अस्ति मात्र यही अनलाइनमा बासमती चामल एकलौटी पार्ने भारतको प्रयास, के नेपालले विरोध गर्ला समाचार पढेपछि मन खिन्न भयो।
भारतको तर्फबाट युरोपियन युनियन (इयु) मा बासमती धान-चामलमाथि एकाधिकार माग गर्दै भौगोलिक संकेत अर्थात् जिआइ दाबी गर्दै निवेदन दिएको र अरू कसैले दाबी-बिरोध गर्ने समयको अन्तिम हप्ताको अन्तिम दिनमा हामी छौं।
आफू नेपाल कृषि अनुसन्धान क्षेत्रमा रहेर विगत झन्डै एक दशकदेखि कार्यरत रही हाल नेपाल जीन बैंकमा विभिन्न रैथाने बालीमा अध्ययन-अनुसन्धान गरिरहेकाले पनि यस विषयमा चासो राख्नु स्वाभाविक हो।
त्यसमाथि आफूले पछिल्लो समय नेपालको पहाडी भूभागमा पाइने बासमती लगायत बासनादार धानहरूमा भएका गुणको अनुसन्धान सुरू गरेको र तराइ क्षेत्रमा हुने बासमती धानहरूको अनुसन्धान नजिकबाट हेरिरहेका नाताले पनि यो विषयमा थप चासो रह्यो।
बासमती धान वा चामलको एकाधिकार बजारका लागि भारतले इयुमा निवेदन दिएसँगै त्यस विषयमा नेपाल सरकारले प्रतिक्रिया दिँदा वा दाबी-विरोध गर्दा नेपाल र बासमती धानबीचको सम्बन्ध बुझ्न जरूरी छ। बासमती धान-चामल हाम्रो अर्थात नेपालको पनि सम्पत्ती हो भन्ने कुराको तथ्य र प्रमाण राख्न आवश्यक छ।
बासमती हाम्रो पनि कसरी?
धानको उत्पत्ति सम्बन्धी फरक-फरक विचार रहे पनि हिमालयको दक्षिणी भागमध्ये नेपाल पनि एसियन धानको उत्पत्ति भएको एक स्थान हो। नेपालमा कम्तीमा चार वटा जंगली प्रजातिका धान पाइनु र रैथाने जात पनि प्रचुर मात्रामा पाइनु एउटा पुष्टि हो।
वैदिक कालदेखि नै नेपालमा खेती गर्न थालिएको धान बाली सम्बन्धी जानकारीहरू विभिन्न आलेखमा पनि पढ्न पाइन्छ। ती आलेख अनुसार बासमतीलाई एक किसिमको असल बासनादार जातको धान वा त्यसैक चामल भन्ने बुझिन्छ।
खासमा बासमती कुनै एक विशेष धानको नाम मात्र नभई हाम्रो सन्दर्भमा यो शब्द विशेषणका रूपमा प्रयोग भइआएको शब्द पनि हो। जुन बालीलाई पकाउँदा बासना आउँछ, तिनीहरूलाई बासमतीका रूपमा नामको अगाडि वा पछाडि झुन्ड्याइदिने चलन परापूर्वकालदेखि नै छ भन्न सकिन्छ। जस्तो कि बासमती रायो, बासमती घिरौंला यसैका उदाहरण हुन्।
नेपालको विभिन्न स्थान, तराइ र केही पहाडी भूभागमा अझै पनि स्थानीय जातका बासमती लगाइन्छन्। ती जात ढिलो पाक्ने, कम फल्ने र राष्ट्रिय उत्पादनमा खासै योगदान नगर्ने हुँदा जति चर्चा हुनु पर्ने हो, त्यति भएको पाइँदैन। अधिकांश किसानले पनि खानकै लागि खेती गर्ने चलन बढी छ।
तथापी विभिन्न स्थानमा बासमती धानलाई सानो क्षेत्रमा भए पनि व्यावसायिक रूपमा खेती गर्दै आइएको छ। बारा, सुनसरी, झापा लगायत पूर्वी तराइ क्षेत्रमा लल्का बासमती, पोखरामा जेठो बुढो, डोटीको जोरायल क्षेत्रमा जोराएल बासमती, कपिलवस्तु क्षेत्रमा काला-नमक, दाङ क्षेत्रमा तिल्की इत्यादि बासमती धान निकै प्रचलित छ।
त्यसबाहेक बारामा अनदी बासमती, झापा, मोरङ र सुनसरीमा छोटी, कनक जिरा, जोरपाल र कालो टुन्डे, बासमती, सुनसरीमै गोला, झापा लगायत केही पूर्वी जिल्लामा कालो बासमती, डडेल्धुरामा डाँडा बासमती, दोलखामा आँपझुत्ते इत्यादी चल्तीमा छ।
नेपालमा रैथाने बासमती के कति छन्, कुन कुन ठाउँमा छन् भन्ने नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत रहेको राष्ट्रिय जीन बैंकको तथ्यांकबाट पनि प्रष्ट हुन्छ। जिन बैंकमा बाजुरा, मुस्ताङ, धादिङ, ललितपुर, डोटी, डडेल्धुरा, बैतडी, नुवाकोट, बझाङ, रामेछाप लगायत जिल्लाका किसानबाट संकलन गरिएका मसिनो, डाँडा, झिनुवा, हंसराज, कालो बासमती लगायत नाम गरेका धानका जातहरू सबै र सधैंका लागि संरक्षण गरिएको छ।
ती धानका जात संकलन गरिएको स्थानमा परापूर्वकालदेखि नै लगाउँदै आइएको पाइएको छ। त्यति मात्र होइन, बासमतिजस्तै गुण भएका अन्य दर्जनौं स्थानीय धानका जात जीन बैंकमा सुरक्षित छन्। ती धानका जात मात्र होइन, ती नाम पनि हाम्रा सम्पत्ती हुन्।
नेपालको स्थानीय बासमती जातका धानलाई अन्तर्राष्ट्रिय रूपमा धानको अनुसन्धान गर्ने संस्था-इरी लगायत संसारका थुप्रै जीन बैंकमा सन् १९७० र १९८० दशकतिरै नेपाललाई आवश्यक पर्दा पाउने गरी संकलन र संरक्षण गरी राखिएको छ।
बासमती आँपझुत्ते, असामिया, गोल,लामो, मसिनो, नोखी, पहाडे, रातो, उजर्का, सेतो, डाँडा, कालो, मसिनो, रातो, सेते/सेतो बासमती यसैका उदाहरण हुन्।
यी राष्ट्रिय र अन्तर्राष्ट्रिय जीन बैंकमा नेपालको रैथाने बासमती 'बासमती' नामबाटै संरक्षण भएर रहनु नेपालले बासमती नाममाथि अन्तर्राष्ट्रिय समुदायमा आफ्नो पनि अधिकार दाबी गर्ने बलियो प्रमाण हुन्। साथै नेपाली तथा अन्य देशका वैज्ञानिकले उनीहरूको अनुसन्धानको नतिजा कृतिका रूपमा राष्ट्रिय–अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गर्दा नेपालको बासमती धानलाई बासमती भनेर उल्लेख गरी प्रकाशित गर्नु पनि हाम्रो बासमती नाम माथिको अधिकार दाबी गर्ने बलियो प्रमाण हो।
त्यसमाथि, नार्कले स्थानीय बासमती प्रयोग गरेर लल्का बासमती नामको बासनादार धान विकास र उन्मोचन गरिसकेको छ। केही बासमती धान अनुसन्धान र उन्मोचनको प्रकृयामा छन्।
माथिका तथ्यले बासमती नाम परापूर्वकालदेखि हालसम्म असल बासनादार जात जनाउन प्रयोग हुने हाम्रो अभिन्न ब्रान्ड भइसकेको जनाउँछ। हामीसँग थुप्रै सम्भावना हुँदाहुँदै पनि हामीले स्थानीय बासमतीको तीव्र विकास, ब्रान्डिङ र व्यावसायिकरण गर्न चुकिरहेका छौं। बैज्ञानिक खोज-अनुसन्धान राज्यको न्यून प्राथमिकतामा छ।
त्यसो भन्दैमा बासमती नाम माथिको अधिकार भारतले मात्र गर्न पाउने गरी उसले गरेको दाबी इयुमा स्वीकृत भएमा नेपाल, पाकिस्तान लगायत देशलाई अन्याय हुन जान्छ। स्मरण रहोस्, कुनै समय बासमतीमाथि अमेरिकाको कुनै कम्पनीले प्याटेन्ट एकाधिकार लिन खोज्दा भारतले नै रोक्न सफल भएको थियो।
सम्झनुस्, त्यो अधिकार अमेरिकामाथि त्यसै बेला गएको भए के हुन्थ्यो?
भारतले आफ्नै बासमती धान निर्यात गर्न अमेरिकासँग सम्झौता गर्नुपर्थ्यो। त्यो ब्रान्ड प्रयोग गरे बापत पैसा तिर्नुपर्थ्यो। हाम्रो आजको हालत झन्डै हिजोको भारतको हालत जस्तै हो।
अब के गर्ने त नेपालले?
भारतको तर्फबाट इयुमा बासमती धान-चामल माथि एकाधिकार माग गर्दै भौगोलिक संकेत अर्थात जीआइ दाबी गर्दै निवेदन दिएको र त्यसको सूचना पाउने बित्तिकै पाकिस्तानले तुरुन्त प्रतिकृया दियो। उसले भारतको माग बदर गर्न माग गर्दै भारतको निवेदनउपर दाबी-बिरोध गर्ने निर्णय गरिसक्यो।
त्यसैअनुसार पाकिस्तानको राजनीतिक प्रशासन र कर्मचारी प्रशासन काम गरिरहेको समाचार निरन्तर आइरहेका छन्। हामी धेरै नेपालीले दाबी-बिरोध भए रिट हाल्न पाउने अन्तिम हप्ता मात्र जानकारी पायौं।
राज्यको सम्बन्धित निकायसँग जानकारी रहेको तर दुःखको कुरा त यो हो, त्यो अन्तिम हप्तासम्म पनि खासै सिन्को नभाँचिएको समाचार प्रकाशित भयो।
तर कुनै राम्रो काम सुरू गर्न ढिलो भन्ने हुँदैन। माथि प्रस्तुत प्रमाणहरू र विज्ञहरूबाट प्राप्त हुने अन्य प्रमाण एकत्रित गरेर उद्योग मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र नार्कको सहयोगमा इयुमा दाबी-बिरोध वा रिट दर्ज गरिहाल्नु पर्छ। र, नेपालको पनि बासमती नाममाथि अधिकार रहेको प्रष्ट भन्न सक्नु पर्छ।
अन्यथा भोलिका दिनमा कानुनी रूपमा हाम्रो आफ्नै बासमती निर्यातमा समेत समस्या खडा हुनेछ।
यदि भौगोलिक संकेत वा जिआइको कुरा गर्ने हो भने यो बासमती धान उत्पादन गरिरहेका, बासमती नाम बजारको एउटा ब्रान्डका रूपमा प्रयोग भएका देश जस्तै भारत, पाकिस्तान, नेपाल, बंगलादेश लगायत यस क्षेत्रलाई दिनुपर्छ। अन्यथा एकल देशलाई दिँदा त्यो देश र ती देशका नागरिकमाथि अन्याय हुन सक्ने कुरा माथि उल्लेख गरिएका प्रमाणसँगै दाबी-बिरोधमा उल्लेख गर्न सकिन्छ।
मुख्य कुरा, यो विषय प्राविधिक मात्र नभई राजनीतिक पनि भएकाले राजनीतिको पनि चासो रहनुपर्छ। साथमा, हाम्रो मौलिक पहिचान बोकेका अन्य बाली विविधतालाई व्यापार/व्यवसायसँग जोड्न राज्यको विशेष नीति जरुरत पर्छ।
(लेखक राष्ट्रिय जीन बैंक, नेपाल कृषि अनुसन्धान परिषद (नार्क) मा अनुसन्धानकर्ता/अधिकृत पद तहमा कार्यरत छन्)।