'ए... भिमे, भिमे… उठ् छिटो! स्कुल जान ढिला हुन्छ फेरि।
बाहिर दाना पकाउँदै गरेकी भिमेकी आमा दिनहुँ बिहान ६ बजे ठूलो डाको बनाएर रुखो पारामा उठाउँछिन् छोरालाई आजभोलि। भिमबहादुर क्षेत्री (नाम परिवर्तन), हाल कुटेचौर मावि तुलसिपुरमा कक्षा १० मा अध्ययनरत, अनि यसपालीको एसइई परीक्षामा सामेल हुने लाखौँ विद्यार्थी मध्येको एक।
कोरोना महामारीमा ६-६ महिना घरमा बसेर बानी बिग्रीएको छ उसको। बिहान उठ्न भनेपछि सबैभन्दा गाह्रो। उसलाई आजभोलि बिहानै उठ्न मनै लाग्दैन। अझ यो भेगमा जाडोयाममा बिहान बेलुकी त मुटु नै खाने चिसो सिरेटो चलेको पो हुन्छ।
६ बजेबाट उठाउन सुरु गरेकी उसकी आमाले ६:३० सम्म यसो उसो गरेर बल्ल बल्ल उठाउन भ्याउँछिन्। समुन्द्र सतहबाट करिब १४१० मिटर उचाइ रहेको महाभारत श्रृंखलाको एउटा चुचुरो छिल्लिकोटमा भिमेको घर पर्छ भने विद्यालय यसको फेदीमा छ। हो, त्यही भएर पनि उसकी आमाले ६ बजे नै उठाउन कम्मर कसिरहेकी हुन्छिन्।
आमाको घरधन्दा सँगै उठ्छ ऊ। वस्तुभाउका लागि गोठको चुलोमा दाना पाकिराख्दा, भान्साको जिम्मेवारी भने उसको भागमा पर्छ। चुलोमा दाउरा अनि गुइँठाको सहायताले छिटोछिटो गरेर एउटा झोले तिहुन र भात पकाउँछ। धेरै नै चिसो पानी भएको कारण मुखै नधोइ रुच्ने जति खाना ७:४५ सम्ममा खाइसकेर युनिफर्म लगाई तयार हुन्छ र ८ बजे विद्यालयतिर लम्किन्छ।
बिहानको समयमा यी आमा छोरा दुबै यति व्यस्त हुन्छन कि छिमेकीले पनि अब भमे स्कुल हिँड्न खाना खाएर मुख कुल्ला गर्दै छ है भन्ने ध्याउन्न पाउँछ।
विद्यालाय २ घण्टा पर छ। त्यो गाउँ हुँदै छुट्टै घना जंगलको बाटो। त्यो माथि मंसिर पुसको हुस्सु लाग्ने भएकाले समय अझै केही तन्किदै जान्छ। त्यसैमा गोरेटो बाटो भएर जानु पर्ने भएकाले डर लाग्नु नि स्वाभाविक नै हो।
यही कारणले गाउँबाट स्कुल जाने साना ठूला गरी ६ जनाको एउटा बटालियन बनाएको छ भिमेले। ती मध्ये कहिले २, ३ जना विद्यालय नजाने भए भने बटालियनले बिदा पाउँछ। यही कारणले पनि यो हुलले थुप्रै कक्षाहरु छुटाएको छ अनि गाली पनि उत्तिकै मात्रामा पाएको छ।
भिमेले बिहानै रुचि नरुचि खाएको खाना त ओरालो झर्दाझर्दै पचिहाल्यो। विद्यालयमा पुगेर केही खानलाई खर्चिने पैसा पनि प्रायः हुँदैन ऊ अनि उसको टोलीसँग। प्रायःजसो त्यही खाली पेट तर पढ्ने भोकले यिनीहरु विद्यालयसम्म आउने बाहेक उनीहरुसँग विकल्पको रुपमा केही पनि छैन। पढेर... बन्ने लक्ष्य छ भिमेको। तर अहिले उसको भागको पढाइमा पाउने घण्टीहरुमा निकै कटौती भएको छ।
कोभिड-१९ को महामारीपछि खुलेका विद्यालयहरु मध्ये हाम्रो विद्यालयले वैकल्पिक तरिकाले शिक्षा दिने हेतुले विद्यार्थीलाई कक्षाकोठामै ल्याउने र ४५ मिनेटको कक्षालाई ३० मिनेटमा झारेर पढाउनु पर्ने बाध्यता गरेको छ हामीलाई। उनीहरुलाई भने ३०-३० मिनेटको ८ वटा घण्टी पढ्न, ४ घण्टा आवतजावत गर्नु पर्ने बाध्यता रहेको छ।
यसो सोच्दा ४ घण्टा पढ्न, ४ घण्टा नै लगाउनु पर्ने बाध्यता हो यो, जुन सायद म पढ्ने बेला वा फेलोशिप अगाडि सोच्न नि सक्दैनथेँ। यस्तो मिहिनेत त सराहनीय मात्र हैन, उदाहरणीय नै छ।
बिहानै उठ, विद्यालय जाउ, पढ, फर्केर आउ, घर फर्केर फेरि घरधन्दा गर। अब यसमा अझैँ खाली ठाउँभरि पढौँ न। बिहानै ६ बजे उठ, खाना बनाउ, २ घण्टा लगाएर विद्यालय जाउ, ४ घण्टा पढ, अनि फेरि अर्को २ घण्टा लगाएर घर फर्क, काम गर। कति धेरै मिहिनेत। मात्र एक दिन राम्रोसँग पढ्नका लागि!
अहिले देशैभर फाट्ट फुट्ट चलिरकेका विद्यालयहरु मध्ये धेरै सामुदायिक विद्यालयको तालिका यस्तै छ भन्ने मैले देख्दै अनि साथीहरुबाट सुनिरहेको छु। जुम र गुगल मिटमा कयौं निजी विद्यालयका विद्यार्थीहरु घरबाटै मन लागि नलागी टेबुलमा फलफूल त कहिले मम, चाउमिन खाँदै पढिरेहका अनि कहाँ मेरा यी ४ घण्टे म्याराथन गरेर पढ्न बाध्य विद्यार्थीहरु बीचको तुलना, असमानता तौलिन खोज्छु तर सक्दिनँ। कति गाह्रो छ।
सुरुआतबाटै भन्नुपर्छ २०७७ साल त कोरोना कहर वर्ष नै भनेर बितेर जाने भयो। न त कसैले यस प्रकारको भाइरसले यति हदसम्म सबैलाई बन्धक बनाउला भन्ने बारेमा सोचेका थिए न त विद्यालय शिक्षामा यस्तो स्थिति आउला भन्ने कल्पना नै। यो अकल्पनीय महामारीले हरेक क्षेत्रलाई धक्का पुर्याएको त छ नै, तर शिक्षा क्षेत्रलाई यसले अति धेरै अप्ठ्यारोमा पारेको छ भन्छु म।
धेरै नै भन्नु पर्छ। यसमा पनि अझ सामुदायिक विद्यालय शिक्षालाई त अत्याधिक असर पारेको छ। जसका कारण हाम्रा ग्रामीण गाउँले विद्यार्थी भाइबहिनीहरु सिकाइको हिसाबले सबैभन्दा मारमा परेका छन्।
डेढ वर्ष पहिले टिच फर नेपालको प्रज्ञार्थीको रुपमा दाङको नवजागरण विद्यालयमा विज्ञान विषय पढाइरहँदा मैले समुदायलाई नजिकबाट नियाल्ने मौका पाएको थिएँ। पहिले नै मारमा परेका यी विद्यार्थीहरु झन् धेरै मारमा परेका छन्। कोभिडका कारण बन्दाबन्दी हुँदा घरै बसिबसि बैकल्पिक शिक्षा पाइरहेका समाचार सुन्दा भिमबहादुर क्षेत्रीहरुको बटालियनसम्म त्यो शिक्षा कसरी पुग्ला भन्नेमा मेरो मनमा अन्तरद्वन्द चलि नै रहेको थियो।
रेडियो, वर्क बुकको मार्फतबाट केही विद्यार्थीसम्म पुगे पनि सबै विद्यार्थीमा पुग्न नसक्ने निश्चित तय भएपछि गाउँ फर्किनु पर्छ भन्ने लागेकै थियो। त्यही बेला दसैँ अगावै विद्यालय खोल्ने कुराले राहत पनि मिल्यो। र फर्किएर कस्तो खाले पढाइ सुरु गर्ने भन्ने राम्रै तयारी हाम्रो समूहले गरेको थियो।
ठ्याक्कै सम्झनु पर्दा, ६ महिनाको लामो अन्योलता पछि फाट्टफुट्ट विद्यालयहरु सञ्चालन हुँदै थिए। त्यो पनि आंशिक रुपले। कहीँ जोडा बिजोडा रोल नम्बरको तरिकाले विद्यार्थीलाई कक्षा कोठासम्म बोलाएर, कहीँ पालैपालो आउने त कहीँ सिकाइ केन्द्रको अवधारणाबाट।
सिकाइको जस्तोसुकै पद्धति अंगालिएतापनि अहिलेसम्म विद्यार्थी सिकाइ सहजिकरण पूर्ण रुपले भने गर्न सकिएको छैन न त पाठ्यक्रममैत्री भएर पूरा समय १० देखि ४ अध्ययन अध्यापन गर्न नै सकिएको छ। तर सिकाइबाट टाढा रहेका विद्यार्थीसम्म भने पुग्ने एउटा गोरेटो भने तयार भएको छ। भलै त्यसका लागि विद्यार्थीले ४ घण्टाको यात्रा तय नै किन गर्न नपरोस्।
अब यसरी खाली पेट पढ्ने भोक लिएर आउँछन् उनीहरु। उनीहरुलाई ३० मिनेटमा म के के दिएर पठाउन सक्छु त? दाङमा दुई वर्षे फेलोसिपको कार्यकालको करिब दोस्रो वर्षको अन्तिम केही महिना बाँकी छ मेरो। तर जानु अघि भिमेको बटालियनलाई एसइईमा विज्ञानमा पोख्त बनाएर तयार बनाउनु छ।
पढ्ने हौसला बोकेका, थाके पनि कहिल्यै थाकेको अनुहार नदेखाउने, भोकाएर पेट कराउँदा पनि केही नभनी पढ्न आउने यी नै विद्यार्थीहरु मेरा उर्जा हुन्। चाहे चार महिना होस् वा तीन महिना नै, यिनीहरुलाई मैले आफूले जानेको कुरा सिकाएर भविष्यको लागि तयार गराउनु एउटा ठूलै पहाड खडा भएको छ मेरा अगाडि।
तर यो ८/९ महिनाको अन्यौलपूर्ण समयपछि विद्यालयमा आउँदा उनीहरुको समस्या झन् झन् बल्झिएको देख्दा, हैन है अझै धेरै गर्नु छ भन्ने आत्माबोध उनीहरुको जोशले मलाई दिन्छ। जब म कुनै समस्यामा हुन्छु वा कुनै अन्योलतामा, म यिनै विद्यार्थीहरुको अनुहार सम्झन्छु अनि आफ्ना वरपरका सबै समस्या भुल्छु। अनि सबै भुलेर आफ्नो कर्म गर्न लाग्छु।
अहिले एसइई नै सबै हो भन्नेभन्दा नि थोरै समयमा छुटेका पाठहरु र भविष्यमा उनीहरुले लिनसक्ने पढ्नसक्ने विषयका बारेमा सिकाउँछु। समय थोरै होला तर समयको उच्चतम सदुपयोग गरे ३० मिनेटमा नि धेरै कुरा सिक्न अनि सिकाउन सकिन्छ।
सायद ४ घण्टाको यात्रालाई बरु ३० मिनेटमा झार्न पाए कति बेस हुन्थ्यो भन्ने नि सोच्छु। कति धेरै समय यी विद्यार्थीको भविष्य निर्माणका कुरामा लगाउन सकिन्थ्यो। तर जे होस् महामारीले समयको महत्व भने मज्जाले सिकाइदिएको छ, मलाई अनि विद्यार्थीहरुलाई।
कोरोना माहोलमा पनि सबै कुरालाई बेवास्ता गर्दै दिनहुँ घण्टौँ यात्रा गर्दै फगत केही घण्टी पढ्न आउने भिमे जस्ता विद्यार्थीहरुका लागि मेरो तर्फबाट सिकाइ केन्द्रित हर प्रयास गर्छु, खोजि गर्छु कि कसरी यी संघर्ष गर्दै आउने विद्यार्थीलाई सिकाइका हिसाबले उत्कृष्ट ३० मिनेट दिन सक्छु भनेर।
गत वर्ष बनाइएका पाठयोजनाहरु सबै परिमार्जन गर्नुपर्ने भैसके। त्यसैले हरेक कक्षाहरुपूर्व उनीहरूलाई हृदयंगम गर्दै मैले मेरा पाठ योजनाहरु तर्जुमा गर्छु ताकी उनीहरुको ४ घण्टे यात्रा व्यर्थमा नजाओस्। भलै मेरो ३० मिनेटको मात्र घण्टी किन नहोओस्। उनीहरू आजभोलि खाजामा मकै, भट्टका खाजा, रोटी लिएर आउँछन् र पटकपटक मलाई पनि सामेल बनाउँछन् उनीहरुको खाजा ब्रेकमा।
त्यही खाजा ब्रेकमा पनि कहिलेकाहीँ हामी कक्षा कोठाको सिकाइलाई नै अगाडि बढाउँछौ, भने कहिले यो न्यू नर्मलमा पुरानै खेलमा नयाँ समाजिक दुरी कायम गर्ने नियम लगाएर न्यू नर्मल खेल पनि खेल्छौँ जसमा सानो केटाकेटी बढी सामेल हुन्छन्।
उनीहरूलाई गुणस्तरीय जीवनका लागि म एक प्रज्ञार्थी (फेलो) का नाताले गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा मैले कुनै कसर छोड्ने छैन भन्ने कुरामा थप बल पुर्याएको छ। त्यस्तै गुणस्तरीय शिक्षा यो महामारीपछि झन् किन महत्वपूर्ण छ भन्ने कुरा अझ धेरै आफैँमा प्रष्ट हुँदै गएको छ।