‘हैट्, बाको त पुट्ट भुँडी लागेछ नि,’ मैले कम्मरमा बान्ने बेल्ट सकि नसकि तन्काउँदै भनेँ।
बा मुसुमुसु हाँस्नु भयो। आमा पछाडि झनै मुस्कुराउनु भएको मैले छनक पाइरहेको थिएँ। बाले एकाबिहानै आधा घन्टाको दूरीमा रहेको गोठबाट दुहेर ल्याउनु भएको भैँसीको दूध हालेको चिया एक सुरुप लगाउँदै भन्नुभयो ‘अँ, दुहुना छ र त नि।’
‘अब त थाक्नै लागि हालि काली, अनि केको बस्छ र यो भुँडी पनि,’ आमाले भन्नुभयो।
काली अर्थात्, हाम्रो गोठकी भैँसी।
काली बाको सबैभन्दा नजिककी साथी, आमा पछि। बा कालीको निकै स्याहार गर्नुहुन्छ। घाँस काट्दा त बा ३/४ थरि मिसाएर काट्नु हुन्छ, पानी खुवाउँदा पनि जुठो पर्छ कि ध्यान दिनुहुन्छ।
आमा कहिलेकाहीँ भन्नुहुन्छ, ‘के गर्ने त, भएका छोरा बुहारीहरु कोही घरमा हुँदैनन्, नाति नातिनाहरु भए त सँगै खेल्नुहुन्थ्यो होला नि। तिम्रा बा, कालीका छोराछोरीलाई आफ्नै नाति नातिना जस्तो ठान्नु हुन्छ। यत्रो घर छ, कोठाहरु शून्य शून्य छन्। बिस्तराहरु खालि खालि छन्।’
त्यसपछि आमाको गला त्यसै अवरुद्ध भयो। कम्मरको अलि दुखेको भागपट्टि मिलाउँदै बा अलि अटसमटसिनु भयो।
‘अलि ठूलो पाइनस्?’ बाले सोध्नु भयो।
मैले त अझै ठूलो होला भनेर यो ल्याएको, मलाई ठिक्क हुने साइजको।
आखिरी टन्न खाजा खाँदा र खाना खाँदा त लाउनै नमिल्ने भयो। तर अरु बेला ठिक्क। जे होस्, अलि दिनमा अलि तन्केला नि, बाले एकैछिनमा लगाउने बताउँदै प्याक गर्नुभयो।
भुँडी ठूलो भएको कुरामा बा र आमा यति खुसी देखिनुहुन्थ्यो कि, सम्भवतः सहरियाहरु सिक्स प्याकमा पनि त्यति खुसी नहोलान्। बाको स्याहार पुगेको आमाले अनुभूति गरिरहनु भएको थियो।
सारा जगतलाई तिहारको रमझमले छोपे पनि हामीलाई भने बाली भित्र्याउनकै चटारो थियो। अरु मान्छे लगाउँ न त भन्दा पनि यो पर्वको बेला को मान्छे मेला आउनु।
संयोगले, सुत्केरोले पर्व रोकियो। अनि हामी ३ जना (बा, आमा र म) फुर्सदिला भयौँ। अनि त के चाहियो र? बिहान ७ बजे मेलामा अनि घर बेलुका ७ बजे।
यसपटक सोचेको थिएँ, बालाई च्यालेन्ज नै गर्छु, धान झार्नमा। केही समय त आफूले आफैलाई शक्तिशाली महशुस गरिराखेको थिएँ, पछि त लल्याक लुलुक नै पो भैयो।
बुढ्यौलीले चेप्दै गरेको बा-आमाको शरीर, तैपनि कति छिटो छिटो चलेका ती हातहरु, कति जोस, कति जाँगर? ओहो! मैले त आफूलाई भर्खर टुकुटुकु हिंड्न थालेको बालक झैं अनुभूति गरेँ, एउटा सन्तानको पिता भएर पनि।
१० बजेतिर आमाले कराइमा चामल हालेर चुलढुंगामा बसाउनु भयो। ओहो! यो त पिकनिक नै भएन र भन्या। बाले बिहानै दुहुनु भएको दूध पनि उमालियो। तरकारी र अचार घरबाटै ल्याउनु भएको रहेछ। घाम नलागेको मंसिर महिनामा तात्तातो भात, काउलीको तरकारी, टमाटरको अचार, अझै नजिकैको बुटामा झुन्डिएका डल्ले खुर्सानी। हैट, कडा, निकै कडा!
मलाई त भात लागेछ। एकछिन त उठ्नै सकिनँ। एउटा मुठो पराल ओछ्याएर एकैछिन पल्टेँ। अनि उठेर फेरि धान झार्नमै व्यस्त। बिटा बोक्ने, झार्ने अनि पराल मिलाउने। घरि पानी चुहिएला जस्तो गर्छ, घरि उघ्रे जस्तो। अझ कति कति बेला त २/४ थोपा पररर पर्छ पनि। खैर, मौसमलाई त हामीले नै च्यालेन्ज गर्देम त नि।
३ दिनमा खलो उठाइयो। धान भित्र्याइयो। मसिनाको आफूभन्दा ५ बित्ता लामा परालका मुठाहरु सम्याइयो अनि एउटा पिप्ले, ढाँडे अनि आडबिसे टप कुन्युँ ठड्याइयो।
एउटा ठूलो कुन्युँ ठड्याएर टुप्पोमा फूल राख्दै गर्दा बाले अलि माथि रहेको महने चौतारो तिर यसो हेर्दै भन्नु भयो ‘हेर त, महनेको सिधा भयो कि भएन?’
आमा र म हाँस्यौँ। बाको लागि त त्यो एउटा कुन्युँभन्दा पनि धरहरा नै थियो। बाली भित्र्याउने काम कृषकको लागि निकै महत्वपूर्ण हुन्छ। आखिर, वर्षभरि जो खानु छ। अनि यो पराल वर्षभरि जो खानु छ।
समग्र काम सिध्याइएपछिको बा-आमाको अनुहारमा जुन खुसी छाएको थियो, त्यो निकै अद्भुत थियो। हुन त एक वर्ष सकेर मात्रै हुने होइन, तर पनि यसपालिको छटपटि सकिएको थियो।
पक्कै पनि बा-आमाको सुख दुखमा हातेमालो गर्न पाउनु एउटा सन्तानको लागि निकै अमूल्य कुरा हो, भलै सबैको लागि त्यो सम्भव नहुन सक्छ। परेको बेला त छन् है हाम्रा छोराछोरी भन्ने अनुभूति दिलाउनु एउटा सन्तान हुनुको धर्म निभाउनु पनि हो। सबै खुसीहरु पैसोले किन्न सकिन्छ भन्ने नहुन पनि सक्दछ।
सहरिया जीवनले हामीलाई यसरी गाँजेको हुन्छ कि कहिलेकाहीँ घरतिर बा-आमालाई हप्तादिनसम्म पनि फोन गर्ने फुर्सद हुँदैन, या भनौं, त्यो कुरा हाम्रो प्राथमिकतामा पर्दैन। तर हामीलाई पत्तै हुन्न कि हाम्रो एक कलले बा-आमालाई कति खुसी दिएको हुन्छ।
भोलिपल्ट काठमाडौँ फर्किनुअघि एकपटक छेउमा गएर परालको कुन्युँलाई हेरेँ, एउटा अविचलित भयंकरको मूर्ति विराजमान थियो। यस्तो लाग्थ्यो, बा-आमाको थकाइ जति आफै लिएर ठूलो सुस्केरा मार्दै थियो। वास्तवमा कुन्युँभन्दा पनि बढी मेरा बाको शिर ठडिएको थियो।