सानै थिएँ। मलाई अझै पनि याद छ, मेरो मामाले पाखुरीको रुखमा नाम्लोले पासो लगाएर सुसाइड गर्नु भएको। दुख गरेर पालपोस, बढाइ हुर्काइ गरेको छोरोले अचानक ज्यान त्याग्दा आमा बेहोस हुनु भयो।
सत्य कारण त पत्ता लगाइएन रे तर कोही केटीको कारणले मामाले सो निर्णय गरेको कुरा मैले ठूलो भएपछि थाहा पाएँ। एक वर्षपछि श्राद्धमा जाँदा मलाई बिहेको भोज भतेर जस्तै लाग्न थाल्यो l सधैँ रमाइलो लाग्ने मेरो मामाघर त्यस दिनपनि मिठोमिठो खानेकुरा देखेर मन चङ्गा झैँ भयो।
बा आँगनमा वोरदोर गर्दै हुनुहुन्थ्यो तर मेरा आँखाले आमालाई खोजेl यताउता हेरेँ, कोठीभित्र पस्नासाथ आमा अध्यारो कोठाको मजेरीमा टोलाएर आँसु बगाउदै हुनुहुन्थ्यो।
'आमा नरुनुस न, किन रुनु भएको, जि भयो?' मैले सोधेँ। आमाले मलाई अंगालोमा कस्नु भो अनि भन्नु भयो 'उम्, आमाको टाउको आइया भयो जाउ बाहिर दाइ दिदीसँग खेल।'
म अबुझ बालक, के थाहा पाउने मेरी आमाको त्यो कोख उजाडिनुको पीडा? म हस् भन्दै उफ्रिदै आँगनतिर निस्किएँ। मामाको स्वोर्गारोहणपछि वर्षौसम्म झिसमिसे साझ पर्नासाथ आमा त्यही पाखुरीको फेदमा जाँदै रुदै गर्नु हुन्थ्यो।
समय टर्दै गयो, मेरो उमेर बढ्दै गयो अनि उमेरसँगै आमाप्रतिको लगाव ममीसँगभन्दा दोब्बर हुँदै गयो। जन्मेपश्चात धेरै समय आमाले नै हुर्काउनु भयो। पछि पढ्ने उमेरदेखि ममीबाबासँग बजार झरेँ।
एक महिना दसैँ बिदा हुने बित्तिकै मामाघर दगुरिहाल्थेँ। दसैँ बिदा पनि आयो, मामाघर गएँ। आमाको सारी समाउदै अगाडि पछाडि गर्थें। एकदिन मनमा आफ्नै कुरा कल्पेर बसेँकी थिएँ 'मलाई आमाले कति माया गर्नुहुन्छ है, मलाई पैसा पनि दिनुहुन्छ, कहिल्यै पिट्नुहुन्न, ममीले त पिट्नुहुन्छ। मलाइ त आमा नै मन पर्छ।'
आमाले निकै राम्रो गुन्द्री बुन्नु हुन्थ्यो। एकदिन दिउँसो गुन्द्री बुनिसकेर आमा उपल्लो घर जानु भएको थियो अनि बा गोठतिर बाख्रालाई पानी दिन व्यस्त हुनुहुन्थ्यो। छेउछेउमा धागो रहेछ. मलाई त मननै परेन अनि सोचेँ, 'आमालाई पनि मन पर्दैन होला। म आमाको काम सजिलो बनाइदिन्छु' कैँचीले जम्मै काटिदिएँ।
अल्लि बेरपछि आमा आउनुभयो, भर्खर बुनेर सकेको गुन्द्रीको धागो आँगनभरि टुक्राटुक्रा थियो। आमाले मलाई एक मुड्की बजार्नु भयो। तलाई अलच्छिनी 'यत्रो दुख गरेर बुनेको गुन्द्री जम्मै काटेर बस्नी। किन आएकी होलि, तेरै ममी भएको ठाउँमा जा।'
म पिँढीमा बसेर बर्बर्ती आँसु झार्न थालेँ। कहिल्यै आमाको एक थप्पड नखाएकी आज मुड्की नै बजार्नु भयो। मन अमिलो भयो 'आमाले पनि माया मान्नुहुन्न मलाई' लागेर बेस्सरी रोएँ।
बा देखेर डर लाग्थ्यो मलाई किनकी बाले आमालाई पनि पिट्नु हुन्थ्यो तर मलाई त्यो दिन खासै गाली गर्नु भएन या भनौँ आमाले गर्न दिनु भएन। सायद इतिहासको पहिलो पटक थियो होला मलाई त्यति धेरै तितो-नमिठो अनुभव भएको।
मेरी आमाका ५ वटा सन्तान थिए, ४ वटा छोरा (मेरा मामाहरु) र एउटी छोरी (मेरी ममी) जस्मा कान्छा मामा अब हामीसँग हुनुहुन्थेन। छोरीलाई दुधघिउ खान दिनु हुँदैन, पढाउनु हुँदैन भन्ने बाको मनासय थियो रे।
बुढेसकालमा यिनै ३ वटा छोराले पाल्छन् मलाई, छोरी अर्काको घर जाने जात न हो, विवाह गर्दिएपछि उता उस्कै घरकाले पाल्छन्, पोथी बासेको मन पर्दैन मलाई यस्तै यस्तै भन्नुहुन्थ्यो रे। छोरीलाई हेला गरेको देख्दा आमाको मन रुन्थ्यो। आमाको जात न हो, एक गिलास दूध, मोही कैहिलेकाही छोरीलाई दिन खोज्दा बाको मुड्की आमामाथि बजारिन्थ्यो।
ठूलो स्वर गरे कुट्नुहुन्थ्यो, जवाफ फर्काए कुट्नुहुन्थ्यो, यस्तै थिए रे मेरा बा। अहिले छोराहरु बिहे गरेर आफ्नो बाटो लागे, आमाबाको हेरचाह गर्नको लागि कोही छैनन्। बिहे गरेपछि छोरीको लागि माया मर्छ, खान लगाउन दिनु हुँदैन भन्ने छोरी नै आमाबाको सन्चोबिसन्चो बुझ्न् जान्छे, बालाई मनमनै पछुतो हुन्छ पनि होला तर देखाउनु हुँदैन।
अझै सम्झन्छु, कुरैकुरामा मेरा बा कालो बादल जस्तैगरी गर्जिन थाल्नु भयो। आमालाई पनि झनक्क हुँदो हो कहिलेकाहीँ। जवाफ उस्तै रुपले फर्काउन खोज्नु भयो। बाले आमाको गाला रन्किनेगरी बजाउनु भयो अनि आमा कर्सापट्टि गएर रुन थाल्नु भयो। म आमासँगै थिएँ, उहाँलाई देखेर स्वतः मेरा आँखाबाट आँसुका ढिक्का झरे।
त्यस दिनदेखि आमाको एउटा कानले सायदनै काम गर्छ। कारण, बाको धाइरो जस्तो हात आमाको कोमल कानमा बजारिन पुग्यो। मलाई मामाघरबाट कोसेली ल्याउनु परेमा बाको अनुपस्थिति चाहिन्छ। आमाले सुटुक्क झोलामा हालिदिनुहुन्छ अनि म सुटुक्क बाले थाहा नपाउने गरी लिएर आउछु।
अझै पनि त्यस्ता अनेकौ कुरा हुन्छन्, मेरो घरमा, मेरो समाजमा तर म आफैलाई धिक्कार लाग्छ कि मैले केबल हेरेर मात्र बस्नुपर्छ। आफूले जानेको पढेको कुरा साट्ने प्रयास गर्छु तर बिडम्बना, न बाले सुन्नुहुन्छ न त समाजले।
यद्यपि मेरो समाज यस्ता कुरामा कान थुनेर बसेको छ तर मलाई विश्वास छ अबका दिनदेखि यो समाजले अवश्य पनि कोल्टे फेर्नेछ। आमा, तिमी देवी हौ अनि तिम्रो लिला: अपरम्पार।