अहिले नेपालमा महिला हिंसा विरुद्व १६ दिने अभियान चलिरहेको छ। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो अभियान चल्ने गर्छ। यसैगरी मार्च ८ मा नारी दिवस पनि नेपालमा विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाउने गरिन्छ।
तर नेपालमा महिला हिंसा र बलात्कारका घटना कम हुनेभन्दा दिनानुदिन बढिरहेको देखिन्छ। न यस सम्बन्धमा भएका कानुनहरु प्रभावकारी ढंगले कार्यान्वयन हुन्छ न दोषीलाई कानुनी दायरामा ल्याउने काम नै गरिन्छ। नेपालमा कानुनको प्रभावकारी कार्यान्वयनभन्दा कानुनी रुपमा रहेका छिद्रहरु सामाजिक सांस्कृतिक व्यवहारहरु र महिला प्रतिको गलत सोचले नै महिला हिंसा र बलात्कारका घटना वृद्वि हुनमा मद्दत गरेको देखिन्छ।
अब चर्चा गरौँ संविधान कानुन र शिक्षामा यति धेरै सुधार र परिवर्तन हुँदा हुँदै पनि किन महिला हिंसा र बलात्कारका घटना बढिरहेका छन् त?
शैक्षिक र चेतनाको स्तर
विसं २०६८ को जनगणना अनुसार नेपालको महिला साक्षरता दर ५७.३ प्रतिशत रहेको देखिन्छ। जुन साक्षरता भनेको ब्याचर, मास्टर अध्ययन गरेका महिलाहरुको जनसंख्या होइन। यो त साउँ अक्षर चिनेका महिलाहरुको संख्याको प्रतिशत मात्रै हो।
यसको मतलब नेपालमा महिलाहरुको शैक्षिक स्तर र चेनता पुरुषको भन्दा धेरै कमजोर रहेको देखिन्छ। शिक्षा मन्त्रालयले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार अनि स्कुल छोड्ने र स्कुल बाहिर रहने जनसंख्यामा पनि अधिकांश महिलाहरुको संख्या नै उच्च रहेको देखिन्छ। हाम्रो विद्यालयका कक्षाकोठादेखि बाथरुमहरु पनि महिलामैत्री छैनन्।
सरकारले निशुल्क कण्डम वितरण गर्न सक्छ तर किन विद्यालयहरुमा निशुल्क स्यानेटरी प्याड वितरण सक्दैन? यति मात्रै होइन, छात्राहरुका लागि छुट्टै बाथरुमको व्यवस्था समेत नभएको कारण उनीहरु महिनावारी हुँदा झाडी र खोल्सीमा जानुपर्ने अवस्था अनि साथीहरुको हाँसो अनि हिंसाको कारण विद्यालय छोड्न बाध्य भएका हुन्छन्। तर यो विषयमा न स्थानीय निकायले ध्यान दिएको देखिन्छ न संघीय सरकारले नै।
नेपालमा यौन सम्बन्धी शिक्षा विद्यालय तहदेखि नै खुलाभन्दा पनि गोप्य बनाउदै लगिएको देखिन्छ। विद्यालय तहमा स्वास्थ्य र प्रजनन शिक्षा सम्बन्धी पर्याप्त पाठ्यक्रमको अभाव देखिन्छ भने भएका पाठ्यपुस्तकको पनि उचित र सही रुपमा अध्ययन गरिदैन। यो त तिमीहरुले जानेकै विषय हो वा पछि आफै जान्दछौ भनेर स्वास्थ्य र प्रजनन सम्बन्धी विषयलाई अध्ययनभन्दा पनि लुकाउने र धकाउने गरेर सिकाइन्छ।
यति मात्रै होइन, अहिले पनि हरेक विद्यालयमा स्वास्थ्य र जनसंख्या सम्बन्धी विषय टिफिन पछाडि र अन्तिम पिरियडहरुमा मात्रै पढाइन्छ। जसले गर्दा अधिकांश विद्यार्थीहरु मुख्य मुख्य विषयहरु पढेर हाफ टाइममा विद्यालय छाडेर घरायसी काममा लाग्छन् भने शिक्षकले नै भनेको यो त आफै सिक्ने विषय होलाई उनीहरु जान अन्जानमै कोदोबारी अनि मकैबारी अभ्यास गर्न थाल्छन्। तर असली सिकाइ जुन विद्यालय र अभिभावकबाट हुनुपर्ने, सोबाट भने उनीहरु वञ्चित हुन्छन्।
हाम्रो पारिवारिक सोच र व्यवहारमा पनि यौन शिक्षा र महिलालाई कदर गर्नपर्छ भनेर सिकाइदैन। महिला र पुरुषका लुगा धुदा भिन्दा भिन्दै सुकाउन अनि महिलाका भित्री वस्त्र पुरुषसँगै त परको कुरा, पुरुषले देख्ने गरी समेत सुकाउन हुँदैन भनेर छोपेर सुकाउन सिकाइन्छ। परिवारले दिन पर्ने यौन शिक्षा र स्वास्थ्य र सरसफाइका विषयहरु समेत सिकाएको पाइदैन। किशोर अवस्थामा हुने हर्मोनदेखि शारीरिक परिवर्तनमा मजाक बनाउने र हाँसेर उडाउने गरिन्छ तर उचित सिकाइ अवसर र वातावरण प्रदान गरिदैन।
राजनैतिक र प्रशासनिक क्षेत्र
राजनीतिमा महिलाहरुको सहभागिता बढेपनि त्यो प्रभावकारी हुन सकेको देखिदैन। नेपालको संसदमा महिलाहरुको उपस्थिति १७५, प्रत्यक्ष निर्वाचित संसदमा जम्मा ६ जना मात्रै रहेको, त्यो पनि कसैको बुहारी अनि कसैको श्रीमती र कृपाले टिकट पाएको भरमा मात्रै संसद भवन छिर्न पाएको देखिन्छ।
यसैगरी प्रतिनिधि सभामा जम्मा ३२ प्रतिशत र राष्ट्रिय सभामा जम्मा ३७ प्रतिशत मात्रै महिलाहरुको उपस्थिति रहेको देखिन्छ। यसर्थ महिलाहरुलाई प्रत्यक्षभन्दा दोस्रो दर्जाको हैसियत अर्थात समानुपातिक सहभागिताको रुपमा मात्रै भूमिका दिएको देखिन्छ।
यसैगरी पार्टीको महत्वपुर्ण पदमा भन्दा पनि उपाध्यक्ष र कोषाध्यक्ष जस्ता पदमा मात्रै सहभागी गराउने प्रवृतिले नेपालका राजनैतिक दल र तिनको सोचमा महिलालाई अधिकार र जिम्मेवारी दिनेभन्दा, नाम समावेश गराउने समभागिता सुनिश्चित गराउने मात्रै सोच रहेको देखिन्छ।
आजका दिनसम्म पनि महिला मेयरहरु हातका औँलामा गन्न सकिने गरी मात्रै रहेका अनि हालसम्म पनि गृहमन्त्री, अर्थमन्त्री जस्ता मन्त्रालय, पार्टीका सभापति, अध्यक्ष, महासचिव जस्ता पदमा पुग्न अनि पुर्याउन चाहेका छैनन्। आजका दिनमा पनि कोही महिला गृहमन्त्री भएमा समाचार मात्रै हैन, सामान्य ज्ञानमा आजीवन प्रश्न थपिने र इतिहास बन्ने अवसर हुने निश्चित प्रायः छ। तर हाम्रो सोच महिलाले महत्वपुर्ण काम गर्न सक्दैनन् भन्ने नै रहेको देखिन्छ।
यसैगरी प्रशासनिक तहमा पनि २०६४ को समानुपातिक समावेशी र आरक्षण प्रश्चात निजामति सेवामा जम्मा १३ प्रतिशत अनि सुरक्षा निकायमा सबै तहमा गरी जम्मा १० प्रतिशत मात्रै उपस्थिति रहेको देखिन्छ। राजनीतिमा जस्तै प्रशासनिक तहमा पनि हालका दिनमा गृहसचिव, अर्थ सचिव जस्ता पदमा महिलाको उपस्थिति त परको कुरा काठमाडौं, मोरङ, पर्सा जस्ता जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा देख्न पाइएको छैन।
यी जिल्ला र मन्त्रालयको प्रखुम महिला भएमा पनि सामान्य ज्ञानमा प्रश्न थपिने मात्रै लगातार समाचार बन्ने निश्चित प्रायः रहेको देखिन्छ। महिलालाई जिम्मेवारी दिन नचाहेको हो कि जिम्मवारी लिन नचाहेको हो? महिलाहरु केन्द्रिय निकाय त्यो पनि सिंहदरबारबाट बाहिर जान चाहदैनन् र चाहनेहरु अपवाद मात्रै हुन्।
मन्त्रालय र विभागकै शाखा र महाशाखामा काम गर्न रुचाउने प्रवृति देखिन्छ जसले गर्दा महिलाहरुले काम गर्न सक्दैनन्, उनीहरुबाट सही जिम्मेवारी पूरा हुन सक्दैन भन्ने आमसोच व्याप्त रहेको देखिन्छ। अझ महिलाहरुलाई सहसचिव र सचिवको पिए र सचिवालयमा मात्रै राख्ने प्रवृति देखिन्छ। कुनै शाखामा महिला कर्मचारी बढी भएमा काम हुँदैन, गफ मात्रै गर्छन् भनेर गफ पनि खाली मेरो सर, मेरो बाबु अनि मेरो सारीका मात्रै हुन्छन् भनेर आलोचना गर्ने प्रवृति देखिन्छ।
सामाजिक क्षेत्र र कारणहरु
हाम्रो समाज महिलाप्रति देखावटि रुपमा मात्रै उदार रहेको देखिन्छ। भित्र भित्र समाजका विभिन्न तहमा महिलाप्रति यति धेरै अनुदार रहेको देखिन्छ कि महिलाको कुरा नकाटी खाएको नै पच्दैन। हाम्रो सामाजिक सोच-दिनभरी महिला मुक्तिको गफ दिए पनि घाम अस्ताएपछि पिसाब फेर्न अनि बाहिर निस्कन पुरुषको साथ नै चाहिन्छ।
पुरुष बिना महिलाको भविष्य छैन भनेर गलत व्याख्या गर्न माहिर छ। फिमेल पनि मेल आउँछ, यसैगरी वुमेनमा पनि मेन अनिवार्य भएको भनेर महिलालाई होच्याउने प्रवृति देखिन्छ।
समाजमा गठन हुने दिगो विकास लगायतका विकास निर्माण समितिहरुमा समेत महिलालाई महत्वपूर्ण जिम्मेवारी दिने गरेको पाइदैन। उपाध्यक्ष र समितिमा कोरम पुर्याउन मात्रै सीमित गरिन्छ। उपाध्यक्ष र कोषाध्यक्ष पनि भाग पुर्याउन अनि शक्तिशाली घराना र समाजमा चल्ता पुर्जा घरकी बुहारीलाई नै यस्तो जिम्मेवारी दिने गरिन्छ जसले परिवार र अध्यक्षले भने बमोजिम नै हस्ताक्षर गरिदिने साथै परिवार भने बमोजिम मात्रै गर्ने प्रवृति देखिन्छ।
यसले महिलाहरु भनेको दोस्रो दर्जाको रुपमा मात्रै सीमित हुन पुगेको र महिला भनेको पुरुषले भनेको मान्ने हुन् भनिन्छ जसले सामाजिक गतिविधि क्रियाकलापहरुमा के कसरी काम हुन्छ, बजेट कहाबाँट आउछ अनि कहाँ खर्च हुन्छ भनेर थाहा नपाउने प्रवृति देखिन्छ। जसले गर्दा महिला हिंसा र बलात्कारका घटनामा पनि मिलेमतो हुँदा महिलाहरुले आफ्नो फरक मत र भूमिका राख्न सक्दैनन्।
हाम्रो सामाजिक कारणहरु र सम्बन्धहरु पनि पुरुषप्रधान रहेको देखिन्छ। छोरी माग्न जानुपर्ने, केटी खोज्न पर्नेदेखि लिएर केटा र केटीको परिवार एकसाथ भेट हुँदा केटीको परिवार तल पर्ने अर्थात पहिलो नमस्कार केटी पक्षले गर्न पर्नेदेखि दाइजोदेखि लिएर कोशेली समेत केटी पक्षको परिवारले नै राम्रो दिन पर्ने प्रावधानहरु रहेका छन्।
किन केटा खोज्न हिडेको भन्दा केटी पक्षकालाई गलत नजरले हेर्ने गरिन्छ तर मेरो छोराले दर्जनभन्दा बढी केटी हेरिसक्यो भन्दा गर्भ गर्ने अवस्था छ। साथै मेरी छोरीलाई धेरै केटा हेर्न आए तर कसैले मन पराएनभन्दा छोरी र उसको परिवारप्रति नै घृणा गर्ने प्रवृत्ति विकसित भएको पाइन्छ।
आर्थिक क्षेत्र र कारणहरु
आर्थिक रुपमा झन् महिलाहरु पछाडि परेका छन्। उनीहरुको नाममा कुनै आर्थिक उपार्जनको स्रोत रहेको देखिदैन। घरजग्गा महिलाको नाममा राख्दा रजिष्ट्रेशन दस्तुरमा छुट पाइने आशामा महिलाको नाममा घरजग्गा पास गर्न प्रवृति देखिन्छ तर त्यो घर जग्गा महिलाहरुले बेचबिखन र आफूखुसी प्रयोग र उपभोग गर्न सक्दैनन्।
यसको मतलब, महिलाहरुलाई देखावटी रुपमा मात्रै, अझ भनौँ खुसी पार्न मात्रै काम गरेको देखिन्छ। कुनै पुरुषले मासिक तलब श्रीमतीलाई राख्न दिए पनि खर्चको हिसाब किताब देखाउन पर्ने हुन्छ। तर त्यही पुरुषले जति खर्च गरे पनि न खर्चको न आम्दानीको स्रोत नै खुलाउन अनि कतै पेश गर्न पर्छ। यसरी महिलाहरुलाई आर्थिक रुपले पनि दोस्रो दर्जाको रुपमा चित्रित गरेको देखिन्छ।
सरकारी कार्यालयमा टेबुल मुनिबाट घुसको लेनदेन हुन्छ भनेर सबैले जानेका हुन्छन् नै। यसैगरी कानुनले जे जसरी बन्देज लगाए पनि नेपालमा अधिकांश विवाहमा दाइजोको मोलतोल हुन्छ। यसमा अझ मधेशी समुदाय र तराई क्षेत्रमा बढी हुन्छ तर दिनभरी र सार्वजनिक स्थानमा दाइजो विरोधि अभियान्ताहरु किन कम दाइजो ल्याएको भनेर आफ्नै बुहारीलाई पेट्रोल छर्केर आगो लगाउन पछि पर्दैनन्।
यसमा न हाम्रो प्रशासनले एक्सन लिन सक्छ न प्रहरीले नै। किनकी यो विषय सबैलाई थाहा हुँदा हुँदै पनि किन तै चुप मै चुप गर्न बाध्य छन्?
सांस्कृतिक पक्षहरु र कारणहरु
हाम्रो सनातनि धर्म र संस्कारले पनि महिलालाई विभेद गरेको देखिन्छ। अझै पनि कतिपय देवीको मन्दिरमा रजश्वला भएका महिलालाई पस्न प्रतिबन्ध गरिएको देखिन्छ। मनुस्मृतिदेखि स्वस्थानी वर्त कथाहरुमा समेत महिलालाई विभेदकारी गरेर व्याख्या र विश्लेषण गरेको देखिन्छ।
जंगबहादुरको मुलुकी ऐनदेखि लिएर महिलालाई शिक्षा र आर्थिक अधिकारबाट वंचित गराउने प्रयास गरेको देखिन्छ। यही मुलुकी कानुनको प्रावधानमा टेकेर नै भानुभक्तले हास्ने महिला वेश्या हुन् भनेर वर्णन गरेको देखिन्छ। छोरा भनेको मर्द हो भनेर अझै पनि घर बाहिर कर्मचारीहरुले अफियर्स चलाउने प्रवृति देखिन्छ।
यति मात्रै होइन, रक्सीको नशा लागेपछि महिलाकै अंगको कुरा चल्ने, घरदेखि अफिस अनि अफिसदेखि घर डबल जिम्मेवारी महिलाहरुले मात्रै निर्वाह गर्नुपर्ने। कार्यालय छुट्टी हुनासाथ घर पुग्न पर्ने, अफिसको कामले फिल्डमा जान परेमा घरमा शंका हुने मात्रै अफिसकै पुरुष कर्मचारीहरुबाट गिद्धे नजरको सामना गर्नुपर्ने प्रवृति देखिन्छ।
आफूले अफियर्स चलाउदा मर्द ठानिने, कुनै गलत गरेको नमानिने तर महिलाले गफ गरेर हाँस्दा मात्रै शंका हुने मात्रै होइन, उसलाई वेश्याको संज्ञा दिन पनि पछि पर्दैन हाम्रो पुरुषवादी समाज। के वर्त महिलाले नै लिनपर्ने हो? पानी समेत वर्त लिदा घर बाहिर अफियर्स चलाउने पुरुषको आयु बढ्ने नै हो त। किन महिलाको लागि पुरुषले वर्त लिदैनन्? किनकी उनीहरु पतिपरमेश्वर हुन्। विष्णुका साक्षात अवतार!
समाजमा कमजोर, असहाय अनि पतिले छाडेको महिलालाई नै बोक्सीको आरोप लगाउने मात्रै हैन, कुटपिट गर्ने गु मुत खुवाउन प्रवृति देखिन्छ। यसमा स्थानीय तहका जनप्रतिनिधिहरु नै संलग्न रहेको देखिन्छ। यो सब किन त? यसको एउटै कारण छ, महिला भनेको हेपिने जात हो। निसहाय जात हो भनेर हाम्रो सामाजिक संरचना र आर्थिक पक्षहरुले देखाएकै छ।
चाडपर्व, पूजाआजा सबैमा महिलाहरुको नै कामको चाप बढ्ने गर्छ। चाडपर्वमा महिलाहरुलाई कामको भ्याइनभ्याइ हुन्छ तर पुरुषहरु रक्सी खाने, तास खेल्ने, साथीभाइ भेटेर रमाइलो गर्ने। के महिलाको रमाइलो भनेको पुरुषलाई पकाउदै खुवाउनु अनि पुरुष खुसी हुँदा रमाइलो मान्नु मात्रै हो? के उनीहरुलाई चाहिँ साथीभाइ भेट्ने रहर हुँदैन? अझ सोचौँ त, कुनै महिलाले म पनि काका दाजुसँग तास खेल्छु भनिन् भने त्यो महिला र चेलीलाई समाजले के भन्छ।
कानुनीदेखि शारीरिक प्रावधान
संविधानको धारा ३८ मा महिलाको हक रहेको छ। जसमा महिलाको प्रजनन् सम्बन्धी हक हुनेछ भनेर व्यवस्था गरेको देखिन्छ। प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन सम्बन्धी हक हुनेछ भनिएको छ तर हालसम्मको अभ्यास हेर्दा छोरा, छोरी के जन्माउने भन्ने विषय दम्पति त्यसमा पनि महिलाको अधिकारभन्दा पनि परिवार र समाजले नै तय गरिदिने प्रवृति देखिन्छ।
विवाह अघि त महिलालाई किन ढिलो विवाह, किन विवाह नगरेको भनेर वाक्क दिक्क पार्ने समाज विवाह पश्चात पनि महिलालाई कहिले बच्चा जन्माउने अनि किन छोरी-छोरी भनेर प्रश्नको कारखाना उत्पादन गर्न पछि पर्दैन।
कानुन र संविधानमा लेखेर मात्रै हुने केही होइन रहेछ, जब समाजको सोच अनि सामाजिक संस्कार र व्यहारहरु परिवर्तन हुन सक्दैन भने। यसर्थ हामीले समाजमा रहेको यस्तो गलत सोच र व्यवहारलाई बेलैमा चिर्न नसकेको कारण नै यो आज फैलिदै गएर समाजमा जरा गाडेर फैलिन सफल भएको देखिन्छ।
क्यान्सरको पनि पहिलो चरणमै उपचार गरेमा फैलन पाउदैन तर दोस्रो चरणमा पुगेमा त्यसले असर अझ बढेर जाँदा क्यान्सर लागेको अंग नै काटेर फाल्नुपर्ने अवस्था आउन सक्छ। अहिलेको हाम्रो अवस्था विकृत सामाजिक संरचना र व्यवहारलाई काटेर नै फाल्नुपर्ने अवस्था देखिन्छ।
विवाह र समाज
विवाह अघि लभ गर्दा हुने सेक्स गर्न चाहने तर विवाह चाहिँ सोझि भर्जिन खोज्ने प्रवृति हाम्रो समाजिक मनोविज्ञान नै रहेको पाइन्छ। विवाहपछि भर्जिन नै खोज्ने हो भने विवाह अघि गर्लफ्रेण्डसँग किन सेक्स गरौँ न भनेर प्रस्ताव गर्नु! आफू जस्तो अरु पनि त्यस्तै त होला नि बुझ्न पर्नेमा अरुका छोरी बिटुलाउन खोज्ने अनि आफूले विवाह गर्ने केटी चाहिँ ३२ गुणले युक्त हुनपर्ने प्रवृति देखिन्छ।
नेपालमा एउटा निश्चित उमेरमा विवाह गरिसक्नु पर्ने भनेर समाजले तय गरेको हुन्छ। विवाहलाई सुरक्षा कवचको रुपमा प्रस्तुत गरिन्छ। महिलालाई बाल्यकालमा उसको बाबुले अनि वैँशमा श्रीमानले अनि बुढेसकालमा छोराले संरक्षण दिनपर्छ भनेर हाकाहाकी भन्ने प्रवृति देखिन्छ।
यसको मतलब, विवाह गरेपछि छोरीको परिवारको दायित्व सकिन्छ अनि उसको श्रीमानले नै उसको सुरक्षा र संरक्षण गर्छ र गर्नुपर्छ भन्ने मनोविज्ञानले काम गरेको हुँदा ३२ काटिसक्दा पनि छोराको गर्न हतार नगर्ने बाबु-आमाहरु २५ आसपास उमेर पुगेकी छोरी बिहेको विषयम यति धेरै चिन्तित रहेको देखिन्छ।
हामीले हेर्ने चलचित्रहरुमा पनि यही कुरालाई झल्काउने गरिन्छ। नायिकाभन्दा नायक नै शक्तिशाली अनि नायिकाको हात समातेर नायक नै अगाडि बढेको तथा नायिकालाई अप्ठ्यारो पर्दा नायक शक्तिशालि भएर आइपुग्ने प्रवृति देखिन्छ। यस्तै सिनहरुमा अनि नायिकाको मन्जुरी बेगर किस गरेको वा झुक्काएको अनि पट्याएको सिनहरुमा अत्याधिक हुटिङ थप्ने काम गरिन्छ। चलचित्रको प्रभाव समाजमा परेको हो वा समाजको प्रभाव चलचित्रमा परेको हो, जे भए पनि महिलालाई कमजोर र पुरुषको सहारा नै चाहिन्छ भनेर प्रस्तुत गरिनु पक्कै निन्दनीय छ।
विवाहमा दशौं लाख दाइजो दिन तयार हुने परिवार किन छोरीलाई त्यति पैसा खर्च गरेर पढाउन सक्दैन? किन विवाहमा कार र बाइक दिने परिवार अनि समाज, यही कार र बाइक छोरीलाई सिकाउन तयार हुँदैन? किनकी उसलाई राम्रोसँग थाहा छ, छोरी भनेको अर्काको घर जाने जात हो।
हाल पनि साथीभाइहरु गफ गरेको अवस्थामा महिलाको चाक र छातीको गफ निकाल्ने मात्रै पुरुषप्रति अलिक हेलमेल हुने फ्री फ्र्यांक भएर बोल्ने महिलाहरु सजिलै पटिन्छन् भनेर जुन किसिमले सोचिन्छ। यस्तो सोच रहेसम्म महिला अगाडि बढ्न सक्दैनन्।
के केटीहरु नै हाँस्नु नै फस्नु हो वा हाास्नु नै सेक्स अपिल गरेको हो? यो पक्कै पनि होइन तर हाम्रो मनोविज्ञान यस्तो भैसक्यो पनि हाँसी भने केटीले ग्रिन सिग्नल दिइ भनेर पछि लाग्ने अनि एकान्तमा मौका पाउनासाथ प्रस्ताव गर्ने र मानेमा मोज गर्ने र मोज आफू मात्रै होइन, अन्य साथीहरुलाई पनि शेयर गर्ने। फलानो केटीले त दिन्छे, च्वाक छे यार भन्ने अनि साथीलाई पनि अब मैले भ्याइसके, अब त मोज गर भनेर सेटिङ मिलाइदिने प्रवृति देखिन्छ।
जसले गर्दा केटीको मात्रै इज्जत दाउमा लाग्दैन, उसको परिवारको समेत इज्जतमा घाउ लाग्ने प्रवृति देखिन्छ र एकान्तमा केटाले गरेको प्रस्ताव अस्वीकार गरेमा एसिड प्रहारदेखि बलात्कारसम्मका घटनाहरु हुनु कुनै नौलो विषय पनि होइन।
लिंगले प्लेन उडाउने पनि होइन न त प्रशासन चलाउने नै। तर पनि हाम्रो समाज महिलाले प्लेन उडाउन सक्दैन भनेर त्यतातिर लाग्छ। अर्थात् लिंगको आधारमा लेखाजोखा र विश्लेषण गर्न थाल्छ।
हाम्रो समाज परिवार अनि साथीहरुले एकल महिलालाई मात्रै होइन, उमेर पुगेर पनि विवाह नगर्ने पुरुषहरुलाई घोचपेच गर्न बाँकी राख्दैन। उनीहरुलाई अपरिपक्व भनिन्छ। आलाकाँचा ठिटाहरु भनिन्छ। यसैगरी विवाह गरेर बच्चा जन्माउन ढिला गर्यो अथवा सन्तान भएन भने उसलाई नामर्द बाँझी भनिन्छ। थप घोचपेच गरिन्छ।
के विवाह परिवार समाजको लागि हो कि आफ्नो लागि? अनि सन्तान दम्पतिको विशेषाधिकार हो कि समाज र परिवारको इच्छा अनि दवाव र प्रभावको परिणाम? के विवाहले मात्रै पुरुषला परिपक्व बनाउने हो र? हैन भने किन त विवाह र परिपक्वताको विश्लेषण?
विवाह भएको, परिवार भएको मानिसलाई जिम्मेवार मानिन्छ र विवाहले नै मानिसलाई लोभि र पापी बन्न सिकाउछ। यति मात्रै होइन, विवाह नै परिपक्वताको आधार हुने भने योग्यता, उमेर अनि अनुभव सबै गौण विषय हुन् त। पक्कै पनि होइनन्, तर पनि किन विवाह र परिपक्वताको यस्तो अपरिपक्व कथनको रटान।
सामाजिक संजाल
सामाजिक संजालको कुरा गर्दा अरु धेरै उदाहरण हैन निकिशा श्रेष्ठको उदाहरण नै काफी छ। प्रत्येक नागारिकलाई संविधानले सम्मान पूर्वक बाच्न पाउने हक दिएको छ तर के निकिशालाई टिकटकमा गाली गरेर भद्दा मजाक बनाएर नपुगेर नै हो कि सार्वजनिक स्थानमा बेइज्जत गर्दै हिडेको? यति मात्रै सामाजिक संजालमा महिला प्रति अभद्र व्यवहार गर्ने प्रचलन निकै मौलाएको देखिन्छ।
हिजोका दिनमा उखानहरुमा महिलाहरुलाई छेडखानी गरिन्थ्यो भने आज त्यो रुप फेरिएर सामाजिक संजालहरुमा सरेको देखिन्छ। अधिकांश जोक्स र मिमिक्रीहरु महिलाहरुलाई होच्याउने किसिमले प्रस्तुत भएका देखिन्छन्। यति मात्रै होइन, बलात्कार र हिंसाका समाचारहरुमा पनि केटीकै दोष अर्थात् उसले ग्रिन सिग्नल दिइ होला, हाँसी होला, छोटा लुगा लगाइ होला अनि यस्तो घटना घट्यो भनेर महिलाहरुलाई नै दोषी करार गर्ने प्रवृति देखिन्छ। यसले के देखाउछ भने हाम्रो मनोविज्ञान अझै पनि परिवर्तन भएको देखिदैन।
सामाजिक संजालहरुमा दुईथरी विश्लेषण चल्ने गरेको देखिन्छ। बलात्कारीलाई फाँसी दिनुपर्ने र अर्कोथरी बलात्कार हुनुमा महिलाको पनि दोष छ। अर्थात्, महिलाले पनि बलात्कारबाट इन्जोय गर्छन्। अब कुरा गरौँ, महिलाले छोटो लुगा लगाएर बलात्कार भयो भन्नु हाँस्यास्पदभन्दा अर्को तर्क नै देखिदैन। महिलाले छोटो लुगा त के नांगै हिडे पनि अनुमति बिना बलात्कार त परको कुरा, छुने पनि अधिकार छैन।
अनि कोही हाँस्दैमा, कोही फ्री फ्र्यांक भएर बोल्दैमा पट्टिए भनेर सम्झनु, त्यो पनि अर्को मूर्खता हो। अब कुरा गरौँ बलात्कारीलाई मुत्युदण्डको। के मृत्युदण्ड दिँदैमा बलात्कार रोकिने भए भारत, पाकिस्तान अनि खसी काटे जसरी मानिसको टाउको काट्ने साउदी र खाडी राष्ट्रमा पनि बलात्कारका घटना किन भैरहेका छन्?
के छोटो लुगा नै कारण हो भने किन शरीर छोप्ने बुर्का लगाउदा पनि बलात्कार हुन्छ? बलात्कार हाम्रो सोच, सामाजिक संरचनाको उपज हो। यो न लामो लुगा लगाउदैमा अन्त हुन्छ न मृत्युदण्ड दिँदैमा।
अबको बाटो
हालै सरकारले अध्यादेश मार्फत बलात्कारका घटना मिलापत्र गराउनेलाई ६ महिनादेखि ३ वर्षसम्म जेल सजाय अनि त्यस्तो व्यक्ति सार्वजनिक पद धारण गरेको व्यक्ति रहेछ भने थप सजाय हुने प्रावधान समेटेर ल्याएको अध्यादेशको प्रभावकारी कार्यान्वयन हुन सकेको खण्डमा नेपालमा बलात्कार जस्तो जघन्य अपराधमा मिलाउने काममा केही आउने नै देखिएला।
हालैका दिनमा केही मिडियाहरुमा समाचार आयो, भारतमा एकल महिलाहरुको जनसंख्या करिब ७ लाख हाराहारीमा रहेको तथ्यांक देखिन्छ। समाज र परिवार अहिष्णु भएका कारण, राम्रो जीवनसाथी नभेटेका कारण अनि पारिवारिक झमेलाका कारण भारतमा महिलाहरु विवाह प्रति त्यति सकारात्मक देखिदैन। विवाह पश्चात सम्पूर्ण किचन र घरभित्रको काम महिलाको ठेक्का जस्तो रुपमा परिवार र समाजले हेर्ने अनि करियर विकासमा त्यति धेरै पनि सहयोग पनि गर्दैन हाम्रो समाज र परिवारले।
हो, यही कारणले गर्दा हुनपर्छ भारतमा एकल बस्ने महिलाहरुको संख्यमा वृद्वि भएको। तर नेपालमा एकल महिला कति छन् भनेर नेपाल सरकारसँग कुनै पनि आधिकारिक तथ्यांक छैन। नेपालमा विवाह नगरी बस्ने महिलालाई हठी वा अनैतिक रुपमा हेरिन्छ र कतिपय अवस्थामा त दयाका पात्रको रुपमा समेत व्याख्या गरिन्छ।
नेपालमा पनि भारतमा जस्तै एकल महिलालाई सरकारले हेर्नपर्नेदेखि एकल महिलामैत्री कानुन निर्माण गर्नपर्ने, ४० वर्ष कटेपछि धर्मपुत्र धर्मपुत्री राख्न पाउनु पर्नेदेखि सुरक्षा र स्वास्थ्य सम्बन्धमा राज्यले ध्यान दिनपर्ने प्रावधानहरु समेटेर कानुन बनाउन जरुरी छ।
यसका साथै, विवाहलाई अनिवार्य बनाउनको सट्टा विवाह नगरे पनि सामाजिक मान प्रतिष्ठामा कमि आउन नदिने गरी सामाजिक संरचना र सोचको विकास बनाउन जरुरी छ।