कोरोना महामारीले भएको बन्दाबन्दी, निषेधाज्ञा र अनेक असहज परिस्थितिले धेरै निराशा र जीविकोपार्जनमा समस्या सिर्जना गरे तापनि यसले हामीलाई आफ्नो घरपरिवार, गाउँघर र हाम्रो वरपरको पर्यावरणमा प्रशस्त समय बिताउन भने दिएको छ।
पहिला हामी जस्ता धेरै युवालाई अध्ययन तथा कामको सिलसिलामा सहर जानै हतार हुन्थ्यो। त्यसैले हामी आफ्नो गाउँ र यस वरपरको प्राकृतिक चक्रबाट टाढा भएका थियौँ। तर यो वर्ष त्यस्तो कुनै हतारो भएन। लगभग नौ महिना गाउँमा बस्दा प्राकृतिक वातावरणमा आउने परिवर्तन, घटना र यसले देखाउने फरक फरक रुपरंगलाई नजिकैबाट नियाल्ने र महशुस गर्ने अवसर मिल्यो।
मंसिरको तेस्रो साता लाग्दै गर्दा पहाडी क्षेत्रमा पैयुँ फुलेर वातावरण उल्लासमय भएको छ। उसै पनि यो समयमा मुस्किलले केही वनस्पतिहरु मात्र फुल्छन्। हामी पनि साधारण रुपमा फूल फुल्ने समय भन्नासाथ वसन्त ऋतु र दसैँ तिहारको समय सम्झिन्छौँ।
छोटा हुँदै गएका दिन, मलिन हुँदै शरदको संकेत गरिरहेका घाम र बढ्दै गएको चिसोका बीच गुलाबी-सेतो रंग मिसिएर र कतिपय हल्का सेतो रङमा फुलेका पैयुँले प्रकृतिको रोमान्चकतालाई कायमै राखेका छन्। प्रकृतिले फरक फरक मौसममा फरक फरक ढङ्गले आफ्नो सुन्दरता हामीसामु पस्किन्छ भन्ने उदाहरण पहाडमा ढकमक्क फुलेका पैयुँका फूलले प्रस्तुत गरिरहेका छन्।
पैयुँ (स्थान विशेष अनुसार उच्चारण र लेखाइ फरक पर्नसक्छ) समुन्द्री सतहबाट १२००-२४०० मिटरसम्मको उचाइमा पाइने पतझर वनस्पति हो। अरु पतझर वनस्पतिको तुलनामा यसका पातहरु छिट्टै (असोज, कार्तिक) झर्छन् र मंसिर महिनामा फुल्दछन।
यसको यही विशेषताले पैयुँलाई खास बनाएको छ। कश्मिरदेखी नेपाल, भारत, सिक्किम, भुटान, म्यानमार हुँदै भियतनामका पहाडी क्षेत्रमा पाइने भएकाले नै यसलाई अङ्ग्रेजीमा वाइल्ड हिमालयन चेरी भनिएको हो। पैयुँको वैज्ञानिक नाम प्रुनुस सेरासोइड्स हो। वनस्पति जगतमा प्रुनुस नामक एक जिनस (वंश) छ जसमा फूल फुल्ने हजारौं वनस्पति पर्दछ्न्।
सामन्यतया हामीले सुन्दै आएका आरु, आरुबखडा, खुर्पानी, चेरी, आलमण्ड जिनस प्रनुस अन्तर्गत पर्छन्। प्रनुस एउटा वंश भयो भने यसभित्र धेरै प्रजातिहरु पर्छन् र तिनीहरुका पनि आफ्ना आफ्नै भेराइटीहरु (जात) छन्। फलको प्रकारका आधारमा चेरी पनि प्रुनुस वंशभित्रको एउटा समूह हो जसभित्र धेरै प्रजाति र भेराइटिका वनस्पति पर्छन् र पैयुँ पनि चेरीभित्रै पर्ने एउटा वनस्पति हो।
संसारमा धेरै प्रकारका चेरी पाइन्छन्, कोही फलफूलका रुपमा खाइन्छ,कोही आलंकारिक वनस्पतिको रुपमा प्रयोग गरिन्छ। प्रशस्त पोलेन र नेक्टर भएको फूल फुलाउने भएकाले मौरिपालनमा पनि चेरीको ठूलो महत्त्व छ।
नेपालको पहाडी क्षेत्रमा पाइने पैयुँ चेरीहरुमा पनि विशेष छ भन्न सकिन्छ किनकी संसारमा जाडो मौसम (नोभेम्बर-डिसेम्बर) मा फुल्ने थोरै प्रजातिका चेरी मध्ये हाम्रो देशमा पाइने पैयुँ पनि पर्छ। पैयुँ फलफूलको रुपमा खान खासै प्रयोग गरिँदैन तापनि थोरै मात्रामा यसको फल पाक्ने समयमा (चैत्र-वैशाख) खान सकिन्छ।
गाउँघरमा पेट सफा गर्ने घरेलु औषधिका रुपमा यसलाई प्रयोग गरिएको पनि पाइन्छ। हिन्दु परम्परामा पैयुँलाई पवित्र वनस्पतिका रुपमा प्रयोग गर्ने र असल काठको रुपमा पनि यसको प्रयोग गरिँदै आएको भए पनि यो लेखमार्फत पैयुँको आलंकारिक र मौरीपालनमा यसको महत्त्व माथि थोरै प्रकाश पार्न खोजिएको हो।
जापानमा नेपाली डायस्पोरा बढेसँगै त्यहाँ वसन्त ऋतुमा फुल्ने साकुराका मनमोहक तस्बिरहरु हाम्रा फेसबुक, इन्टाग्रामसम्मै आइपुग्छ्न। जापानमा फुलेका साकुराका तस्बिर देख्दा नेपाल बसेका हामी पनि रोमान्चित हुन्छौँ तर हामी धेरैलाई के थाहा छैन भने साकुरा (प्रनुस सेर्रुलटा) र पैयुँ (प्रुनुस सेरासोइड्स) एउटै वंशका वनस्पति हुन।
यिनीहरुको परिवार पनि एउटै हो। जापान, कोरिया, चिनमा साकुरा फुल्दा त्यहाँ ठूलो उत्सव नै लाग्छ। आन्तरिक तथा विदेशी पर्यटकहरुको साकुरा फुलेको मनमोहक दृश्य हेर्न घुइँचो लाग्छ। जापानमा साकुरा र कोरिया, चीनमा अरु नै नामले चिनिए पनि यो त्यहाँको जीवनशैलीको एउटा हिस्सा बनेको प्रष्ट रुपमा देख्न सकिन्छ। तर नेपालका पहाड नै ढाकेर फुल्ने पैयुँले भने कुनै महत्त्व पाउन सकेको छैन।
'नेपालमा हुँदा पैयुँ नचिन्ने नेपालीले जापान गएपछि साकुरासँग फोटो खिच्छ' भन्ने भनाइ सामाजिक सन्जालतिर यदाकदा सुनिन्छ पनि। यसबाट नै बुझ्न सकिन्छ हामीले पैयुँको महत्त्वलाई कसरी नजरअन्दाज गरेका छौँ। सुरुमै भने जस्तै संसारमा जाडो महिनामा फुल्ने चेरीको प्रजाति एकदमै कम छन्। उसै पनि कम फूल फुल्ने जाडो महिनामा फुल्ने पैयुँ कति महत्त्वपूर्ण छ, हामीले सजिलै अनुमान लगाउन सकिन्छ।
वसन्त ऋतुमा काठमाडौंको घन्टाघर र त्रिचन्द्र क्याम्पस वरपर ज्याकाराण्डा फुल्दा काठमाडौंको सुन्दरताले सीमा नाघ्छ। सामजिक सन्जालदेखि मुलधारका मिडियामा ज्याकाराण्डाको चर्चा हुन्छ।
यदि हामीले हाम्रो पहाड क्षेत्रमा रहेको पैयुँलाई हाम्रा सहर, बगैंचा र पार्कहरुमा स्थान दिनसकेमा यसले हाम्रो सहरी सौन्दर्य बढाउने निश्चित छ। अरु फूल नफुल्ने मौसममा फुल्ने पैयुँ हाम्रो पर्यटन विकासको एउटा आधार पक्कै बन्नसक्छ।
अरु पनि धेरै प्रकारका फूल फुल्ने मौसममा फुल्ने साकुराले त त्यति धेरै पर्यटक आकर्षित गर्नसक्छ भने पैयुँको सम्भावना त त्योभन्दा बढी छ। प्राकृतिक रुपमा पनि सुन्दर सहर, नगर, बगैंचा र पार्क बनाउने नीति सबै तहका सरकारले लिइरहेको सन्दर्भमा पैयुँको उपयोग त्यसको लागि गर्न सकिने आधार प्रशस्तै छ।
सामान्य रुपमा हुर्किएका पैयुँका रुख अलि अग्ला हुन्छन् जुन हाम्रा लागि उपयुक्त नहुन सक्छ तर होचा जातका पैयुँको विकास गर्नु र उचित छाँटकाँटबाट आफूले चाहेको आकारमा ढाल्नु वैज्ञानिक हिसाबबाट पनि कुनै गाह्रो काम होइन।
पैयुँको अर्को महत्त्वपूर्ण पक्ष भनेको यसले मौरीपालन व्यवसायमा खेल्ने सकारात्मक भूमिका हो। प्रशस्त मात्रामा पोलेन र नेक्टर पाइनु र अरु फूल नफुल्ने समयमा फुल्नु नै यसको विशेषता हो। जाडो मौसम सुरु हुनलाग्दा मौरीहरु कमजोर भएका हुन्छन् र उसै पनि खानाको कमि हुन्छ। यस्तो बेलामा मौरीको खाद्यस्रोतको सुनिश्चितता गर्न पनि पैयुँ महत्त्वपूर्ण छ।
जाडो मौसममा मौरीलाई पर्याप्त खाद्यस्रोत उपलब्ध नहुँदा मौरीपालक कृषकले कृत्रिम खाद्यान्नको प्रयोग गरेको अवस्थामा त्यसको विकल्पको रुपमा पैयुँको फूल उपयुक्त विकल्प हुनसक्छ। खाली रहेका जमिन र जङ्गलमा पैयुँको रुख रोपेर मौरीको चरन क्षेत्रका रुपमा विकास गर्न सकिन्छ जसबाट हाम्रा कृषकले उचित लाभ लिन सक्छन्।
जाडो मौसममा मौरीले धेरै मह बनाउँदैन, यो मौसममा मौरीले आफूलाई बचाएर राख्नु नै महत्त्वपूर्ण पक्ष हो। त्यसले पैयुँले मौरीको दीगोपनमा खेल्ने भूमिका अतुलनीय छ। मौरीको दीगोपन कृषकको महबाट हुने आम्दानीसँग मात्र जोडिएको विषय नभइ कृषि व्यवसाय र समग्र पर्यावरणको दीगोपनसँग जोडिएको विषय भएकाले पैयुँको पर्यावरणीय महत्त्व कति धेरै महत्त्वपूर्ण छ भन्ने कुरा सजिलै बुझन सकिन्छ।
हाम्रो पारिस्थितिक प्रणालीको संरक्षण र दीगोपनमा यसको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ। त्यस्तै वसन्त ऋतुमा जब पैयुँका पातहरु पलाएर क्रमश परिपक्व बन्दै जान्छ, त्यो बेलामा टिनोक्यालोइड्स मोन्टानस नामक एमफिडले यसको पातमा एकप्रकारको नेक्टरको विकास गर्छ जुन मौरीले आफ्नो मह बनाउने स्रोतको रुपमा उपयोग गर्छ। यसबाट मौरीको संरक्षण र मौरीपालन व्यवसायमा पैयुँको महत्त्व थाहा पाउन सकिन्छ।
हाम्रा वरपर पाइने वनस्पतिहरु हाम्रो जीवनपद्धतिसँग पनि जोडिएका हुन्छन्। ती वनस्पतिहरुले फरकफरक समयको संकेत गर्छन्। हाम्रो गाउँघरमा पनि पैयुँ फुल्न लाग्दा हिउँदे बाली लगाउने समय आएको रुपमा बुझने गरिन्छ। पैयुँ फुल्न लाग्दा धान काटेको खेतमा खनजोत गरी गहुँ, तोरी,आलु जस्ता हिउँदे बाली लगाउने गरिन्छ।
पैयुँ फुलिसकेपछि सबै खेतबारीका काम सकिने भएकाले फुर्सदको समय आएको रुपमा पनि कृषकहरुले लिने गरेको पाइन्छ। त्यस्तै पैयुँको डालेघाँस बाख्राको आहारको रुपमा उपयोग गर्न सकिन्छ। पैयुँको फल पनि विभिन्न घरेलु औषधिको रुपमा प्रयोग गरिन्छ तर यसको फलको बारेमा उचित वैज्ञानिक अध्ययन, अनुसन्धान भएको पाइँदैन। भएका सीमित अध्ययन पनि विदेशी शोधकर्ताले गरेको पाइन्छ।
प्रकृतिमा भएका कुनै पनि जीवजन्तु तथा वनस्पतिको महत्त्वलाई घटिबढीको रुपमा हेर्नु प्राकृतिक विज्ञानको नियम विपरित छ। पर्यावरण र पारिस्थितिक प्रणालीमा सबैको महत्त्वपूर्ण भूमिका छ। त्यसतै महत्त्वपूर्ण भूमिका भएको वनस्पति पैयुँ हो। काठ, पशुपालनका लागि घाँस,औषधिय गुण र धार्मिक महत्त्वका साथमा पर्यावरणीय सुन्दरता तथा दीगोपन र मौरीपालन व्यवसायमा पैयुँको महत्त्व अतुलनीय छ। तर अझै पनि हामीले पैयुँको उचित सदुपयोग गर्न नसक्नु भने दु:खद छ।
हाम्रा सहर, नगर, बगैंचा र पार्कलाई सुन्दर बनाउन हामी विदेशी फूल, वृक्षको आयात गर्छौं तर हाम्रै देशमा भएका वैभवलाई चिन्न सक्दैनौँ। यिनीहरुको उचित अध्ययन, अनुसन्धान गरी आनुवंशिक संरक्षणमा पनि हाम्रो खासै चासो पुगेको छैन। पैयुँको उचित प्रयोग र विस्तारबाट हामीले पर्याप्त पर्यावरणीय र आर्थिक फाइदा लिनसक्ने पर्याप्त आधारहरु हुँदाहुँदै पनि हामीले यसको महत्त्व बुझन नसक्नु पक्कै सुखद पक्ष होइन।
अबका दिनमा यसको उचित प्रयोगमा सबैको ध्यान जान जरुरी छ। हाम्रा शैक्षिक संस्थाले पनि यसको अध्ययन अनुसन्धानमा ध्यान दिने र यसको महत्त्व सबैलाई बुझाउने हो भने वसन्त ऋतुमा जापान कोरिया, चीनमा साकुरा र काठमाडौंमा ज्याकाराण्डा फुलेजस्तै हाम्रा सहर, नगर, बगैंचा र पार्कहरुमा मंसिर महिनामा ढकमक्क पैयुँ फुल्ने दिन धेरै टाढा नहोला।
रोचक कुरा त के छ भने, चीनको आर्थिक सहर साङघाइले जाडो मौसममा पनि सहरको सुन्दरतालाई वसन्त ऋतुको जस्तै राख्न पैयुँको रोपन र विकासमा ठूलो लगानी गरेको छ तर अपेक्षा अनुसारको नजिता निकाल्न सकेको छैन।
हाम्रो पहाड पर्वतमा रहेका सम्पत्तिलाई अरुले चिनेर त्यसको विकासमा लगानी गरेपनि हामीले भने आफ्नै सम्पत्ति चिन्न सकेका छैनौँ। यो हाम्रो तितो यथार्थ हो। हामीले हाम्रा सहर,नगर,बगैंचा र पार्कमा पैयुँ रोप्न र विकास गर्न साङघाइले जस्तो दुख पनि गर्न पर्दैन।
यो त हाम्रो ठाउँमा सजिलै हुर्कने, बढ्ने रैथाने वनस्पति हो। पैयुँको उचित सदुपयोग गर्न नसकेको यो अवस्थाको अन्त्य गर्न पैयुँको महत्त्व सबैलाई बुझाउन जरुरी छ। हाम्रा पाठयक्रममा पनि अलि महत्त्वका साथ पैयुँको अध्ययन अध्यापन गराउने र मुलधारका मिडियाले पनि पहाडमा फुकेका पैयुँलाई उचित स्थान दिने हो भने आउँदा दिनमा पैयुँको सदुपयोग पक्कै हुनेछ।
(लेखकदवय कृषि तथा वन विज्ञान विश्वविद्यालय,कृषि संकायमा अध्ययनरत छन्।)