यात्राको समय थियो। कोरोनाको त्रासको कारण बस भरिभराउ त थिएन र पनि म अन्तिम सिटभन्दा एक सिट अगाडि बसेर बसैमा रहेको स्पिकरमा बज्दै गरेको प्रेमिल कालजयी नेपाली गितहरु सुन्दै प्रेमको सुवासमा महकिदै प्रेमिल बन्दै यात्रा अगाडि बढाइरहेको थिएँ।
आँखामा उनका तस्बिरहरु नाच्दानाच्दै एक फोनको संवादले यसरी सबै भावनाहरु तितरवितर होलान् सोचेकै थिइनँ। त्यो जागृत भावना स्वाभाविक थियो या अकस्मात सोच्नै सकेको थिइनँ। हर चिजको बाध्यता छ। यत्रतत्र अन्धकारले डगमगाको निरस अध्यारो जहाँ कहिल्यै नदेखेका र नभोगेका कुराहरुमा विचार विमर्श बिर्सेर पनि गर्ने छैन। किनकी म ती भावहरुको पूर्ण अन्त्य चाहन्छु।
हस्याङ् फस्याङ गर्दै तीव्र रक्तचापको अनुभूतिसँगै म सिढी उक्लदै थिएँ। मानौँ, कापिदै अघि बढिरहेका पाइलाभन्दा छिटो मन र मस्तिष्कमा अनेकन कुराको जालो बनिरहेको थियो। अनि म कतै अल्झिएको महशुस हुन्थ्यो।
सिढी उक्लिएर सक्किए लगत्तै थकानको सास तान्दै फाल्दै यी नजरहरु देब्रे तिरको ठूलो बोर्डतर्फ मोडियो जहाँ क्रम संख्या, बिरामीको नाम, भर्ना गरिएको मिति जाच्ने एवम् रेखदेख गर्ने डाक्टरको नाम अनि डाइग्नोसिस भनेर तालिका बनाइएको थियो। त्यसमा उनको नाम भित्तामा टासिएको बोर्डको नामावलीमा दाहिनेपट्टि सिरानपछिको थियो।
मलाई देख्ने बित्तिकै उनका आँखाहरु रसाए। सिथिल अनि चोटिल अवस्थामा के भयो? कसरी भयो, कति बेला भयो भनेर घाउ झन् बल्झाउन रत्तिभर मन लागेन। म निस्तब्ध भएँ। एकैछिनमा उनको मुहारमा निश्चल मुस्कानको चमक भेटियो जुन आत्मियताको, विश्वासको अनि भरोसाको थियो।
राउन्डमा आइरहने नर्सले मेरो हातमा औषधिको बिल थमाइदिनु भयो। हतार नगरी नगद भुक्तानी शाखामा बिल काटेर, एक्सरे शाखाबाट एक्सरेको रिपोर्ट, पिसाब र रगतको रिपोर्ट बुझेर म फार्मेसी इकाईमा औषधि बटुलेर नर्सलाई दिएँ।
दिमाग घुमिरहेको थियो। मुहार पसिनाले भिजिसकेको रहेछ। न कसैलै राम्ररी देखे न कसैसँग कुरा गरेँ। मनको अन्तरसंस्करणमा शोक धुनमा निमग्न यो मस्तिष्क मिलिक्क मिलिक्क पानी पर्नभन्दा अगाडि मिल्किए जस्तो घरि दोस्रो तल्ला, घरि केबिन, घरि नजर प्रयोगशाला शाखातर्फ मोडियो।
घरी सोधपुछ अनि केही सेकेन्डमै ओपिडी इस्टेशन। अन्तमा 'क्याबिन ३' बाट १५ कदम पर डिस्चार्ज लेखिएको प्लेट झुन्डयाइएको थियो। चुडिन लागेको प्राणमा बाँकी रहेको केही इज्जतको लागि मलिन मुस्कुराहटसँगै धेरै बिरामी अनि बिरामीका अभिभावक एवम् कुरुवाहरु घर पठाइदिनका लागि बार्गेनिङ गर्दै थिए। डाक्टर साहेब कसैलाई हरियो बत्ती देखाइदिनु भयो भने कसैलाई रातो। म चुपचप हेरिरहेँ।
सार्वजनिक स्थानमा भौतिक दूरी कायम गरी थप सतर्कता अपनाउने भनिएर लेखिएता पनि हामी सबै विवश थियौं, स्वार्थका बाध्यताहरुले जोडिएका थियौं। स्वास्थ, सफा र सुरक्षा भनिएता पनि अस्पतालको खोक्रो प्रतिवद्धता झल्झली झल्किरहन्थ्यो प्रत्येक भोगाइहरुमा।
भ्रष्टाचार विरुद्ध न्याय हारेको देखिन्थ्यो। त्यसैले त रित्ता थिए जनरल वार्डका बेडहरु अनि भरिभराउ थिए डिलक्स र क्याबिनहरु। अनुकूल वातावरण्मा समेत सुनसान प्रशासन अनि उदेक लाग्दो उदासिनताले अस्पताल प्रतिको विश्वासनियताई जिस्क्याइरहेको थियो।
अताहसको एम्बुलेन्सको साइरन, मनिसको आपत्ति, एक हुल मानिस जो बिरामीको ऐयालाई सान्त्वना दिए जसरी हेरिरहेका हुन्थे। बिहानीको हुस्सुले ढाकेको काठमाडौ अनि कुहिरोको परिचित गन्ध। शिशिरको सिरेठोले मुटुमा चस्स बिझाइरहेको थियो।
दुई मिनेटमा सकिने डाक्टरको फलोअप अनि बिरामीलाई थप खुवाउनु पर्ने औषधिको पृस्कृप्सन मानौँ यी पनि आधुनिक पण्डित नै थिए। अस्पतालको बसाइले पर्व अनि बिदाको उमंग पनि भुलेछु।
एकलब्य सन्नाटाको बिगबिगी जहाँ रातसँगै बढ्दै थियो मौनताको छट्पटी। त्यो ठूलो इमारत कहलिने अस्पतालको भौतिक संरचना अनि भावनात्मक उत्तरदायित्वमा बेमेल देखेर वितृष्णा मात्रै जागिरहेको थियो। पटक पटकको अनुरोध अनादर भएको अनुभूति भएको थियो।
उसै समय म नियाल्दै थिए अन्धकारमा भोक र त्रासले भुकिरहेका भुस्याहा कुकुरहरुको बेमज्जाको भुकाइ। चारैतिरको दुर्गन्ध, लाज छोप्न टागिएको पर्दा आफै लज्जित बनि सर्वाङ्ग कोठाको वस्तुस्थिति देखाउन असमर्थ थियो।
कसैलाई न सुनिदिने फुर्सद थियो न त सम्झाइदिने। रुपैयाँको गन्धतिर लम्केर आचरणका दिवारहरु नाघेका ती पाइलाहरु कहिलेकाहीँ बिर्सन खोज्न सक्छन् जीवनको अनि पसिनाको मूल्यहरु।
जीर्ण झ्याल अनि टिभी लागेको टिभि। सेतो पलास्टिक माथिदेखि तल पुग्ने गरी निषेधित प्लास्टिकको ढोका जसलाई अस्थायी ढोकाभन्दा फरक नपर्ला। जुन स-साना कार्टुनको टुक्रा बनाइएर दह्रो गरी घाँटीसम्म काँटीहरु ठोकेर झुन्डाइएको थियो जहाँ आइसोलेसन वार्ड राखिएको थियो।
व्याक्तिगत सुरक्षा सामाग्री (पिपिई) लगाएका डाक्टर, नर्स अनि अस्पताल सहयोगीहरु आउने जाने एउटै बाटो थियो। सायद क्याबिन थ्री मुल बाटोमा पर्दथ्यो।
ठिहिराउदो दिन अनि रातहरुमा कुनै कोठाको कुनै कुनामा बसेर बिरामीहरु हातमा गुल्कोज पानी वा एन्टिबायोटिक चडाउन खोपिएको प्वालको व्यथा बिर्सेर तप् तप् झरेको पानी हातको नली हुँदै शरिरको विभिन्न भागहरुमा मलजल गरेझै भिजाएर चुपचाप डाक्टर र नर्सको प्रतिक्षामा यसरी तपस्वी बनेका थिए कि जसरी महादेव पार्वतीको प्रतिक्षामा कैलाश पर्वतमा तपस्या गरिरहेका थिए।
जिन्दगीको गति अनि रफ्तार जस्तै असमान, अनिश्चित र नितान्त एक्लो बन्दै सुस्वास्थको कमिले मेटिन खोज्दै थियो एक जीवन दुई जिन्दगी। बिरामी कुर्न बस्ने कुरुवाको लागि सुत्ने खाटको नाममा एउटा सानो तेर्सो बेन्च थियो।
एकपटक नजिकैको प्रशासन शाखामा गएर एउटा बिरामी कुर्दा बस्ने खाट मिलाइदिनु हुन अनुरोध गरेँ। मेरो दुर्भाग्य, मेरो आर्तनाद सुन्ने त्यस हस्पिटलका कोही कर्मचारी रहेनन्। यही नै हो भनेर ढिपी गर्न तिर लागे।
विचरा कर्मचारी न हुन्। संस्थाका 'एस म्यान' जो हुन्। र पनि ती मध्य दुई कर्मचारीहरुको जवाफदेहीता अनि बिरामी प्रतिको माया र सद्भाव देखेर म अचम्मित भएँ। सबैको गुनासो सुनिदिनु पर्ने, कम गाह्रो होला उनीहरुलाई!
मैले धेरै जान्न खोजिनँ। त्यस समय मलाई त्यस हस्पिटलको यो अव्यवहारिक अनि अमर्यादित क्रियाकलाप देखेर साह्रै रिस उठ्यो। सम्झेँ, अरु कैँयन लाचार सोझा साझा दाजुभाइ अनि दिदिबहिनीहरु जो कति मारमा पर्नु भएको होला भनेर।
के यहाँ परिवर्तन जरुरी छैन र? के अस्पतालको काम औषधि लेख्ने, खुवाइदिने अनि बिरामीलाई सन्चो बनाएर घरमा पठाउने मात्रै हो त?
अस्पतालको 'क्याबिन' भन्ने शब्द ढोका बाहिर टागिएको देखेर मलाई साह्रै दया लाग्यो जहाँ बिरामीलाई न त सूक्ष्म निगरानीमा रहेर हेरचाह हुन्थ्यो, न त सामान राख्ने कुनै ठाउँ नै थियो, न आवश्यक समयमा सफा गरिन्थ्यो, न टिभी चल्थ्यो।
झ्याल ढोका पसारिएर न राम्रोसँग खुल्दथ्यो, दुई मिनटको चेकजाँचको लागि लेखिएको समयभन्दा ६ घन्टा बढी कुर्नु पर्दथ्यो, न उपभोक्ता/बिरमीको आग्रह प्रति सजग र गम्भीर नै देखिन्थे। कसैलाई चर्को बोल्नु थिएन किनकी कोरोनाको बिगबिगी छ।
हाय 'क्याबिन थ्री'!
हस्पिटलबाट केही पाइला नजिकैको एउटा चिया पसल। चियाको चुस्किको स्वाद सबेरै लिन पटक पटक त्यही जाने हुटहुटि दिलाइरहेको हुन्थ्यो। चिया पाकिरहेको हुन्थ्यो। ठेलामा आफ्नै सुरमा म गएर स्वाद भर्ने काम मात्रै गर्दथेँ। मानिसको आ-अफ्नो समस्या, परिस्थिति अनि परिबन्धनले गर्दा कोरोना बिर्सिसकेका रहेछन्।
केही दिनपश्चात अस्पताल बसाइलाई त्यही कतै बिट मार्दै एउटा भरिलो पोको दैनिकी रुपमा समयको अन्तरालमा खाने चक्किहरुसँगै हातमा डिस्चार्ज रिपोर्ट झुन्ड्याएर भाइनओपन सेटमा अटसपटस गरी राखिएका औषधि फार्मेसी शाखामा बुझाइ सटही गर्यौं।
ती नबिलीकन खटिरहने परोपकारी मनहरुलाई हृदयदेखि नै धन्यवाद दिदै आफ्नो गन्तब्य तर्फ फेरि फलोअपमा आउने गरी मुस्काएर बिदा भयौँ।
जनताको अत्याधिक गुनासो आउने थलो भनेर अस्पतालको नाम सदैव नगुन्जियोस्। बारम्बार समाल्दै भत्किएका मनहरुको एउटै आवाज थियो, बस् अस्पतालबाट मुक्तिको चाहना। कतै साँच्चै मानवताको आगो बलेको त होइन!
उहाँहरु त भगवान हुनुहुन्छ। हामीमा उहाँहरुलाई गाली गलौच गर्ने कुनै नियत, हैसियत अनि हिम्मत छैन किनकी उहाँहरु डाक्टर हुनुहुन्छ, अस्पताल संचालक हुनुहुन्छ।
यस पेशालाई परोपकारको उत्कर्षमा राखेर हेर्ने गरिन्छ। व्याक्तिगत नियतमा खोट भएको कारण सिङ्गो पेशा नधमिलियोस्। अस्पतालसंग बिरामी औषधि, शैँया, डाक्टर, नर्स सँगसँगै कसैको जीवन अनि आर्थिक अवस्था पनि जोडिएको हुन्छ।
जिम्मेवारी बिनाको दायित्वको के काम जहाँ बिरामीहरु चिच्याइरहेका हुन्छन्। झर्को मनेर बिरामीका आर्तनाद सुनेजस्तो मात्रै गर्दछन्। सुरक्षित जीवनको सुनिश्चितताको नाममा अनेकन जालझेल सहन अनि व्यहोर्न नपरोस्।
कति बिरामीहरु अनि बिरामीका अभिभावकहरु आफ्नो जीवनका प्राथमिकताहरु अनि आर्थिक क्षमताहरु बिर्सेर आफ्नो, परिवार अनि आफन्तको जीवन रक्षाको लागि तपस्वी बनिरहेका हुन्छन्। बिन्ती, उनीहरुको भावना अनि आस्था कहिल्यै नमरोस्।