तीन वर्ष प्रेम सम्बन्धमा रही विवाह बन्धनमा बाधिएका आयाम र सारिका। जोडी होस् त यस्तो, उनीहरुलाई देखेपछि हरेकले भन्ने पहिलो वाक्य।
दुई वर्षपछि उनीहरु दुईबाट तीन जनामा पुगिसकेका थिए। करिब दुई वर्षको विदेश बसाइपछि पहिलोपल्ट भेट्दै थिएँ। आखिर मेरा प्रिय मान्छे न थिए जसले जीवनको हरेक उकाली ओराली, आरोह अवरोहमा साथ दिए।
सम्बन्ध यति सस्तो भएको बेला मैले बलियो साथ पाएँ। सम्झनुस् न एकपटक, तपाईले एउटा पार्टी दिन बोलाउदा साथीको वाहीवाही र अस्पतालमा ओछ्यान पर्दा दर्शाउनु भएको आत्मियता।
सानी परीलाई साना-साना लुगा झोलामा राखेर म एकाबिहानै निस्केँ। आयाम कामले भ्याली बाहिर गएको रहेछ। सारिका मलाई देखेर उति खुसी भइन, बरु परी बेलाबखत हासिदिन्थी। उसको त्यो निश्चल मुस्कान। आहा! अति सुन्दर र आकर्षित।
पढाइ र कामको व्यस्तताले विदेश हुँदा हाम्रो खासै कुरा पनि भएको थिएन। केहीबेरको सामान्य गफगाफ र खानपानपछि उसले भनि, 'तैले बिहे नगरेर ठिक गरिस्।'
'हँ, के भन्छे यो केटी!' भन्न नपाउदै ऊ रुदै बर्बराउन थाली।
'बच्चा पेटमा भएको छ महिनादेखि काम छोडेँ, ठ्याक्कै एक वर्ष भयो। काममा निस्कूँ, आफ्नो सपना पूरा गरूँ लाग्छ। यो परीलाई के गर्नु? मलाई बुझ्छ जस्तो लाग्थ्यो, कसको मनभित्र को पस्न सक्छ र? परीवर्तनशील रहेछ मान्छेको मन, स्वभाव र आकांक्षाहरू। अचेल उति वास्ता गर्दैन।
अरुले बच्चा जन्माउनु, आमा बन्नु जीवनकै सर्वोत्कृष्ट सुख हो भन्छन्। खै म त नकरात्मक विचार र चिन्ताको सामाना गरीरहेछु। डर र दुख लाग्छ परीको राम्रो ख्याल गर्न सकेको छैन। विचरी यसको के दोष, तर कहिलेकाही मेरो रिस यहीसँग पोखिन्छ, अनायसै। आफैप्रति घृणा जागृत हुन्छ। रंगहीन भयो यार मेरो जीवनमा, केही गर्न सकेँ, न असल आमा बन्न सकेँ। जीवन एक्लै सुन्दर छ, तँ नफस्।'
यति भनिसकेर सारिकाले लामो श्वास तानि। मैले दुई वर्षसम्म जुन मनोरोगको अध्यनन गरेँ, उसले लक्षण ठ्याक्कै त्यस्तै बताइ। अहो! उसलाई त, पोस्ट-पार्टम डिप्रेसन पो भएछ। यति संवादपश्चात सारिकालाई सबै कुरा बताएँ अनि ऊ जस्तै अरु धेरै साथीहरूको समस्या सम्वोधनको लागि आवश्यक तयारीतर्फ लाग्यौँ।
यो त एउटा उदाहरण मात्रै हो। अहिलेको समय र परीवेशमा विकसित देश र व्यस्त जीवनशैली अपनाउने मानिसमा मात्र होइन, हाम्रो जस्तो देशमा पनि यस्तै घटना घटिरहेका छन्। व्यक्ति स्वयंम यसको शिकार भैरहेको कुराबाट अनविज्ञ छ।
अझ विशेषतः कामकाजी महिला जसले आफ्नो बच्चासँग खासै समय बिताउन पाइरहनु भएको छैन तथा आत्मनिर्भर, सक्षम दम्पतीबीच घरायसी कामकाजको विषयलाई लिएर हुने मनमुटावले यस्ता समस्यालाई अझ बढवा गरेको पाइन्छ।
यस समस्याको उचित समयमा पहिचान र समाधान हुन नसक्दा आत्महत्यासम्मका घटना हुने गरेको विभिन्न तथ्यात्मक अनुसन्धानले प्रष्टाएका छन्। प्रभावित बच्चाले उचित खानपान स्याहार सुसार, माया र ममता नपाउने भएकोले शारीरिक, मानसिक विकास अन्य बच्चाको तुलनामा कम भएको देखिन्छ।
बच्चाले समेत एक्लिने, आत्तिने, डराउने, पढ्न मन नगर्ने, रोइरहने इत्यादि लक्षण देखाउन सक्छन्। नेपालमा यो विषयमा उति बहस र जानकारी गराइएको पाइदैन तर अब भने गर्नैपर्ने बेला भएको छ।