमा फरक फरक दृष्टिकोणहरू छन्। वन सम्बन्धी दृष्टिकोणहरू व्यक्तिको संस्कृति, जीवन दर्शन, शैक्षिक र व्यवसायिक पृष्ठभूमि र केही हदसम्म आर्थिक अवस्था समेतबाट प्रभावित हुन्छन्। वनलाई कसरी हेर्ने र बुझ्ने भन्ने कुराले वन व्यवस्थापन सम्बन्धी नीति र कार्यक्रमहरू निर्दिष्ट गर्दछ र यसले कस्तो खालको व्यवस्थापन प्रणाली अवलम्बन गर्ने भन्ने प्राविधिक प्रश्न पनि निर्क्यौल गर्दछ।
तसर्थ वनलाई हेर्ने दृष्टिकोण बारेका केही मूलभूत अवधारणाको जानकारी कुनै पनि वन व्यवस्थापन बुझ्न र विश्लेषण गर्न उपयोगी हुन सक्छ। वनलाई हेर्ने दृष्टिकोण कसरी व्यक्तिको शैक्षिक र व्यवसायिक पृष्ठभूमिले फरक पर्छ भन्ने कुरामा एउटा उदाहरणबाट सुरु गरौँ।
अमेरिकाको ओरेगन स्टेट युनिभर्सिटीका प्राध्यापक क्लाउस प्युटमान र सहकर्मीहरुले आफ्नो पुस्तकमा एकजना पर्यावरणविद र वन प्राविधिक सँगसँगै एउटा वन भित्र पसे भने एउटै वनको बारेका तिनका धारणा कसरी आनको तान फरक हुन्छ भन्ने विस्तृतमा व्याख्या गरेका छन्।
वन प्राविधिकले वनमा काठको लागि उपयोगी रुखहरु कति र कस्तो अवस्थामा छन् र व्यवस्थापनले कति उत्पादकत्व लिन सकेको छ र त्यो वनलाई कसरी व्यवस्थापन गर्दा कति काठ उत्पादन गर्न सकिन्छ भन्ने बारेमा घोत्लिन्छ।
पर्यावरणविदले त्यहाँ कति प्रजाति छन्, ती प्रजातिहरुको संरक्षण अवस्था के कस्तो छ, ती प्रजातिहरुको बीचमा कस्तो अन्तरक्रिया हुन्छ र त्यो अन्तर्क्रियाले कसरी वन र वन बाहिरको पर्यावरणमा योगदान पुर्याउँछ, जलवायु र मानव क्रियाकलापले वनको विकास र प्रजातिको अवस्थामा कसरी प्रभाव पारेको छ भनेर बुझ्ने प्रयास गर्दछ।
एउटा रुखमा हेर्दा वन प्राविधिकले रुखको गोलाइ र उचाइ हेरेर कति काठ दाउरा कति निस्किन्छ भनेर हिसाब गर्छ भने पर्यावरणविदले उक्त रुख कति पुरानो होला, त्यो रुखमा अरु कुन कुन प्रजातिले आश्रय पाएका होलान्, रुखको त्यो प्रजातिको संरक्षण अवस्था कस्तो छ र त्यो प्रजातिको उत्पति र विकासको बारेमा बढी ध्यान दिन्छ।
एउटा बुढो रुख एकजनाको लागि काम नलाग्ने र तुरुन्त हटाउन पर्ने हुन्छ भने अर्कोको लागि निकै महत्वपूर्ण र संरक्षण गर्नुपर्ने हुन सक्छ। प्युटमानले वनको बारेमा दिएको जस्तै उदाहरण हार्वर्ड प्रोफेसर विल्सनले आफ्नो पुस्तक फ्युचर अफ लाइफमा समग्र वातावरण र जैविक विविधताको बारेमा अर्थशास्त्री र पर्यावरणविदका दृष्टिकोणहरू कसरी फरक पर्दछन् भन्ने विवरण प्रस्तुत गरेका छन्।
संसारभरी नै वनलाई हेर्ने मुख्यतया परस्पर विरोधी जस्ता देखिने २ वटा परम्परागत धारणाहरू छन्। पहिलो हो, वन भनेको एउटा नविकरणीय प्राकृतिक श्रोत हो। त्यसैले जति सक्दो बढी उत्पादकत्व लिने गरी वन व्यवस्थापन प्रणाली अवलम्बन गर्नु पर्दछ। समृद्ध र धनी बन्नलाई वन लगायतका श्रोतहरू उपयोग गर्नुपर्दछ।
वन काटेर उपयोग गरे पश्चात फेरि पुनरुत्पादन हुने हुनाले बुढा रूख र पुरानो वन राख्नु भनेको घाटा बेहोर्नु हो। आर्थिक वृद्धिमा वन क्षेत्रको भूमिका देखिने हुनुपर्छ। विकास र आर्थिक वृद्धिमा जोड दिनेहरू यो अवधारणाबाट बढी प्रभावित भएको देखिन्छन्।
वन सम्बन्धी अर्को अवधारणा अथवा वातावरणवादी र संरक्षणवादीहरूको अवधारणा अनुसार वन भनेको फगत रूखहरूको समष्टिगत रूप मात्र हैन, यो त लाखौँ वर्ष लामो पर्यावरणीय प्रकृयाबाट वनेको एउटा जटिल प्रणाली हो। यो जटिल प्रणालीमा रुख बिरुवा, माटो, वन्यजन्तुको र सूक्ष्म जिवाणुहरुको जिवन्त अन्तर्क्रिया हुन्छ र त्यही अन्तर्क्रियाको परिणाम स्वरूप हामीले वनबाट देखिने र नदेखिने विभिन्न सेवा र वस्तुहरु प्राप्त गर्दछौं।
यो प्रणालीले जलवायुदेखि भूक्ष्य नियन्त्रण र पानीको भण्डारणसम्ममा प्रत्यक्ष्य भूमिका खेल्छ। वन भनेको पृथ्वीलाई जीवन्त राख्ने फोक्सो जस्तै हो। एउटा रुख एउटा जीवित वस्तुमात्र नभएर सयौँ अरु प्रजातिका वन्यजन्तु र वनस्पतिहरूको बासस्थान पनि हो। एउटै रुखमा हजारौं प्रजातिका खपटे किराहरु (बिटल) र माकुराका प्रजाति र दर्जनौं अन्य वन्यजन्तुका प्रजातिहरूले आश्रय पाउँछन्।
तसर्थ, वन भनेको जैविक विविधताको भण्डार हो। वनको उचित संरक्षण नगर्दा हामीले हाम्रो आँखा अगाडि सयौँ प्रजातिहरू यस धर्तीबाट सदाका लागि लोप भएर गएका छन्। यी लगायत वनले प्रदान गर्ने शीतलता र स्वच्छ वातावरण एवम मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावको मूल्यांकन गरेर साध्य नै छैन। तसर्थ वनलाई रुखको र काठको दृष्टिकोणबाट मात्र हेरिनु हुदैन र अलि फराकिलो दायरामा हेर्नु पर्दछ।
वातावरणवादीहरुको तर्क छ, वनलाई आर्थिक श्रोतको रुपमा मात्र हेर्दा यसले वनमाथि उपभोगको दवाव बढाँउछ र दोहन निम्त्याउछ। त्यसैले वन लगायत प्राकृतिक श्रोतलाई समग्रता हेर्नु पर्दछ। आर्थिक वृद्धिमा मात्र जोड दिँदा र वन लगायत प्राकृतिक श्रोतको दोहनले गर्दा आज जलवायु परिवर्तन जस्तो ठूलो संकट हाम्रा सामु विद्यमान छ।
विकासवादीहरुको तर्क छ, वन लगायत प्राकृतिक श्रोतलाई संरक्षण मात्र गर्दा हामीले आर्थिक लाभको अवसर गुमाउदै छौँ। तसर्थ निश्चित क्षेत्र मात्र संरक्षणको लागि छुट्टाएर बाँकी भूभाग आर्थिक उपार्जनका लागि सघन रुपमा उपयोग गरिनु पर्दछ।
विकास र संरक्षण एक अर्कामा परस्पर विरोधी जस्तो देखिए पनि एकले अर्कालाई निषेध गर्ने अवस्थामा छैनन्। किनकी यी दुईले एकअर्कालाई निषेध गर्न खोज्दा न त अहिलेको वातावरणीय समस्या हल हुन्छ, न त समाजको विकासप्रतिको आकांक्षा नै पूरा गर्न सकिन्छ। अहिलेको वन व्यवस्थापन सम्बन्धी बहसहरू वर्तमानको सामाजिक र आर्थिक अपेक्षाहरु समेट्दा कसरी प्रकृतिमा कम क्षति पुर्याउन सकिन्छ भन्ने बारेमा केन्द्रित छन्।
विकास र संरक्षणलाई सँगै अगाडि बढाउने क्रममा सन् ७० को दशकपछि दिगो विकास सम्बन्धी अवधारणा विकास भएको पाइन्छ। यस अन्तर्गत प्राकृतिक श्रोतको दिगो उपयोग र वनको दिगो व्यवस्थापन सम्बन्धी नवीन अवधारणा विकास भएका छन्।
वनको दिगो व्यवस्थापन सम्बन्धी अठारौं शताब्दीको सुरुआतमा पश्चिम यूरोपमा विकास भएको परिभाषा तीन सय वर्षको अन्तरालमा निकै परिवर्तन भइसकेको छ। आजको वन व्यवस्थापन रुखहरुको सम्वर्द्धनको प्राविधिक विषय मात्र नभइ एक बहुआयामिक र बहु सरोकारवाला सामाजिक र वातावरणीय विषय समेत बन्न पुगेको छ।
संरक्षण र उत्पादन सँगै जान सक्दैन ?
वन्यजन्तु र वातावरण संरक्षण सम्बन्धी आधुनिक अवधारणाको पृष्ठभूमिमा विकास मुख्यगरी औद्योगिकरण र कृषि क्षेत्रको विस्तारले प्रकृतिमा कस्तो असर गर्यो भन्ने बुझ्न जरुरी छ।
जनसंख्या वृद्धिसँगैका यी दुई प्रकृयाको क्रममा वन र जैविक विविधतामा प्रतिकूल असर परेको सर्वविधितै छ। उद्योगको लागि चाहिने काठ र दाउराको लागि विशेषगरी युरोप, अमेरिका र एसिया अनि अफ्रिकाका बृटिश एवम् फ्रेन्च उपनिवेशहरूमा व्यापक मात्रामा वन फडानी गरियो।
मानव बस्ती, कृषि र चरन क्षेत्रको विस्तारका क्रममा उन्नाइसौं र बिसौँ शताब्दीको मध्यसम्ममा प्राकृतिक वन विनाश र खण्डिकरणको प्रकृया निरन्तर चल्यो, वन क्षेत्र खुम्चियो, जनावर र वनस्पतिका धेरै प्रजातिहरू लोप हुने क्रम बढ्यो। प्राकृतिक वन मासेर एकल प्रजातीय वृक्षारोपण गरियो। त्यो पनि विशेषगरी जैविक विविधताले सम्पन्न भूमध्य क्षेत्र वरिपरि।
यो पृष्ठभूमिमा वन र वन्यजन्तु संरक्षण गर्नुपर्ने आवश्यकता महसुस गर्दै संसारभरि नै संरक्षणका प्रयासहरू हुन थाले। यस क्रममा संरक्षण भनेको अलि ठूला वन्यजन्तु लक्षित गरी मानव प्रभाव बाहिरका क्षेत्रहरू गरिनुपर्छ भन्ने बुझाइको विकास भयो।
कृषि उत्पादन र संरक्षण फरक फरक भूमिमा गर्नु पर्छ, मानव गतिविधि र संरक्षण एकै ठाउँमा हैन फरक फरक भूक्षेत्र छुटाएर गर्नु पर्छ भन्ने अवधारणा विकास हुने क्रममा वन्यजन्तु संरक्षण र पर्यापर्यटनको लागि उन्नाइसौं शताब्दीको अन्त्यतिर संरक्षण क्षेत्रहरू स्थापना हुने क्रम सुरु भयो र बिसौँ शताब्दीको मध्य पश्चात यो क्रम तीव्र बन्यो र अहिले संसारको १५% भूभाग संरक्षित क्षेत्रको रुपमा व्यवस्थित छ र संरक्षित क्षेत्रहरू स्थापना हुने क्रम अझै जारी छ।
संरक्षण र उत्पादन सँगै जान सक्दैन, संरक्षणको लागि अलि वाइल्ड र मानव गतिविधिबाट टाढाको क्षेत्र हुनुपर्छ र त्यस्तो क्षेत्रमा मानव गतिविधि पूर्ण रुपमा निषेध हुन पर्दछ भन्ने बुझाइ थियो। अमेरिकामा १५० वर्ष अघि यल्लो स्टोन नेसलन पार्क बन्ने बेलातिरको यो धारणामा अहिले व्यापक परिवर्तन आएको छ। नयाँ अवधारणा अनुसार निकुञ्ज र संरक्षण क्षेत्रहरू प्रकृति संरक्षणका लागि महत्वपूर्ण छन् तर पर्याप्त छैनन्।
संरक्षण क्षेत्र बाहिर कृषि क्षेत्र र व्यवस्थापन गरिएका वनहरुमा पनि संरक्षण गर्नुपर्ने प्रजातिहरू, बासस्थान र पारिस्थितिकीय प्रणालीहरू पनि छन् भन्ने कुरा धेरै अध्ययनहरूले देखाएका छन्। जस्तै झापा जिल्लास्थित जलथल जंगल तराईका संरक्षण क्षेत्रहरुको तुलनामा कम महत्वपूर्ण छैन।
संरक्षण क्षेत्रका आफ्नै सीमितता देखिनु, संरक्षण क्षेत्र बाहिर पनि संरक्षणको आवश्यकता महसुस हुनु, संरक्षण र विकास सँगै लैजान सकिन्छ भन्ने कुरा स्थापित हुँदै गएको सन्दर्भमा वन व्यवस्थापनबाट आर्थिक वृदि सँगै जलवायु परिवर्तन र जैविक विविधताको विश्वव्यापी संकटलाई पनि सम्बोधन गर्नु पर्ने छ। यी संकटहरुसंग जुध्न वन क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने कुरा धेरै अध्ययनहरूले प्रमाणित गरीसकेका छन्।
जस्तै वनले वायुमण्डलमा भएको कार्बनडाइअक्साइड ग्यासलाई प्रकाश संश्लेषण मार्फत जैविक पिण्डमा परिणत गरी वायुमण्डलमा भएको उक्त ग्यासलाइ नियन्त्रण गर्न सहयोग गर्छ। कस्तो वन जलवायु परिवर्तनमा बढी सहयोगी वन्न सक्छन् भन्ने बारेमा पनि केही स्थापित तथ्य र वैज्ञानिक मान्यताहरु छन्।
जैविक विविधता धेरै भएको, पुरानो र प्राकृतिक वन कार्वन संचितिको दृष्टिकोणले बढी प्रभावकारी हुने अध्ययनहरूले देखाएका छन् र यस्तो खाले वन नै जलवायु परिवर्तनको अनिश्चिततासँग जुध्न बढी प्रभावकारी हुन्छन्। एकल प्रजातीयभन्दा बहुप्रजातीय वन पर्यावरणीय सेवाको लागि समेत राम्रो र बढी उपयोगी हुन्छन्।
वैज्ञानिक वनमा जैविक विविधताका सवालहरु
देशको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्रको रुपमा छुट्टयाए पश्चात अब वैज्ञानिक वनमा जैविक विविधता किन चाहियो भन्ने तर्क पनि सुनिन्छ। सतही रुपमा हेर्दा यो तर्क आफैमा त्यति गलत हैन तर वन व्यवस्थापनका नवीन मान्यताहरू, दिगो वन व्यवस्थापनका सिद्धान्त, व्यवस्थापन गरिने वनको प्रकार, वनमा आश्रित समुदायको वनप्रतिको निर्भरता र विकसित हुँदै गरेका क्षेत्रीय र विश्वव्यापी वातावरणीय समस्याहरूको कसीमा वन व्यवस्थापनलाई हेर्न सकेमा मात्र यो तर्कको न्यायपूर्ण छलफल गर्न सकिन्छ।
संरक्षण क्षेत्र बाहिर स्थापित हुँदै गरेको संरक्षणको आवश्यकता छुट्टै र विस्तृत बहसको विषय बन्न सक्छ। अहिले सघन रुपमा व्यवस्थापन गरिएको वनमा जैविक विविधता सम्बन्धी मुख्यगरी दुई थरि चासोहरू देखिन्छन्। पहिलो हो वन सम्वर्द्धन प्रणाली सम्बन्धी र दोश्रो हो, अहिले अपनाएको व्यवस्थापनले जैविक विविधतामा कस्तो असर पार्ला भन्ने। अहिले अपनाइएको वन सम्वर्द्धन प्रणाली स्थान विशेष अनुसार सबै ठाउँको लागि उपयुक्त छैन भन्ने बहस धेरै नै भैसकेको हुँदा यहाँ दोश्रो पक्षमा केही छलफल गर्ने प्रयत्न गरिएको छ।
तराई, भित्री मधेस र चुरे क्षेत्र को वन प्राकृतिक, धेरै पुरानो र जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण भएको हुनाले उक्त क्षेत्रमा प्राथमिकताका साथ लागू गरिएका यो व्यवस्थापनमा जैविक विविधताको सवाल मिहिन ढंगले हेर्नुपर्छ।
तराईमा पछिल्लो समयमा देखिएका वातावरणीय समस्याहरूसँग चुरे भावर र तराईको सालको वनको जैविक विविधताको सोझो सम्बन्ध भएको कारणले पनि जैविक विविधताको बारेमा चिन्ता स्वाभाविक हुन्छ। त्यसैगरी हाम्रो वन बहुपयोगी र धेरै वातावरणीय सेवाहरूको श्रोत भएको हुनाले यस्तो व्यवस्थापनले ती वातावरणीय सेवा र वनको बहुपयोगी चरित्रमा कस्तो असर पर्ला भन्ने चासो पनिदेखिन्छ।
वैज्ञानिक वन व्यवस्थापनले जैविक विविधतामा कस्तो असर पार्छ त भनेर मूल्यांकन गर्न हामीसँग दीर्घकालीन अध्ययनको नतिजा त छैन तर केही आधारहरू भने पक्कै छन्। वैज्ञानिक वनको गाइडलाइन २०७१ र सो बमोजिमका कार्ययोजनाहरू, सामुदायिक वनको सर्वेक्षण सम्बन्धी मार्गदर्शन र वैज्ञानिक व्यवस्थापन गरिएका वनहरुमा सम्पन्न प्रारम्भिक अध्ययनहरूको आधारमा विश्लेषण गर्दा जैविक विविधतामा के कस्तो असर प्रभाव पर्ला भन्ने कुरालाई मुख्यगरी निम्न बुँदाहरुमा समेट्न सकिन्छः
- पुनरुत्पादन सुधार तर लक्षित प्रजातिको अधिक बाहुल्यता र एकात्मकताः
काठको उत्पादन वृद्धि सँगसँगै वनको अवस्था सुधार गर्ने लक्ष्य राखेको यो व्यवस्थापनले लक्षित प्रजातिको पुनरुत्पादन प्रवर्द्धन गर्न सफल भएको प्रारम्भिक अध्ययनहरुले देखाएका छन् र यसलाई यो कार्यक्रमको सफलताको रुपमा समेत अर्थ्याउने गरिएको छ। डढेलो र चरिचरण रोकेको खण्डमा सालको वनमा छत्रघनत्व खुला हुँदा सालको पुनरुत्पादन राम्रो हुन्छ।
पुनरुत्पादन कम भएको वनमा लक्षित प्रजातिको पुनरुत्पादन सुधार हुनु सकारात्मक हो तर लक्षित प्रजाति बढ्दा अन्य प्रजातिको अवस्थामा पनि सुधार हुन्छ भन्ने कुनै सुनिश्चितता छैन। अमेरिकी वन विज्ञ जेरी फ्र्यांकलिनका अनुसार लक्षित प्रजातिको पुनरुत्पादन राम्रो देखाएर समग्र व्यवस्थापनको सफलता देखाउने कुरा नयाँ भने हैन।
लक्षित प्रजातिको मात्र वृद्धि हुँदा कालान्तरमा वनमा एकल प्रजातिको अधिक बाहुल्यता बढ्ने, रुखहरुको प्रजाति समिश्रण र विविधता घट्दै जाने तर एकरुपता र एकात्मकता भने बढ्ने सम्भावना हुन्छ। प्राकृतिक वनमा रुखहरुमा एकात्मकता ’होमोजेनाइजेसन’ बढ्ने कुरालाई दिगो वन व्यवस्थापनको सिद्धान्त अनुसार राम्रो मानिदैन।
लक्षित प्रजातिको पुनरुत्पादनको वृद्धि वनको अवस्था सुधारको एउटा सूचक हो नै तर अन्य सूचकहरु समेतलाई हेरेर मात्र समग्र वनको अवस्था सुधार हुने नहुने कुराको मूल्यांकन गर्दा उपयुक्त हुन्छ। के भयो भने वनको अवस्था सुधार हुन्छ भन्ने कुरा वनलाई हेर्ने व्यक्तिको समग्र दृष्टिकोण अनुसार फरक हुन्छ नै तर यस्तो मापन समग्रतामा गर्न सकियो भने राम्रो हुन्छ।
- बहुउपयोगी वनमा काठ केन्द्रित व्यवस्थापनः
नेपालको साल लगायत सबै वनहरु बहु-प्रजातीय र बहुपयोगी छन्। बहुप्रजाति र बहुपयोगिता स्थानीय समुदायको संस्कृति र जीविकोपार्जनका महत्वपूर्ण अंगहरु हुन्। वनको प्रजातीय विविधता र स्थानीय समुदायको बहुपयोग बीचमा सोझो सम्बन्ध छ।
वैज्ञानिक वन व्यवस्थापन काठको दृष्टिकोणले महत्वपूर्ण र आकर्षक मानिएको प्रजातिमा केन्द्रित छ र वनको बहुपयोगितालाई कायम राख्ने गरी व्यवस्थापन गर्ने स्पष्ट योजना र कार्यक्रमहरू देखिदैनन्। वन व्यवस्थापन दिगो बनाउनलाई बहुपयोगिता र बहुप्रजातीलाई अवलम्बन गर्नु पर्दछ।
- प्रजातीय विविधतामा ह्रासः
जैविक विविधता एक बृहत्तर अवधारणा हो। तर प्रजातीय विविधता मार्फत यसलाई व्यवहारिक र सहज रुपमा अभिव्यक्त गर्न सकिन्छ। वनस्पति र जीवजन्तुका मुख्य समूहहरुको आधारमा जैविक विविधताको अवस्था विश्लेषण गर्न सकिन्छ। व्यवस्थापन गरिने वनमा जैविक विविधताको नाममा एक एक प्रजातिको संरक्षण गर्नु पर्छ भन्ने छैन नै तर व्यवस्थापनले जैविक विविधताका मुख्य अवयव र सूचकहरुको संरक्षण गर्नु पर्दछ भन्ने मान्यता छ।
हालको सघन व्यवस्थापन गरिएको वनमा दीर्घकालीन रुपमा प्रजातीय विविधतामा सकारात्मक प्रभाव पर्ने कुराको सुनिश्चिता देखिदैन। सीमित मात्रामा गरिएका प्रारम्भिक अध्ययनहरुले प्रजातीय विविधतामा प्रतिकूल असर पार्ने देखाएका छन् जुन कुरा दीर्घकालीन समेत हुन सक्छ। नेपालको तराईको वन शितोष्ण क्षेत्रको कोणधारी वन जस्तो सीमित प्रजातिका रुखहरु र भुइँमा केही झारहरू मात्र हुने वन हैन।
सालको प्राकृतिक वनमा रुख बुट्यान र लतालहराहरु महत्वपूर्ण अवयवहरु हुन् जसमा व्यवस्थापनको प्रतिकूल प्रभाव परेको प्रस्टै देखिन्छ र त्यस्ता अवयवहरुको संरक्षणको सुनिश्चितता गरेको देखिदैन। स्थान विशेष अनुसार कतिपय सालको वनहरूमा दीर्घकालीन मानवीय प्रभाव स्वरूप वनको प्रजाति विविधता घटेको भएपनि त्यो अवस्थालाई सामान्यीकरण गरेर सालको वन प्रजातीय दृष्टिकोणले महत्वपूर्ण छैन भन्न मिल्दैन।
- बासस्थान रुख र लघु बासस्थानहरुमा असरः
तराईमा व्यवस्थापन गरिएको वन वृक्षारोपणमार्फत कुनै व्यवस्थापन अन्तर्गत विकास भएको नभइ हजारौँ वर्षको इतिहास भएको प्राकृतिक वन हो र त्यहाँ सयौँ वर्ष पुराना रुखहरु समेत छन्। पूरानो जंगलमा बुढा र भीमकाय रुखहरु केवल रुख मात्र हैनन्, ती आफैमा बासस्थान हुन् र तिनमा धेरै थरिका लघु बासस्थानहरु समेत हुन्छन्।
त्यस्ता बासस्थान रुख र तिनमा विकास भएका लघु बासस्थानहरुले विभिन्न प्रजातिका सुनाखरी, उन्यु, खपटे किरा, सर्प भ्यागुता, गोहोरो, लोखर्के र चराहरूलाइ बासस्थान र शरण समेत प्रदान गर्दछ। यस्ता जीवजन्तुहरु प्राकृतिक वनका महत्वपूर्ण अंग हुन्। अहिले अपनाइएको सघन व्यवस्थापनमा त्यस्ता रुखहरुको संरक्षण गर्ने कुनै प्रस्ट उपायहरु अपनाएको देखिदैन।
रुख काट्ने क्रममा छोडिएका केही माउ वा छहारी रुखहरुको थोरै सकारात्मक भूमिका हुने भए पनि तिनले मात्र बासस्थान रुखको भूमिका खेल्न र लघुबासस्थानको सुरक्षा सुनिश्चितता गर्न सक्दैनन्। बासस्थान रुख र लघु बासस्थानहरुमा हुने परिवर्तनसंगै तिनमा आश्रित हजारौ प्रजातिका जीव जन्तुहरुमा जोखिम बढ्ने कुरालाई कुनैपनि दिगो वन व्यवस्थापनले नजरअन्दाज गर्न मिल्दैन।
यसरी सुधार गर्न सकिन्छ जैविक विविधताको अवस्था
राजनीतिक परिवर्तन र स्थायित्वपछिको आर्थिक अपेक्षा पूरा गर्न वनको सक्रिय र दिगो व्यवस्थापन गर्नु पर्छ भन्ने कुरामा सायदै विमति होला। तर, मुख्य कुरा वनलाई समग्रमा कसरी हेर्ने र कसरी व्यवस्थापन गरियो भने दिगो वन व्यवस्थापन हुन्छ भन्ने हो। वनको वैज्ञानिक व्यवस्थापन भनेको कुनै खास सम्वर्द्धन प्रणाली वा तौर तरिकाबाट रूख काट्नु पर्छ, यति मात्रामा मात्र रूख काट्नु पर्छ र यस्तो विधिबाट मात्र व्यवस्थापन गर्नु पर्छ भन्ने अकाट्य कुरा र एकल सुत्र केही छैनन्।
तर व्यवस्थापनमा अपनाउन पर्ने केही सिद्धान्तहरू र मान्यताहरू पक्कै छन्। तिनै सिद्धान्त र मान्यता अवलम्बन गर्दै हाम्रा आफ्नै पनि सिकाइहरुको आधारमा हामीले आफ्नो आवश्यकता पूरा गर्ने हिसाबले सम्वर्द्धन प्रणाली र व्यवस्थापन योजना विकास गर्न सकिन्छ। पश्चिम युरोपमा ३०० वर्ष अगाडि सुरु भइ विकास भएको भएको आधुनिक वन व्यवस्थापन सम्बन्धी अनुभवको सिकाइको सार पनि यही हो।
त्यसमाथि वन व्यवस्थापनले समाजको आर्थिक अपेक्षा सँगसँगै वातावरणीय चुनौती र सामाजिक चहानाहरुलाई पनि सम्बोधन गर्नुपर्ने दबाबलाई नकार्न सकिँदैन। औपनिवेशकालीन र युरोप र अमेरिकाको तत्कालीन आवश्यकताको पृष्ठभूमिमा विकास भइ र समयक्रममा परिमार्जन समेत गरिएका व्यवस्थापनका मोडेलहरू हाम्रोमा हुबहु उपयुक्त हुन्छन् भन्ने छैन तर तिनका अनुभव पक्कै काम लाग्छन्।
हामीसँग उपलब्ध अनुभव र विज्ञानले भन्छ व्यवस्थापन गर्ने वनमा जैविक विविधता संरक्षण र काठ लगायतका वस्तु र सेवाहरूको उत्पादन संगसँगै लैजान सकिन्छ। त्यसको लागि वनबाट बृहत्तर फाइदा लिने र ती फाइदा लिने क्रममा वनको जैविक विविधतालाई कम क्षति गर्ने विधिहरू आफै तय गर्दै अगाडि बढ्न सकिन्छ।
सबै वन जैविक विविधताको हिसाबले उत्तिकै महत्वका छैनन् र आर्थिक मूल्य राम्रो भएका वनको सघन व्यस्थापन गरी लाभ लिनुपर्ने हुन्छ। तर तत्कालीन आर्थिक फाइदालाई मात्र प्राथकिता दिइ व्यवस्थापन गर्दा वनको जैविक विविधतामा प्रतिकुल प्रभाव पर्नुका साथै दीर्घकालीन वातावरणीय जोखिम बढ्छ। वनको जैविक विविधताको सूक्ष्म विश्लेषण गर्दै स्थान अनुसारको व्यवस्थापन अवलम्बन गर्न सकिन्छ।
हामीसँग वनको जैविक विविधताको सूक्ष्म विश्लेषण (व्यवस्थापनमा काम लाग्ने गरीको) गरिएको विश्वासनिय तथ्यांक छैन नै भन्दा हुन्छ। समग्र जैविक विविधताको तथ्यांक अहिले हाम्रो आर्थिक र प्राविधिक क्षमता बाहिर हुन सक्छ तर छोटो र कम खर्चिलो विधिहरू प्रयोग गरेर केही महत्वपूर्ण तथ्यांक र सूचकहरू सजिलै प्राप्त गर्न सकिन्छ जो निर्णय प्रकृयामा उपयोगी बन्न सक्छन्।
उदाहरणको लागि कुनै वन क्षेत्र पानीको मुहान संरक्षण गर्न र दुर्लभ सुनाखरीको प्रजातिको लागि महत्वपूर्ण छ भने उक्त वनमा तुलनात्मक रुपमा (अहिले अभ्यास गरिएको ८० वर्षभन्दा) लामो बाली चक्र अवलम्बन गर्न सकिन्छ। व्यवस्थापन गरिने वनक्षेत्रमा कुनै रैथाने ’इन्डेमिक’ प्रजाति रहेछ भने व्यवस्थापनले उक्त प्रजातिलाइ नकारात्मक असर नपर्ने सुनिश्चितता गरिनु पर्दछ।
संरक्षण क्षेत्र बाहिर राज धनेश लगाएत प्रचलित कानुन अनुसार संरक्षित र संकटापन्न प्रजाति पाइने पुरानो वनलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा वन विशेष र स्थान विशेष अनुसार छुट्टै योजना बनाउन सकिन्छ। जैविक विविधताको दृष्टिकोणले कम महत्वपूर्ण र पुनरुत्पादनमा समस्या भएको वनमा उत्पादनलाई बढी महत्व दिंदै सघन व्यवस्थापन प्रणाली अवलम्बन गर्न सकिन्छ। कुन वनक्षेत्रमा उत्पादन बढी महत्व र कुन क्षेत्रलाई संरक्षणमा बढी महत्व दिने भन्ने कुरा उपलब्ध तथ्यांक र विज्ञहरुको राय अनुसार गर्न सकिन्छ।
अन्त्यमा, हामीले आजको आर्थिक फाइदालाई केन्द्रमा राख्दा त्यसको सम्भावित दीर्घकालीन असरहरु प्रति सचेत हुनै पर्छ र वनको प्रत्यक्ष आर्थिक महत्व जति छ, त्यतिकै अप्रत्यक्ष र दीर्घकालीन महत्व पनि छ भन्ने कुरा मनन मात्र गरियो भने पनि वन व्यवस्थापनलाई साँच्चिकै दिगो बनाउन सकिन्छ।
अमेरिकी सिनेटर हबर्ट हम्फ्रेको शब्दमा भन्दा, वनलाई रूख र रुखलाई काठ मात्र भनेर बुझ्यौँ भने वन व्यवस्थापनलाई दिगो बनाउन कदापि सकिदैन। समाजको आर्थिक वृद्धिको अपेक्षामा प्राकृतिक वनलाई केन्द्रमा राख्दै गर्दा हाम्रो अगाडिका वातावरणीय चुनौतीहरुलाई समेत हृदयंगम गर्दै वन व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा सबै सरोकारवाला बीचमा बहस गर्दै अगाडि बढ्नु नै आजको आवश्यकता हो।
(लेखकद्वय फरेस्ट एक्सन नेपालमा कार्यरत छन्।)