कहाँबाट सुरू गरूँ ? कुन शब्दले सुरू गरूँ ? कुन शब्दले सम्बोधन गरूँ ? तपाईं जहाँ पुग्नुभयो, त्यहाँ कुन शब्दले सम्बोधन गरिन्छ, थाहा छैन।
सम्बोधन गरिन्छ कि गरिँदैन ? यो पनि थाहा छैन। कतै पुग्नभयो कि भएन? यो पनि थाहा छैन। कतै पुग्नुभएको भए, त्यहाँ तपाईंलाई कुन शब्दले स्वागत गरियो ? यो पनि थाहा छैन।
गरे कि गरेनन् ? गरे भने कसरी ? यी सबै विषयमा अनभिज्ञ रहँदारहँदै पनि तपाईंलाई आँसुका डिजिटल अक्षरहरूले सम्झँदै छु।
थाहा छैन, मेरा यी शब्दहरू पढ्न र हेर्न सक्नुहुन्छ कि हुन्न ! तै पनि नलेखी रहन सकिनँ र लेखिरहेछु।
तपाईंको भौतिक देह यहीँ धराधाममा थियो तर त्यसभित्र तपाईं हुनुहुन्थ्यो। केही समय अघिसम्म त्यसभित्र तपाईं हुनुहुन्थ्यो र तपाईंलाई भेट्न सकिन्थ्यो।
तपाईंको भौतिक देहसँग तपाईं सात समुद्रपारि हुनुहुन्थ्यो। म लगायतका हामी सात समुद्रवारि थियौं। तै पनि भर्चुअल्ली तपाईंसँग बात मार्न सकिन्थ्यो। बात मार्दा तपाईं सशरीर देखिनुहुन्थ्यो।
तपाईंलाई भौतिक रूपमा छुन नसके पनि तपाईंको भर्चुअल आकृतिलाई डिजिटल स्क्रिनमा देख्न सकिन्थ्यो। यसरी नै भवानीले तपाईंसँग बात मारेकी हो।
‘म सन्चै छु’ भन्नुभएको थियो अरे।
‘आमालाई कस्तो छ ?’ भनी सोध्नुभएको थियो अरे।
तपाईंसँगका यस्ता संवादले कोरोना भाइरसको सातौं पुस्ताको सङ्क्रमणको इपिसेन्टरका रूपमा वुहानपछि न्युयोर्क चर्चित भए पनि तपाईं सकुशल हुनुहुन्छ भन्नेमा हामी ढुक्क थियौं।
ढुक्क रहेकै बेला २०७७ सालको कलिलो किरणले राम्ररी पखेटा फिँजाउन नपाउँदै वैशाख ४ गते साँझ तपाईंलाई अस्पताल लगिएको खबर बर्दियाबाट रेविकाले रुँदै रुँदै सुनाई। यता रुवाबासी चल्यो।
अस्पताल लाँदैमा रुनुपर्ने होइन भनी सम्झाउँदा पनि उता उनको रुवाइ थामिएन, यता भवानीको।
दुवैलाई सम्झाउँदासम्झाउँदै कति बेला मेरै पनि आँखा रसाइसकेछन्। पत्तै भएन।
रोक्न खोज्दाखोज्दै बग्न थालेको आँखालाई सम्हालूँ अथवा रुन्चे अनुहार लगाएकी भवानीलाई ? दोधारमा थिएँ । भन्न सक्ने र सम्झाउन सक्ने शब्दको अभाव भयो।
के भन्ने के नभन्ने ! भन्न पर्ने शब्द आइरहेको थिएन। भन्न नहुने शब्द पनि सम्झिन सकिरहेको थिइनँ। अस्पताल लाँदैमा रुनुपर्ने होइन। यो भन्दाभन्दै पनि चित्त शान्त भइरहेको थिएन।
त्यस दिन बिहानैदेखि आकाश धुम्मिएको थियो। धुम्मिनु पनि यति कि बिहानीको सूर्यलाई ढपक्कै ढाकेर बेलुका हुन थालेको हो कि भन्ने भान भइरहेको थियो। मेघ गड्गडाएर बर्सिन तयार थियो। केही ठूल्ठूला थोपा नझरेको होइन तर बर्सिन खोज्दाखोज्दै बर्सिन सकिरहेको थिएन। भित्र मडारिएर बर्सिन नसकेको आभास भइरहेथ्यो।
मानौं, विशाल आँधीलाई पचाउन कालो बादल बलजफ्ती गर्दैछ। वातावरण शून्य। पात हल्लिरहेको थिएन। लाग्थ्यो, हावा हल्लिरहेको छैन। प्रकृतिमा पनि नहुनुपर्ने हुन लागिरहे जस्तो। पूर्वसंकेत दिइरहे जस्तो।
त्यसको केही दिन अगाडि कौसीमा जाँदा कागका बथानै जम्मा भएका थिए। कहिल्यै देखा नपर्ने कागहरू किन एकाएक ठूलो समूहमा देखा परे ? मनमा चसक्क प्रश्न बिझेको थियो।
एउटा भने मलाई नै हेरेर ‘काँ काँ’ गरिरहेको थियो, मानौं ऊ मलाई केही भन्न खोजिरहेछ।
उसको र मेरो आँखा नजुधेको होइन। जुधे पनि उससँग आँखा जुधाइरहन सकिनँ।
उसको ‘काँ काँ’ थामिनेभन्दा जोडतोडका साथ जारी थियो मानौं उसले त्यति गरेन भने उसको कर्तव्य पूरा हुँदैन। लाग्यो, ऊ कर्तव्य पूरा गरिरहेछ। म भने विश्वासको पछि लाग्ने भएका कारण उसको ‘काँ काँ’लाई सुने नसुनेझैं गरी अविश्वास गरिरहेँ।
ऊ एकोहोरो ‘काँ काँ’ कराइरह्यो, मैले ध्यान नदिएकोमा ध्यान तान्न खोजेझैं।
अन्तिममा ऊ बसिरहेको दिशातिरै गएँ। ऊ उडेर गयो । ऊसँगै उसका साथीहरू जो कौसीको पर्खालमा लहरै बसिरहेका थिए; पनि उडे। तिनीहरू समूह बनाएर आएका थिए।
तिनको कुरो बुझ्न नसकेर रणभुल्लमा थिएँ।
यस्तै दृश्य भवानीले पनि देखेकी थिई अरे। उसले यसलाई विश्वासका रूपमा लिई। हुन पनि पूर्वीय समाजले कागलाई सन्देशवाहकका रूपमा लिन्छ। उसको सन्देश शुभभन्दा अशुभ हुने गर्छ।
यस्तै विश्वास छ जसलाई विज्ञानका भाषामा अन्धविश्वास भनिन्छ।
जेहोस्, ‘आज के अशुभ समाचार सुन्नुपर्ने हो !’ भन्दै थिई।
नभन्दै बेलुका तपाईंलाई अस्पताल लगेको खबर आयो। अस्पताल लगेको खबरले मात्रै आत्तिनुपर्ने होइन भन्दाभन्दै पनि मनले मानेन। प्रमेशलाई फोन गरें।
प्रमेश, तपाईंको जेठो छोरो; ले खबरको पुष्टि गर्यो। मनले मानेन। भाउजूलाई फोन गर्दा उहाँ आत्तिरहनुभएको थियो। खबर अस्पताल गएकोसम्म मात्र सीमित रहेनछ। भौतिक देहलाई छाडेर तपाईं अभौतिक भइसक्नुभएको खबर आयो। तपाईं कतै अनन्त यात्रामा निस्किसक्नुभएको खबर आयो। अस्पतालमा डाक्टरले क्षमा मागिसकेको खबर आयो।
मनै त हो, चुप लागेर बस्न मान्दो रहनेछ ! तपाईंभन्दा ६ घण्टा टाढाको बाटो मिनिसोटामा बस्ने बिजेश; तपाईंका कान्छा छोरालाई मेसेन्जरमा डायल गरेर भवानीलाई दिएँ। उसबाट प्राप्त पनि तपाईं भौतिक संसारबाट अभौतिक भइसक्नुभएको खबर आयो।
‘कारण नभई कार्य हुन्न।’
यस वैज्ञानिक विश्वासमा बसेका हामी कारण सोध्नतिर लाग्यौं।
कारण, विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सातौं पुस्ताको संक्रमणका कारण हुन सक्ने सम्भावना व्यक्त गरियो भन्ने सुन्नमा आयो। त्यसमाथि तपाईं त्यसको केन्द्र न्युयोर्कमा बस्नुहुन्थ्यो। न्युयोर्कमा पनि एउटा फ्ल्याटमा एक्लै।
भाउजूचाहिँ आउनजान टाढा पर्यो भनेर काम गर्ने ठाउँतिरै बस्नुहुन्थ्यो अरे। तपाईंको सन्चो बिग्रेको थाहा पाएर आउँदा तपाईंका लागि भनेर फ्रिजमा राखिदिएका खानेकुरा जस्ताको तस्तै थिए अरे। खान मन लागेन भन्नुहुन्थ्यो अरे।
जेहोस्, तपाईं खानु र नखानुको सीमा काटेर गइसक्नुभएको थियो। तपाईं खाँदा पनि फरक नपर्ने र नखाँदा पनि फरक नपर्ने भइसक्नुभएको थियो। न खाँदा अघाउने स्थितिमा हुनुहुन्थ्यो न नखाँदा भोको पर्ने अवस्थामा हुनुहुन्थ्यो। यसै गरी पिसिआर टेस्टको रिजल्ट र अरिजल्टसँग पनि सरोकार राख्नुपर्ने अवस्थामा हुनुहुन्थ्यो।
रिपोर्ट आइसकेको छैन भन्ने कुरोसँग तपाईंको सरोकार बाँकी रहेन। रिजल्ट जेसुकै आए पनि त्यसले तपाईंलाई फरक पार्नेवाला थिएन। तपाईं रिजल्टको पहुँचभन्दा टाढा पुगिसक्नुभएको थियो।
रिजल्ट आउनु र नआउनुसँग तपाईंको कुनै सम्बन्ध थिएन। तपाईं हामीलाई भौतिक रूपमा छाडेर सुटुक्क अभौतिक भइसक्नुभएको थियो।
तपाईं आफू जन्मेको माटोभन्दा १२ हजार किलोमिटर टाढा सात समुद्रपारि पुगेर भौतिक चोलाबाट अभौतिक हुनुभयो।
तपाईंको अन्त्येष्टि हिन्दु परम्पराअनुसार एक हप्तापछि हुन सक्ने खबर आयो। पछि भने त्यसभन्दा पनि चाँडो हुन्छ भन्ने खबर आयो तर झन्डै १२ दिनको अन्धकारमा रुमल्लिरहन पर्यो।
कोरोनाका कारण अभौतिक भएकाहरूको भौतिक देहलाई सरकार आफैंले अन्त्येष्टि गर्छ र आफन्तलाई दिँदैन भन्ने सुनेका थियौं। सैनिक ट्रकहरू काठको बाकसमा बोकेर लाइन लागी गुडेको दृश्य टेलिभिजनका पर्दाहरूमा देखेका हौं।
ती निष्प्राण भौतिक देहहरूलाई लहरै खाडलमा समाधिस्थ गरेका पनि देखेका हौं। त्यसैले खबरै नगरी तपाईंलाई पनि कतै समाधिस्थ गरे कि भन्ने आशंका नभएको होइन तर होइन रहेछ।
आशंकाका बादलहरू मडारिइरहेका बेला बाह्रौं दिनका दिन तपाईंको अन्त्येष्टि हुँदैछ भन्ने खबर आकाशमार्गबाट आइपुग्यो। खबर त आइपुग्यो तर हामी कसैसँग तपाईंसम्म पुग्न सक्ने हैसियत थिएन। तपाईं अभौतिक भई कहाँ !
तपाईंको भौतिक देह न्युयोर्कमा, तपाईंका कान्छा छोरा मिनिसोटामा, तपाईंका माहिला भाइ सिकागोमा, तपाईंकी आमा र भाइबुहारी धनकुटामा, तपाईंका दुई छोराहरू ललितपुरमा, एउटी बहिनी भक्तपुर र अर्की बर्दियामा। भौतिकबाट अभौतिक भइसक्नुभएका तपाईंका लागि यी नातासम्बन्धहरूको के अर्थ ! भौतिक नै हुनुभएको भए पनि विश्वमा कहीँकतै जान सक्ने अवस्था थिएन। चारैतिर लकडाउन। को कता जान सक्ने।
कसैको पाइला कतै उचालिन सक्ने अवस्था थिएन। उचाल्ने अनुमति थिएन।
एउटा देशबाट अर्को देश, एउटा प्रदेशबाट अर्को प्रदेश, एउटा स्थानीय तहबाट अर्को स्थानीय तह, एउटा गाउँबाट अर्को गाउँ, एउटा टोलबाट अर्को टोल, एउटा घरबाट अर्को घर आउजाउ गर्ने अनुमति थिएन। गएमा सजायको भागीदार होइने।
एक दुईचोटि नभएको होइन। भक्तपुरबाट ललितपुर जाँदा सुरक्षाकर्मीबाट खप्की खानुपर्यो यद्यपि उनीहरू हाम्रै सुरक्षाका लागि हुन् भन्ने राम्रोसँग थाहा थियो।
थाहा हुँदाहुँदै पनि नजानु कसरी, जानु पनि कसरी ! तपाईं एकातिर तपाईंका आफन्त अर्कोतिर। विकीर्ण। ओल्लो छेउ र पल्लो छेउ। सबै आआफ्नो ठाउँबाट हलचल गर्न सक्ने अवस्थामा थिएनौं। जहाँ थियौं त्यहीँ बस्नुपर्ने।
यति नगरी एकअर्काको निकट गए कोरोना भाइरसको सातौं पुस्ताले आफन्त र पराया नभन्ने।
आफ्नै शरीरको पनि एउटाबाट अर्को अंगलाई जोगाउनुपर्ने। नभए बैरी हुने! कस्तो समय आयो ? बाँच्नुमात्र पर्छ के के देखिन्छ भन्थे। हो रहेछ। यान्त्रिक जीवन बाँच्दाबाँच्दै यन्त्र नै भइएछ/भएछौं।
आफ्नो ठाउँबाट अर्को ठाउँमा सञ्चालन हुन नसक्ने। जो जहाँ छ त्यहीँ रहनुपर्ने। आ-आफ्नो वृत्तमा सीमित रहनुपर्ने। वृत्तभन्दा इन्च पनि टसमस गर्न नपाइने!
यस्तै, अवस्थामा तपाईं अभौतिक हुनुभएको बाह्रौं दिन तपाईंको भौतिक देहको अन्त्येष्टि हुँदैछ भन्ने खबर आयो। बेलुकाको समय स्क्रिनमा हेर्न बाध्य भयौं तपाईंको भौतिक देह विसर्जनलाई। न्युयोर्क, मिनिसोटा, सिकागो, धनकुटा, बर्दिया, ललितपुर, भक्तपुर आदि आदि ठाउँबाट।
तपाईं त्यस्तै हुनुहुन्थ्यो जस्तो यहाँबाट जाँदा हुनुहुन्थ्यो। बरु अलिक मोटाउनुभएको रहेछ। मात्र तपाईं यहाँबाट आँखा खोलेर जानुभएको थियो, त्यहाँ आँखा बन्द गरेर मौन हुनुभयो। तपस्यारत साधनारतजस्तो।
जर्याकजुरुक उठेर अहिबले बोलिहाल्नुहोला जस्तो हुनुहुन्थ्यो, ‘होइन, आज कति गहिरो निद्रा लागेको ! सुतेपछि उठ्नै मन नलाग्ने। मलाई किन पहेंलो बर्को ओढाएको ?’
तर अपशोच ! तपाईं उठ्नुभएन। सबैको चाहनाको विपरीत तपाईं शून्य भई शून्यमा हराउनुभयो। फेरि कहिल्यै पाउन नसकिने गरी। यस्तो बेलामा सोध्न त नहुने तर सोध्न मन लागिहाल्यो। त्यसैले सोध्छु, ‘साँच्चि तपाईं कहाँ पुग्नुभयो हँ ? तपाईं र शरीरका बीचमा के सम्बन्ध थियो हँ ?
तपाईं नहुँदा शरीरको अर्थ नहुने तपाईं वास्तवमै हो चाहिँ को ? जीवन र अजीवनका बीचको भिन्नता हो चाहिँ के? कति बेला सम्मको समयलाई जीवन भन्ने ? कति बेलादेखिको समयलाई अजीवन भन्ने ? फेरि एउटाको जीवन सबैको जीवन नहुन सक्छ।
एउटाको जीवन सबैको अजीवन नहुन सक्छ। किन यस किसिमको प्रकृति ? किन यस किसिमको परम्परा ? यो कहिलेदेखि चल्दै आयो ? कहिलेसम्म चल्छ ?’
मलाई थाहा छ, यसको उत्तर न तपाईंसँग छ न मसँग छ न कसैसँग छ। हामी केवल निरन्तरता हौं समयको र प्रकृतिको।
हामीभन्दा अघि पनि थुप्रै थिए। हामीभन्दा पछि पनि थुप्रै हुने छन्। हामी पनि थुप्रै छौं। यो केवल निरन्तरता हो। यही निरन्तरता पनि हामीमध्ये कसैलाई हलुको लाग्छ, कसैलाई गह्रुंगो। जस्तो हामीमध्ये तपाईंका केही शुभचिन्तकलाई अहिले भइरहेको छ।
तीमध्ये पनि तपाईंलाई म यसकारण मात्र सम्झिरहको छैन कि तपाईं भवानीकी दाजु हुनुहुन्थ्यो बरु यसकारण पनि सम्झिरहेको छु कि तपाईंको नाम कुनै समय अशेष मल्लहरूको नामसँगै नेपाली साहित्यको इतिहासमा पढेको थिएँ।
साहित्यमा मात्र होइन, कलाकारमा पनि तपाईंको नाम रहेछ। यो जानकारी तपाईंकै गाउँले भाइ रमेशचन्द्र अधिकारीको सामाजिक सञ्जाल हेरेपछि थाहा पाएँ।
लेखिएको थियो, ‘धनकुटाका अग्रज सर्जक कलाकार, नाटक निर्देशक आदरणीय महेश अमात्यको अमेरिकामा कोरोना भाइरस संक्रमणबाट निधन भएको खबरले स्तब्ध तुल्याएको छ। एकताका उहाँबाट निर्देशित नाटक अभिनय गरेको स्मरण भइरहेछ। मृत आत्माको चिर शान्तिको कामनासहित शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।’
जेहोस्, तपाईंले संसार छाडी जानुभयो। यो तीतो सत्यलाई अब पत्थरको मुटु बनाएर स्वीकार्नैपर्छ। बिस्तारै स्वीकार्य हुनेछ पनि।
तपाईंको अन्तिम संस्कारमा सामेल हुन पाएनौं तर हाम्रा प्रतिनिधि बनेर नेपाली समुदाय जुटे। उहाँहरू तपाईंलाई अस्पताल पुर्याउनदेखि घाटसम्म जुट्नुभएको थियो।
दुःखमा सँगै हुने हातहरू हुँदा रहेछन्। आफन्तले अनुहारसम्म हेर्न नपाउँदा उदारमनाहरू साथहरू हुँदा रहेछन्। तिनको प्रशंसा आँसुको अक्षरले हुन सक्दैन।
अन्तिममा एउटा सानो निवेदन; आज नभए भोलि, भोलि नभए पर्सि, हाम्रो बाटो पनि त्यही हो जुन तपाईंले रोज्नुभयो अथवा रोज्न बाध्य हुनुभयो। त्यसकारण सक्नुहुन्छ भने बताइदिनुहोला, त्यहाँ पनि यहाँ जस्तै छिनाझपटी छ कि स्थायी शान्ति ? स्थायी शान्ति भए त्यो अहिलेका लागि तपाईंका भागमा परोस् ।