सुदूरपश्चिमको विकट गाउँमा बाबाआमाकी माइली छोरीको रूपमा म जन्मिएकी थिएँ।
सुर्खेतबाट बसाइ सरेर आउनु भएका मेरा बाबाआमाका मबाहेक, म अघिकी एउटी दिदी र मपछि दुई बहिनी गरी ४ सन्तान भयौं।
अहिले सेवानिवृत भइसकेका मेरा बाबाआमा दुवै सरकारी जागिरे थिए। आमा त झन् स्वास्थ्य क्षेत्रमै काम गर्ने। तै पनि हामी ४ बहिनी जन्मियौ। यो उहाँहरूको छोरा पाउने आशाको प्रतिफल थियो।
अझ भनौं समाजले छोरालाई नै महत्व दिने भएर होला शिक्षित अनि सरकारी जागिरे भएर पनि उहाँहरूले छोरो पाउने कोशिसमा ४ सन्तान जन्माउनु भयो। यो उहाँहरू माथिको सामाजिक दबाव थियो होला सायद।
गाउँ समाज अनि नातागोतामा एउटै चर्चा थियो, ४, ४ वटी छोरी भए! कतिपयले त आमाबाट छोरा हुँदैन त्यसैले अर्को बिहे गर भनेर पनि बाबालाई सल्लाह दिएका रहेछन्।
नातागोता समाजको यो सल्लाहले अहिले पनि बेला बेला बाबालाई पोल्छ। तर बाबाले त्यो बेला आफ्नो विवेक प्रयोग गर्नु भयो। उहाँले न त दोस्रो बिहे गर्नु भयो, न पाँचौ सन्तानको अपेक्षा।
पेशाले शिक्षक भएर पनि होला बाबाले छोरी पनि सन्तान नै हुन् भनेर बुझ्नु भयो। अनि हामीलाई पढाउन र हुर्काउनमा कुनै विभेद गर्नु भएन।
घरभित्रको वातावरणमा हामी बाबाआमाका प्रिय सन्तान थियौं। हामी चारै बहिनीलाई अपुग केही थिएन। स्कुल पढ्न थालेपछि घरबाहिर निस्किन थाल्यौं। जतिजति उमेर बढ्यो अनि घरबाहिरको समाजलाई बुझ्न थालियो, बाबाआमाले महशुस हुन नदिएको कुरा समाजले सधैं महशुस गराइरह्यो। कि तिमी छोरी हौ! तिम्रो अस्तित्व दोस्रो दर्जाको हो।
बिहे गरेर जाने हो! मलाई अझै पनि सम्झना छ स्कुल पढ्न थालेपछि हामीलाई पटकपटक सोधिने एउटा प्रश्न थियो। जुन निकै बिझाउँथ्यो। भाइ छैन ? स्कुलमा मात्र नभइ, नातागोता, छरछिमेकले हाम्रो बारेमा सोध्ने एउटा मुख्य विषय यही थियो, छोरा छैन।
हामीले पटक्कै नरुचाएको तर समाजलाई एकदमै चासो भएको यही कुराले सधैं आभास गराइ रह्यो कि म छोरी हुँ, छोराभन्दा एक दर्जा सानो मान्छे भनेर।
मानवीय गुण नै हो, मान्छेले आफूलाई सबभन्दा अब्बल ठान्छ। हामीले पढ्दा पनि राम्रो म भनेर नै पढथ्यौं।
सायद मजस्ता लाखौं महिलालाई समाज र संस्कारले राम्रो म भन्दा पनि, म छोरी हुँ र मेरो अस्तित्व दोस्रो तहको हो भनेर चित्त बुझाउन सिकाउँछ होला। घरभित्रको स्वतन्त्रता, आमाबुवाका प्यारा सन्तान हामी अरूका लागि भने, दोस्रो दर्जाका बोझको रूपमा थियौं।
४,४ छोरी पाएकी भनेर कुरा काट्नेहरूले गर्दा आमाले त कति नातागोतामा आउजाउ नै बन्द गर्नु भएको थियो। हाम्रो बाल मस्तिस्कमा पनि बिस्तारै यो कुराले जरो गाड्न थालेको थियो।
सबैले त्यही कुरा झक्झकाइ रहे त्यसैले हामीलाई पनि भाइ नभएको पीडा सधैं महशुस हुन थाल्यो। भाइ भइदिएको भए ...
स्कुल पढ्न थालेपछि परिवारबाहिर अर्थात् गाउँसमाज जिल्लाका कुरा पनि थाहा पाउन थाल्यौं। छोरी मान्छेले यो गर्न हुने यो नहुने, यसरी हिँड्ने, यसरी बोल्ने, आदिआदि।
किशोरी अवस्थामा पुग्दा त महिलालाई दोस्रो दर्जाका मान्छे हुँ भन्ने कुरा स्वीकार गर्न बाध्य नै पारिँदो रहेछ।
म र मेरा दिदी बहिनीहरूले महिनावारी सामान्य रूपमा बार्यौ तर हाम्रै कक्षाका कतिपय साथीहरूले महिनावारी बारेको र त्यो बेला पाएको दु:ख सुन्दा, त्यतिबेला, महिलालाई भगवानले नै दोस्रो दर्जाको बनाएको रहेछ भन्ने आभास हुन्थ्यो।
सुदूरपश्चिममा अहिले पनि छाउपडी प्रथाको नाममा महिनावारी हुँदा महिलालाई अलग्गै गोठमा राख्ने प्रचनल कायम छ।
उमेर बढ्दै गयो। दु:ख पीडामा महिलामाथि मात्र देखिने र त्यो सामान्य ठानिने। भाग्य नै यस्तै भनिने। समाजमा महिला भएर जन्मिनु त दु:खको लागि मात्र हो भन्ने बुझ्न थाल्यौं। यस्तै हो, चलिआएको रीत हो।
समाज नै यसरी अघि बढेको छ। यिनै कुरामा बहुसंख्यक महिलाहरू पेलिएको पाएँ।
न त परिवार, न नातागोता न समाज न स्कुल कहीँकतै हामीलाई तिमी पनि मान्छे हौ भनेर सिकाइएन। सिकाइयो त सधैं तिमी केटी हौ, दबिएर, सहेर नै बस्नु पर्छ। अर्कोको घरमा जाने जात सहन पनि सिक्नु पर्छ।
बिहे गरेर जाँदा पनि पण्डितले श्रीमानको सेवा गर्न र पछि लाग्ने मन्त्र पढाए। मर्दामात्र श्रीमानको अघि लाग्नु रे! आमाबाले पनि सधैं श्रीमानको सेवा गर्नु आफ्नो धर्ममा बस्नु शिक्षा दिएर पठाए।
अभिभावकले दिएको शिक्षा र समाजले दिएको प्रेरणाले सधैं दबेर, सहेर बस्न बाध्य पार्यो। फलस्वरूप हिंसाको चरमरूप भोग्नु पर्यो।
सुदूरपश्चिमको समाज नै यस्तो हो भनेर लामो समय सहेर नै बसें। अहो! अहिले सोच्दा पनि जिरिंग हुन्छ कस्तो चेतना थियो ...
समयक्रमसँगै कलेज पढ्न थालें, विभिन्न सामाजिक संघसंस्थाहरूका गतिविधिमा संलग्न हुन थालें। तर कस्तो बिडम्बना भने, सामाजिक संघसंस्थामै काम गर्ने अगुवाहरूको सोच पनि उस्तै!
समाज परिवर्तन गर्छौं भनेर हिँडेकाहरूको व्यवहारले म जिल्ल परें। एउटा घटना यहाँ उल्लेख गर्न जरुरी ठानें।
मैले एउटा संस्थामा जागिर पाएकी थिएँ। संस्थाको नेतृत्व महिला नै हुनुहुन्थ्यो। उहाँले हामीलाई महिनावारी भएको बेला अफिस नआउनू, आइहाले नछोएर बस्नू, शौचालय प्रयोग नगर्नू भनेको देख्दा समाज परिवर्तन र महिला अधिकारको लागि लड्ने उहाँको आडम्बर खाली परियोजना कुम्ल्याउन मात्र रहेछ भन्ने बुझें।
विभिन्न कार्यक्रममा सभा गोष्ठीमा पछाडि पारिएको सुदूरपश्चिममा महिलाको अवस्था दयनीय छ भनेर अवधारणा पत्र प्रस्तुत भए। छलफल भए। लाग्यो अहो! सुदूरपश्चिम त साँच्चै पछि परेको रहेछ।
कार्यक्रमहरूमा आउने प्रशिक्षकहरूदेखि दातृ निकायका महिलाहरूलाई देख्दा लाग्थ्यो पूर्व त निकै अगाडि रहेछ।
पूर्वका महिलाले त पश्चिमका महिलाको जस्तो समस्या र विभेद भोग्नु पर्दैन होला भन्ने कुरा लाग्थ्यो।
समय परिस्थितिले पछिल्लो १० महिनादेखि प्रदेश १ को उदयपुर जिल्लामा बसी महिला हिंसा न्यूनीकरण तथा पुनर्स्थापनाको लागि क्रियाशील संस्था ओरेक नेपालसँग आवद्ध भएर काम गर्ने अवसर पाएँ।
यो अवसरले मलाई पूर्व बुझ्न र महशुस गर्न मौका दियो। जुन मेरो बुझाइ भन्दा निकै फरक पाएँ।
तथ्यांक व्यवस्थापन र संचारको जिम्मेवारी भएकाले पनि महिला हिंसाका घटनाहरूलाई पछिल्लो समयमा नजिकबाट बुझ्न र अध्ययन गर्न पाएकी छु। केही घटनाको बारेमा यहाँ उल्लेख गर्न उचित ठानें।
केहीदिन पहिले कार्यालयको कामको शिलशिलामा उदयपुरको एउटा गाउँमा पुगेकी थिएँ। ह्विलचेयरमा चढेर एक जना मेरै उमेरकी महिला आउनु भयो।
बिहे भएको ४ महिनामा माटोको ढिस्कोमा पुरिएर मेरुदण्ड भाँचिएर अपांग हुनु भएकी रहेछ। अपांग भएपछि त पुगिहाल्यो, श्रीमानले अर्को बिहेको अनुमति मागे, उनले दिइन्।
अपांग भएदेखि श्रीमानले उनको सोधीखोजी गरेका छैनन्। तर मरेपछि किरिया गरिदिने आशामा उनी श्रीमानको सिन्दुर पोते लगाएर बसेकी रहेछिन्।
श्रीमानसँग सम्बन्ध विच्छेद गर्न खोज्दा, समाजले मरेपछि किरिया कस्ले गर्छ भनेर तर्साएकाले उनी अलपत्र छोड्ने श्रीमानको सिन्दुर पोते जपेर बसेकी छन्। स्वयं श्रीमानले पनि बेला बेला मेरो सिन्दुर फिर्ता गर भनेर धम्क्याउँदा रहेछन्।
यसैगरी केहीदिन पहिले एक जना गर्भवती महिला हाम्रो सेफ हाउसमा आश्रय लिन आउनु भयो।
श्रीमान विदेशमा भएकोले बेला ससुराले बलात्कार गरेर दोस्रो पटक उनको गर्भ बसेको रहेछ।
पहिलो पटक बलात्कारबाटै ससुराको बच्चा जन्माएकी उनलाई समाजले त्यही घरमा फिर्ता पठाएपछि उनको दोस्रोपटक बलात्कारबाट गर्भ बसेको थियो। अझ समाजले उनलाई नै चरित्रहीनको बिल्ला भिराइ पिडक ससुरालाई भने सफाइ दिएछ।
राजनितिक पृष्ठभूमिका पिडकलाई बचाउन निकै चलखेल भएको रहेछ। ती महिलालाई न्यायको लागि अहिले ओरेकले पहल गरिरहेको छ।
लैगिंक हिंसा विरूद्धको १६ दिने अभियान संचालनको हामी तयारी गरिरहेको बेला एक जना महिला नागरिकताको समस्या लिएर हामीकहाँ आउनु भयो। भारतबाट बिहे गरी आएको २५ वर्षसम्म पनि उनको नागरिकता बन्न सकेको रहेनछ।
अहिले नागरिकताको लागि उनले पहल गर्दा भारतका आफन्तको पनि कागजपत्र मागिएछ। आफ्नै घरमा काम गर्ने केटासँग बिहे गरी भारतबाट आएकी उनले त्यसपछि माइतीसँग कहिल्यै सम्पर्क गरेकी रहिनछन्।
अहिले चाहेर पनि उनी माइतीसँग सम्पर्क गर्न सकिरहेकी छैनन्। छोराछोरीहरू समेत यो देशको नागरिक भइसक्दा जन्मदाता आमा भने अनागरिक नै छिन्।
श्रीमान विदेश जाने, अर्को बिहे गर्ने, कुटपिट गाली बेइजती, बलात्कार, घरेलु हिंसाका घटनाका तथ्यांक केलाउँदै जाँदा महिलाको सन्दर्भमा पूर्व पनि पश्चिम भन्दा कम लागेन।
नागरिकता, बिहे दर्ताकै लागि सास्ती भोगेका सयौं घटना छन्। आफ्नो अनुभव र अहिले काम गर्दाको तथ्यांकहरूलाई केलाउँदै जाँदा महिला माथि हिंसाको एउटै कारण रहेछ। त्यो हो पितृसत्तात्मक सोच।
चाहे देशकै सबभन्दा विकसित राजधानी नै किन नहोस्, पितृसत्तात्मक परिवेश र सोचका कारण महिलाहरु हिंसाबाट प्रभावित भएर बस्नु परेको छ। जसरी मैले आफ्ना सुरूआती दिनमा महिलामाथि हुने विभेद र हिंसालाई स्वभाविक र सामान्य मान्न थालेकी थिएँ। लाखौं महिलाहरू अझै पनि यो बुझाइबाट माथि उठ्न सकेका छैनन्। कारण पितृसत्तात्मक सोच।
यो सोच पुरूषमा मात्र हुन्छ भन्न मैले खोजेकी होइन। मैले आफ्नो अनुभवमा माथि पनि उल्लेख गरे, महिला अधिकारकै लागि सक्रिय महिलाले महिनावारी हुँदा अफिस नआउनू भनेर आदेश दिनु पितृसत्तात्मक सोच नै हो।
ससुराले दुई दुई पटक बलात्कार गरेर बुहारीलाई गर्भवती बनाउनेलाई घरमा र समाजमा स्वीकार गर्नेहरू पनि पितृसत्तात्मक सोचकै हिमायती हुन्। समाजले निर्धारण गरेको यो सोच महिलाहरूमा विद्यमान छ।
अझ म भन्छु लादिएको वा त्यो सोचलाई अंगिकार गर्न बाध्य पारिएको छ।
लैगिंक हिंसा विरूद्धको १६ दिने अभियानमा अहिले हामी सबै सक्रिय छौं। आउनुहोस् यही अवसरमा यो अभियानलाई सफल पार्न पितृसत्तात्मक सोचको एकाधिकारको विरोध गरौं।
(लेखक ओरेक नेपालसँग आवद्ध छन्।)