कोभिड-१९ ले सबैभन्दा प्रभावित पारेका केही क्षेणहरु मध्ये चलचित्र क्षेत्र एक हो। चलचित्र मन्दिरहरु अहिले बन्द छन्। आशा छ नेपाली सिने जगतले छिटै धमाकेदार पुनरागमन गर्ने छ। तथापि नेपालको परिपेक्षमा अहिले पनि नेपाली चलचित्र भनेपछि नाक खुम्चाउने विद्वानहरु नेपाली समाजमा प्रशस्तै छन्।
मानिसहरुको चलचित्रप्रतिको रुचि र स्वाद सायद मानिसको परिपक्वताले निर्धारण गर्दछ क्यार। कसैलाई साधारण विषयवस्तुले नै आकर्षित गरेको हुन्छ त कसैलाई रोनाधोना सहितको पारिवारिक चलचित्र र कसैलाई प्रविधिको भरपूर प्रयोग सहितको हिन्दी तथा अङ्ग्रेजी चलचित्रहरु। यसको ज्वलन्त उदाहरण म आफै हुँ।
मलाई अहिले पनि मेरो उमेर र ज्ञानको प्रगतिशीलतासँगै चलचित्रको छनोट र हेर्ने जाँगर बटुल्न हम्य हम्य पर्छ। यसको निर्धारण मानिसको मनोभाव, त्यसको स्वभाव र संगतले प्रमुख भूमिका खेलेको हुन्छ भन्ने कुरामा दुईमत नै छैन। कुनै बेलाका मेरा समकालीन साथीहरुले मलाई नेपाली चलचित्र हेर्न मनपर्छ भन्दा बढो नमज्जासँग जिस्काउने गर्थे।
हिन्दी चलचित्र हेर्नु वा अंग्रेजी चलचित्रका नाम मात्र उच्चारण गर्नु पनि कुनै बेला सामाजिक प्रतिष्ठाको रुपमा हेरिन्थ्यो जस्तो मलाई अनुभव हुन्थ्यो। यसमा मैले कसैलाई दोषारोपण गर्न विल्कुल खोजेको हैन, मानिसको आफ्नो-आफ्नो रुचिको विषय हो र यो उसको अधिकार पनि हो। यसलाई गलत हो भनेँ भने म सत-प्रतिशत गलत हुन्छु।
माथिको शिर्षक भित्र प्रवेश गर्ने जमर्को गर्छु। कुरा २०५७/५८ सालपछिको हो किनभने त्योभन्दा पहिला मलाई चलचित्र भनेको के हो भन्ने कुराको सामान्य जानकारी पनि थिएन। भर्खर भर्खर विकसोन्मुख जिल्ला सुर्खेत र यसको सदरमुकाम विरेन्द्रनगर, राजा विरेन्द्रको खुबै रुचाइएको उपत्यका मध्ये एक हो भन्ने हल्ला थियो। पछि पछि बुज्दै जाँदा त्यो कुरा हो कि जस्तो पनि लाग्यो तर यसको आधिकारिकता भने मसँग छैन।
नाम नै विरेन्द्रनगर भएकाले पनि यस्तो हल्ला चलेको हुन सक्छ। हालको कर्णाली प्रदेशको राजधानी सुर्खेत तर कतिपयलाई सुन्दा अचम्म लाग्न सक्छ, त्यतिबेला पनि विरेन्द्रनगर नगरपालिकामा रहेको हाम्रो टोलमा एकाधको घरमा मात्र दूरदर्शन अर्थात् टेलिभिजन हुने गर्थ्यो। त्यस्तोमा कि सरकारी कर्मचारी अथावा जमिनदारका घरहरु पर्दथे।
हुन त जागिरको हिसाबले हाम्रो बुवा पनि सरकारी शिक्षक नै हुनुहुन्थ्यो तर उहाँको रुचि चलचित्र प्रति शून्य बराबर नै थियो। त्यसैले मैले माथि उल्लेख गरेको मानिसको हैसियतले टेलिभिजनको स्वामित्व निर्धारण गर्दछ भन्न खोजेको हैन। यसका पनि केही तर्कहरु दिन सकिएलान् तर खाने मुखलाई जुँगाले के छेक्थ्यो र यसमा रुचिको कुरा प्रमुख हो।
त्यसबेलाका चर्चित टेलिश्रृङ्खलाहरु मलाई याद भएसम्म हिजो आजका कुरा, पुरुष, वंश, पुष्पान्जली, गहना, झिल्के कान्छा, अविरल बग्दछ इन्द्रावति, सम्भव असम्भव, माटोले माग्दैन आफै दिनुपर्दछ आदि केही पुराना हुन भने तितो सत्य, मेरी बास्सै, जिरे खुर्सानी जस्ता हाँस्य श्रृंखला अलिकति भएपनि नयाँ हुन कि जस्तो लाग्छ।
यी मध्ये केही अहिले पनि टेलिभिजन मार्फत प्रशारण भइरहेका छन् भने केही प्रशारण हुन छोडे पनि। आफ्नो घरमा टेलिभिजन नभएकाले सम्पूर्ण भागहरु हेर्ने अभिप्रायले कहिले कसको त कहिले कसको घरमा गइ हेर्ने प्रयास हाम्रो हरसम्भव हुन्थ्यो। कुनै पनि भाग छुट्न गयो भने कि त त्यसको पुनः प्रशारण हेर्नु पर्ने। त्यो पनि सम्भव नभए उक्त भागको कथावस्तु हेरेको व्यत्तिबाट सुन्नै पर्ने आदि उपाय लगाइन्थ्यो।
म र भाइ उमेरले त्यति धेरै अन्तर नभएकाले पनि होला, हामी एकअर्काका साथी जस्तै थियौँ र माथिको हुरा हामी दुईमा लागु हुन्थ्यो पनि। यो खालको बाल्यपनलाई अहिले आएर सम्झिदा एउटा फरक खालको रमाइलो अनुभव हुन्छ।
मेरो जिन्दगीमा चलचित्रको अध्याय सायद नेपाली चलचित्र सारंगीबाट भएको हुनुपर्दछ। उसबेला नेपाल टेलिभिजनमा हरेक शुक्रबार राति ९ बजेपछि नेपाली चलचित्रहरु प्रशारण हुन्थे। सोही क्रममा पहिलो चलचित्र सारंगी हुँदै कसम, भाउजू, जित, दुल्हा राजा दुलही रानी आदि हेरेको सम्झना छ।
आफ्नो घरमा टेलिभिजन नभएपनि हाम्रै घरमा बहालमा बस्नु हुने दिदीकोमा गएर शुक्रबार प्रशारण हुने दर्जनौ चलचित्रहरु हेरियो होला। पछि आइतबार दिउसो ३ बजे पनि सोही च्यानलमार्फत पनि नेपाली चलचित्रहरु के घर के डेरा, लाहुरे, बासुदेव जस्ता चलचित्रहरु हेरिन्थ्यो। यो क्रम २०५८ जेष्ठ १९ गतेसम्म रह्यो। त्यसपछि यसले निरन्तरता पाउने सकेन।
मैले उल्लेख गरेको मिति तपाईहरुले याद गर्नु भयो कि भएन, यो ऐतिहासिक मिति राजदरबार हत्याकाण्डको हो। हो, यो हत्याकाण्ड हुँदा शुक्रबार थियो। राजदरबारमा हत्याकाण्ड मच्चिरहँदा हामी नयाँ चलचित्रको बेग्र प्रतिक्षामा थियौँ। तर सोही चलचित्रको कुराइमा १० बज्यो, चलचित्र प्रशारण भएन।
त्यो बेला अहिले जस्तो संचार शुलभ नभएकाले बिहान मात्र थाहा भयो, चलचित्रको प्रशारण नहुनुको कारण त राजपरिवारको नरसंहार पो रहेछ। त्यसको करिब १०-१२ दिनसम्म टेलिभिजनको कुनै पनि कार्यक्रमको प्रशारण भएन र नेपाली चलचित्रको सुलभ हेराइमा पूर्णबिराम लाग्यो।
त्यसबेला सुर्खेतमा दुई वटा चलचित्र मन्दिरहरु थिए, एउटा शनि र अर्को लक्ष्मी चलचित्र मन्दिर। अहिले लक्ष्मी चलचित्र मन्दिर मात्र छ। लक्ष्मी चलचित्र मन्दिर अहिले अत्याधुनिक प्रविधियुक्त बनाइएको छ रे भन्ने सुनेको। हेर्न जाने अवसर जुटेको छैन। घरबाट चलचित्र हेर्न जान दिने सहज वातावरण थिएन किनभने त्यो बखत फिल्म हेर्न जानु भनेको छोराछोरी बिग्रनु हो भन्ने मान्यता थियो।
चलचित्र मन्दिरमा मेरो पहिलो चलचित्र उनै महानायक राजेश हमालको चलचित्र उपकार थियो जसलाई हाम्रो कान्छो बुवाको भन्छन् नि, स्पोन्सरसिपमा दिदीहरुसँग मलाई पठाइएको थियो। त्यसबेला स्पेशलवाला टिकट काटेर हेरेको हो। मलाई अहिले पनि सम्झना छ। त्यो चलचित्र हेर्ने जाने दिन मलाई एक त रातभरि निन्द्रा लागेन। त्यसमाथि दिदीहरुले मलाई नलाने पो हुन कि भन्ने पिरलोले सतायो।
तर जे होस्, जसोतसो हेरियो चलचित्र, त्यो पनि रंगीन पर्दामा। बढेमानको पर्दा, त्यसमाथि राजेश हमाल। के चाहियो त्यति भएसि। त्यसपछि ममा नेपाली चलचित्र प्रतिको भोग अझै बढ्न थाल्यो। त्यस उपरान्त म हरेक मौकाको खोजिमा हुन्थेँ, कहिले को चलचित्र हेर्न जान्छन् र म उनीहरुलाई अनुरोध गरुँ, मलाई पनि लैजानुसन भनेर।
कहिले हाम्रै घरमा बहालमा बस्ने विद्यार्थी दाइहरुसँग त कहिले कोसँग। केही उपाय लागेन भने हप्तामा दुई/चार रुपैयाँ जम्मा गर्ने र शनिबार चलचित्र मन्दिर परिसरमा लंगुर गुर्जा वा गुर्जा डबल खेल्ने जितेर ८ रुपैयाँ भयो भने तुरुन्तै प्रथम श्रेणीको टिकट काटेर बिहानको शो हेर्ने, हारियो भने जिल्ल पर्दै घर फर्कने।
यो शिलशिला हामी दुवै भाइमा लागु हुन्थ्यो र धेरैपछिसम्म जारी रह्यो। यो खालको क्रियाकलाप अक्सर राजेश हमालका चलचित्रहरु हेर्नका लागि बढी हुन्थ्यो। पछिल्लो समय मलाई राजेश हमाल लगायत विराज भट्ट र निखिल उप्रेति मन पर्थ्यो भने भाइलाई निखिल। तसर्थ कहिले काहीँ यतिसम्म गरिन्थ्यो कि भाइ र मैले एकै पटक दुई चलचित्रहरु दुई चलचित्र मन्दिर गएर हेर्ने र फर्केर एकअर्कालाई आ-आफूले हेरेको चलचित्रको कहानी वा कथावस्तु सुनाउने गर्दथ्यौँ।
यस्तोमा म राजेश हमाल र विराज भट्टको चलचित्र छनोट गर्थेँ र ऊ निखिल उप्रेतिको चलचित्र छुटाउदैनथ्यो। परालको कुनिउमा जिम्यास्टिक हान्ने, सुकेका मकै तथा भिन्डिका बोटहरुलाई फ्लाइङ किक हान्ने र अनेक थरिका फिल्मी सम्बादहरु बोल्ने प्रवित्तिले मेरो बालापनमा बेग्लै रस थपेको अनुभूत अहिले हुन्छ। ताजुव लाग्ने कुरा त यो छ कि यसरी हेरिने हाम्रो बानीसँग घर परिवार बेखबर थियो।
आफूले लुकि लुकि चलचित्र हेर्नुको कारण सायद मैले माथि उल्लेख गरिसकेँ र दोहोर्याउन चाहिनँ पनि। यति उल्लेख गरिरहँदा कतिपयलाई त यो पनि लाग्न सक्छ, यस्तो बानीले त पढाइ ध्वस्त भयो होला? त्यसरी चलचित्रहरु हेर्दा पढाइलाई समय खै? मेरो विचारमा रुचि र लत अलि फरक हुन्, मलाई चिया मन पर्छ र मलाई चिया नभइ हुन्न। यी दुवै वाक्य सुन्दा उस्तै लाग्छ तर यिनका व्यवहारिक रुपमा भिन्न छन्।
हो, अघिल्लोको कालान्तरमा नतिजा पछिल्लो हुन सक्छ तर यसको लागि विभिन्न अरु कुराले प्रभाव पार्न सक्छ। जसमध्ये समानान्तर रुचि अरु कुनैमा हुन सक्छ। त्यस्तै मलाई पढाइ तथा खेलकुदमा पनि उल्लेख्य रुचि थियो। उल्लेख नगर्दा पनि फरक त केही पर्दैन थियो तर मैले उल्लेख गरेँ। म मेरो विद्यालयको प्रथम विद्यार्थी थिएँ।
तसर्थ हरेक पटक मलाई चलचित्र मन्दिरमा गइ चलचित्र हेर्दा क्लाइमेक्समा हमेशा झस्काउथ्यो कि चलचित्र सकिएपछि कोही पनि गुरु वा चिनेको मान्छेले मलाई नदेखोस् र देखे पनि कसैलाई नभनोस्। यो झस्काइ समाजमा त्यो बेलाको चलचित्र प्रतिको धारणाको उपज हो भन्छु म वा सायद मैले सोचे जति गम्भीर रुप नहुन पनि सक्थ्यो।
तर एक दुई पटकको तितो भोगाइले पनि मलाई यस्तो निचोड निकाल्न बाध्य तुल्याएको हुन सक्छ। पाठकहरु सामु म यो पनि भन्न सक्छु कि चलचित्र प्रतिको मोह मेरो विद्यालय कालमा रत्ति पनि कम भएन र यसले मेरो पठनपाठनका उल्लेख्य असर पनि परेन। यो भनिरहँदा विवादास्पद हुन सक्छ तर यसमा समय व्यवस्थापन गर्न अपरिहार्य छ।
अत: त्यसबेला मनको कुनै कुनामा कलाकार बन्ने चाहना नजागेको पनि कहाँ हो र! तर समय र कर्मले मलाई त्यसको काबिल सम्झेन होला। समयको गतिशीलता र अनुकूलताले पछि घरमै बसेर फिल्मका सिडीहरु ल्याएर घरमै चलचित्र हेर्ने वातावरण बन्दै गयो। चलचित्रमा नयाँ नयाँ अनुहार संगै नयाँ प्रकृतिका चलचित्रहरु बन्ने क्रम जारी भयो र आफ्नो अनुकूलतामा नेपाली चलचित्रहरु हेर्ने कार्य जारी रह्यो।
व्यस्थताका बाबजुत अहिले पनि प्रशंसा गरिएका र रुचाइएका स्टारहरुको चलचित्र हेर्न छुटाउदिनँ भने पुराना चलचित्रहरु पनि युट्युबमा खोजि खोजि हेर्ने क्रम जारी छ।
चलचित्र समाजको ऐना हो। जे समाजमा देखिन्छ, सोही प्रस्तुत गरिन्छ। पात्रको भूमिकाले पनि दर्शकको मनोविज्ञानमा ठूलो असर गरेको हुन्छ। यसको प्रतिनिधि कलाकार हुन् महानायक राजेश हमाल। मेरो बाल्यकालदेखि वर्तमान समयसम्म राजेश हमालको कलाकारिताले मात्र नभइ उनको व्यक्तित्वले पनि उतिकै गहिरो छाप छोडेको छ।
चलचित्रमा उनी जसरी समाजलाई प्रतिनिधित्व गरेका हुन्छन। त्यसरी नै असली जीवनमा पनि उनको व्यत्तित्वबाट अनुशरण गर्नु पर्ने धेरै कुराहरु छन्। मैले मेरो प्रवेशिका परीक्षापछिको एक दशकमा उनका हेरेका चलचित्रहरु गन्दा आधि दर्जन पनि छैनन् होला र मैले निरन्तर हेर्दा उहाँको कलाकारिता क्षमता मूल्यांकन गर्न सक्ने नभइसकेकाले मलाई उहाँको क्षमता प्रति सन्देह छैन।
र मलाई फरक पनि पर्दैन उहाँमा त्यो क्षमता कति छ भन्ने किनकी मलाई जब नायकत्वको परिकल्पना आउछ, तब मलाई हरेक कोणबाट उहाँ पर्फेक्ट लाग्छ। यो म उहाँको फिल्मी प्रशंसक भएर मात्र भनिरहेको छैन। किनकी यो पछिल्लो आधा दशक मैले राजेश हमाललाई पर्दामा देखेको छैन र हेर्न पनि पाएको छैन। तर पनि मैले सार्वजनिक व्यत्तिहरुमध्ये पछ्याउने गरेका केही व्यक्तित्वहरुमा उहाँ पनि पर्नु हुन्छ।
मान्छेको उमेर र अवस्थाले पनि मानिसहरुमा चलचित्रले कस्तो प्रभाव छोड्छ भन्ने कुराको निर्क्यौल गर्दछ। यसमा मानिसको स्वभाव र मनोभावले भूमिका खेल्दछ। मानिस आफ्नो मनोभाव अनुरुप नै चलचित्र छनोट गर्दछ र हेर्न रुचाउदछ पनि। यसमा उसले के सोच्दछ र कसरी ग्रहण गर्दछ, स्वयम दर्शकमै भर पर्दछ।
चलचित्रको शक्ति यतिसम्म छ कि कुनै चलचित्रमा नकारात्माक भूमिकामा रहेको कुनै पात्रलाई अर्को चलचित्रमा सकारात्मक भूमिकामा हेर्न रुचाइदैन। यसमा कलाकार स्वयमको जीवन्त अभिनयले पनि हुन सक्छ भने दर्शकको अपेक्षामा वा ग्रहणशीलतामा पनि भर पर्दछ। कतिपयले अभिनय क्षमताका आधारमा कलाकारको वर्गीकरण गरेका हुन्छन् र तिनका प्रशंसक बन्छन् पनि।
तर अधिकांश दर्शक कलाकारिताभन्दा पनि कथावस्तु हेरेर चलचित्र हेर्न हल पुगेका हुन्छन्। यसमा कलाकारले कथा वस्तुमा कतिको न्याय गरेको भन्ने कुराले नि प्रभाव छोड्छ।
कलाकार राष्ट्रका गहना हुन्, यस कुरामा दुईमत छैन। मानिसहरुले पहिरने गहना लगाउदा मात्र हैन, सजाउदा पनि उतिकै उत्कृष्ट हुनु पर्दछ भन्ने मलाई लाग्दछ। कलाकारहरु सार्वजनिक व्यक्ति भइसकेपछि तिनीहरुलाई अनुशरण गर्ने जमात पनि धेरै हुन्छ। हो, कलाकारको व्यत्तिगत जीवन पनि हुन्छ। त्यसमा दखल दिनु उचित विल्कुल हुँदैन र दिनु पनि हुँदैन।
तर सार्वजनिक ठाँउमा कहिलेकाहीँ कलाकारले विवादास्पद कार्य गर्दिदा वा त्यस्ता आचरणहरु देखाउदा वा अभिव्यक्तिहरु प्रस्तुत गरिदिदा अनुशरण गर्ने प्रशंसकमा त्यस्को असर पर्न सक्छ भन्ने कयौँ अन्तर्राष्ट्रिय दृष्टान्तहरु छन् र केही नेपालमा पनि। तसर्थ यस्ता कुरामा कलाकारहरुले हेक्का राख्न जरुरी छ।
अहिले हाम्रो छिमेकी रंगमंच बलिउड, यही कुराको शिकार भएको छ। केही कलाकारहरु लागुपदार्थको मुद्दामा तानिएपछि समग्र बलिउड प्रभावित छ। करोडौ प्रशंसकहरुको खानी बलिउडलाई चौतर्फी आलोचना एक अर्थमा भन्नु पर्दा स्टारको निजी जिन्दगीलेनै गर्दा भएको हो भन्दा कसैको विमती नहोला।
कसले के खान्छ, के प्रयोग गर्छ, नितान्त व्यत्तिगत हो। चाहे त्यो वैधानिक होस् या अवैधानिक। तर सार्वजनिक व्यत्ति भइसकेका केही पात्रहरुले समग्र क्षेत्रलाई नै असर गर्नु पनि असान्दर्भिक भने हैन। त्यसैले स्टारहरुको स्टारडम सिसाको घर जस्तै हो, हेर्दा र देख्दा राम्रो। जोगाउन सके वर्षौसम्म टिक्छ, नसके सानो पत्थरले भताभुंग पार्न सक्छ।
कलाकारहरुको अधिकांश व्यवहारहरु सार्वजनिक व्यवहारतुल्य हुन् जुन छर्लंगै देखिन्छन्। सिसाको घर बाहिरबाट त्यसमा के कुरोलाई नेपथ्य भित्र लुकाउनु, त्यो नितान्त कलाकारहरुमा भर पर्दछ। अहिलेको संचार माध्यमहरुले कलाकारको स्टारडम जोगाउन ठूलो चुनौती थपेका छन्।
के कुरालाई सार्वजनिक गर्ने र के कुरा नगर्ने भन्ने कुराको सामान्य चेतना अहिलेका संचार माध्यमहरुलाई हुन जरुरी छ। त्यस्तै गोपनियताको सामान्य चेतना नभएका पत्रकारहरुका कारण केही राम्रा कलाकारहरुलाई नेपाली तथा भारतीय सिने क्षेत्रले गुमाइसकेको छ।
पैसालाई सर्वपरी ठान्दै मानवीयता र संवेदनालाई लात हान्नेको उपज हुन् त्यस्ता अप्रिय घटनाहरु। तसर्थ, राज्यले पनि यस्ता अप्रिय घटनाहरु नियन्त्रण गर्न अग्रसरता देखाउन जरुरी छ।