प्रायः हामीले देखेकै, सुनेकै छौं, ठूलो रुखको छहारीमा लगाएको वा हुर्किएको बिरुवामा सेप लाग्ने भएकाले हुर्कन, बढ्न, निर्माण हुन सक्दैन, पाउदैन। बालिनाली पनि यस्तै हो। रुखबिरुवा हुर्केको ठाउँका खेतबारीमा सेप वा ओतको कारणले उत्पादन हुँदैन। न्यून हुन्छ। यी त प्राकृतिक क्षेत्रमा भएका कुराहरू भए।
मानिसको वृद्धि विकासमा पनि यी यस्ता सेपको कारणले गर्दा मत, विचार र व्यक्तिगत स्वतन्त्रतामा धाँजो उत्पन्न हुन पुग्छ। सबैले जानेको, बुझेको राजनीतिलाई हेरौं न। राजनीतिमा दर्शन, क्षमता र योग्यता भएका धेरै युवाहरूलाई तिनीहरु अगुवाइ गर्ने राजनीतिक व्यक्तिहरुको छ्हारीभित्र ओत लागेर बसेको अवस्था छ।
ती सक्षम योग्यता भएका युवा तिनका अगुवाहरुलाई छाडेर, ओतमा नबसेर, छहारीमा नरहेर बाहिर निस्कने हो भने मात्र आफ्नो अस्तित्व जोगाउन सक्छन्। नत्र भने स्वतन्त्रता बिना, आफ्नो दर्शन बिना, ती राजनीतिक युवाहरु मर्छन्।
नेकपा, कांग्रेस, राजपा या अन्य जुनसुकै दल हुन, वर्षौंदेखि अगुवाहरु ती नै ६५-७० वर्ष काटेका वृद्धहरुले बल्लबल्ल चलाएका छन्। युवाहरु, सक्षमहरु मस्त तिनीहरुको ओतमा सुतेर राजनीतिक भवष्य कोरेका छन्। यस्ताबाट जनताले के आशा गर्नु, जबकी आफै ओतभन्दा बाहिर निस्कन सकेका छैनन्।
परिवर्तन ल्याउने हो भने त्यहाँबाट बाहिर आउनुपर्छ कि जिम्मेवारी लिनुपर्ने हुन्छ। परजीवी भएर बस्नेको पनि कुनै मूल्य हुन्छ र?
समाजको हरेक तह र तप्कामा यस्ता ठूला भनाउदा रुखहरु धेरै नै छन्। हामी तिनीहरुको छहारीमा बस्ने भनेको सिकुन्जेल, परिपक्व नहुन्जेल, एक्लै खडा हुन नसकुन्जेल मात्र हो। मन्दिर, चर्च, गुम्बा आदि जस्ता धार्मिक क्षेत्रहरूमा पनि यस्ता अगुवाहरु प्रशस्तै पाइन्छन्। जो अरुलाई बढ्नै दिदैनन्, आफ्नै शरणमा राख्न खोज्दछन्।
अपवाद बाहेक पुजारी, पास्टर, शिक्षक, गुरु, लामा, संगीतकार, गायक आदि सबै प्रायः युवाहरूलाई आफ्नो बल र क्षमताले भ्याएसम्म आफ्नो काबुमा राख्न चाहन्छन्। यस्ता समाजका घातक धार्मिक र राजनीतिक अगुवाहरु सबै आफू मात्रै जान्ने, दर्शन र लक्ष्यमा डोर्याउन सक्ने क्षमतावान् भएको नाटक मञ्चन गर्छन्।
अरुको क्षमता र योग्यताको कदर गर्दैनन्। सबैलाई आफ्नो मातहतमा राख्ने योजना र विचारले ग्रस्त यस्ता रोगीहरुबाट हामी निस्कनु पर्दछ।
त्यसकारण आफ्नो अस्तित्व जोगाउने हो भने, स्वतन्त्रताको स्वाद चाख्ने हो भने, रोग लागेका राजनीतिक र धार्मिक अगुवाहरुबाट निस्केर आफ्नो मत, विचार, दर्शन, क्षमता, योग्यता देखाउनु पर्दछ। जुन प्रत्येक युवाहरुमा छ। अलिकति प्रयास गर्ने हो भने समाजका सबै तहमा परिवर्तन देखिनेछ। धन्यवाद।