जीवनको अन्तिम समयसम्म सिक्ने र सिकाउने कार्यले निरन्तर पाउने पक्षलाई नकार्न नसकिने रैछ। जीवनको उत्तरार्धसम्म आउँदा केही जानेको जस्तो लागेन र लाग्दैन होला पनि। यद्यपि सिक्ने र जान्नु पर्ने धेरै विषय र शैली अनगिन्ति छन् नै।
बोल्न र बाँच्नको लागि आमा र अभिभावकबाट सिक्ने भाषागत विषयहरु धेरै होलान् तर अन्य महत्वपूर्ण विषयगत पक्षसँगै भाषाको बारेमा केही सम्झना स्वरुप गन्थन गर्नु पर्ने धेरै पाटाहरुमा छलफल हुन आवश्यक छ। अधिकांश मानिसहरु आफूले जान्नु पर्ने ज्ञान सीपका खुराकहरु धेरै भएपनि ठ्याक्कै अक्कल र शैलीको अभावले गर्दा केही अलमल हुने गरेको महशुस हुँदै गएको छ।
सबैलाई लाग्न सक्छ, आफूले धेरै नै बिलम्ब गरी आफ्नो करियर बनाउन अवसर पाएका छन। त्यसैले गर्दा पनि सबैलाई भाषा, योग्यता, शैली, प्रस्तुती र वृत्तिविकास लगायतका केही अवयवहरुमा समय सापेक्ष महशुसीकरण पक्कै भएको हुनु पर्छ।
निश्चय पनि भाषा सरल, उच्चारण गर्न सक्ने र विषयगत सम्बन्ध, सबैले सजिलैसँग बुज्ने खालको हुनु पर्ने पक्षलाई पनि ध्यान दिनु पर्नेमा अधिकांशहरुलाई विदितै छ। प्रकारान्तरमा भाषागत सीप कला खड्किदै र अभाव हुँदै गएको यथार्थतालाई भने कसैबाट पनि नकार्न सकिँदैन। यी र यस्तै विगत र भोगाइलाई समेटेर अनुभूति तयार गर्ने प्रयत्न गरेको हुँ।
मेरी आमा जो संस्कृत र नेपाली भाषामा औसतमा विज्ञ नै हुनुहुन्थ्यो भने अंग्रेजीमा अनविज्ञ हुनु भएन। आमाले मलाई जन्म मात्र दिनु भएन जीवन भोगाइलाई सरल र उपलब्धीमूलक बनाउन प्रत्येक क्षण खर्चिनु भयो। घरको पिँडीमा बसेर चामल निफन्दै मलाई ए, बी, सी, डी र उच्चारण गर्न सिकाउने, कखरा, संस्कृतदेखि अर्थशास्त्रका अबयव सीमित श्रोतसाधनले अधिकतम सन्तुष्टि र परिचालन गराउने तौर तरिका लगायत संस्कारजन्य व्यवहार सिकाउनु भयो।
भन्ने नै हो भने पूजापाठ गर्न र गराउन आमा आफैले गर्नुहुन्यो तर मैले ठ्याक्कै अनुसरण गर्न सकिनँ। यसरी सानै उमेरमा आमाको प्रेरणाले गर्दा सबै विषयको भाषा र शैलीमा उत्तिकै महत्वका साथ ध्यान दिनु पर्ने रहर र बाध्यता मेरो अगाडि आइरह्यो। अनि पिताश्रीको हस्त लिखित लिखतको प्रभावले गर्दा त धेरै नै प्रेरणा दियो। पिताश्रीको यही प्रभावले गर्दा पछि गएर कानुन व्यवसायी बन्ने प्रेरणा मिल्यो नै।
त्यसो त पाँच कक्षा स्कुल पढ्दा संस्कृतको पाठ नगरेको झुटो आरोपमा संस्कृत शिक्षकबाट मराणासन्न हुने गरी लठ्ठी पनि खाइयो। त्यतिबेलाको पिटाइले गर्दा मलाई संस्कृत सिक्नु पर्ने रैछ भन्दै संस्कृत विषयले पहिलो प्राथमिकता पायो र मैले संस्कृतलाई बढी ध्यान दिन पुगें।
माध्यमिक तहमा सबैभन्दा महत्वपूर्ण विषयको रुपमा ऐच्छिक विषयको रुपमा गणित र विज्ञान विषयलाई रोजियो र गणित र विज्ञानका भाषागत शब्दावली भने हैरान नै बनायो। एसएलसीपश्चात विज्ञान पढ्ने उत्कट चाहना हुँदाहुँदै पनि मानविकी संकाय अन्तर्गत ऐच्छिक विषयको रुपमा गणित र अर्थशास्त्र लिन पुगियो।
त्यतिबेला गणित र अर्थशास्त्रका भाषाका साथै यसका शब्दावली र ज्ञानको खोजीमा ध्यान गयो। यस विषयको अवसर तिर ध्यानै जान सकेन अनि विशुद्ध एमएस्सी लेख्न पाइन्छ भन्ने सल्लाह अनुसार मेरो रहरले यु टर्न गर्यो अनि ऐच्छिक विषय गणित अध्ययन गर्न तिर लागियो। अनि गणितका भाषा र शब्दावली जान्नै पर्ने बाध्यता नै भयो।
अन्तमा पढाइ त अर्थशास्त्र तिर मोडियो, देशको अर्थशास्त्री बनेर देश सेवा गर्ने भन्दै। यसैले गर्दा पनि अन्तमा अर्थशास्त्रलाई पच्छाइयो अनि अर्थशास्त्रका शब्दावली र भाषा संयोजनका लागि विशेष ध्यान दिँदै आफूमा निखरता ल्याउने प्रयत्न गर्नै पर्ने भयो। यसैबीच, मानवअधिकारको क्षेत्रमा आफ्नो करियर बनाउने अवसरले गर्दा कानुनी क्षेत्रमा लागेर पिताश्रीको पद चाप पछाउन मन लाग्यो र कानुन पढियो।
अनि मानवअधिकार र कानुनका शब्दावली र प्रयोगलाई स्थान अनुसार प्रयोग र उच्चारण गर्नु पर्ने दायित्वले गर्दा पनि फरक शैलीलाई अनुसरण गर्न तिर लागियो। समयको यसै उपक्रममा पत्रकारिताको भूतले गर्दा पत्रकारिताको क ख ग पढियो र पत्रकारितालाई सहज र सरल शैलीमा शब्द चयन गर्नु पर्नेमा जोड दिँदै केही सिक्ने प्रयत्न गरेँ।
सानैदेखि आत्मनिर्भरको काम गर्न मन पराउने उत्कट चाहनाले गर्दा विषयान्तर हुँदै गएँ। हिन्दी फिल्म हेर्यो आफैलाई नायक, अभिनेताले भुतुक्कै बनाउने कुरा त छँदै थियो। अनि त्यही शैलीका हिन्दी संवाद भाषा अनुकरण गर्दै बोल्ने र सिको गर्ने क्रम सबैमा हुने रहर त ममा पनि थियो नै।
यसैबीच दक्षिण भारतको बसाइमा उही शैलीले बोलचाल गर्ने तामिल भाषा नै सही हो कि भन्ने कुराले मनमा गहिरो छाप पार्यो र स्थानीय शैलीमा भिज्नका लागि तामिल भाषा सिक्ने प्रयत्न पनि गरें। यसैगरी, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैससमा काम गर्दाको क्षणमा अंग्रेजी भाषाले पहिलो प्राथमिकता र भोगाइमा पर्ने नै भयो। अनि नेपाली भाषा त कता हो कता जस्तो भयो। यद्यपि लेख, आलेख र धेरै कामहरु नेपाली भाषामै गरिन्थ्यो र आनन्दका साथ रमाएँ पनि।
छोरी नेपाली र अंग्रेजी माध्यमको विषयमा सानैबाट पढ्ने र आफ्नै परिवेशमा हुर्किन, निश्चय पनि फरक भाषा र शैलीलाई अंगाल्न गाह्रो भयो तर उनको भाषाशैली र प्रस्तुती उच्च कोटीको लाग्छ। पारिवारिक पृष्ठभूमि र शैलीले गर्दा भाषाको समस्या उनलाई कम परको हो कि जस्तो लाग्छ। छोरीले नेपाली र अंग्रेजी भाषामा लेख, रचना र पुस्तक प्रकाशित गरेकी छिन्।
छोरो ज्वलन्त फरक संस्कार र भाषा भएको ठाउँमा आफूलाई स्थापित गर्न उसले भोगेको दुख र देखाएको चासोले मलाई यति धेरै नतमस्तक बनायो। र मैले मेरी आमालाई सम्झिन पुगेँ। आमाले यही उमेरमा मलाई अंग्रेजी सिकाउनु भयो। आमाले जस्तो चामल निफन्दै मैले यो बच्चालाई गाइड गर्न त सकिनँ तर यो सानो बच्चालाई भाषाले पुर्याएको तनाव मलाई सहन समेत गाह्रो भयो।
यति धेरै हिच्किचाहटका साथ स्कुल जान्थ्यो र आउने वित्तिकै अंग्रजी माध्यमको संचार माध्यमको सहार लिँदै अंग्रेजी सिक्ने प्रयत्नमा जारी छ। र जति बेला पनि अंग्रेजी भाषाको टिभी कार्यक्रम हेर्दै आफूलाई ठाउँ अनुसार ढाल्दै जाने प्रयत्नमा छ। अनि सोच्न बाध्य हुन्छु, भाषामा के छ यस्तो शक्ति जसले जान्नै पर्ने बाध्यता बनाएको छ। यहाँ केही मेरा भोगाइमा आधारित केही उदाहरणहरु मात्रै यहाँ प्रस्तुत गर्ने जमर्को गरें।
संयुक्त राष्ट्र संघले मान्यता दिएको विभिन्न भाषाहरु जान्न सके त धेरै अब्बल नै हुन्छ, यदि सकिएन भने आवश्यक्ता अनुसार र विषयगतका भाषामा ध्यान दिनु पर्नेमा भने विशेष आवश्यक छ। यसरी भाषामा देखिएका र महशुस गरिएका महत्व नयाँ भने पक्कै नभए पनि जीवनमा भाषा जान्नै पर्नु अनुभव र बाध्यताले कैयन व्यक्तिलाई प्रेरणा त मिल्यो होला नै तर सँगसँगै वृत्तिविकासको लागि थप जटिलता र चुनोती पनि कम छैनन्।
जसले गर्दा कैँयन व्यक्तिले बैकल्पिक भाषाको सहरा लिनु परेको धेरै उदाहरण हाम्रो सामु बग्रेल्ती छन्। त्यसैले भाषामा यस्तो अलौकिक शक्ति छ जसले मानिस, समुदाय, काम गर्ने अवसर र वृत्तिविकासमा अब्बल सहयोग पुर्याएको हुन्छ। मेरो ६ वर्षको बच्चाहरुले गरेको मिहेनत र समर्पणले गर्दा पनि कुनै पनि भाषालाई कम आँकलन गर्न मिल्दैन र जान्नै पर्ने अवस्था सिर्जना गरिदिएको छ।
यसरी बच्चाको सिकाइ र समर्पणले हामी अभिभावकहरुलाई भने गम्भीर भएर सोच्न र ध्यान दिन बाध्य पारेको छ। भाषामा अब्बल हुन सकियो भने वृत्तिविकास र जीविकोपार्जनमा सहज हुने रहेछ।