तिहार मनाएर काठमाडौँ फर्कदै गर्दा, त्यस्तै चार बजेतिर नौबिसेको उकालो लाग्दा अचानक जाम सिर्जना भयो। जाम पनि चार घन्टाको हुन पुग्यो।
हुन त चार घन्टे जामलाई हाम्रोमा सामान्यमा नै लिनुपर्छ। मजस्तै हजारौँ मानिसका घन्टौँ जाममा बसेका अनुभव छन्। यो खासै नौलो विषय पनि रहेन अब।
तर त्यो चार घन्टाको अवधिमा मैले देखेका तितो अनुभव आजको मेरो विषय हो। कुरा, व्यक्तिले जेसुकै होस् खाएर गाडीदेखि बाहिर सडकमा फाल्ने फोहोरको हो।
गाडीमा यात्रा गरिरहेको मानिसले कुनै कुरा खाइसकेपछि बाहिर फोहोर फाल्न उसलाई किन अलिकति पनि हिच्किचाहट हुँदैन भन्ने विषयमा म निकै बेर सोच्न बाध्य भएँ।
विषयको उठानसँगै यस्तै एउटा अनुभवः
कुरा लगभग दुई वर्ष अगाडिको हो। त्यो दिन शनिबार पनि परेको थियो। म त्यो दिन काम विशेषले बिहानै बसुन्धरा चोकमा आइपुगेको थिएँ। त्यहाँ नजिकै तीन वटा स्कुलका (स्कुलको नाम नभनूँ) गाडी लहरै राखिएका थिए।
गाडीमा विद्यार्थीहरु पनि बसेका थिए। सर्सर्ती हेर्दा गाडी पिकनिकका लागि तयारी अवस्थामा देखिन्थ्यो। लगत्तै हिड्यो पनि। त्यो दृश्यलाई गौर गर्नका लागि म एकछिन रोकिएँ। तीन वटै गाडीहरु त्यहाँबाट गन्तव्यतिर प्रस्थान गरिसकेपछि म आश्चर्यचकित भएँ।
कारण थियो, गाडी राखिएको चारैतिर विद्यार्थीहरुले खाएर फालिएका चाउचाउ, कुरकुरे, लेज लगायतका फोहोरहरु गाडीकै आकारमा भुइँमा स्पष्टसँग देख्न सकिन्थ्यो। म सार्वजनिक गाडी चढेर गन्तव्यतर्फ जाँदै गर्दा त्यही विषयले मनमा उथलपुथल बनायो।
लाग्यो, समस्याको जड त यहाँ पो छ त! हाम्रा विद्यालयले कस्तो शिक्षा दिँदै छन्। के सभ्यता सुरूआतको जग विद्यालय नै होइनन् र? हामी कत्ति पनि ठिक अवस्थामा छैनौँ है? यस्तो पनि के सिकाइ!
वर्षभरी पाठ नै सकाएर पनि व्यावहारिक सिकाइ त नहुने रहेछ भन्ने खालका यस्तै अनेक रटना मनमा खेलाउँदै म गन्तव्यमा पुगेको थिएँ। यही कुरा मेरा समकालीन साथीहरुलाई पनि भनेको थिएँ।
ठिक यस्तै दृश्य मैले यति बेलैको यात्राका क्रममा देखेँ।
विश्वकपमा हार्नु परेको पीडा सहन गर्न नसकी रोइरहेका जापानी खेलाडीले रुदैँ स्टेडियमा फालिएका फोहोरहरु बटुलेको दृश्य कति कारुणिक, प्रशंसनीय अनि कति अनुकरणीय थियो। यो संसारका लागि सभ्यताको सबैभन्दा ठूलो पाठ थियो।
हुन त यो एक रातको कमाइ पक्कै पनि होइन, वर्षौंवर्षको साझा अभ्यास हो। जापानीहरुले यी र यस्ता कुराहरुलाई आफ्नै धर्म संस्कृतिजस्तै निरन्तर अभ्यास गरे, त्यसैले त आज विश्वमा नमुना बनेका छन्।
यसो गर, उसो गर भनेर आफूले गर्नेभन्दा पनि अर्कालाई कज्याएर गरी खाने हाम्रो संस्कृति सामन्ती संस्कृति नै हो। यो कुराको पुष्ट्याइँ भिन्न भिन्न समयमा सामाजिक सञ्जालमा भाइरल हुने नेताहरुका छाता काण्ड, माला पहिरन, खोलो तर्ने तरिका आदि हुन् भन्न सकिन्छ।
मेरो नजिकैको सिटमा एकजना दिदी हुनुहुन्थ्यो। हामीले केही सुन्तला पनि ल्याएका थियौँ। खानका लागि हामीले बाड्यौँ पनि। बोक्रा छोड्याएर उनले पनि अत्यन्त सहजका साथ ढोकादेखि बाहिर नै फालिन्। फाल्ने पनि मैले यहाँ राखेको भए पनि हुने भन्ने कुरा एकै साथ हुन पुग्यो। आखिर सडक त फोहोर भयो नै।
अहिले काठमाडौँका गल्ली र चोक चोकमा मास्कका थुप्रा देख्न सकिन्छ। कोराना सङ्क्रमणमा सघाउ पुर्याउने भाइरसलाई त एक न एक दिन परास्त गरौँला तर त्यसले छोडेका ती फोहोरी अवशेषलाई (मास्क) कसरी परास्त गर्ने, निकै नै चुनौती बन्न पुगेको छ।
किन सडक या सार्वजनिक ठाउँहरु देखेर हामीमा हाम्रो भन्ने भावना पलाउँदैन? फोहोर मिल्क्याउन किन यति सहज हुन्छ हाम्रा लागि सडक वा सार्वजनिक स्थल?
त्यो किसिमको भावनाको विकास नभएसम्म त हामी कहिल्यै पनि सभ्य नागरिक त हुनै सक्दैनौँ। सबैभन्दा ठूलो कुरा असल बानीको निर्माण हुनु हो। बानी परिवर्तन जुनसुकैका लागि पनि गाह्रो कुरा हो। सभ्यता भन्ने कुरा यस्तै ससाना असल बानीहरुको साझा समूह हो।
त्यसैले सभ्यता निर्माणका लागि हामीले कठोर नियम बनाउन पनि सक्नुपर्छ र पालनाका लागि बाध्य पारिनु पर्छ। यही सन्दर्भमा झन्डै चालिस वर्ष शासन गरेर मरुभूमितुल्य सिंगापुरलाई लि क्वान युले कसरी संसार कै सम्पन्न र सभ्य मुलुक बनाए।
उल्लेखित कुराले हाम्रा नेतृत्वकर्तामा पनि सही योजना र सही अनुगमनको खाँचो टड्कारै देखिन्छ। हाम्रोमा योजनाहरु पनि बन्छन्, ढिलै भए पनि काम हुन्छ तर अनुगमन अर्थात् मर्मतसम्भार भने पटक्कै हुँदैन।
बनेका योजना/नियमको सही पालनकर्ता मजस्तै नागरिकको पनि हो। सधैँ राज्यलाई मात्रै सराप्ने अनि घरबाट निस्किएको फोहोर बाटोमै मिल्क्याउने संस्कृति जबसम्म हामीमा रहन्छ, तबसम्म हामी सभ्य नागरिकको दर्जामा उक्लन सक्दैनौँ पनि।
एक थुकी सुकी, सय थुकी नदी भनेझैँ हरेक व्यक्तिको मनमा सकारात्मक सोच, मेरो नभइ हाम्रो भन्ने भावना जन्मदाका घडीमा साँच्चिकै देशले सभ्यताको पगरी गुथ्ने छ।
बहुभाषी, बहु-सांस्कृतिक हाम्रो समाज पक्कै पनि संस्कृतिमा सम्पन्न छ तर सभ्यतामा सम्पन्न छ भन्न मलाई अलिक शंका छ। किनकी यो सिधै व्यक्तिको आचरण, काम गराइको तरिका र आन्तरिक सुझको प्रतिफलबाट मात्र प्राप्त हुने कुरा रहेछ।
यात्रा गर्दा होस्, वा कहीँकतै जाँदा, केही कुरा फ्यात्त फाल्नुभन्दा अगाडि सोच्ने क्षमताको विकास नहुँदासम्म हामी कहिल्यै पनि सभ्य त हुनै सक्दैनौँ। सभ्यता विकासमा स्वयम् एक व्यक्तिको पनि ठूलो भूमिका हुने गर्दछ। म लामो खालको यात्रा गर्दा विशेषत: काठमाडौँका ठूला सपिङ मलतिर दिनेजस्तै झोला बोक्ने गर्दछु।
त्यसमा यात्रा गर्दा खाने फास्टफुड हुने गर्दछन्। त्यसबाट निस्कने फोहोरलाई म/हामी त्यही झोलामा नै राख्दछौँ। निश्चित ठाउँमा लगेर बिसर्जन पनि गर्दछौँ। म/हामीजस्तै लाखौँ यात्रीले यस्तै गरी केही रचनात्मक कार्य गर्ने हो भने केही हदसम्म त सडकको फोहोर व्यवस्थापन हुने थियो जस्तो लाग्छ।
अर्को कुरा, हाम्रा ससाना बालबालिकाहरुलाई विद्यालय तहबाट नै व्यावहारिक शिक्षामा जोड दिन सके र यसमा साँच्चिकै अभिभावकको साथ भए सायद हामीले खोजेको सभ्यता वा फोहोर व्यवस्थापनमा कमि हुने थियो कि?