शिक्षा समाज र सोच परिवर्तन गर्ने मुख्य तत्व, देश विकास गर्ने प्रमुख आधार। असम्भव भनिएका कुरालाई पनि सम्भव बनाएर ढुंगेबाट आज सभ्य, समृद्ध र प्रविधि युगमा आउँदा यो आमूल परिवर्तनको तरंग ल्याउने अति महत्त्वपूर्ण र शक्तिशाली हतियार।
यस्तै के के भन्दै धन कि विद्या ठूलो भन्ने विषयको वादविवाद प्रतियोगितामा दादाले लेख्दिएको यी माथिका कुरा रातभरि रट्टा मारेर अर्को दिन प्रतियोगितामा गएर भनेको अस्ति जस्तै लाग्छ।
अझ धन ठूलो भन्ने साथीलाई, 'मेरो भूतपुर्व साथीले धन नै ठूलो मान्नुहुन्छ भने त विद्यालय नआइ धन कमाउन जानुहुन्थ्यो। तर उहाँ त्यो कदापि गर्नु हुन्न किनकी उहाँलाई थाहा छ कि विद्या नै ठूलो हो' भन्दा बरर ताली बजेको थियो।
अहिले सम्झिदा कता-कता हाँसो पनि लाग्छ। तर मैले गलत पनि त भनेको थिइनँ। अझ नेपाली समाजको पृष्ठभूमिमा उभिएर यस्तै दुई/चार वटा कुरा भन्दिएपछि मेरो मात्र होइन कि, हर कोहीको राम्रै मूल्यांकन हुने गर्छ, ठुलै सफल मान्छे बन्ने लक्षण देख्नु हुन्थ्यो हाम्रा शिक्षक अनि अग्रजहरु।
नानी साह्रै राम्रो बोली, तीन कक्षाको मान्छे यति बोल्ने भएपछि त पक्कै केही गर्छे पछि भन्नु हुन्थ्यो। तर बिडम्बना, उहाँहरुलाई के थाहा कि त्यो वाक्यहरु मैले आफूले महशुस गरेर, त्यसको सार्थकता बुझेर कहाँ भनेको हो र? दादाले लेख्दिएको राम्रो हुन्छ अनि म प्रथम हुन्छु भन्ने हेतुले लेख्न लगाइ रातभर रटेर आएर भन्या हो।
पढाइ भनेकै सबैभन्दा ठूलो कुरा हो, पढेन भने भविष्य अन्धकार छ, अझ अहिलेको बच्चालाई त पढेन भने होटेलमा भाडा माज्नुपर्ला भनेको सुन्छु। हाम्रो पाला त छोरीहरुलाई नपढ् न, बिहे गर्दिने हो अनि छोराहरुलाई येसैगरी खेल्दै हिड्, भोलिपर्सी हलो जोत्नुपर्ला भन्दै गाली गरेको सुनिन्थ्यो।
गाली सुन्नु नपरोस् भनेर चाहे मन लागेर होस्, नलागेर ती किताबको कथाहरु, गणितका गन्जागोल हिसाबहरु गर्नै पर्ने। आफूभन्दा ठूलो किताबका ठेलीले भरिएको झोला बोकेर स्कुल गएर १० देखि चार बजेसम्म गुरुका कुरा अलिअलि सुनेर बुझेर र अलिअलि सुन्या जस्तो र बुझ्या जस्तो गरी अनि परीक्षाको अघिल्लो दिन राति अबेरसम्म पढेर मार्कसिटमा मार्क आएपछि सबै खुसी।
परीक्षाको समयमा त्यो पढेको कुराले दिमागमा स्टडी पोइजनिङ गरेको हुन्छ जस्तै कहिलेकाहीँ मन लागि नलागी के के खादा फुड पोइजनिङ हुँदा भोमिट गरेर सबै बाहिर निस्किएपछि आनन्द हुन्छ। त्यस्तै जस्तै त्यो पढेको कुरा त, के भन्नु घोकेको कुरा दिमागमा केही नराखी सबै कापीमा पोख्न पाएपछि दिमाग नि आनन्द हुन्थयो। अर्को परीक्षामा फेरि अर्को स्ट्डि पोइजनिङ। सायद यो स्ट्डी पोइजनिङ सबैलाई नै हुन्छ होला है।
अलिअलि बुझ्दै अलि अलि बुझ्या जस्तो गर्दै फलामे गेटसम्म आइपुगिन्छ। फलामे गेट अलि सजिलोसँग नाघेको मान्छे त विज्ञान नै पढ्नुपर्छ भन्ने धारणाले धानिएका हामीलाई अब यहाँबाट सुरु हुन्छ अन्योल्ताको यात्रा। यही सालको परीक्षा नै नदिइ ए ल्याएका एक/दुई जना भाइबहिनीले ‘दिदी, 'ए' आएको छ। अब त साइन्स नै पढ्ने त होला है’ भन्दै सोध्दै थिए।
यसो विचार गरेको हाम्रो भविष्यको निर्धारण त हाम्रो रुचीले भन्दा पनि हामीले मार्कसिटमा ल्याएको नम्बरले पो गर्छ त। अनि कहाँ पढ्ने भन्ने कुरा पनि। उनीहरुकै बाबा-ममी पनि फोन गरेर छोराले राम्रै ल्याएको छ, नम्बर कुन कलेज राम्रो छ उतै काठमाडौँ नै पढ्न पठाउने अब भन्दै हुनुन्थ्यो।
सम्झिएँ, म र मेरो साथी पनि राम्रो मार्क आएन भने गाउँ मै बसेर पढ्नुपर्छ भन्ने कुराले डराएर अलि मेहनत गरेको थियौँ। अनि हामी पनि गाउँबाट कस्तो जोश र उत्सुकताका साथ राजधानी पसेका थियौं। हामी मात्रै होइन, सबैजना गाउँबाट राजधानी पस्दा केही अजब गजब नै पो गरिन्छ भन्ने अपेक्षा साथ पसिन्छ। तर जब समय बित्दै जान्छ नि परिवरसँग टाढिएर बस्नु पर्ने बाध्यता, अनि विविध कारणले त्यो जुन जोश र उत्सुकता अलि हराउँदै जान्छ।
अनि पढाइको कुरा त उस्तै नै भइहाल्यो अलि अलि बुझेर अनि अलि बुझ्या जस्तो गरेर सुरु हुन्छ। परीक्षा अगाडि एक रात नसुति पढेर नतिजा आएपछि वर्षैभरि रातै भर पढ्या जसरी रात रात बसेर पढ्दा पनि कम मार्क आयो भन्ने प्रचलन त हामी सबैले भन्दै मान्दै आएकै हो।
जसोतसो ११/१२ पनि कट्छ तर अहिले यसो सम्झिदा ११/१२ मा के-के पढियो त भन्ने हो भने त्यो विषयहरुको नाम बाहेक त्यति धेरै अरु केही याद छैन। अब १२ पछि अर्को ठूलो अन्योलता। अस्पताल गएर यसो डाक्टर देख्दा होइन, डाक्टर मेडिकल नै पढ्ने कि क्यारे, यसो बैँक तिर जाँदा होइन बरु बिबिए पढेर बैँकमा जागिर खाए ढुक्कै।
घरको छेउकै इन्जिनियरिङ पढेको दाइले राम्रै गर्या देख्दा, होइन इन्जिनियरिङ नै गर्नुपर्छ कि क्या हो। अर्थात्, जसले जे भन्छ, उसले जे गरेको देखिन्छ त्यही राम्रो लाग्ने अनि त्यतै मन डुल्न थाल्छ।
यस्तो हुनुमा एउटा त आफ्नै आत्मविश्वासको कमि अनि अर्को हामी नेपालीको आर्थिक अवस्थाले पनि ठूलो भूमिका खेलेको हुन्छ किनकी कुनै विषय रोज्नुभन्दा अगाडि हामीले घरको आर्थिक अवस्था कस्तो छ, त्यसमा झन् बढी ध्यान दिनुपर्छ।
अब अलि आर्थिक रुपले सबल परिवारको बच्चाहरुलाई आफ्नो इच्छा अनुसार अगाडि गन्तब्य तय गर्न पाउछन्। तर मध्यम वर्गीय परिवारको हरुले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ। यसरी आफ्नो बौद्धिक र आर्थिक क्षमताले जता सक्छ त्यतैको यात्रा हामी सुरु गर्छौं।
अझ कति साथीले त अन्तर्राष्ट्रिय यात्रा पनि तय गर्नुहुन्छ। तर आफूले पढिरहेको विषय धेरैलाई मन परिरहेको हुँदैन। नेपालको कलेजहरु दसैँ बिदा, तिहार बिदा, जाडो बिदा, गर्मी बिदा के-के हो के-के बिदै बिदा। छ महिनाको सेमेस्टरमा साठी दिन राम्रोसँग क्लेज नगइ परीक्षा दिने समय उहीँ तीन घण्टाको परीक्षामा समावेश हुँदै जसोतसो पास हुँदै कक्षा चढ्ने काम हुन्छ।
तर अब विस्तारै परिवारले पनि छोराछोरीबाट केही अपेक्षा गर्न थाल्नुहुन्छ, छोराछोरीलाई पनि हरेक महिना सकिदा घर भाडा तिर्ने पैसा, रासन किन्ने पैसा, कलेजमा बुझाउने पैसा मग्दा माग्दा हिनताबोध हुन थाल्छ। यति ठूलो भइसक्दा पनि अझै घरमै पैसा पठाइदिनु भन्नुपर्ने भन्ने कुराले मन बिथोल्न थाल्छ।
यो विषयमा छोराहरुलाई अलि बढी चिन्ता परिरहेको हुन्छ, किनकी हाम्रो सामाजिक संरचनाले छोरालाई आर्थिक रूपमा सबल भएर घरको जिम्मेवारी पूरा गर्नुपर्छ भनेको छ। जति जति कक्षा चड्दै गइन्छ, त्यति नै जिम्मेवारी अनि अन्योल्ता पनि बढ्दै जान्छ।
सबैको होइन, तर धेरैले आफ्नो विषयगत बिधामा भन्या जस्तो जागिर पाउन सक्दैनन्। आफूलाई अब्बल साबित गराउन सक्दैन, आफू कुनै एउटा निश्चित हुन सक्दैनन्। अनि सोच्छु, यतिका वर्षको अध्ययनबाट पनि हामी एउटा निश्चित ठाउँमा पुग्न सकिरहेको हुँदैनौं। परिस्थितिले जताजता मोड्छ, त्यतै नै मोडिन्छौँ।
१५/१६ वर्ष पढ्दा पनि आफू चाहेको आफू बन्न नसक्ने हामी उस्तै कि हाम्रो पढाइ उस्तै!