मेरा बा र आमा अठासी वर्ष पुग्नुभयो र म अठ्चालिसको भएँ। तर आजसम्म मैले मेरा बा र आमाको पवित्र हातले विषादी र विकासे मल छोएको देखेको छैन। म एक कृषि प्राविधिक भईकन पनि ती चिज प्रयोग गर्न मेरा बा र आमालाई उकास्ने दुस्साहस कहिल्यै गरिनँ। सम्भवतः यसको आवश्यकता नपरेर नै होला।
उहाँहरू भोजपुरको दुरदराज गाँउमा हुनुहुन्छ र ढुंगा र माटोले बनेको घरमा बस्नुहुन्छ। बेलाबखत मठमन्दिर, देवी देवताको दर्शन गर्न र उपचारका लागि शहर बजार चाहार्नुबाहेक आजसम्म पनि ढुंगा माटो, बाख्रा, कुखुरा, गाई, भैंसी र कुकुर बिरालोसँग खेलेर नै रमाईरहनु भएको छ। घरबगैंचामा उब्जने थरिथरिका सागसव्जी र मौसम अनुसारका फलफूलको स्वादमा रमाउने मनलाई शहरको भीडभाड र कोलाहल आजसम्म तान्न सकेको छैन।
बेंसीको मालमासे खेतमा फलेको मसिनो धानको भात, त्यहीँ खेतको आलीमा फलेको मासको दाल, मलखाडी नजिकै मौलाएको फर्सीको मुन्टा र आफैंले पालेका स्याकिनी कुखुराको तिहुन अनि घरबारीमा फलेको डल्ले कोदोबाट बनेको तीनपानेको स्वादमा आजसम्म पनि उहाँहरू रमाईरहनुभएको छ। सम्भवत उहाँहरूको दीर्घ जीवनको रहस्य पनि यहीँ हो।
भोजपुरको षडानन्द नगापालिका वडा नं. ८ को सेमेङ गाँउमा अहिलेसम्म परम्परागत पद्धति अपनाएर खेतीपाती र पशुपालन गरिन्छ। यहाँ खेती गरिने बाली तथा जातहरू र पशुपंक्षीहरू सतप्रतिशतजसो रैथाने प्रजातीका छन्। पन्ध्र सय भन्दा बढी उचाईका खेतमा भंगेरी, पाथीभरा, हिमाली अट्टे, एक हजारदेखि पन्ध्रसय उचाईका बिचमा बेलकुटी, बाङ्गेमसिनो, जमदार मसिनो, तुलसी–टिमुरे जातहरू र बेंसीका कटहरे, बिर्ते, मालमासे, त्रियासी फाँटमा हलपुँडा, मन्सरा, मनिपुरे, बुढो मसिनो, फुलपाटो मसिनो, बटिया जातका धानको खेती गरिन्छ। यी सबै रैथाने जातहरू नै हुन्।
रैथाने जातको खेती गरिरहेकै कारणले यहाँका कृषकहरूले आकलझुकल पर्ने असिना, खडेरी, बढी पानी परेर वा हावाहुरी जस्ता प्राकृतिक कारणले हुने नोक्सानी बाहेक रोग कीराको प्रकोप वा तराई क्षेत्रमा गतसालको गरिमा धान जस्तो गलत बीउको प्रयोग र विस्तारले पुर्याएको जस्तो नोक्सानी यहाँका कृषकहरूले कहिले पनि व्यहोर्नु परेको छैन।
मुला, रायो, काउली, बन्दाकोपी, गाँजरजस्ता तरकारीको बीउ बाहेक अन्य बीउ बजारबाट नकिन्ने यहाँका कृषकहरूले तराईका कृषकहरूले भागे जस्तो मकैमा दाना नलाग्ने समस्या र भक्तपुर जिल्लाको तत्कालिन १६ वटा गाँउ विकास समितिमा हाइब्रीड धानमा दाना नलागेर क्षतिपूर्तिका लागि कृषि विभाग र मन्त्रालयको ढोकामा जुलुस लिएर जानुपर्ने जस्तो वाध्यता पनि यहाँका कृषकहरूलाई हालसम्म परेको छैन।
रासायनिक मल नहाले धानमा दाना नलाग्ने होकी भनेर कोरोनाको कहर नभनी घण्टौं टन्टलापुर घाममा लाईन लागेर एकदुई बोरा युरिया वा अन्य रासायनिक मल ल्याउनै पर्ने वाध्यता पनि यहाँका कृषकहरूलाई छैन। बढी उत्पादन र आम्दानी लिनका लागि धादिङ, चितवन, बारा, काभ्रेपलाञ्चोक जिल्लाका कृषकहरूले जस्तो टिप्न तयारी तरकारी बारीमा आज विष वर्षाएर भोली टिपेर बजार पु¥याउनु पर्ने हतार पनि छैन। यो अवस्था सम्भवत सरकारी वा गैरसरकारी संस्थाले सञ्चालन गर्ने कृषि विकास कार्यक्रमले हालसम्म नछोएकाले नै सम्भव भएको हो।
घरबगैंचाको परिभाषा यहाँका कुनै पनि कृषकले दिन सकेन भने आश्चर्य मान्नु पर्दैन। तर मौसम र हावापानी अनुसार रायो, मुला, काउली, बन्दाकोपी, गाजर, काक्रा, फर्सी, ईस्कुस, करेला, केराउ, सिमी, बकुल्ला, लसुन, छ्यापी, खुर्सानी, अदुवा, बेसार, बेलचन, सोंप, चम्सुर, धनिया, तरूल, पिडालु, फुलतरूल, सिमलतरूल, आलु, प्रायजसो सबैको घरवगैंचामा देख्न सकिन्छ भने, केरा, सुन्तला, आरू, अम्बा नहुने घरबगैंचा कमै होलान्। गहत, मस्याङ्ग, तोरी, तील, फापर, फिलुङ्गे पनि प्रायजसोले लगाएकै हुन्छन्।
प्रत्येकको घरमा केही कुखुरा र गाईगोरू हुने नै भए भने केहीसँग भेडा, भैंसी, बंगुर, परेवा आदि पनि छन्। केही घरवगैंचामा ज्यामिर, कागती र सेलरोटी बनाउन चाहिने चोप आउने तथा बोक्राको रेसाबाट दाम्लो तथा नाम्लो बनाउन सकिने ओदाल पनि देख्न पाईन्छ। प्रत्येक वर्ष जसो कोदो र मकै रोपिने बारीको डिलमा झ्याम्म परेका दुधिलो, निमारो, बडहर, कुट्मिरो, चुलेत्रो जस्ता डालेघाँसका रूखहरू प्रशस्त देख्दा नमूना कृषि वन यहि हो की जस्तो भान हुन्छ।
गाँउको तल्लो भेगमा बस्ने मानिसहरू प्राय सबैको घरमा दुईचार बोट सुन्तला छन्। केहीसँथ धेरै पनि छ। सुन्ताल साह्र्र स्वदिला भएकाले व्यापारीहरू यहाँको सुन्तला ठेक्का हान्न तैछाड्मछाड् गर्छन्। आज भोली मोटरबाटो पनि पुगेकोले सुन्तला खेती बढ्दो छ। उहीले हाम्रा बा लगायात गाँउका धेरैजनाले धरान सम्म ढाकरमा सुन्तला बोकेर बेच्ने गर्दथे। सेमेङको सुन्ताला धरानवासीको रोजाईमा पथ्र्यो रे। हुन पनि पारिलो पाटो भएकाले यहाँको सुन्ताला असाध्यै मिठो छ।
गाँउमा करोडपति कोही पनि छैनन् तर भरे के खाने र भोली कसरी छाकटार्ने भन्ने स्थितिका परिवार पनि छैनन्। शिक्षक र कर्मचारी बाहेक गाँउमा पढेलेखेका मानिसको वसोवास प्राय छैन। गाँउबाट अमेरिका, जापान, कोरिया, मलेशिया र खाडी मुलुक गई अस्थायी वा स्थायी वसोवास गर्नेको संख्या औंलामा गन्न सकिने छन् भने झापा, मोरङ, सुनसरी, काठमाडौंमा स्थायी वा अस्थायी वसोवास गर्नेको संख्या घरैपिच्छे जस्तो भेट्न सकिन्छ।
देशैभरी मौलाएको यो प्रवृतिले गाँउको रौनक हराँउदै गएको भान हुन्छ। यसले कृषि क्षेत्रमा श्रमशक्तिको अवाभ भने खड्किएको छ। खेतबारी बाँझै रहने क्रम बढ्दो छ। अन्यत्र जस्तो विदेश वा शहरबाट गाँउ फर्किएर व्यवसायिक कृषिमा लाग्ने युवा यहाँ हालसम्म देख्न सकिएको छैन। मुख्य बजार देखि टाढा भएर पनि यस किसिमको थालनी नभएको हुनुपर्छ। यो गाँउको कृषि क्षेत्रमा विकास नपस्नुको कारण पनि विकासे अड्डाहरूका लागि पायक नपरेकाले नै हो। त्यसैले त यो गाँउको कृषि हाल सम्म पनि निश्कलंक छ – न त यसले कसैलाई पिरोलेको छ, न त यसलाई कसैले विथोल्ने प्रयास नै गरेको छ।
नेपालमा बजारले नविथोलेका यस्ता गाँउहरू अझ पनि हजार छन्। यी गाँउहरू रैथाने बाली सम्बन्धी अध्ययन गर्ने अनुसन्धानकर्ताहरूका लागि स्वर्ग समान छन्। यस्ता गाँउका कृषकहरू कस्तुरी हुन्, जस्लाई बहुमुल्य विना आफ्नै शरिरमा छ भन्ने थाहा हुदैन। तर कस्तुरीले विनाको वासना खोज्दै जाँदा शिकारीको चक्रव्युहमा फसेजस्तै यहाँका कृषकहरू पनि कुनै दिन विकासे कृषि विज्ञको वजारमूखी कृषि अर्थतन्त्रको जालोमा फस्नेछन्। यसले क्षणिक रूपमा कृषकहरूलाई आर्थिक लाभ अवस्य देला तर विस्तारै यसका दुष्परिणामहरू पनि देखा पर्दै जानेछन्। प्रकृति र मानव स्वास्थ्य दुवै विटुलो बन्दै जानेछ। जसरी काभ्रेपलाञ्चोक, धादिङ, चितवन र बारा जिल्लाका कृषकहरुले आज भोगिरहेको छन्।
नेपालको कृषि विकासका लागि व्यवसायिकरण गर्नुपर्छ भन्ने कुरामा दुईमत छैन। परम्परागत कृषि पद्धतिले युवा पुस्तालाई कृषिमा आकर्षण गर्न सक्दैन। तर व्यावसायिकरण भनेको हजारौ रैथाने प्रजाती तथा जात र अमुल्य परम्परागत ज्ञानमा आधारित मौलिक कृषि पद्धतिलाई चटक्क विर्सिएर आयातित किवि, एभोकाडो, ड्रागनफ्रुट, ब्रोइलर तथा लेयर्स कुखरा, वोयर तथा जमुनापारी बोका र जर्सी गाई र हाईब्रीड धान तथा मकैको खेती मात्र होइनन्। अनि बारी भरी प्लाष्टिक टनेलमा गोलभेडा, काउली र भन्दा फलाउनु मात्र पनि होइन।
नेपालको भौगोलिक स्थान अनुसार बजार माग उच्च भएका मार्सी, वास्मती, जेठोबुढो, मसिनो, कालोनुनिया जस्ता वासनादार र भात नरम हुनें सयौं रैथाने जातका धान जात छन्। मकै, कोदो, फापर, जौ, सिमी, चिनो, कागुनो, स्याकिनी कुखुरा, खरी बाख्रो, सुन्ताला, कागती, नास्पाती आदिको पनि व्यवसायिक तहमा खेती गर्न सकिन्छ। तर आयातित चिजलाई अतिरन्जित तरिकाले प्रस्तुत गर्ने हाम्रो व्यवहारले यी मौलिक जातहरु ओझेलमा पर्दै गईरहेका छन्। यो क्रम नरोकिने हो भने हाम्रो मौलिक कृषि छिटै नै किम्वदन्तीमा परिणत हुनेछ। अतः कृषि विकासका तिनै तहका अड्डाहरु र सरोकारवाला निकायहरुले यसमा ध्यान दिनु जरुरी छ। हाल केही स्थानीय तहहरुले सानातिना प्रयास थालेको देखिए मौलिक कृषिलाई पुर्णरुपमा आत्मासात गर्न सकेका छैनन्।
मौलिक कृषि प्रवर्धनका लागि कृषि अनुसन्धान र विकासका कार्यक्रमहरू पनि रैथाने जातको पहिचान र प्रवर्धनमा केन्द्रित हुनु पर्दछ। यस्ता गाँउहरूको पहिचान गरी प्राकृतिक प्राङ्गारिक गाँउ घोषणा गरी यस्ता गाँउबाट उत्पादित कृषि उपज उच्च मुल्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा विक्री गर्न सकिने परिपाटी मिलाउनु पर्दछ। यसो गर्न सकिएमा रैथाने जात र परम्परागत ज्ञानमा आधारित मौलिक कृषि प्रणाली आर्थिक उन्नतिको आधार बन्न सक्ने कुरामा दुई मत छैन।