नेपालको वन क्षेत्रमा वैज्ञानिक व्यवस्थापनको विषय अझै सेलाएको छैन। पक्ष विपक्षमा तर्क एवं पैरवी भैरहेको छ। सञ्चार माध्यमहरुमा पनि निरन्तर लेखहरु आइरहेका छन्। कतिपय लेखहरुले सरोकारवालाहरुमा द्धिविधा पैदा गरेको छ। यथार्थ बिमुख तर्कहरुका कारण सरोकारवालाहरु भ्रमित पनि भएका छन्।
त्यसलाई प्रष्ट पार्नु अथवा विश्लेषण गर्नु सरोकारवालाहरुको जिम्मेवारी र उत्तरदायित्व रहन्छ। सतही रुपमा उठ्ने तर्कमा बहस गर्नुको औचित्य हुँदैन। तर विज्ञान/प्राविधिक पक्षमा उठेका सवालहरुको तार्किक बहस हुनुपर्दछ, जसले सरोकारवालाहरुलाई वैज्ञानिक व्यस्थापनको बारेमा यथोचित रुपमा बुझ्न सहयोग पुर्याउदछ। यस लेखले सञ्चार माध्यम आएका केही महत्वपूर्ण सवालहरुको विश्लेषण गर्ने प्रयास गरेको छ।
१. पुनरुत्पादनमा सहज सुनिश्चितता
नेपालका सालको वनमा पुनरुत्पादन अवस्था कमजोर छ भन्नेमा विमति नहोला। वैज्ञानिक व्यवस्थापन आवश्यक छैन, खुल्ला छत्र ढकान, बन्द चरिचरण र डढेलो नियन्त्रण गरे सालको पुनरुत्पादन सहजै सम्भव हुन्छ भनिएको पाइन्छ। भनाइ बेठिक होइन, तर सहज बनाउने आधार खुल्ला छत्र ढकान, बन्द चरिचरण र डढेलो नियन्त्रण कसरी सम्भव छ? त्यसको गहिराइमा पुगेर बहस गरिएको पाइदैन।
साविकभन्दा वैज्ञानिक व्यवस्थापनले तुलनात्मक रुपमा छत्र ढकान बढी खुल्ला गर्छ। चरिचरण र डढेलोबाट वनलाई जोगाउन तारबार र अग्निरेखा आवश्यक पर्दछ। तारबार र अग्निरेखा यसै निमार्ण हुँदैन, आर्थिक स्रोत चाहिन्छ। जुन साविक व्यवस्थापनबाट सम्भव देखिदैन भने वैज्ञानिक व्यवस्थापन आधार हुनसक्छ, भएको पनि छ।
हामीले साविक तथा वैज्ञानिक व्यवस्थापन लागु भएका वनको कार्यक्रम, आयवय विवरण र त्यसको तुलनात्मक विश्लेषण गर्यौँ भने प्रष्ट हुन्छ। बिना आधार यसै सम्भव छ भन्नु हलुका रुपको टिप्पणी मात्र हुन्छ। त्यसैले प्राविधिक तथा कार्यान्वयन पक्षको सतहीभन्दा गहिराइमा पुगेर बहस गर्नु पर्दछ।
२. वन प्राविधिक र पर्यावरणीयविदको धारणा/दृष्टिकोण
वन प्राविधिक र पर्यावरणीयविदका फरक धारणा/दृष्टिकोण हुन पनि सक्छन् र नहुन पनि। यसै निष्कर्ष निकाल्नु हुँदैन। पर्यावरणीयविद वैज्ञानिक व्यवस्थापनको विपक्षमा छन् भनेर व्याख्या गरिएको पाइन्छ, जुन विरोधाभास कुरा हो।
पर्यावरणीयविदले कहाँ बसेर र केलाई हेरेर धारणा/दृष्टिकोण तय गरेका हुन्, त्यो उल्लेख गर्नुपर्दछ। अन्यथा तिनको दृष्टिकोणलाई हामीले गलत वा आफू अनुकुल व्याख्या गरिएको शंका रहन्छ। जस्तैः उद्यान, संरक्षित क्षेत्र र भोगचलन वन अनुसार एउटै पर्यावरणीयविदको दृष्टिकोण फरक हुन्छ।
घाँसे मैदान (ग्रासल्याण्ड इकोलोजी) वाला पर्यावरणीयविदले १०% भन्दा बढी छत्र ढकान ठिक मान्दैन भने, जतिसुकै र जत्रै रुखहरु भएता पनि, छत्र ढकान १०% को आसपासमा नआइन्जेलसम्म रुखहरु काट्न सुझाउछ। उसले रुखमा बस्ने जीवजन्तु होइन, घासेमैदानमा आश्रित जीवजन्तुलाई प्राथमिकतामा राख्छ।
त्यसैगरी वन क्षेत्र (फरेष्ट इकोलोजी) वाला पर्यावरणीयविदले बुढो रुख मात्र खोज्दैन, उमेर अनुसारका रुखको संख्या अझ पुनरुत्पादनमा बढी ध्यान दिन्छ। अझ दिगोपनको लागि बुढा रुख हटाउन सुझाउछ। जुनसुकै पर्यावरणीयविदले पनि घर निमार्णको समय रुखलाई काठ र इन्धनको आवश्यकतामा रुखलाई दाउरा नै देख्छ, मतलब उद्देश्य र महत्व अनुसार धारणा बनाउछ।
त्यसैले, कुनै एक स्थानको अवस्था तथा महत्वलाई हेरेर बनाएको धारणालाई सामान्यीकरण गर्नु उचित हुँदैन। उद्यान, संरक्षित क्षेत्रलाई हेरेर बनेको पर्यावरणीयविदको धारणा भोगचलन गरिने वनसँग जोडेर (साथै विलोमत) व्याख्या गर्नु सान्दर्भिक हुँदैन। नेपालका वन प्राविधिकहरुले वन व्यवस्थापन मात्र होइन, वन्यजन्तु एवं विविध पर्यावरणीय विषयहरु अध्ययन गरेका हुन्छन्।
त्यसैले वन विज्ञान पढेको एउटै व्यक्ति ४ वटै (वन, भू-संरक्षण, वन्यजन्तु, संरक्षित क्षेत्र) क्षेत्रमा योग्य मानिन्छ। आफ्नो कार्यक्षेत्र (विभाग) परिवर्तनसँगै फरक योजना (उद्देश्य अनुरुप) निमार्ण गर्दछन्। न कि सोलोडोलो रुपमा उद्यान, संरक्षित क्षेत्र र भोगचलन वनको एउटै हुनेगरी।
त्यसर्थ, पर्यावरणीयविद र वन प्राविधिकको सोच फरक हुन्छ भनेर निष्कर्ष निकालिहाल्नु हुँदैन। अवस्था एवं वस्तुस्थितिको आधारमा तर्क गर्नुपर्दछ। नेपालको वैज्ञानिक व्यवस्थापनमा महत्वपूर्ण र संवेदनशील प्रजाति (प्राणी वनस्पति) र धरातलीय अवस्थालाई पनि ध्यान दिइन्छ। यसकारण वैज्ञानिक व्यवस्थापनको बहसमा यस्ता पक्षहरु बारेमा बृहत्तर बुझाइ राख्नु बढी अर्थपूर्ण हुन्छ।
३. प्रजातिको एकात्मकता र वैज्ञानिक व्यवस्थापन
वैज्ञानिक व्यवस्थापनले साल प्रजातिलाई प्राथमिकता दिएकोले, वन भविष्यमा एकल प्रजातिमा रुपान्तरण हुन्छ, एकल प्रजातिको वनलाई दिगो व्यवस्थापनमा सही मानिदैन भनेको पाइन्छ। सर्वप्रथम बुझ्न जरुरी छ, दिगो व्यवस्थापन प्रजाति बढाउनु होइन, वनको अवस्था र महत्व हेरी सन्तुलन कायम गर्नु हो।
हालसम्म वैज्ञानिक व्यवस्थापन सालको वनमा केन्द्रित भएकोले, साल प्राथमिकता छ भन्नु सही छ। तर वनमा सालका मात्र माउ रुख र विरुवा राख्ने अरु हटाउने गरिएको अवस्था होइन भन्ने प्रति जानकार रहन जरुरी छ। अन्य प्रजातिका माउ रुख र विरुवालाई पनि ध्यान दिइएको छ।
बरु कतिवटा प्रजातिलाई ध्यान दिइएको छ भन्ने विषय सम्वन्धित वन र उपभोक्ता (व्यवस्थापकको उद्देश्य) अनुसार फरक छ। यी विषय वैज्ञानिक व्यवस्थापन लागु भएका वनका कार्ययोजना र स्थलगत अध्ययनबाट थाहा हुन्छ। कुन प्रजातिको माउ रुख कति वटा थिए, कतिवटा काटियो, कतिवटा र कहा बाँकी छ भन्ने पनि प्रष्ट भेटिन्छ। तसर्थ दोषारोपण गरिए जस्तो वैज्ञानिक व्यवस्थापनले एकल प्रजातिको वन बनाउने तर्फ लक्षित छैन भन्नेमा थप चर्चा आवश्यक नहोला।
सालको वनलाई प्राकृतिक रुपमा छोडिदिने हो भने, एकल प्रजातिमा रुपान्तरण हुनसक्छ। उदाहरणको लागि चितवन तथा पर्सा राष्ट्रिय निकुञ्जलाई लिन सकिन्छ, जहा सालको वन क्षेत्र बढेको पाइन्छ। बरु, वैज्ञानिक व्यवस्थापन प्रजाति विविधता सन्तुलनको लागि सहयोगी हुनसक्छ। हालको वैज्ञानिक व्यवस्थापनमा प्रजाति कन्भर्जन (रुपान्तरण) विधि अपनाइएको होइन, विद्यमान प्रजातिको वनमा इरेगुलर सेल्टरवूड सिस्टम (अनियमित रक्षि वितान प्रणाली) अवलम्बन गरिएको हो।
त्यसैले, अन्य प्रजाति नरहने भन्ने हुँदैन। सालको वन व्यवस्थापन गर्दा सालको बाहुल्यता कायम हुनुलाई अन्यथा लिनु हुँदैन, अन्यत्र लिइएको लिइदैन। यदि लिइयो भने न दिगो न इष्टतम (अप्टिमम) लाभ उपलब्ध हुन्छ।
बरु, प्रजाति बाहुल्यता, उपभोक्ताको चाहना, देशको माग अनुसार साल बाहेक अन्य प्रजाति प्राथमिकतामा पर्दा दिगो व्यवस्थापन नहुन सक्छ। देशको माग, काठको बजार झाउ र आयत भएका वन पैदावारको विवरणबाट थाहा हुन्छ भने उपभोक्ताको रोजाइ सम्वन्धित समितिका माग र वितरणको विवरणबाट जानकार हुन सकिन्छ।
४. संवेदनशील तथा रैथाने प्रजातिको सुनिश्चितता र वैज्ञानिक व्यवस्थापन
वैज्ञानिक व्यवस्थापनमा रुख कटान, स्याम्पल लिएर प्रक्षेपण गरिएको प्रजाति र त्यसको संख्याको आधारमा गरिदैन। काटिने हरेक प्रजातिको रुख संख्या पनि उल्लेख हुन्छ। सम्वेदनशील प्रजातिको तथ्यांक पनि राखिन्छ। महत्वपूर्ण तर कम संख्यामा रहेका प्रजाति कटान गरिदैन। जसले त्यस्ता प्रजातिको संरक्षण थप सुनिश्चित गर्छ।
माउरुखको संख्यामा ठूलो रेञ्ज (१५ देखि ३० वटा प्रतिहेक्टर, अर्थात सानो संख्यामा ठूलो फरक) सुझाइएकोले पनि संवेदनशील रुखहरु कटान मिलानको लागि सहयोग पुग्ने देखिन्छ। बरु साविक व्यवस्थापनमा, स्रोत सर्वेक्षण गर्दा प्लटमा कुनै प्रजातिका केही रुख पर्ने र त्यसलाई हेक्टरमा प्रक्षेपण गर्दा ठूलो संख्या आउने संभावना हुन्छ।
त्यही प्रक्षेपणको आधारमा केही रुख काट्दा, सो प्रजाति लोप भएर जाने खतरा हुन्छ। त्यसैले महत्व बोकेका, संवेदनशील, रैथाने प्रजाति वैज्ञानिक व्यवस्थापनले नास्छ भन्नु वैज्ञानिक व्यवस्थापनको कार्वान्वयन विधि प्रकृया प्रति बेखबर हुनु हो।
५. जैविक विविधता र वैज्ञानिक व्यवस्थापन
वन्यजन्तु (जैविक विविधता) संरक्षणको बहस गर्दा फेलिङ सेरिजको अथवा समग्र वनको आधारमा गर्नुपर्छ, न कि केबल फेलिङ कुपको मात्र। फेलिङ कुपको आधारमा मात्र गर्दा, वन व्यवस्थापन बारे जानकार नभएको ठहर्छ। छटनि र पूर्वतयारी कटानलाई छोडेर, वैज्ञानिक व्यवस्थापनमा १/८० (असि भागको एक भाग अर्थात १.२५ % क्षेत्रमा) भाग (कुप) मा मात्र कटान गरिन्छ।
कुनै कुप (कुनै भाग) मा कटान मात्र होइन, कहिले काहीँ आगो लगाउनु पर्ने, जोत्नु पर्ने हुन सक्छ। कटान गर्दा, आगो लगाउदा जोत्दा, त्यहाँका जीवजन्तु अर्को कुप वा भागमा जान्छन्, सुरक्षित हुन्छन् भन्ने व्यवस्थापनको विश्वव्यापी वैज्ञानिक मान्यता हो। आगो लगाएको, जोतेको वा कटान भएको स्थानमा तत्काल जीवजन्तु रहेनन् वा बासस्थान मासियो भनेर व्याख्या गर्नु अपरिपक्क बुझाइ हो।
ठूला ठूला खण्ड वा पूरै वनमा एकै पटक व्यवस्थापन कार्य गर्दा बासस्थान नमासिने, वन्यजन्तुमा असर नपर्ने, तर साना साना खण्डमा व्यवस्थापनका कार्यक्रम गर्दा बासस्थान मासियो भनेर तर्क गर्नु सही होइन। अझ स-साना वनको हकमा त झन् यस्ता प्रश्न उठ्नु नै आश्चर्यको विषय हो। किनभने अनुपात कै आधारमा हुने हुँदा, यस्ता वनमा कटान ज्यादै न्यून हुन्छ।
त्यसैगरी कटान क्षेत्रहरुमा केन्द्रित भएर, कटान पश्चात रहने माउ रुखहरुको संख्या चराचुरुङ्गी तथा अन्य जनावारहरुलाई अपर्याप्त छन् भनेर तर्क पेश गर्नु लागु भएको वैज्ञानिक व्यवस्थापनको मर्म नबुझ्नु हो। ती जीवजन्तुका लागि कटान (रिजेरेसन फेलिङ कुप) क्षेत्रका माउरुख सहित, बाँकी ९८.७५% क्षेत्रमा रहेका रुखहरु पनि हुन्छन् भन्ने हेक्का राख्नु पर्दछ, तर्क गर्दा। जीवजन्तु तथा बासस्थान संरक्षणमा ९८.७५% भागलाई छोडेर, १.२५% भागको विश्लेषण गर्नु हुँदैन्।
त्यसैगरी हाम्रा वनहरुमा नरुचाहिएका (वनमारा तथा मिचाहा) प्रजाति धेरै छन्, प्रजाति विविधता भन्दै हामी त्यस्ता प्रजातिका वकालत त गर्दै होइनौं? संरक्षित क्षेत्रमा मिचाहा प्रजातिको चाप राष्ट्रिय समस्या बनेको छ। झन् भोगचलन तथा व्यवस्थापन गरिने वनहरुमा सबै प्रजाति प्राथमिकता पर्ने कुरै हुँदैन।
वैज्ञानिक मात्र होइन, साविक व्यवस्थापनमा पनि केही लक्षित प्रजातिलाई नै ध्यान (प्राथमिकता) दिइएको पाइन्छ, र दिगो व्यवस्थापनमा पनि अपनाइने सिद्धान्त त्यही हो। हालसम्मका कार्ययोजनाहरु हेर्दा र व्यवस्थापन कार्यक्रमबाट पनि यो प्रमाणित हुन्छ। दिगो व्यवस्थापन लागु भएका वनमा पनि हरेक प्रजातिलाई उत्तिकै प्राथमिकता दिइदैन र दिन सम्भव पनि हुँदैन।
६. बहुआयामिक/बहुउपयोगि, दिगो व्यवस्थापन र वैज्ञानिक व्यवस्थापन
हामी बहसमा बहुआयामिक/बहुउपयोगी र दिगो व्यवस्थापन भन्दै प्रजातीय विविधताबारे सवाल उठाउछौँ। वैज्ञानिक व्यवस्थापन बहुआयामिक उपयोग र दिगो व्यवस्थापनको विरुद्धमा छ भन्छौँ, आफ्नो तर्कलाई स्थापित गर्न खोज्दछौँ। वैज्ञानिक व्यस्थापनले बहुआयामिक/बहुउपयोगी मध्यको कुन आयामलाई कसरी नजरअन्दाज गर्यो र दिगो व्यवस्थापनको कुन मापदण्ड छल्यो? तर्कका साथ त्यसको किटानी गर्नुपर्दछ।
जसकारण अन्यलाई बुझ्न र बहस गर्न सहज होस्। जैविक विविधता, भू-संरक्षण, पानी मुहान संरक्षण, वनको घनत्वको सुश्चिता, जलवायु समनमा भूमिका, कार्बन संञ्चितीमा वृद्धिको सुश्चिता आदि विषयलाई न्यायोचित रुपमा वैज्ञानिक व्यवस्थापनले सम्बोधन गर्दछ। बिना आधार सोलोडोलो रुपमा वैज्ञानिक व्यवस्थापन बहुआयामिक/बहुउपयोग र दिगो व्यवस्थापन विपक्षमा छ भन्नु औचित्यपूर्ण होइन।
७. जलवायु परिवर्तन र वैज्ञानिक व्यवस्थापन
वनले जलवायु परिवर्तनलाई कम गर्न सहयोग पुर्याउने मुलतः २ वटा पाटा छन्। पहिलो कार्बन सञ्चिति दोश्रो वायुमण्डलमा रहेको कार्बनडाइअक्साइडलाई लिएर अक्सिजन छोड्ने अवस्था। जब रुख बुढो हुँदै जान्छ, बृद्धि कम र धोद्रो हुन थाल्छ। त्यस्ता रुखले बाहिरबाट आंकलन गरेको परिमाणमा न कार्बन सञ्चित गर्न सक्छ न कार्बनअक्साइड लिन र अक्सिजन छोड्न। गुणस्तरीय बीउ उत्पादन पनि गर्दैन, बरु स्थान ओगट्छ र पुनरुत्पादनलाई समेत निरुत्साहन गर्छ।
वैज्ञानिक व्यवस्थापन साल (महत्वपूर्ण काठ प्रजाति) को बाहुल्यता रहेको वनमा अवलम्बन गरिएको छ। सालको अधिकांश भाग भवन तथा फर्निचर निमार्ण लगायतमा प्रयोग हुन्छ। अधिकतम खप्ने (बलियो) प्रजाति भएकोले लामो समय टिक्छ।
रुख काटिदैमा, रुख/काठमा सञ्चित कार्बन एकाएक हराउने, वायुमण्डलमा पुग्ने होइन। बरु काठ र फर्निचरको अवस्थामा वर्षौसम्म सञ्चिती भइ जलवायू परिवर्तनको समन (मेटिगेसन) मा अद्वितिय भूमिका खेल्दछ। बुढा रुख (वल्फ ट्रि) काटिदा अन्य बोटविरुवा छिटो हुर्कन्छन् जसले द्रुत गति थप कार्बन सञ्चित गर्दछ।
त्यसैगरी वनले कार्बनडाइअक्साइड लिने र अक्सिजन छोड्ने परिमाण एउटा रुख (ठूलो र सानो) को आयतनले होइन, समग्र बोटविरुवाको घनत्वले निर्धारण गर्दछ। सालको रुख समयमा काटिनु, काठ वर्षौं प्रयोग हुनु, पुनरुत्पादन बढ्नु र अन्य बोटविरुवाको हुकाई द्रुत गतिमा हुने हुँदा वैज्ञानिक व्यवस्थापन जलवायु समनको लागि बढी सान्दर्भिक देखिन्छ। रुख कटानीलाई वन फडानी जसरी व्याख्या गरेर, गलत तरिकाबाट जलवायु परिवर्तन सग जोड्नु हुँदैन।
८. प्राकृतिक सालको वन र युरोप अमेरिका
सालको वनमा अवलम्बन गरिएको सम्बर्धन पद्धतिलाई, युरोप र अमेरिकाको व्यवस्थापन विषयलाई जोड्न मिल्दैन। ती देशसग दाज्न मिल्ने विषय भनेको प्रकाश माग गर्ने प्रजातीय गुणलाई जोडेर मात्र हो। प्रकाश माग गर्ने प्रजाति बाहुल्य रहेको वनमा अनियमित रक्षि वितान प्रणाली लगाउन उपयूक्त हुँदैन भनेर न अमेरिकी न युरोपियन वन विज्ञ न त पर्यावरणीयविदले न हिजो न आज भनेका छन्।
यदि हामीले दाजेर हेर्ने र तर्क गर्ने नै हो भने साल पाइने देशमा भएका व्यवस्थापनसँग दाजेर हेर्नु पर्दछ। नेपालमा पाइने साल भारतीय उपमहाद्विपका देशहरु (भारत, म्यानमार, बंगलादेश) देशमा पाइन्छ। त्यसैले त्यहाँको सिकाइलाई रिफरेन्सको रुपमा लिनु सान्दर्भिक हुन्छ। यी देशहरु मध्ये भारत सालको वन व्यवस्थापनमा अगाडि छ र उसले अनिमियत रक्षि वितान प्रणाली अवलम्बन गरेको छ। त्यसैले पश्चिमा देशहरुसगको विषय भनेर, नेपालले यो संवर्द्धन पद्धति अवलम्बन गर्न हुँदैन भन्ने तर्क मनासिव देखिदैन।
९. एकै पद्धति जहितही
हाल वैज्ञानिक व्यस्थापनमा अनिमियत रक्षि वितान सम्वर्धन प्रणाली अवलम्बन गरिएको छ। विभिन्न लेखहरुमा सबैतिर एकै प्रकारको सम्वर्धन पद्धति ठिक होइन भनिएको पाइन्छ। यसो सुन्दा हो जस्तै लाग्छ, औचित्यपूर्ण जस्तो पनि। तर किन र कसरी को कारण कही कतै खुलाइएको पाइदैन। त्यसैले यसरी सतही रुपमा व्याख्या गर्नु भन्दा केही आधारमा रहेर बहस गर्नु सान्दर्भिक हुन्छ।
सबैतिर हुँदैन भन्ने अमूर्त कुरा हो, त्यसले विज्ञानमा अर्थ राख्दैन। कहाँ सान्दर्भिक हुन्छ कहाँ हुँदैन, किन र कसरी बारे खुलाउनु पर्दछ। पछिल्लो अवस्थामा एक अनुसन्धानकर्तालाई सोध्दा, यो तराईको लागि उपयुक्त हो, पहाडको लागि होइन भन्ने उत्तर पाएको थिए। कसरी भन्ने प्रश्न सोध्दा त्यसको जवाफ पाइनँ।
अर्का अनुसन्धानकर्तालाई सोध्दा, धेरै रुखहरु काटिने भएकोले, पहाडमा सही होइन भन्ने जवाफ आयो। यो तपाईको धेरै र थोरै भन्ने मापदण्डको आधार के हो? भन्ने प्रश्नमा उत्तर आएन।
तेश्रो सग सोध्दा, यो पद्धति त फडानी हो भन्ने उत्तर पाएँ। अब कटानी र फडानी मै अन्यौल रहेकालाई थप प्रश्न गर्न सकिनँ। पद्धतिको गुणको आधारमा बहस हुनुपर्छ। अनिमियत रक्षि वितान सम्वर्धन प्रणाली सरपट कटान होइन, बरु रुपान्तरित छनोट प्रणालीसँग बढी मेल खान्छ।
कुनै निष्कर्ष निकाल्न र सुझाउन आधार चाहिन्छ। यदि आधार हाम्रो अनुसन्धानबाट होइन भने सबभन्दा मिल्ने स्थानको लिनु पर्दछ। तुलनात्मक रुपमा नेपालको सालको बनको हकमा भारतको निष्कर्ष र अनुभव सान्दर्भिक हुन्छ, किनकी नेपालमा पाइने साल प्रजाति र भू-धरातल धेरै मिल्दोजुल्दो छ, दुवै देशका प्रायः सालका वन प्राकृतिक हुन।
भारतसँग सालको वन व्यवस्थापनको लामो र धेरै अनुभव छ। भारतमा तराई र पहाडमा अनियमित रक्षि वितान प्रणाली प्रयोग भएको छ। त्यसैले यसमा हामी प्रष्ट हुन जरुरी छ, तराई र पहाडमा यो पद्धति गलत होइन।
अझ भनौँ, भारतका समथर भू-भागका सालको वनमा सरपट कटान पनि अवलम्बन गरिएको अवस्था पनि पाइन्छ। त्यसैले अनियमित रक्षि वितान प्रणालीमा धेरै रुख काटिन्छ भन्ने तर्क पनि त्यति सान्दर्भिक होइन। ठूलो जोखिम नमोल्ने र पुनरुत्पादनको आधार प्राकृतिक भएकोले नेपालमा सरपट कटान नगरिएको हुनसक्छ।
अन्त्यमा, पछिल्लो समय वैज्ञानिक व्यवस्थापनको विषय सञ्चार माध्यम तथा विभिन्न स्थानहरुमा निरन्तर बहस भएको छ। यसरी छलफल/बहस हुनु आफैमा राम्रो पक्ष हो जसबाट सरोकारवालाहरु सु-सूचित हुने अवसर तथा विषयवस्तु बारे जानकार हुन पाएका छन्। सरोकारवालाहरुले आफ्ना धारणा राख्नु र त्यसलाई असल बुझाइ बनाउनुलाई सकारात्मक रुपमा लिनुपर्छ।
तर 'आगो र डढेलो', 'कटानी र फडानी', 'सरपट, छत्र वितान र छनोट प्रणाली' गुण र फरक नबुझी, सोलोडोलो रुपमा वैज्ञानिक र दिगो व्यवस्थापन बारे गरिने बहस, वन व्यवस्थापनको हकमा निरर्थक मात्र होइन, प्रत्युपादक हुन्छ। त्यस तर्फ भने आम सरोकारवालाहरुले ध्यान पुर्याउनु जरुरी हुन्छ।
(लेखक वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उप-प्राध्यापक हुन्।)